कला

फिल्म : सन्तुलन नमिलेको ‘बाहुबली’

  • जति बलियो रूपमा निर्देशक एसएस राजामौलीले ‘बाहुबली’ को चरित्र प्रस्तुत गरेका छन्, त्यत्ति नै कमजोर छन्— शिवगामी (रमैया कृष्णा), अवन्तिका (तमन्ना) र देवसेना (अनुष्का सेठ्ठी) का चरित्र ।
- अर्चना अधिकारी

असार ३, २०७४-बाहुबली २’ हेरेर निस्किएपछि मेरी ५ वर्षकी छोरीले भनिन, ‘मामू म पनि छोरा भएको भए बाहुबलीजस्तै सुपरहिरो बन्थे होला है ?’ उनको यो प्रश्नले ममा उत्तर दिने शब्दको कमी भयो । ‘त्यस्तो होइन छोरी, तिमीले पनि धेरै कुरा गर्न सक्छौं,’ यत्ति भनेर उम्कन खोजें । यति सानो उमेरमै उसमा छोरा, छोरी भन्ने धारणा विकास भइसकेकोमा अचम्ममा परें । फेरि आफू मनमनै सोच्न थालें, बच्चा होस् या वृद्ध, जसको मनमा पनि त्यो विचार आउनु स्वाभाविक हो किनकि बाहुबली (प्रभास) लाई यति धेरै सुपरहिरोको रूपमा प्रस्तुत गरिएको छ कि मानौं उसका लागि असम्भव भन्ने केही छैन । गुडन, उड्न, पौडिन, तैरिन... जे गर्न पनि । तर जति बलियो रूपमा निर्देशक एसएस राजामौलीले बाहुबलीको चरित्र प्रस्तुत गरेका छन्, त्यत्ति नै कमजोर छ, महिला चरित्र शिवगामी (रमैया कृष्णा), अवन्तिका (तमन्ना) र देवसेना (अनुष्का सेठ्ठी) को । 

हुन त शिवगामीले समानताको मान्यता नराखेर आफ्नो पुत्रलाई ध्यान दिएको भए यो कथाको आरम्भ नै हुने थिएन । शिवगामीको ‘इन्ट्री’ कथामा धमाकेदार छ, शिवगामी न्याय, धर्म र वचनको विश्वास गर्ने सक्षम पात्र हुन । काखमा बच्चा च्यापेर दुश्मनको संहार गर्न सक्छिन् । युद्धनीति र राजनीति दुवैमा सबल छिन् । फिल्मको आरम्भमा उनको साहस देख्दा लाग्छ, उनले सही र गलत एक निमेषमा नै पत्ता लगाउँछिन् तर बुहारी देवसेनासँग उनको अन्तरद्वन्द्व बढ्दै जान्छ । उनी आफ्नो छोरा बाहुबलीको महानतालाई भुल्दै जान्छिन् । हुन त आफ्नो छोरा भल्लालको षड्यन्त्रबाट उनी अन्जान रहन्छिन् । जसले गर्दा बाहुबलीलाई नराम्रो मान्न सुरु गरेको देखाइन्छ । तर पनि उनको सोचाइ र बुझाइलाई मूर्तरूप दिने काम बुहारीसँगको अन्तरद्वन्द्वले गर्छ । शिवगामीले देवसेनालाई कपटी मान्छिन् तर बाहुबली उनलाई अगाध स्नेह र माया गर्छन् । त्यति धेरै सबल नारी चरित्र हुँदाहुँदै पनि, के सासू र बुहारीको अन्तरद्वन्द्व देखाउन जरुरी हुन्छ ? निर्देशकले आमा–छोराको मनमुटावमा शासन व्यवस्थाका अरू कमजोरीहरू पनि देखाउन सक्थे तर उनले सोही तरिका रोजे, जो सदियौंदेखि चल्दै आएको छ ।

परिवर्तित समय र परिस्थितिसँगै परिवर्तित तथ्यहरू चलचित्रमार्फत प्रस्तुत गर्नुको साटो, महिलाले महिलालाई नै बुझ्न नसकेको पुरानो हतियार अपनाएका छन्, निर्देशकले । जसरी चलचित्रमा एउटा नायकको भूमिकालाई सुरुदेखि अन्त्यसम्म बलियो रूपमा प्रस्तुत गरिन्छ । त्यति नै बलियो रूपमा नायिकाको भूमिका किन प्रस्तुत गर्न सकिँदैन ? जुन रूपमा प्रभासलाई झरनाबाट माथि चढेको देखाइन्छ । एनिमेटेड भए पनि हेरिरहँदा त्यस्तो आभास हुन्न, केवल अनुभव हुन्छ त, प्रभासको साहस र बुद्धिमताको ।

अवन्तिका (तमन्ना भाटिया) पनि सुरुमा देखाउँदा एउटा युद्धशालीन योद्धा बलियो चरित्रको रूपमा प्रस्तुत गरिन्छ । शिवा (प्रभास) को सहायताबिना उनले प्रशंसनीय युद्ध कुशलता प्रस्तुत गर्छिन् । आफ्नो लक्ष्यका लागि आफ्नो ज्यान दिन पनि तयार अवन्तिकाको जब शिवासँग भेट हुन्छ, उनको तरबारको धार कहाँ गायब हुन्छ, पत्तो हुँदैन । उनलाई दुश्मनले आफ्नो जालमा फसाइहाल्छ । अवन्तिका आफैं लडाइँ गरेर निस्केको देखाउँदा पनि उनको चरित्रअनुसार सुहाउँदो नै देखिन्थ्यो होला तर निर्देशकले त्यो चाहेनन् । नारीको अस्तित्व शृंगार, रातो लुगा र मुस्कानमा छ । उनीहरूलाई आँखामा क्रोस बोकेर युद्धमा होमिएको सुहाउँदैन । लाली भरिएका ओठहरूमा हाँसो, आँखामा गाजल र टीकालगायतका शृगार र कपाल लामो र कोरेको हुन जरुरी छ । तर, पुरुषका लागि क्रोध, अहङ्कार, बल र जित्ने चाहना भए पुग्छ । यही सन्देश दिन्छन्, निर्देशक राजामैलीले प्रभास र तमन्नाको लभ स्टोरीबाट ।

देवसेना (अनुष्का सेठ्ठी) को प्रवेश पनि जबरजस्त छ । देवसेना एक राजकुमारी, त्यसमाथि धनुर्विद्यामा पोख्त देखिन्छिन्, उनको तरबार र तीरको निसाना चुक्दैन, बाहुबली (अमेन्द्र) सँग भेट नहुँदासम्म । जंगली सुँगुर मार्न जाँदाको दृश्यमा देवसेनाको वाणको निसाना यस्तो कमजोर देखिन्छ कि उनलाई वाण चलाउनै आउँदैन । वाणको रंगमा समेत निर्देशक अडिग छन् कि ‘पिङ्क फर लेडिज एन्ड ब्लू फर ब्वाइज’ । बाहुबलीले देवसेनालाई आफ्नो प्रेमका कारण वचन दिन्छन् तर राज्य अथवा देवसेना एउटा रोज्नुपर्ने भएपछि आमाको विद्याको याद आउँछ र वचनलाई आत्मसाथ गर्छन्, जसलाई धर्मको नाम दिइन्छ । जब बाहुबलीले आफ्नो वचन नतोड्ने अथवा देवसेनालाई नछोड्ने निर्णय गर्छन्, शिवगामीको क्रोध बिस्तारै बढ्दै जान्छ । सबै कुरामा बाहुबलीको राम्रो पक्ष मात्र देख्ने उनले त्यही एउटा निर्णयले छोराप्रति गलत धारणा बनाउन थाल्छिन् । देवसेनाको मान्यता छ, एउटा दुष्टको अत्याचारभन्दा एक सज्जनको मौन राज्यका लागि हानिकारक छ । त्यसैले भल्लाल (राना दग्गुबत्ती) को षड्यन्त्रप्रति ध्यानाकर्षण गराउँछिन् । तर शिवगामी भल्लालको निर्णयलाई रोक्न सक्दिनन् किनकि उनलाई देवसेनाको मनमुटावले भल्लालको निर्णय नरोक्न उक्साइरहेको हुन्छ । फेरि महिलाको प्रतिशोध महिलासँगै ।

जब बाहुबलीलाई राजद्रोहको आरोप लगाएर दरबारबाट निकालिन्छ, उनी आफ्नी पत्नी मात्र साथ लिएर निस्किन्छन् । गर्भवती पत्नीको खुब स्याहार गर्छन् । बाँकी प्रजा र आफ्नी पत्नीसँग रमाउन थाल्छन् । जब शिवगामीले उनलाई मार्न आदेश दिन्छिन्, मर्ने बेलामा कटप्पा (सत्यराज) सँग आमाको ख्याल गर्न अनुरोध गर्छन् । यो संवाद सुन्दा अलिकति अप्ठ्यारो लाग्छ । जुन पत्नीका लागि उनले राजदरबार र सिंहासन सबथोक छोडेर निस्के । यहाँसम्म कि उनले असाध्यै माया गर्ने पत्नी प्रसव वेदनामा छटपटाइरहेकी छन् र छिट्टै नै बच्चालाई जन्म दिँदै छिन् । यस्तो अवस्थामा जन्मिने बच्चालाई र श्रीमतीलाई नसम्झी बआमालाई सम्झिँदा यस्तो लाग्छ, यो संवाद यसकारण राखियो, ताकि बाहुबलीको चरित्रलाई अझ महान् बनाउन सकियोस् ।

देवसेना २५ वर्षसम्म साङ्लोमा बाँधिएर रहिन्, न त उनले केही विद्रोह गरिन्, न त प्रजाहरूले नै । किनकि उनी रानी हुन् राजा भएको भए प्रजाहरूले विद्रोह गरेको देखाउन जरुरी हुन्थ्यो । चलचित्रको आरम्भमा जति बलियो रूपमा देवसेनाको चरित्र देखाइयो, त्यति नै कमजोर भयो । अर्थात् उनको उत्तराद्र्धको चरित्र देखेर आरम्भको चरित्र हाँसिरहेछ ।

राजा विक्रमदेवको (बाहुबलीका पिता) श्रीमती ६ महिनाको गर्भवती हुँदा उनको अकालमा मृत्यु हुन्छ । उनकी श्रीमतीले छोरा अमेन्द्र बाहुबलीलाई जन्म दिन्छिन् । जब बाहुबली मारिन्छन्, उनकी श्रीमतीले छोरा नै जन्माउँछिन् ।  शिवगामीसँग त छोरा भल्लाल छँदै छन् । लाग्छ, छोरा एक परम्परा हो, जसको बिना राज्यको निरन्तरतामाथि प्रश्नचिह्न खडा हुन्छ । अझ एक ठाउँमा त ‘राजाबिनाको राज्य बिधवाको निधारजस्तो शून्य लाग्छ’ भन्ने वाक्यांशसमेत प्रयोग गरिएको छ । शिवगामी आफू कूटनीति र राजनीति कलामा पोख्त भए पनि महिला भएका कारण सिंहासनमा बस्न चाहँदिनन् । 

‘बाहुबली द बिगनिङ’ मा अवन्तिकालाई आमा छोरा (देवसेना र महेन्द्र बाहुबली) लाई मिलाउने पुलको रूपमा प्रयोग गरियो । जब शिवा (महेन्द्र) सँग उनको प्रेम झाङ्गिँदै गयो, अवन्तिकाको लक्ष्य पनि शिवाको नै भयो । चलचित्रमा प्रस्तुत गरेअनुसार ‘तुम मेरी हो, तुमसे जुडी हर चीज मेरा हे और तुम्हार लक्ष्य भी मेरी हे ।’ ‘सेक्सुअल पोलिटिक्स’ पुस्तकमा केट मिलेटले ‘रोमान्टिक लभ पनि महिला दमनको एउटा भाग हो’ भनेकी छन् । तर अहिलेको अवस्थामा हरेकले आफ्नो लक्ष्य आफैं पूरा गर्ने साहस राख्छन् । यो कुरा बुझ्न निर्देशकलाई अझै समय लाग्छ कि ? जे भए पनि अवन्तिकाको चरित्रले गर्दा नै माहिषमती राज्यले आफ्नो राजा पायो र देवसेना पनि मुक्त भइन् तर ‘बाहुबली द कन्क्लुजन’ मा निर्देशकले उनका लागि न त बाहुबली मार्फत् धन्यवाद दिन जरुरी सोचे, न उनका लागि कुनै संवाद नै, उनको आरम्भको भूमिका पनि उनको पछिल्लो भूमिका देखेर लाज मानिरहेको छ, देवसेनाको जस्तै ।

जब शिवगामीलाई आफूले गरेको निर्णयहरू गल्ती भएको महसुस भयो, उनले छोरा भल्लाललाई फाँसी दिन पनि सक्थिन् । सैनिक र प्रजाहरू साथमा थिए । तर त्यस्तो देखाउनुभन्दा शिवगामी आफैं राज्यबाट लखेटिएको देखाउन निर्देशकलाई उत्तम लाग्यो । उनको आरम्भको जुन शासन कौशल थियो, अन्त्यमा कुनै काम लागेन तर बाहुबलीको भूमिका दोहोरो रूप (पिता र पुत्र) मै निकै बलियो रूपमा प्रस्तुत गरियो ।

सामान्यतया बक्स अफिसमा अधिक कलेक्सन गर्ने चलचित्र नै सफल हो भनेर डंका पिटिन्छ । ‘बाहुबली २’ ले त झन् १५ सय करोडभन्दा माथिको कलेक्सन गर्‍यो । नेपालमा मात्रै यसले १५ करोडभन्दा माथि कलेक्सन गरेको भनिएको छ । हलभित्र बस्दा दर्शकहरूलाई आफ्नो पैसाको सदुपयोग भएको महसुस भए समीक्षाको खासै मतलब गरिँदैन । तर जबसम्म चलचित्रहरूले समानताको सन्देश देखाउन सक्दैनन्, त्यो पैसा काट्ने मेसिन मात्रै बन्छ । तर यथार्थ के हो भने समाजमा परिवर्तनका लागि मास मिडियामा प्रस्तुत गरिने सबै कुराले समानता प्रस्तुत गर्न जरुरी हुन्छ । 

प्राय: चलचित्रमा देखाइने पुरुषको बलियो र महिलाको सहायक/निर्धन भूमिकाले 

बच्चाहरूलाई समेत ‘जेन्डर रोल’ सामाजिकीकरणमा धारणा विकास गरिरहेको हुन्छ । चलचित्रमा नायिकालाई गुन्डाहरूले लखेट्दै छन् भने पाँच वर्षको बच्चाले सजिलै अनुमान गर्छ । 

अब उसलाई बचाउन नायक आउँछ । विशेषगरेर फिल्म तथा टीभीमा देखाइने महिलाका कम महत्त्वका भूमिकाले उनीहरूले समाजमा अग्रणी भूमिका निर्वाह सक्दैनन् भन्ने सन्देश जान्छ । अनुसन्धानहरूले के देखाउँछ भने सन् १९९०–२००५ सम्मका टप लिस्टमा परेका १०१ चलचित्रहरूमा अनुमानित सातवटा मात्र जेन्डर समानता भएका थिए । टेलिभिजनमा विज्ञापन देखाउनुपर्दा कुकिङ, क्लिनिङ र चाइल्ड कियरिङ छ भने मात्र महिला सेलिब्रेटीहरूलाई खेलाइन्छ तर मोटर साइकल, कार आदि छ भने पुरुष सेलिब्रेटीले नै मौका पाउँछन् । जबसम्म फिल्म मेकरहरूले सामाजिक उत्तरदायित्वको महसुस गर्न सक्दैनन्, तबसम्म फिल्म व्यापार मात्र बन्छ । अनि, मानवताबिनाको व्यापार साध्य होइन, साधन मात्र हुन्छ । 

 

प्रकाशित: असार ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार