विचार/विश्‍लेषण

दिल्ली पुगेका नेपाली बिरामीको व्यथा

- कमलदेव भट्टराई, काठमाडौं

क्यान्सरको सामान्य पेट स्क्यान गर्नका लागि लाखौं रुपैयाँ खर्च गरेर भारत आउनुपर्ने अवस्थाको अन्त गर्न आवश्यक छ ।

असार ५, २०७४-काठमाडौंमा १० वटा अस्पताल र डाक्टरकहाँ जाँदा पनि शरीरमा के भएको हो भन्ने टुंगो नभएपछि एउटा बिरामीले थप उपचारका लागि भारत आउने मानसिकता बनाउँछ । नयाँ दिल्लीमा उपचार गराउन आउने धेरै बिरामीको गुनासो हुन्छ– एक वर्ष अस्पताल धाउँदा पनि रोग पत्ता नलागेपछि भारत आइयो । 

विगत दुई वर्षदेखि क्यान्सरको उपचार गराइरहेका मेरै एकजना आफन्तको गुनासो छ– हड्डीमा भित्र क्यान्सर भएको रहेछ तर एक वर्षसम्म बौद्धमा गएर तातोले सेक्न डाक्टरले सुझाव दिए र त्यसै गरियो । दिल्ली आएपछि एपोलो अस्पतालका डाक्टरले उनलाई भने, ‘तपाईंले यति धेरै सेक्नु भएपछि कि अरू केही समय निरन्तरता दिएको भए तपाईंको खुट्टा नै काटेर फाल्नुपथ्र्याे ।’ त्यसैगरी मेरा एकजना साथीकी श्रीमतीको नेपालका विभिन्न अस्पतालले तयार पारेका रिपोर्ट हेर्नेबित्तिकै एपोलो अस्पतालका एकजना महिला डाक्टरले मेरै अगाडि भनिन्, ‘के हो यस्तो रिपोर्ट, केही बुझिँदैन, अब यहाँको रिपोर्ट आएपछि मात्र केही भन्न सकिन्छ । यस्तो केही नबुझिने रिपोर्टबाट के पत्ता लाग्छ र ?’ 

दिल्लीको यो अवस्था थाहा पाइसकेका एकजना सिनियर साथीले चाहिं केही महिनाअघि टेलिफोनमा भने, ‘भाइ, नेपालमा धेरै चेकअफ गर्दा रिपोर्टको भारी नै भएको छ । नेपालको रिपोर्टलाई मान्यता दिने कुनै अस्पताल छ कि बुझिदिनुपर्‍यो ।’ केही अस्पतालमा बुझियो तर यसै भन्न सकिएन । पछि उनले भारत आउने योजनै रद्द गरे । नेपालमा कम्तीमा रिपोर्ट मात्र गतिलो भए पनि पैसा जोगिने बिरामीको आस हुन्छ । 

यी त केही सामान्य समस्या भए । औषधोपचारका लागि भारत आउने नेपालीले अरू धेरै समस्या भोग्न थालेका छन् । केही वर्षयता भारतमा उपचार गराउन आउने नेपालीको संख्यामा निकै बढोत्तरी आएको छ ।

भारतका मुख्य अस्पतालमा वार्षिक रूपमा कति बिरामी आउँछन् भन्नेबारे जानकारी दिन अस्पतालहरू तयार छैनन् । तर राजीव गान्धी क्यान्सर अस्पताल, मेदान्त अस्पताल, एम्स, एपोलो, क्याक्स अस्पातलमा दिनहुँ ठूलो संख्यामा नेपाली बिरामीहरू भेटिन्छन् । शरीरको रोग र पारिवारिक पीडा त आफ्ना ठाउँमा छ, उनीहरूले पाउने दु:खको पनि व्याख्या गरेर साध्य छैन । माथि नै उल्लेख गरिएझैं नेपालबाट ल्याएका रिपोर्टका ठेली हेर्दै नहेरी उपचार सुरु हुन्छ । यसमा हाम्रा अस्पतालको कमजोर गुणस्तर हो कि भारतका अस्पतालहरूको खोट हो, पत्तो पाउन कठिन छ ।

त्यसैगरी कतिपय अवस्थामा डाक्टरले बिरामीलाई पर्याप्त जानकारी नदिँदा बिरामी के गर्ने भन्ने अन्योलमा रहने गर्छन् । यतिबेला एकजना उच्च सरकारी अधिकारी नै त्यसको सिकार भएका छन् । उनी भन्छन्, ‘पेटमा समस्या आएपछि डाक्टरकामा गइयो । उनले तत्काल अप्रेसन गर्नुपर्छ, नत्र क्यान्सर हुन्छ’ भने । अर्काे डाक्टरकहाँ गएर त्यही रिपोर्ट देखाएर कुरा गर्दा उनले यसो भने, ‘तपार्इं त अप्रेसनको सौखिन हो कि के हो ? अप्रेसन गर्नु पर्दैन, ठीक हुन्छ ।’ त्यसपछि म परें फन्दामा, अब म के गरौं, कहाँ जाऊँ ? 

त्यसैगरी अर्को समस्या हो– पैसाको । विशेष गरी नोटबन्दीपछि भारतमा नगदको समस्या देखिन्छ । कतिपय अस्पतालले त नेपालीलाई पनि डलर पैसा तिर्न भनिरहेका हुन्छन् । डलर त भएन भएन, भारतीय रुपियाँमा तिर्ने कार्य पनि निकै झन्झटिलो छ । पहिलो त नेपालबाट पर्याप्त रकम ल्याउनै समस्या छ । 

नगद नै भए पनि अस्पतालहरूले बिरामीलाई उक्त नगदको स्रोत खुलाउन दबाब दिने गर्छन् । अर्को समस्या सन् १९५० को सन्धिअनुसार एकअर्काको नागरिकलाई समान हैसियत दिने भनिए पनि निजी अस्पतालहरूले नेपाली बिरामीलाई अन्तर्राष्ट्रिय वर्गमा राखेर उपचार गर्ने गर्छन् । यसले गर्दा नेपाली बिरामीहरू १० प्रतिशत अतिरिक्त शुल्क बुझाउन बाध्य छन् । केही सरकारी अस्पतालबाहेक निजी अस्पतालमा नेपाली बिरामीलाई अन्तर्राष्ट्रिय नागरिक सरह शुल्क लिइन्छ र त्यहीअनुसारको शुल्क उठाउने गरेको पाइन्छ । त्यसैगरी अस्पतालहरूले आफूहरूलाई सस्तो दरमा बाहिर औषधि किन्नसमेत नदिएको उनीहरूको गुनासो रहने गरेको छ । 

यस विषयमा दिल्लीस्थित नेपाली दूतावासको पनि खासै ध्यान गएको पाइँदैन । दूतावास अन्य महत्त्वपूर्ण कूटनीतिक विषयहरूमा व्यस्त रहने हुँदा नेपाली नागरिकले भोगेका समस्या त्यति प्राथमिकतामा छैनन् । केही पहुँच भएकाले दूतावासको सिफारिसमा केही छुट गराउन पहल गर्ने गर्छन् तर दूतावाससम्म आउन नसक्ने भने जति भन्यो, त्यति पैसा तिर्न बाध्य छन् । अस्पतालमा नेपाली नागरिकले यति मात्र समस्या भोगिरहेका छैनन्, नेपाली नागरिक भनेपछि बिरामीलाई भेट्ने पाससमेत पाउन समस्या भोगिरहेका छन् । अर्काे समस्या त खाने तथा बस्ने ठाउँको छँदै छ । 

समस्या आफ्ना ठाउँमा छ तर सानो चेकअप र रिपोर्टका लागि समेत भारतमा नै आउनुपर्ने बाध्यता अन्त गर्नका लागि भने सरकार र कुनै राजनीतिक दलको ध्यान गएको देखिँदैन । नेपालीले भोगेका समस्याबारे वास्तविक जानकारी नभएर पनि यता ध्यान नगएको हुन सक्छ । हुन त नेता र सरकारी कर्मचारी पनि उपचारका लागि बारम्बार दिल्ली नआउने होइनन् । तर उनीहरू दिल्लीमा झरे लगत्तै उनीहरूलाई लिनका लागि एयरपोर्टमा गाडी लिन पुग्छ, दूतावासमा आएर बस्छन् र अर्काे दिन दूतावासले नै डाक्टरलाई भेट्ने समय मिलाइदिएको हुन्छ र उपचार गरेर फर्कन्छन् । 

भारत गई उपचार गर्ने नेपाली बिरामीले भोगेका समस्या समाधान, सामान्य चेकअप र रिपोर्टका लागि दिल्ली नै धाउनुपर्ने अवस्थाको अन्त गर्न नेपाल सरकारले तत्काल ध्यान दिनुपर्ने आवश्यकता छ ।

क्यान्सरको सामान्य पेट स्क्यान गर्नका लागि लाखौं रुपैयाँ खर्च गरेर भारत आउनुपर्ने अवस्थाको अन्त गर्न आवश्यक छ । पछिल्लो समय क्यान्सर रोगीहरूको संख्या निकै बढेको पाइन्छ । कम्तीमा पर्याप्त पूर्वाधारसहित नेपालमै एउटा सुविधा सम्पन्न क्यान्सर अस्पताको निर्माण गरेमा न नेपालीले यो सास्ती पाउने थिए न उपचारका नाममा वार्षिक रूपमा अरबौं रुपैयाँ बिदेसिने थियो । नेपालका नेता तथा सरकारी अधिकारीहरूले कम्तीमा भारतका अस्पतालमा एकदिन भ्रमण गरेर केही बिरामी तथा तिनका आफन्तसँग कुरा गरे मात्र पनि वास्तविक अवस्था थाहा हुने थियो । अनि नेपालका अर्ब/खर्बपतिहरूले पनि नेपालमै सामान्य नागरिकलाई लक्षित गरेर अस्पताल खोल्नेबारे सोच्ने हो कि ? 

 

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार