समाचार

राजपालाई पार्टीभित्रै दबाब

- कान्तिपुर संवाददाता , काठमाडौं

असार ५, २०७४-राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नेतृत्वले दोस्रो चरणको चुनाव बिथोल्ने नीति लिए पनि स्थानीय कार्यकर्ताले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । रूपन्देहीका तीन स्थानीय तहका सबै पदमा उनीहरूले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन् । 

रूपन्देहीका सम्मरीमाई, मर्चवारीमाई र कटहीमाई गाउँपालिकामा क्रमश: अशोक शुक्ल, राजकुमार सिंह र बालकिसुन चौधरीले प्रमुख पदमा उम्मेदवारी दिए । अघिल्लो चुनाव संरचनामा रूपन्देही निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने यी गाउँपालिका राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लको पकड क्षेत्र मानिन्छन् । शुक्ल यसै क्षेत्रबाट निर्वाचित सांसद हुन् । १ सय ११ पदमा राजपा नेताको उम्मेदवारी परेको छ ।

राजपाले आफ्ना कार्यकर्ताबाट दिइएको उम्मेदवारीबारे आएका खबर पुष्टि गरेको छ । राजपा स्रोतका अनुसार माग सम्बोधन नहुन्जेल चुनावमा नजाने पार्टी नीतिप्रति असन्तुष्टि जनाउँदै शुक्लले यसअघिका पार्टी बैठकहरूमा पटक–पटक चुनावमा प्रतिनिधि जिताउनुपर्ने तर्क गर्दै आएका थिए । 

उनीलगायत केही उच्च नेताहरूको प्रयास असफल भएपछि अन्तत: स्वतन्त्र हैसियतमा भए पनि मनोनयन दिलाउने रणनीतिमा पुगेका हुन् । राजपाका एक नेताले भने, ‘दिनभरि हाम्रा नेताहरूको व्यापक गिरफ्तारी र धरपकड भयो, यसविरुद्ध संघर्षमा जानुपर्नेमा किन उहाँले कार्यकर्ताहरूलाई चुनाव मनोनयनमा पठाउनुभयो, बैठक बसेर समीक्षाको विषय बनाउँछौं ।’ ती नेताले शुक्लले आगामी संसद् चुनावका लागि आफ्नो आधारक्षेत्र सुरक्षित गर्न यस्तो गरेको आरोप पनि लगाए । 

यता, पार्टीले चुनाव बिथोल्ने धम्की दिइरहेकै बेला राजपा केन्द्रीय कोषाध्यक्ष अनिता यादव र सदस्य राजेश्वर महासेठ एमाले प्रवेश गरेका छन् । आइतबार एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओलीले यादव, महासेठ लगायतलाई पार्टी प्रवेश गराए । 

यादवले पार्टीमा अतिवादी प्रवृत्ति सुरु भएको भन्दै शनिबारै राजपा नेतृत्वसमक्ष राजीनामा दिएकी थिइन् । ‘पछिल्लो कालखण्डमा मधेसी जनताले वास्तविक रूपमा खोजेको न्याय, समानता र समृद्धिको एजेन्डाबाट पार्टी विचलित भएको,’ राजीनामा पत्रमा उनले लेखेकी छन्, ‘र, राजनीतिका नाममा पूर्ण रूपले अतिवाद पलाएको प्रति मेरो घोर आपत्ति र असन्तुष्टि छ ।’ 

यादव तत्कालीन तमलोपा कोषाध्यक्ष श्रीकृष्ण यादवकी श्रीमती हुन् । यादवको दुर्घटनामा मृत्यु भएपछि अनिताले दोस्रो संविधानसभा निर्वाचनमा धनुषा ५ बाट चुनाव लडेर तेस्रो स्थान ल्याएकी थिइन् । एमालेले यसअघि राजपाकै केन्द्रीय सहमहामन्त्री समिम मियाँ अन्सारीलाई पार्टी प्रवेश गराएको थियो । पर्सा माओवादी नेता बसरुद्दिन अन्सारी पनि केहीअघि मात्र एमाले प्रवेश गरेका थिए ।

शनिबार परासीमा आयोजित कार्यक्रममा राजपा नेताहरूले चुनावमा भाग लिन सरकारले वातावरण नबनाएको भन्दै संविधान संशोधन गर्न चुनावअघि सम्भव नभए पनि कम्तीमा लिखित प्रतिबद्धता दिन सकिने विकल्प पनि उपयोग नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । 

राजपाले वक्तव्य निकाल्दै आइतबार दिनभर तराईका विभिन्न जिल्लामा कार्यकर्ता गिरफ्तारी भएकोमा आक्रोश व्यक्त गरेको छ । नेता महेन्द्र यादवलगायत नेताहरू मानव अधिकार आयोग कार्यालय गई शनिबार परासीमा भएको घटनाबारे उजुरी गरेका थिए । 

उनीहरूले सुरक्षा बल प्रयोग गर्नै नपर्ने शान्तिपूर्ण सभामा बल प्रयोग गरिएको भन्दै घटनाबारे अनुसन्धानका लागि आग्रह गरेका छन् । तर स्थानीयले भने कार्यक्रम चल्दाचल्दै नजिकैको यातायात व्यवसायी कार्यालयमा 

राखिएको एमाले प्रचार सामग्री नष्ट गर्न राजपा कार्यकर्ता गएको र व्यवसायीमाथि हातपात हुन थालेपछि मात्रै प्रहरी बल प्रयोग गर्न बाध्य भएको बताएका छन् । 

आइतबार महेन्द्र यादवले जारी गरेको वक्तव्यमा दिनभर ४ सय ५५ आन्दोलनकारी गिरफ्तार भएको उल्लेख गर्दै राज्यले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाइएको छ ।

  •     नेतृत्वको वास्ता नगरी १ सय ११ पदमा राजपा नेताहरूको उम्मेदवारी 
  •     केन्द्रीय कोषाध्यक्ष र सदस्य एमालेमा प्रवेश
  •     असन्तुष्टि जनाउँदै पार्टी छाड्ने क्रम बढ्यो

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार