विचार/विश्‍लेषण

खुश्वुदार गुलकन्द

- विमल निभा
राउन्ड टेबुलमा थरी–थरीका विशिष्ट खाद्यपदार्थहरूलाई जीवित साक्षी राखेर तिरंगा ‘छातावाल’ राजपासँग वार्ता गरियोस् ।

असार ३, २०७४- एक पटक फेरि राजपा (एक बखतको पुरानो मधेसी मोर्चाको परिवर्तित रूप राष्ट्रिय जनता पार्टी) र नेपाल सरकारको धारावाहिक शैलीको वार्ता असफल सावित भएको छ । यसको कारणको विषयमा विभिन्न राजनीतिक टाइप अडकल लगाइएको भए तापनि वास्तवमा यो ‘खानपिन’ले गर्दा भएको हो । विशुद्ध ‘खानपिन’ नै । त्यसउसले प्रमुख वार्ताधारी सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले यस सुस्वादु पक्षमा उचित ध्यान पुर्‍याउनु जरुरी छ । अन्यथा जहिले पनि उही ‘मुर्गीके डेढ टाँग’ (हामीतिरको स्थानीय भनाइ बमोजिम उस्तै–उस्तै निष्कर्षहीनता चरितार्थ हुनु) ।

याद गर्नोस्, पहिले–पहिलेको राजनीतिक– अराजनीतिक वार्ताको मजेदार छाँटछन्द । अहा, क्या सुनौलो किसिमको अतित थियो त्यो ! संक्षेपमा चमचमाइलो इतिहास भन्नोस् । त्यस समय अहिलेको जस्तो विलकुलै निरस खाले वार्ता हुँदैनथ्यो । उदाहरणार्थ तत्कालीन विद्रोही नेकपा माओवादीसँगको सरकारी वार्तालाई लिनोस् ।

नेकपा माओवादीका नेता कमरेडहरू तथा सरकारी ओहदाधारी नेताहरू तारेहोटलमा सुमधुर भेटघाट गर्ने गर्थे । अनि सुस्त–सुस्त ढंगले गरिने लम्बेतान संवादको सिलसिला प्रारम्भ हुन्थ्यो (बहुतै प्रेमपूर्वक) । अझ त्यसताकाका हेड विद्रोही नेकपा माओवादीका कमाण्डर कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कुनै पनि होटलभन्दा आरामदायी रिसोर्टहरूमा अन्तरंग छलफल गर्नु बेसी मनपथ्र्याे । जस्तो राजधानी काठमाडौं वरिपरिका धुलिखेल रिसोर्ट, ककनी रिसोर्ट, दामन रिसोर्ट, दक्षिणकाली रिसोर्ट, मनकामना रिसोर्ट, बूढानीलकण्ठ रिसोर्ट, नगरकोट रिसोर्ट इत्यादि । यस्ता ‘लक्जरी’ रिसोर्टहरूका हाइ क्वालिटी ‘खानपिन’को के कुरा गर्नु ?

मसला चिया, हट कफी, डबल अम्लेट, स्वीट जुस, सुपर सुप, बिग केक, लभिङ पिज्जा, रोष्ट चिकन, मटन करी, ब्राउन ब्रेड, ग्रिन सलाद, बनिला आइसक्रिम, फुलफ्राइड मोमो, मिस्क्ड चाउमिन, फ्रेस फ्रुट्स, पकेट पिकल्स, वासमती खिर, तन्दुरी रोटी, ताजा नान र (मेरो ‘खानपिन’को ज्ञान यत्ति नै) । अनि साथमा चिल्ड वियर, रेड वाइन र ब्लुलेभल ह्विस्की । अतएवं यस्तो सन्तुष्टिदायक ‘खानपान’युक्त वार्ता फेल हुने कुरै थिएन । तर अहिलेको असन्तुष्ट राष्ट्रिय जनता पार्टीसँगको सरकारी वार्तामा के भइरहेको छ ? वस्तुत: यस प्रकारको अतिशय रुख्खा–सुख्खा भोजनविहीन वार्ताले केही खास हुनेवाला छैन । 

यस सम्बन्धमा मेरो विनम्र सुझाव के छ भने राउन्ड टेबुलमा थरी–थरीका विशिष्ट खाद्यपदार्थहरूलाई जीवित साक्षी राखेर तिरंगा, ‘छातावाल’ राजपासँग वार्ता गरियोस् । मतलव, विशेष भोजनसहित । जस्तो, नयाँदिल्लीको मुर्गमुसल्लम, पटनाको पानीपुरी, लखनऊको शाही कवाफ, जयपुरको केशरी हलवा, भोपालको रबडी, कोलकाताको सन्देश मिठाइ, मुम्बईको मुरम्बा, चेन्नईको मसला डोसा, भोपालको पोहा, गान्धीनगरको ढोकला, चण्डीगढको सरसोंको साग इत्यादि । त्यसपछि हाम्रा परम आदरणीय महन्थ ठाकुरहरूसँगको वार्ताको के नतिजा हुन्छ ? मेरो विचारमा यस प्रकारको उच्च ‘खानपिन’को बन्दोबस्तीले वार्तामा अपूर्व सफलताको पाइन अनिवार्य रूपले चढ्नेछ । केही गरी कुनै कमी–कमजोरी भएको खण्डमा निर्धक्क लैनचौरीय खाद्य विशेषज्ञसँग कूटनीतिज्ञ परामर्श लिन सकिन्छ । अन्तत: सवाल ‘खापिन’को हो । र यही खाना सबथोक होइन र बन्धुहरू ?

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको संसदीय चुनावी क्षेत्र उत्तर प्रदेशको पवित्र नगरी वाराणसीको बनारसी पानलाई यस सन्दर्भमा किमार्थ बिर्सनुहुन्न । यसमा अन्तरनिहित असली किमाम, ४२० नम्बरको जर्दा र खुश्वुदार गुलकन्दको कुरै अर्को हुन्छ ।

 

प्रकाशित: असार ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार