स्थानीय निर्वाचन २०७४

नेपालगन्जमा सद्भावको नारा

  • मेयरका अधिकांश उम्मेदवार नेपालगन्जलाई सद्भावको सहर बनाउने नारा दिएका छन् । प्रस्ट प्रस्ताव भने कमैसँग छ । बहुभाषिक साहित्यिक गतिविधि र मुसायरा बन्न सक्छ, सामाजिक सद्भावको माध्यम ।
- जनक नेपाल, नेपालगन्ज

असार ५, २०७४- त्यसै त ४० डिग्री सेल्सियस वरपरको तापक्रम । त्यसैमा स्थानीय तहको निर्वाचनले गर्माएको नेपालगन्जमा उम्मेदवार घरदैलोमा व्यस्त छन् । जातीय, धार्मिक र सांस्कृतिक विविधताको सहर नेपालगन्जलाई अधिकांश उम्मेदवारले सद्भावको सहर बनाउने घोषणा गरेका छन् । तर, त्यसको प्रस्ट खॉका भने कमैले प्रस्तुत गरेका छन् । 

नेपालगन्ज उपमहानगरपालिकामा एमालेका मेयर उम्मेदवार शम्सुद्धिन सिद्धिकीले नगरलाई सांस्कृतिक विविधता र सद्भावको सहर बनाउने बताए । ‘बाहुभाषिक र सांस्कृतिक विविधतालाई सम्मान गरिनेछ,’ उनले भने ।

कांग्रेसका मेयर उम्मेदवार डा सुरेश कनौडिया पनि यो बहुभाषिक र सांस्कृतिक सहरलाई शान्ति र सद्भावपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गर्छन् । त्यस्तै, पूर्वमयेर एवं राप्रपाका उम्मेदवार धवलशमशेर राणा सुन्दर, शान्त एवं धार्मिक सांस्कृतिक सहर बनाउने बताउँछन् । केहीले धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेका छन् । माओवादी केन्द्रका दामोदर आचार्य र संघीय समाजवादी फोरमका कमरुद्दिन राई तथा लोकतान्त्रिक फोरमकी ऋतुसिंह शाही पनि शान्त र समृद्ध नेपालगन्जको नारा लिएर मतदाताकहॉ पुगेका छन् । ‘शान्ति र सद्भाव त सबैले भनेका छन्,’ चर्चित सायर मुस्तफा अहसन कुरैसी भन्छन्, ‘सांस्कृतिक विविधताको सम्मान नभई त्यो सम्भव छैन ।’ चुनावका बेलामात्र नभई, अरु बेला पनि धार्मिक, सांस्कृतिक र बहुभाषिक स्वतन्त्रताको सम्मान गरिनुपर्ने उनी बताउ‘छन् ।

बॉकेमा विगतमा साना निहु‘मा ठूला जातीय तथा धार्मिक दंगा भएका उदाहरण छन् । ०५४ को स्थानीय निर्वाचनमा मतदाताको उमेरका विषयमा भएको भनाभन भड्कँदै जॉदा हिन्दु–मुस्लिम दंगा भएको थियो । ०६३ पुस ९ गते सद्भावना पार्टीले गरेको मधेस बन्दका क्रममा बन्दकर्ताको ज्यादती र विरोधीको प्रतिकारले मधेसी–पहाडी दंगाको रूप लिएको थियो । गत मंसिर २७ गते बॉके मटेहियामा मोहम्मद डेको धार्मिक र्‍यालीका युवा र स्थानीय चिया पसलेबीचको विवाद भड्कँदा हिन्दु–मुस्लिम दंगा भयो । ती घटनामा धनजनको ठूलो क्षति भयो । अहिले चुनावको मुखमा साम्प्रदायिक द्वन्द्व संवेदनशीलता बढेको स्थानीय प्रशासनले स्वीकारेको छ । ‘समुदायलाई विभाजन गर्न खोज्नेलाई निरुत्साहित गर्नुपर्छ,’ बॉकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भने, ‘धर्म र समुदायलाई व्यक्ति तथा राजनीतिक लाभमा प्रयोग गरिनु हुन्न । 

मुसायरा अर्थात् ‘वाह–वाह’
मुसायरा अर्थात्, रात्रिकालीन गजल गोष्ठीलाई नेपालगन्जको एउटा मौलिक संस्कृति मानिन्छ । सायर मुस्तफा कुरैसी मुसायरालाई प्रशंसाको संस्कृति भन्न रुचाउ‘छन् । ‘एकले अर्काको सिर्जना सुन्ने र प्रशंसा गर्दै ‘वाह–वाह’ गरिन्छ,’ उनी भन्छन्, ‘त्यसैले सामाजिक सद्भाव र शान्तिका लागि मुसायरा राम्रो माध्यम हुनसक्छ ।’ विगतमा मधेसी–पहाडी वा हिन्दु–मुस्लिम द्वन्द्व भड्कँदा नेपालगन्जका सायरहरूले मुसायरा गरेर शान्ति र सद्भावको सन्देश दिएको उनी बताउ‘छन् । 

नवाबहरूको सहर लखनउ सभ्यताको प्रभाव वर्षौदेखि नेपालगन्जमा छ, खासगरी उर्दूू साहित्यमा । त्यसले नेपालगन्ज–लखनउको १९० किमि दूरी पनि नजिकै ल्याएको छ । यताका सायरहरू नानपारा, लखनउ र बहराइच पुग्छन् । भारतीय नेपाल आउँछन् । नेपालगन्जमा उर्दू सहित्यको चहलपहल विसंं २००९/०१० सालदेखि भएको मानिन्छ । स्व. मोल्वी गुलाम वारिस र मोहम्मद फारुक आरिफले २०३० सालमा गुल्जा ऐ अदब र बज्मे अदब गठन गरे । ०३३ पछि नेपालगन्जमा महिनैपिच्छे मुशायरा हुन्थे । ‘नेपालगन्जले प्रख्यात सायरहरू जन्माएको छ । अहिले पनि अब्दुल लतिफ शौक र मौलाना खयाली हामीसँग हुनुहुन्छ,’ गुल्जार ऐ अदबका सचिवसमेत रहेका मुस्तफा कुरैसी भन्छन्, उहॉहरूकै छत्रछायामा उर्दू साहित्यले सामाजिक सद्भाव जोड्ने प्रयास गरिरहेको छ । 

कुनै बेला हरेक महिना भव्य मुसायराहरू भइरहन्थे । अबेर रातिसम्म मुसाफिर खाना ‘वाह–वाह’ गुन्जिन्थ्यो । भारतीय सायरहरूको पनि उल्लेख्य सहभागी हुन्थे । नेपाल र भारतको सम्बन्धमा आपसी सद्भाव ती मुसायराले बढाएका थिए । नेपाली सायर बहराइच, नानपारा, मुरदावाद, बालापुर, गोन्डासम्म पुगेर माहोल तताउन पुग्थे । सीमावर्ती सहरहरूमा नेपाली सायरले थुप्रै वाह–वाही बटुलेका छन् । त्यसैले दुई देशबीच रोटीबेटीको मात्र होइन, गजल–मुसायराको पनि सम्बन्ध थियो । 

माओवादी द्वन्द्वले नेपालगन्जको रात्रिकालीन जीवनशैली हरण गर्‍यो । त्यसको मारमा झन्डै एक दशकसम्म नेपालगन्जमा मुसायरा भएनन् । शान्तिकालमा पनि निरन्तर हुन सकेका छैनन् । ‘मुसायरा गर्न चाहिने खर्च बेहोर्न गाह्रो छ’ वरिष्ठ सायर शौक भन्छन्, ‘त्यसैले चाहेर पनि नियमित हुन सकेको छैन ।’ नगरलाई विविधता र सद्भावको सहर बनाउने हो भने मुसायराजस्ता मौलिक सांस्कृतिक गतिविधि निरन्तर रूपमा सञ्चालन गर्न उपमहानगरपालिकाकै नेतृत्वमा व्यवस्थापन मिलाउनुपर्ने उनी बताउ‘छन् ।

द्वन्द्वका कारणले रातिमा हुने मुसायरा पातलिएपछि साहित्यकारहरूले बहुभाषिक कवि गोष्ठी आयोजना गर्न थाले । ती अभ्यासले पनि फरक भाषा र समुदायका सिर्जनामार्फत समाजलाई बॉध्ने कोसिस भए । प्रज्ञा प्रतिष्ठानका सदस्य हरिप्रसाद तिमिल्सिना मुसायरा, बहुभाषिक गोष्ठी र समुदायका अरू असल अभ्यासहरूमार्फत नेपालगन्जलाई मौलिक विविधता र सद्भावको सहर बनाउन सकिने बताउ‘छन् । ‘संस्कृति र सिर्जनामा समाजलाई एकतामा बॉध्न सक्ने खुबी हुन्छ,’ उनी भन्छन्, नेपालगन्ज उपमहानगरपालिकाको शान्ति र सद्भाव अभिवृद्धि गर्न मुसायरा संस्कृति एउटा राम्रो माध्यम हुन सक्छ । त्यस्ता असल अभ्यासको निरन्तरताका लागि स्थानीय तहको सरकार र प्रज्ञा प्रतिष्ठानले आवश्यक पहल गर्नुपर्ने उनले बताए । 
 

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार