विचार/विश्‍लेषण

महिला आन्दोलनका उपलब्धि

- पवित्रा बेलवासे
विभिन्न कालखण्डमा हुँदै आएका आन्दोलनले केही हदसम्म उपलब्धि दिलाए पनि पर्याप्त छैन ।

असार ५, २०७४-सदियौंदेखि वञ्चितीकरण, वहिष्करण र विभेदीकरणको सिकार बन्दै आएका महिलाको उत्थान र विकास तथा उनीहरूमाथि हुने सबै प्रकारका विभेद अन्त्य गरी हरेक क्षेत्रमा समतामूलक प्रतिनिधित्व गराउने हेतुले विभिन्न कालखण्डमा महिला आन्दोलन हुँदै आएका छन् ।

अन्याय, अत्याचार, दमन, शोषणजस्ता अति नै निन्दनीय विषयले महिलाको विकासमा प्रत्यक्ष र परोक्ष रूपमा नकारात्मक प्रभाव पार्दै आएको पाइन्छ । पुरुषको अहंकारवादले ग्रसित समाजमा महिलालाई माथि उठ्न नदिनु, सामाजिक, आर्थिक तथा राजनीतिक मूलधारमा महिलाको सहभागिता शून्य हुनु, विविध किसिमका अवसरबाट महिलालाई वञ्चित गरिनुजस्ता यावत् कारणले महिलाको जीवनस्तर माथि उठ्न नसकेको विषम परिस्थितिका बेला सन् १९०८ देखि अमेरिकाको न्युयोर्कमा महिला मजदुरहरूको आन्दोलन सशक्त ढंगबाट अगाडि बढेको थियो ।

फलस्वरूप सन् १९०९, मार्च ८ मा उक्त आन्दोलन उत्कर्षमा पुगी आन्दोलनरत महिलाका केही माग पूरा भए । महिला आन्दोलन सशक्त बन्दै जाँदा महिलाप्रतिको सोचाइमा केही परिवर्तन देखा पर्दै आएको छ । सन् १९११ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने निर्णय भएसँगै महिलाका हक अधिकारलाई सम्बोधन गर्न विश्वका अधिकांश देश सकारात्मक देखिएका छन् । 

महिला आन्दोलन महिलाका पक्षमा उल्लेखनीय परिणाम हासिल गर्न सफल भएको छ । महिलाको राजनीतिक अधिकारसम्बन्धी महासन्धि सन् १९५२ ले महिलालाई कुनै पनि भेदभावबिना पुरुषसरह सबै प्रकारका निर्वाचनमा मतदान गर्न पाउने, सम्पूर्ण निकायका निर्वाचनका लागि उम्मेदवार हुन पाउने र राष्ट्रिय कानुनद्वारा स्थापित सार्वजनिक पद धारण गर्न तथा सबै किसिमका सार्वजनिक काम गर्न पाउने अधिकार प्रदान गरेको थियो ।

यस प्रकार महिलाविरुद्ध भए गरेका सामाजिक, आर्थिक, राजनीतिक विभेद अन्त्य गर्दै समतामूलक वातावरण सिर्जना गर्न सकारात्मक पहलकदमी भएको पाइन्छ । महिला उत्थान तथा विकासका लागि संयुक्त राष्ट्रसघंले पनि उल्लेखनीय मात्रामा नीतिनियम तर्जुमा गरेको छ । सन् १९७९ मा पारित र सन् १९८१ मा अनुमोदित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिले समानताको सिद्धान्तका आधारमा पुरुषसरह महिलालाई सबै निर्वाचन र सार्वजनिक जनमत संग्रहमा मतदान गर्न पाउने अधिकार, सबै प्रकारका निर्वाचनका लागि योग्य हुने अधिकार, सरकारी नीति तर्जुमा र कार्यान्वयनमा सहभागी हुने तथा सार्वजनिक पद धारण गर्ने, सरकारका सबै तहमा हुने सार्वजनिक कार्य सम्पादन गर्ने अधिकार, नागरिकता पाउने र नागरिकता परिवर्तन गर्न पाउने अधिकारको व्यवस्था गरी महिला सहभागितालाई वृद्धि गर्दै लैजानुपर्ने कुरामा जोड दिएको थियो ।

महिलालाई दोस्रो दर्जामा हेरिने परिपाटी अन्त्य गरी समानताको दायरामा ल्याउन राजनीतिक क्षेत्रमा महिलाको सहभागितालाई विशेष महत्त्वका साथ हेरिनुपर्ने हुन्छ । मानवीय व्यवहारबाट नहेरिनु, सम्पूर्ण हकअधिकारबाट वञ्चित गरिनु, घरको सीमित दायरामा राखिनु खासगरी महिलाको विकासमा बाधक बनेका विषय हुन् । त्यसैले पनि उन्नति र समृद्धिका लागि महिला आन्दोलन निरन्तर अगाडि बढ्दै जान आवश्यक छ । 

महिलाका यावत् समस्यामाथि छलफल तथा समस्याका मूलभूत विषय पत्ता लगाउँदै समाधानको बाटो पहिल्याउने उद्देश्यका साथ सन् १९७५ मा मेक्सिकोमा पहिलो महिला विश्व सम्मेलन आयोजना भयो जसले महिलामाथि हुने हरेक प्रकारका विभेद अन्त्य गर्नुपर्ने, समानताका लागि संघर्ष गर्नुपर्ने तथा महिलामाथि हुँदै आएका अन्याय, अत्याचार, दमन, शोषण अन्त्यका लागि सम्पूर्ण महिला वर्ग एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको थियो । त्यसैगरी सन् १९९३ मा भियनामा आयोजित विश्व मानव अधिकार शिखर सम्मेलनले पनि महिलाका समस्या र अवसरबारे गहन छलफल गरेको थियो । त्यस सम्मेलनले महिला अधिकारलाई मानव अधिकारका रूपमा स्थापित गरेको थियो ।

सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाले आफ्नो सहभागिता सुनिश्चित गर्न लामो संघर्ष गर्नुपरेको थियो । मताधिकारबाट वञ्चित गरिनु आफैंमा निन्दनीय कार्य भएकाले यो अधिकार प्राप्तिका खातिर भएको आन्दोलनबाट केही हदसम्म सफलता प्राप्त भयो । महिला र पुरुषलाई समानताका आँखाले हेरिनुपर्ने र कुनै पनि हकअधिकारबाट महिलालाई वञ्चित गर्न नपाइने भनी संघर्षरत महिलाले प्राप्त सफलतालाई महत्त्वका साथ हेरेको पाइन्छ । 

राष्ट्रिय स्तरमा महिला आन्दोलनको प्रसंगमा योगमाया न्यौपानेको नाम आउँछ । १९२४ सालमा भोजपुरको कुलुङ भजुवाबेसीमा जन्मिएकी योगमायाले तत्कालीन राणा शासनविरुद्ध साहसिक कदम चालेकी थिइन् । बाल्यावस्थामा विधुवा भएकी उनले त्यसबेलाको सामाजिक तथा सांस्कृतिक मूल्यमान्यतालाई चुनौती दिँदै सामाजिक विद्रोह गरी पुन: विवाह गरेकी थिइन् । उनले ‘सत्याग्रह भिक्षा’ का नाममा १९९३ मा काठमाडौं आई तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरलाई भेटी अनुरोधपत्र बुझाएकी थिइन् । उक्त माग सुनुवाइ नहुने भएपछि १९९८ असारमा ६८ जनासहित अरूण नदीमा हाम फालेर मृत्युवरण गरेकी थिइन् । योगमाया र उनका अनुयायीले तत्कालीन सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाविरुद्ध विद्रोहस्वरूप मृत्युवरण गरेको घटनाले महिला आन्दोलनको इतिहासमा महत्त्वपूर्ण र उच्च स्थान राख्छ ।

यसरी महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उल्मूलन गर्न आन्दोलनमा होमिने महिला र उनीहरूको योगदानलाई आत्मसात् गर्दै समाज परिवर्तनका साथै महिलाप्रतिको संकुचित सोचाइ अन्त्य गरी समतामूलक समाज निर्माणमा महिलाको सार्थक उपस्थिति हरेक क्षेत्रमा गराउनुपर्छ । यो राज्यको दायित्व पनि हो ।

महिलाको उत्थान तथा विकास गर्दै सामाजिक कुरीतिलाई चिरफार गर्ने आन्दोलनमा मंगलादेवी सिंह, कामाक्षादेवी, साधना प्रधान, द्वारिकादेवी ठकुरानी, साहना प्रधान, शैलजा आचार्यजस्ता हस्तीले दिएको योगदान र समर्पणले आजको दिनमा महिलाप्रति गरिने व्यवहार र राखिने सोचाइमा क्रमिक रूपमा सुधार हुँदै आएको छ । नेपालमा महिला असमानता, अन्याय, अत्याचार, शोषण, दमनजस्ता निन्दनीय कार्यलाई रोक्न सन् १९७५ देखि मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिएको छ । १९७७ असार २५ गतेका दिन तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले सती प्रथा अन्त्य गरेको कदमलाई पनि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । जहानियाँ राणाशासन, पञ्चायत र निरकुंश राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका महिलाको योगदानलाई पनि महत्त्वका साथ हेरिएको छ ।

आधा आकाश ढाकेका महिलालाई अमानवीय व्यवहार गर्दै दोस्रो दर्जाका रूपमा राख्ने पितृसत्तात्मक सोच र त्यो सोचले ग्रसित समाजको कुसंस्कारलाई चिर्न विभिन्न कालखण्डमा हुँदै आएका आन्दोलनले केही हदसम्म सफलता प्राप्त गरे पनि पर्याप्त छैन । राज्यका निर्णायक तहमा महिलाको उपस्थिति सोचेअनुरूप छैन, मधेसमा अहिले पनि दाइजोको निहुँमा महिलालाई क्रुर यातना दिई जिउँदै जलाइन्छ, बोक्सीको आरोपमा सामाजिक बहिष्कार गरिन्छ । पश्चिममा छाउपडी प्रथा कायमै छ । घरेलु हिंसाको सिकार बन्दै आएका महिलाको अवस्था पनि कम छैन, बलात्कारजस्तो जघन्य आपराधिक घटनाको अन्त्य हुन सकेको छैन । महिला अधिकारसम्बन्धी बनेका नीतिनियम सही रूपमा कार्यान्वयन हुन सकेका छैनन् । त्यसैले यो विषम परिस्थितिमा महिला आन्दोलनको निरन्तरता अपरिहार्य छ । 

 

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार