प्रवास

आँखा शिविरका लागि न्युजिल्यान्डमा १० लाख संकलन

- नारायण खड्का, अष्ट्रेलिया

असार २, २०७४- नेपालको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा आँखा शिविर सञ्चालनका लागि न्युजिल्यान्डमा १० लाख बढी सहयोग रकम संकलन गरिएको छ । 

सिन्धुपाल्चोकमा आँखा रोगबाट पीडितहरुलाई नि:शुल्क उपचार पुर्‍याउने उद्देश्यले एनआरएन न्युजिल्यान्डले च्यारिटी डिनरको आयोजना गरेको थियो । डिनरबाट १२ हजार ५०० न्युजिल्यान्ड डलर संकलन गरिएको हो । नेपालको टिचिङ अस्पतालअन्तर्गतको आँखा विभागसँग सहकार्य गरेर यही सेप्टेम्बरमा आँखा शिविर सञ्चालन गर्न लागिएको र कार्यक्रमलाई सफल बनाउन सहयोग रकम संकलन गरिएको एनआरएन न्युजिल्यान्ड अध्यक्ष बाबुराजा महर्जनले जानकारी दिए ।
 
कार्यक्रममा ११ सय बढी आँखा रोगीहरुलाई आँखासम्बन्धी सामान्य रोगको उपचार गरिने र १ सय बढीको आँखाको अप्रेसन गरिने जानकारी दिइएको थियो । उल्लेख्य रुपमा विदेशीहरुले सहभागिता जनाएको कार्यक्रममा न्युजिल्यान्डका सांसद मार्क वुड, स्थानीय काउन्सिलका अधिकारीहरुका साथै एनआरएन सल्लाहकार चक्रबहादुर थापालगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

आँखा शिविरमा न्युजिल्यान्डमा रहेका केही आँखा विशेषज्ञहरुको समेत सहभागिताका लागि पहल गरिरहेको महर्जनले जानकारी दिए । उनले केही विशेषज्ञहरुसँग छलफल भइरहेकाले दुईजना विशेषज्ञ नेपालमा उपचारका लागि जानसक्ने बताए । 

प्रकाशित: असार २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार