विचार/विश्‍लेषण

वृद्धलाई संक्रमण

- डा. अर्जुनदेव भट्ट
८० वर्ष र त्योभन्दा माथिका वृद्धमा श्वास–प्रश्वास, मूत्र तथा जनेन्द्रिय र पाचन प्रणालीमा ७५ प्रतिशतभन्दा बढी संक्रमण देखापर्छ ।

असार ३, २०७४- २१ सौं शताब्दीमा वृद्धको संख्या प्राय: सबै देशमा द्रुतगतिले बढ्ने प्रक्षेपण गरिएको छ । यसमा नेपाल अपवाद हुनसक्दैन । जन्मदरमा आएको कमी र शिशु मृत्युदरमा देखिएको अद्भुत सुधारले नेपालमा अब ६० वर्ष र त्योभन्दा बढी उमेरको जनसंख्याको क्रमिक वृद्धि देखा पर्नेछ । संयुक्त राष्ट्र संघको प्रक्षेपण अनुसार २०१७ को नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ८७ हजार छ । त्यसमध्ये ६० वर्ष र त्योभन्दा बढीका पुरुषको संख्या झन्डै १८ लाख छ । त्यस मध्ये ८० वर्ष र त्योभन्दा माथिका पुरुष ५८ हजारभन्दा बढी छन् । सन् २०५०मा कुल जनसंख्या ३ करोड ६१ लाख ५९ हजार पुग्नेछ भने ६० वर्ष र माथिका पुरुष २६ लाख नाघ्नेछन् । ८० वर्ष र माथिका पुरुषको संख्या ३ लाख ६० हजार नाघ्नेछ । यो तथ्याङ्कको आधारमा भन्दा हाम्रो स्वास्थ्यसेवा आउँदा वर्षहरूमा वृद्ध पुरुषहरूको उपचारमा केन्द्रित हुनुपर्ने देखिन्छ । 

वृद्धहरूमा किन बढी संक्रमण ?
वृद्ध पुरुषमा देखापर्ने स्वास्थ्य समस्यामध्ये संक्रमण प्रमुख हो । वृद्ध अवस्थाको संक्रमणका कारणबारे सर्वप्रथम मेक्षनिकोभले वैज्ञानिक आधार प्रस्तुत गरेका थिए । उनले पत्ता लगाए अनुसार संक्रमण, प्रतिरक्षा प्रणाली र बुढ्याइँ पारस्परिक सम्बन्धले बाँधिएका छन् । उनको सिद्धान्त भन्छ– आन्द्रामा भएका किटाणुले जीर्ण विषादी उत्पादन गर्छन्, जसले शरीरका माक्रोफेज नाम पाएका रक्त कोशिकाहरूलाई उत्तेजित गराउँछन् र तिनीहरू आफ्नै शरीरका तन्तुहरूमाथि धावा बोल्छन् । यो अवस्थालाई अटो इम्युनिटी भनिन्छ । यो अवस्थामा शरीरमा उत्पादित रोग नाशक वस्तु रोग प्रतिकार गर्नुको सट्टा विभिन्न तन्तुमा नराम्रो असर गरेर शरीरलाई खियाउने वा वृद्ध पार्ने कार्यमा संलग्न हुन्छन् । पछिल्लो समयमा के विश्वास गरिएको छ भने शरीरमा हुने विभिन्न किटाणु, ढुसी, भाइरसजस्ता अति सूक्ष्म जीवाणु वा कुनै पनि एक कोशीय जीवले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई प्रभाव पार्छन् र बुढ्यौली निम्त्याउन मद्दत गर्छन् ।

त्यो बाहेक वृद्धावस्थामा शरीरमा भएका संक्रमण विरुद्धका छेकबार जस्तै– त्वचा, कफ रिफलेक्स तथा मूत्र जनेन्द्रिय प्रणालीको क्षमतामा ठूलो फरक आउँछ । पातलो त्वचा, घटेको कफरिफ्लेक्स र ठिकसँग मूत्र सञ्चय गर्न नसक्ने तथा पूर्ण मात्रामा पिसाब निखार्न नसक्ने मूत्रथैली, मूत्र सञ्चालनमा बाधा पुर्‍याउने प्रोष्टेट ग्रन्थि संक्रमणलाई पूर्णरूपमा निषेध गर्नुको साटो बढावा दिने गर्छन् । मधुमेहले पार्ने प्रतिरक्षा प्रणालीमा नकारात्मक असर तथा रक्त नसाका खराबीले निल्न गाह्रो पार्ने, फोक्सोमा समस्या थप्ने, रक्तनसा चुँडिएर मस्तिष्कघात हुने सम्भावना उच्च पार्छ । वृद्धावस्थामा प्रायश: अनिद्रा, चिन्ता, संक्रमण इत्यादिमा प्रयोग हुने औषधी आफैमा प्रतिरक्षा प्रणाली घातक र संक्रमण उन्मुख हुनसक्छन् । 

असामान्य लक्षण
संक्रमणले शरीरको कुनै भागलाई जुनसुकै उमेरमा पनि असर गर्न सक्छ । वृद्ध अवस्थामा संक्रमणले शरीरका विभिन्न प्रणालीलाई प्रभावित पार्छ । खास गरेर ८० वर्ष र त्योभन्दा माथिका वृद्धमा श्वास–प्रश्वास, मूत्र तथा जनेन्द्रिय र पाचन प्रणालीमा ७५ प्रतिशतभन्दा बढी संक्रमण देखापर्छ ।
अर्को महत्त्वपूर्ण कुरो के छ भने वृद्ध अवस्थामा देखापर्ने संक्रमणको लक्षण प्राय: अप्रारुपिक शैलीमा हुन्छ । त्यसैले रोग निदान ढिलो वा गलत हुनसक्छ । यकिन निदान नहुँदा वा सुरुवातको समयमा निदान हुन नसक्दा बढी वा थोरै उपचार भएर बिरामीलाई थप यातना पुर्‍याउने तथा एन्टिबायोटिक उपचारलाई मुकाबिला गर्न नसक्ने तुल्याइदिन्छ । 

संक्रमण भन्नासाथ हामी ज्वरोबारे सोच्न सक्छौं । तर वृद्ध अवस्थामा ज्वरो ज्यादै हलुका वा नहुन पनि सक्छ । तर बिरामी बरबराउने तथा उसको ज्ञान अनुभूतिमा शिथिलता आउने हुन्छ । संक्रमणमा ज्वरो नआउनुबाट शरीरको प्रतिरक्षा प्रणाली निकै कम छ भन्ने पूर्वानुमान गर्नुपर्छ । रक्त परीक्षण, पिसाबको जाँच र छातीको एक्सरे यस्ता बिरामीको निम्ति प्राय: अनिवार्य हुन्छ । दिसा पातलो वा आउँ, रगत परेको बिरामीको दिसाको जाँच पनि अनिवार्य हुनुपर्छ । अरु थप परीक्षण विशेषज्ञको रायअनुसार गर्नुपर्छ । 

मूत्र प्रणालीको संक्रमण 
८० वर्ष वा त्योभन्दा वृद्ध पुरुषमा मूत्र संक्रमणको लक्षण नभए पनि पिसाबमा किटाणु देखापर्ने सम्भावना धेरै भएकाले सामान्य तया रोग निदान एउटा कठिन प्रश्न हुन्छ । खास गरेर निकै कमजोर तथा शिथिल पुरुषमा रोगको कारण पिसाबमा देखिएको किटाणु हो वा होइन भनी छुट्याउन जटिल तर महत्त्वपूर्ण हुन्छ । मूत्र संक्रमणको लक्षण देखाउने र पिसाबमा किटाणु भएका वृद्धहरूमा प्राय: धेरैजसो प्रतिजैविक पदार्थले काम नगर्ने हुन्छ । किनभने उनीहरूले अरु विभिन्न संक्रमणका निम्ति प्राय:जसो एन्टिबायोटिक लिइराख्ने भएकाले पिसाबमा भएका किटाणु त्यस्ता औषधीमा बानी परेका हुन्छन् र सहजै त्यसको सामना गर्न सक्छन् । पिसाब फेर्न नसकेर सधंै नली लगाउन बाध्य भएकाहरूमा संक्रमणको समस्या अझै विकराल हुन्छ । 

वृद्धहरूमा मूत्र प्रणालीको तल्लो भागको संक्रमण हुँदा प्राय: ज्वरो आउँदैन । मृगौलाको संक्रमण हुँदा हल्कामात्र ज्वरो देखापर्ने वा ज्वरो नहुने हुन्छ । पिसाब पोल्ने, चहर्‍याउने, छिनछिनमा पिसाब फेरिराख्नुपर्ने, पिसाब लागेपछि रोक्नै गाह्रो हुने, राति पिसाब फेर्न उठिराख्नुपर्ने जस्ता समस्या मूत्र प्रणालीको संक्रमणका कारण देखापर्छन् । मृगौलाको संक्रमण कोखा दु:ख्ने र हलुका ज्वरोमै सीमित हुनसक्छ । यस्ता बिरामीको पिसाब परीक्षण गर्दा नली लगाएको अवस्था भए त्यसलाई फेरेर सफा पिसाब जाँच्न दिनुपर्छ । मूत्र लक्षण नभएका बिरामीको पिसाबमा किटाणु देखापरे पनि एन्टिबायोटिक उपचार गर्नु पर्दैन । 

मूत्र संक्रमणका निम्ति अस्पतालमा भर्ना भएर नसाबाट एन्टिबायोटिक उपचार गराउँदा–गराउँदै पनि ३ देखि ५ दिनभित्र फाइदा नभए मूत्र प्रणालीमा पत्थरी वा पिप जमेको छ कि भनी थाहा पाउन अल्ट्रासोनोग्राफी दोहोर्‍याउनु तथा सिटिस्क्यान गर्नुपर्छ । प्रोष्टेट ग्रन्थिका कारणबाट मूत्र सञ्चालनमा बाधा परेको भए त्यसको औषधी सेवन तथा शल्य उपचार गर्नु अनिवार्य प्राय: हुन्छ । मूत्रथैलीमा नली भएका बिरामीमा मूत्र संक्रमणको लक्षण प्रस्ट रूपमा छैन भने पिसाबको परीक्षण गर्दा किटाणु नभएको अवस्था स्थापित गर्न प्रयत्न गर्नुको कुनै अर्थ हुन्न । जीर्ण प्रोष्टेट ग्रन्थि शोथ भएका पुरुषमा भने एन्टिबायोटिक उपचार ६ देखि १२ साता सम्मको हुनुपर्छ । 

वृद्ध अवस्थामा बिना कुनै खासै कारण बिरामी शिथिल भए, अलमलमा परे (भ्रमित भए), बरबराए, लडे, खानमा अरुचि भए, पिसाब नियन्त्रणमा समस्या भए, ज्वरो नाप्दा थोरैमात्र पनि बढेको देखापरे त्यसलाई ठूलो महत्त्व दिनुपर्छ । यस्ता बिरामीको छाती, पाचन प्रणाली तथा मूत्र प्रणालीको पूर्ण जाँच गरेर संक्रमण केन्द्रित प्रणाली पहिल्याउँदै त्यसको उपचार तथा बिरामीको रेखदेख गर्नुपर्छ । 

प्रोष्टेट शल्यक्रिया
पुरुषको उमेर जति बढ्दै जान्छ, उत्ति नै प्रोष्टेट ग्रन्थिले ल्याउन सक्ने मूत्र अवरोधको सम्भावना पनि थपिँदै जान्छ । तर बिरामीको प्रोष्टेट ग्रन्थि ठूलो भएको वा सुकेर सानो भएको हुनसक्छ । त्यसैले ग्रन्थिको वृद्धि तथा तौलमात्र हेरेर त्यसको शल्य उपचार गर्ने या नगर्ने निर्णय गर्नुहुन्न । बिरामीलाई पिसाब निखार्न समस्या छ र पिसाब निख्रिन नसकेकाले मूत्र संक्रमण हुने गरेको छ भने वा मृगौला फुलेको छ भने बिरामीको मूत्र सञ्चालन तुरुन्त व्यवस्थित गर्नैपर्छ । राति सुतेको अवस्थामा थाहै नपाएर मूत्र चुवाहट देखापरे त्यस्ता बिरामीलाई सक्दो छिटो उपयुक्त तयारी गरेर मृगौला बचाउनका लागि प्रोष्टेट ग्रन्थिको शल्य उपचार गराउनुपर्छ । त्यस्तै प्रोष्टेट ग्रन्थिको अर्वुद रोगका कारणले मूत्र अवरोध देखापरे मत्थर पार्ने शल्यक्रिया अपनाउनुपर्छ । 

मूत्र प्रणालीमा बारम्बार संक्रमण भए र त्यसको कारण प्रोष्टेट ग्रन्थिले उत्पन्न गरेको मूत्र सञ्चालन अवरोध हो भन्ने प्रमाणित भए त्यसको उपचार शल्यविधि हुनुपर्छ । पिसाबको थैलीको घाँटी तथा मूत्रनलीको सुरुको भागलाई शल्यविधिबाट खुकुलो पारेर वृद्ध अवस्थाको कमजोर मूत्रथैलीलाई सघाउन सकिन्छ । उचित किसिमले मूत्र सञ्चालन व्यवस्थापन गर्नु भनेको मूत्र संक्रमणबाट मुक्त हुने एक अनिवार्य पूर्व आवश्यक सर्त पालना हो । २१ सौं शताब्दी वृद्धहरूको युग हो । विभिन्न किटाणु, ढुसी, भाइरस तथा एक कोशीय जीवले मानव शरीरलाई वृद्ध बनाउन ठूलो भूमिका खेल्छन् । अरु उमेरको दाँजोमा वृद्ध अवस्थामा संक्रमण देखापर्ने सम्भावना उच्च हुन्छर शरीरको जुनसुकै भागलाई संक्रमणले असर गर्न सक्छ । तर पनि श्वास–प्रश्वास, मूत्र जनेन्द्रिय तथा पाचन प्रणाली बढी निसाना हुने गर्छन् । 

डा. भट्ट वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट हुन् ।

 

प्रकाशित: असार ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार