विचार/विश्‍लेषण

उफ्, नेपाली !

- हरिहर तिमिल्सिना

अङ्ग्रेजीमा पहिलेदेखि नै ७५ अङ्कको लेखाइ र २५ अङ्कको सुनाइ, बोलाइ परीक्षा हुँदै आएको छ । सात समुद्रपारिको भाषा भए पनि यसमा अभिभावक, विद्यार्थी र विद्यालयको त्रिकोणात्मक लगाव हुन्छ । बरु नेपाली पो पराइको भाषाजस्तो हुँदै गएको छ ।

असार ५, २०७४-‘परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार अनिवार्य नेपाली विषयको नतिजा सबैभन्दा खस्किएको पाइएको छ ।’ असार ३ गतेको कान्तिपुरको प्रथम पृष्ठको समाचारको एक वाक्य हो यो । मुलुकमा यति धेरै विद्यालय–विश्वविद्यालय छन् ।

भाषाको खेती गर्ने पत्रपत्रिका, रेडियो र टेलिभिजन छन् । परीक्षा नियन्त्रण कार्यालय, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र र सिङ्गो शिक्षा मन्त्रालयको ध्यान छ । साझा प्रकाशन छ । प्रज्ञा प्रतिष्ठान छ । सरकारी लगानी छ । नेपाली भाषाका प्रयोक्ता पनि बढिरहेका छन् । तर पनि नेपाली भाषाको यस्तो कन्तबिजोक किन ? लगभग साढे चार लाख परीक्षार्थीमध्ये १ सय ८१ जना मात्रै ए प्लस अनि ६५ हजार परीक्षार्थी नेपाली विषयकै कारणले माथिल्लो कक्षामा जान अयोग्य किन ? सबैले गाह्रो भन्ने र मान्ने गरेको गणित र विज्ञानलगायत विषयमा उच्च अङ्क (ए प्लस) सहितको उत्तीर्ण सङ्ख्या बढ्नु र सजिलो भनिएको/मानिएको नेपाली विषयको नतिजा खस्किनुका पछाडि कुन तत्त्वको भूमिका छ ? पङ्क्तिकारलाई लागेका केही कुरा यस्ता छन् :

गुरुको गरिबी

गुरुहरू ज्ञानका धनी छन् तर दानका गरिब । विद्यार्थीले लेखेको उत्तरमा उदार अङ्क दिनुलाई तिनीहरू आफ्नै पुख्र्यौली सम्पत्ति दान दिनुसरह सम्झन्छन् । आफूले सिकाएको भन्दा अलग वा आफूलाई लागेको भन्दा भिन्न तरिकाले उत्तर लेख्नेलाई नम्बर नदिएर दण्डित गर्छन् । भाषामा धेरै नम्बर दिनु हुन्न टाइपका पूर्वपनपख्खे (प्रि–बायसनेस) बोकेर तिनीहरू कापी जाँच्न बस्छन् । केही वर्ष पहिले उत्तरपुस्तिका परीक्षणको कार्यशालामा आफूलाई वरिष्ठ ठान्ने एकजना गुरु एउटा विद्यार्थीको कापीमा ८३ अङ्क हाल्ने नयाँ परीक्षकलाई सम्झाउँदै थिए, ‘नेपालीमा कसरी यतिका धेरै नम्बर आउँछ ?

भाषा खेलाँचीको विषय होइन, भाषामा ह्वात्त ह्वात्त नम्बर दिन मिल्दैन । हामीले अहिलेसम्म ८० नम्बर दिएका छैनौं । त्यसैले तपाईं पनि घटाउनुहोस् ।’ विद्यार्थीले ८० नम्बर ल्याउँदा तनाव महसुस गर्ने गुरुहरूको भीडमा अब त ९० को कुरा छ । धन्न यसपालि १८१ जनाले नब्बे कटाएछन् । मलाई त यसैमा अचम्म लागेको छ ।

विभेद 

भाषाका चार प्रमुख आयाम हुन्छन्, सीप हुन्छन् । सुनाइ, बोलाइ, पढाइ र लेखाइ । हाम्रो परीक्षा प्रणालीले अहिलेसम्म लेखाइका आधारमा मात्रै मूल्याङ्कन गर्छ । अङ्ग्रेजीमा पहिलेदेखि नै ७५ अङ्कको लेखाइ र २५ अङ्कको सुनाइ, बोलाइ परीक्षा हुँदै आएको छ । सात समुद्रपारिको भाषा भए पनि यसमा अभिभावक, विद्यार्थी र विद्यालयको त्रिकोणात्मक लगाव हुन्छ । बरु नेपाली पो पराइको भाषाजस्तो हुँदै गएको छ । जाने पनि ठीक, नजाने पनि ठीक । हुन त नेपालीमा पनि ७४ सालको परीक्षादेखि लागू हुने गरी सुनाइ र बोलाइलाई २५ अङ्क छुट्याइनेछ । यस्तो अङ्कलाई मास्टरले गोजीबाट दिने नम्बर पनि भन्ने गरिन्छ ।

यसले नेपाली भाषाको हकमा विद्यार्थीमा कति गुणस्तर सुधार्ने हो, हेर्न भने बाँकी छ । अर्को कुरा अभिभावक, शिक्षक र विद्यालयको जोडबल विज्ञान र गणित विषयमा हुन्छ । विद्यार्थीलाई गणित र विज्ञानमा राम्रो गर्नैपर्ने त्यहीअनुसारको मनोवैज्ञानिक दबाब हुन्छ । यस्ता विषयले डाक्टर, इन्जिनियर, पाइलट बन्न मद्दत गर्छन् । प्राविधिक विषय पढ्न यी विषयमा दख्खल हुनैपर्छ । तर भाषा राम्रो भयो भने डाक्टर, इन्जिनियरलगायत जुनसुकै पेसालाई पनि काम लाग्छ भनेर सिकाउन हाम्रो शिक्षा प्रणाली चुकेको छ । परिणामस्वरूप नेपाली हेलत्वको विषय भएको छ । लाजमर्दो कुरा छ, नेपाली राम्ररी बोल्न नजान्नु, लेख्न नजान्नु र टाइप गर्न नजान्नुलाई अयोग्यता होइन, योग्यता मानिन्छ । अर्को विषयमा पोख्त हुनाले नेपाली नजानेको अर्थ लगाइन्छ । यस्तो सामाजिक मनोविज्ञानबीच च्यापिएको नेपाली भाषा कसरी राम्रो बन्न सक्छ ?

बिरालो माने क्याट

देवकोटाले अङ्ग्रेजीको बढ्दो प्रभावलाई इंगित गर्दै उतिबेलै ‘हाई हाई अङ्ग्रेजी’ लेखेका थिए । अब त ‘हाई हाई अङ्ग्रेजी’को पारो चढ्दै गएर ‘हाई डोज अङ्ग्रेजी’ बन्न पुगेको छ । नेपाली बोल्ने विद्यार्थीलाई दण्डित गर्ने स्कुल समाजमा छ्यापछ्याप्ती छन् । अङ्ग्रेजी भाषाको विकासका लागि बजारमा अनगिन्ती पठनपाठन सामग्री (टिचिङ–लर्निङ मटेरियल) पाइन्छन् । यसका तुलनामा नेपाली सामग्री बत्ती बालेर खोज्नुपर्छ । परीक्षाको नतिजा लिन आउँदा ‘तपाईंको विद्यार्थी उत्तीर्ण भयो’ भन्दा पढ्या भए पो पास होस् त, झन् यसपाला राम्ररी पास होला भनेर सोचेको उत्तीर्ण पो भएछ भनेर दु:खमनाउ गर्ने अभिभावक अझै पनि धेरै भेटिन्छन् ।

अचेलका विद्यार्थी गृहकार्य गर्दैनन्, होमओर्क गर्छन् । गीत गाउँदैनन्, राइम्स गाउँछन् । खाना खाँदैनन् लन्च, डिनर गर्छन् । फेसबुकमा नेपाली लेख्न गाह्रो छ । नेपाली कमेन्ट र स्ट्याटस रोमनमा आउँछन् । च्याट गर्न पनि रोमनमै सजिलो । ह्रस्व–दीर्घ नचाहिने । अहिले ‘चौहत्तर साल हो’ भन्दा विद्यार्थी बुझ्दैनन् । चौहत्तर भनेको ‘सेभेन्टी फोर’ हो भनेर स्पष्टीकरण दिनुपर्छ । पहिला विद्यार्थीलाई अङ्ग्रेजी पढाउँदा नेपालीमा उल्था गरेर बुझाउनुपथ्र्यो । अहिले गुरुहरूले नेपाली पढाउँदा अङ्ग्रेजीमा उल्था गरेर बुझाउनुपर्छ । अब अङ्ग्रेजी नजान्ने नेपाली गुरुले नेपाली पढाउन नसक्ने दिन आउँदै छ । यो दशा टाढा छैन । पहिला क्याट माने बिरालो हुन्थ्यो, अब बिरालो माने क्याट भएको छ ।

हाम्रो जस्तो अविकसित र तेस्रो विश्वको मुलुकमा ज्ञान र क्षमताको मापक नै अङ्ग्रेजी भाषा बन्ने गर्छ । जसले राम्रो अङ्ग्रेजी बोल्न सक्यो, उही विद्वान् कहलिने र राम्रो अवसर पाउने अवस्था छ । प्रस्तावना र प्रतिवेदन लेख्न, विदेशीसित संवाद गर्न, अन्तर्राष्ट्रिय मञ्चमा भाषण ठोक्न, गाउँमा परियोजना ल्याउन, परराष्ट्र सेवामा जागिर पड्काई राजदूत बन्न अङ्ग्रेजी नै राम्रो चाहिन्छ । यस्ता अनेक कारण हुन सक्छन् जसले विद्यालय र अभिभावकलाई विद्यार्थीको नेपाली बिग्रिए पनि चिन्ता हुन्न । अङ्ग्रेजीचाहिं जसरी पनि राम्रो चाहियो । अङ्ग्रेजी राम्रो पार्नुको अर्थ नेपाली नराम्रो पार्नु पनि त होइन नि ! यसतर्फ धेरैको ध्यान गएको पाइन्न ।

भ्रमको भूत

भाषाको घनीभूत अध्ययन, अनुसन्धान, विमर्श, विस्तार र आविष्कार गर्नुपर्ने आदर्श व्यक्ति र संस्थाहरू ‘फूल’ ह्रस्व लेख्ने कि दीर्घ भन्ने निहुँमा युद्धै छेडुँलाझैं गर्छन् । कलिला विद्यार्थीको दिमागमा भ्रमको भूत उमार्छन् । अघिल्लो वर्ष ठीक भएको हिज्जे पछिल्लो वर्ष ठीक नहुने, फेरि अर्को वर्ष ठीक हुने । शब्दकोशबाट वर्णहरू रातारात गायब हुने, प्रत्येक वर्षका पाठ्यपुस्तकमा फरकफरक भाषिक नियम आउने । नेपाली भाषा गाह्रो होइन तर गाह्रो भनेर भ्रम छर्ने । यस्तै काम गरिए । जति लेखे पनि नम्बर आउँदैन भन्ने छाप विद्यार्थीको दिमागमा पारियो । आखिर जुनसुकै क्षेत्रको भ्रम होस्, त्यो भूतभन्दा डरलाग्दो हुन्छ नै ।

 

अन्त्यमा

शिक्षक कर्मकाण्डी, शिक्षण पद्धति परम्परागत, पाठ्यपुस्तक परम्परागत अनि अक्षराङ्कन पद्धतिचाहिं आधुनिक ! कताकता तालमेल नमिलेको जस्तो देखिन्छ । त्यसमाथि अन्तर्राष्ट्रिय भाषाको अतिक्रमण अनि आमसञ्चारको प्रभाव । नेपाली भाषाको अध्ययनछिको निकास के ? अवसर कति ? यस्ता कुराले पनि केही प्रभाव पार्छ नै विद्यार्थीलाई । तर आफ्नो देशको मूल भाषा अवसर हेरेर मात्रै पढिने/ पढाइने कुरा होइन । जसरी आमाले आफ्नो बच्चा हुर्काउँदा फाइदा/बेफाइदा हेर्दिनन्, त्यसरी नै आफ्नो भाषाको प्रयोगमा फाइदा/बेफाइदा हेरिनु हुन्न । के भाषा नाफाघाटाको विषय मात्रै हो र ?

तिमिल्सिना साँगास्थित नेपाल प्रहरी स्कुलका भाइस प्रिन्सिपल हुन् ।

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार