गन्तब्य

घुम्न जाने हो ?

- -सुरज कुँवर, काठमाडौं

जेष्ठ २५, २०७४-कहिल्यै पहाड नचढेकी अनि उकालो आरालोको अनुभव नबटुलेकी महोत्तरी बिजुलपुरकी आशाकुमारी सिंहले जब एसएलसी सकिन अनि मात्रै पहाड देख्ने अवसर पाइन् ।

उच्च शिक्षाका लागि डिल्लीबजार कन्या क्याम्पस भर्ना हुन काठमाडौं आउँदै गर्दा नारायणगढ छिचोलेपछि पहिलोपटक उनले ठूल–ठूला पहाड देखिन् । काठमाडौं ओर्लिएपछि मात्रै उकाली–ओरालीको अनुभव लिइन् । 

यो १३ वर्षअघिको कुरा हो । तर, यति बेला आशाको परिचय अन्तर्राष्ट्रियस्तरमा विस्तार भइसकेको छ । काठमाडौं आएपछि मात्रै २२ वर्षको उमेरमा सगरमाथा टेकेकी आशा यति बेला सातवटै महादेशका सबैभन्दा अग्ला चुचुरा टेक्ने अभियानमा जुटिरहेकी छन् । ‘छवटा महादेश सके अब अन्टार्टिकाकै सबैभन्दा अग्लो भिन्सन हिमाल चढ्ने मिसनमा छु,’ हालैको हिमालयन ट्राभल मार्टमा भेटिएकी आशाले कान्तिपुरसँग भनिन् । उक्त सम्मेलनमा ‘पहिलो समावेशी महिला सगरमाथा आरोहण दल’ की नेतृ शैली बस्नेत ५३ मुलुकका २ सयभन्दा बढी ब्लगर/ट्राभल राइटरलाई आशाको कथालाई नेपालीको घुमफिर संस्कृतिसँग जोड्दै भन्दै थिइन्, ‘हाम्रो देशमा यतिका हिमालहरू छन् तर अहिले पनि तराई/मधेसमा एक्सपिडिसन, ट्ेरकिङ, हाइकिङलगायतका कैयन पर्यटकीय शब्दावली स्थानीय भाषामै छैनन् ।’

हाल लाजिम्पाटमा एभरेस्ट वोमेन ट्रक्स नामको व्यावसायिक कम्पनी सञ्चालन गर्दै आइरहेकी शैलीका अनुसार, मधेसमा मात्रै होइन धेरै नेपाली समुदायमा हाइकिङ, ट्ेरकिङ, एक्सिपिडिसन, टुर, भ्याकेसन आदिबारे न त स्थानीय शब्दावली नै छन् न त यिनको व्यावहारिक प्रयोग छ । पर्यटनकै लागि घुम्नेभन्दा उमेर पुगेपछि तीर्थ जाने र बिरामी भएपछि उपचारका लागि निस्किनेबाहेक खासै यहाँ घुम्न निस्किँदैनन् । केटाकेटीका लागि घुम्नु भनेको मामाघरसम्म पुग्नु, युवायुवतीहरूका लागि मेलामा जानुबाहेक नेपालमा घुमघाम संस्कृतिको खासै विकास भएको पाइँदैन । यदि कोही घुम्ने बहानामा घरबाहिर निस्किहाले उनीहरूको धेय प्राय: खानामै फोकस हुन्छ । ‘कतिपयले मज्जाले मासु/मदिरा खानुलाई घुमघामको आनन्द मान्छन् । तर, घुमफिरमा निस्किनु भनेको आफूले आफूलाई चिन्नु पनि हो,’ आध्यात्मिक टुर अपरेसन चलाउँदै आएकी काठमाडौंकी रैथाने शैलीले भनिन् । 

घुमफिरमा निस्किनुलाई कतिपयले कठिन ठान्छन् । तर, यो सोचेजस्तो कठिन हुँदैन । केही सिक्न चाहने, जिज्ञासु स्वभावको हुनुहुन्छ भने, यात्राले आँखा खोलिदिन्छ । संसारलाई हेर्ने धारणा फराकिलो बन्दै जान्छ । आफूलाई ‘म को हुँ ?’ भनी चिनाउँछ । हामीले थाहा नभएको हाम्रै लुकेको क्षमतामा निखार ल्याउँछ । र, यात्रा शिक्षा पनि हो । त्यसैले घुम्न निस्किनुहोस् । अहिले गर्मी र मनसुनको बेला हो । यदि नेपालभित्रै घुम्न चाहनुहुन्छ, पर्यटन बोर्डका प्रमुख दीपकराज जोशीले जानैपर्ने पाँच हिल स्टेसनका रूपमा कान्तिपुरसँग नेपाली गन्तव्यका बारे सुझाएका छन् । पछिल्ला दिन आन्तरिक पर्यटकहरूको घुम्ने शैलीका आधारमा उनले गर्मी छल्न र आनन्द लिन डडेल्धुरा, रारा, पाल्पा, जिरी र इलाम पाँच हिल स्टेसन सुझाएका छन् । पोखरा सदावहार गन्तव्य हो । हनिमुन, तीर्थयात्रा, भम्रणका लागि नेपालीहरूमाझ प्रख्यात पोखरालाई नेपालको पर्यटकीय राजधानी पनि भनिन्छ । चाहे हिउँदयाम होस् या गर्मी पोखरा पर्यटकहरूका लागि अफ सिजन कहिल्यै हुँदैन । व्यवसायीहरूले काठमाडौं, चितवन र पोखरालाई गोल्डन ट्रयांगल भन्छन् । यो आकारभित्र रहेका यी तीनवटै गन्तव्य उहिलेदेखि चलेका र अहिले पनि आन्तरिक र बाह्य पर्यटकका लागि प्रख्यात डेस्टिनेसन नै हुन् । 

इलाम 

इलाम नेपालीहरूमाझ परिचित गन्तव्य हो । साइटसिनका लागि इलाम प्रख्यात छ । भद्रपुरदेखि ७५ किलोमिटर उतरमा पर्ने इलाम पुग्न तीन घण्टाको ड्राइभ गर्नुपर्छ । खासगरी यो क्षेत्र ‘ग्रिनहिल्स’ का लागि चिनिएको छ । जता हेरे पनि हरियो नै हरियो देखिन्छ । हालसम्म यहाँको तापक्रम ३२ डिग्रीभन्दा धेरै पुगेको छैन । समुद्र सतहदेखि १२ सय मिटर उचाइमा रहेको इलामको सबैभन्दा अग्लो स्थान सन्दकपुर ३६ सय ३६ मिटर उचाइमा छ । यहाँबाट नेपाल, भारत र भुटानका हिमचुचुरा देख्न पाइन्छ ।

कन्याम, अन्तुडाँडा, माईपोखरी, सन्दकपुर, ढापपोखरी पछिल्ला वर्ष आन्तरिक पर्यटकको रोजाइमा परेका स्थान हुन् । यहाँ वार्षिक २ लाख हाराहारी आन्तरिक पर्यटक घुम्न पुगेका छन् । लेप्चा र लिम्बू र राई जातिको मौलिक रहनसहन, जीवनशैली नदेखेकाहरूका लागि यो अर्को आकर्षण हो । अदुवा, चिया, अम्रिसो, अलैंची, जडीबुटी, दूध र तरकारी निर्यातमा कहलिएको इलाम कृषि पर्यटनका लागि पनि अर्को गन्तव्य हो । प्राकृतिक सौन्दर्यले भरिएको इलामबाट सूर्य उदाएको हेर्दै फेसबुकमा फोटो अपलोड गराउन अहिले पनि धेरै लालायित हुन्छन् । 

जिरी 

काठमाडौं आसपास बस्नेहरूका लागि छोटो बिदा मनाउने गन्तव्य धेरै छन् । नगरकोट, धुलिखेल, दामन आदि । तर, अहिले प्राय: सबै गाउँपालिका वा नगरमा होमस्टे र रिसोर्ट छन् । एक/दुई दिनको बिदा उपयोग गर्न यी काफी छन् । तर, काठमाडौंदेखि १ सय ८८ किलोमिटर दूरीमा रहेको उत्तरतर्फको हिमाली सहर जिरीको बाइक वा सानो गाडीको यात्रा रोमाञ्चकारी हुन्छ । तामाकोसी नदी, झरना, पहाडी खोंच, हरियाली, वनजंगल छिचोल्दै जिरी पुग्दा उमङ्ग जाग्छ । नेपालको स्विजरल्यान्ड भनिने जिरी एकपटक जानैपर्ने पर्यटकीय गन्तव्य हो । रैथाने जिरेल समुदायको रहनसहन, शेर्पा जातिको बसोबास, स्विस सरकारले गरेका विकास निर्माण हेर्नलायक छन् । अनलाइनहरूमा उल्लेख भएअनुसार, भर्खरै विवाहित जोडीहरूले एकपटक पदयात्रा गर्नुपर्ने ठाउँमध्ये जिरी पनि हो । 

पाल्पा 

राजधानीबाहिरको प्राचीन बस्ती भएको सहर पाल्पामा पर्छ । डाँडामा बसाइएको पुरानो बस्ती नैं अहिलेको तानसेन सहर हो । मल्लकालीन र सेनकालीन इतिहास बोकेको पाल्पा गर्मी र जाडो छल्न प्रख्यात छ । यो हिमाल र तराईको लगभग बीच भागमा पर्छ । पाल्पामुन्तिरको लुम्बिनीमा ४० डिग्री हाराहारीको तापक्रम हुन्छ । तर बुटवलदेखि ४० किलोमिटरमाथि रहेको पाल्पामा गर्मीयाममा पनि सिरक ओढ्नुपर्छ । पाल्पा पुग्नुभयो भने करिब–करिब काठमाडौंकै झल्को आउँछ । त्यहाँ पनि वसन्तपुर, मखनटोल, असनटोल, नारायणथान आदि छन् । बडाहाकिमहरूले कुनै बेला यहाँका टक्सारलगायतका उद्योगका लागि गोर्खा, काठमाडौंबाट भित्र्याएका कामदारहरूले नै बसालेको यो तानसेनको कालीगण्डकी फिसिङका लागि प्रख्यात छ । त्यस्तै खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको रानीमहल, पाल्पाली ढाकाटोपी, करुवा आदि आन्तरिक पर्यटकहरूका लागि रुचिपूर्ण हुन सक्छन् । 

रारा 

भर्खरै सकिएको घुमफिर वर्ष २०७३ मा रारा अत्यधिक आकर्षक गन्तव्य बन्यो । १२ हजारभन्दा बढी नेपाली रारा पुगे । अहिले पोखरा/काठमाडौंबाट कर्णाली राजमार्गको बाटो हुँदै मोटरसाइकलमा रारा जानेहरू अत्यधिक छन् । रारा सुन्दरताका लागि प्रख्यात छ । त्यहाँ पुग्ने जोकोही राराको प्राकृतिक सौन्दर्य र असला माछाका लागि क्रेजी हुन्छन् । ट्राभल एजेन्सीहरूका अनुसार, काठमाडौंदेखि रारासम्म बढीमा १३ दिनको टुर प्याकेज हुन्छ । प्रतिव्यक्ति कम्तीमा २० हजार रुपैयाँसम्म खर्च लाग्छ । यो रकममा काठमाडौंदेखि नेपालगन्जको हवाइजहाज भाडा समेटिएको छैन । तर, नेपालगन्जदेखि रारा विमानस्थलसम्मको हवाई भाडा भने समेटिएको छ । रारा (ताल्चा) विमानस्थलदेखि डेढ घण्टा उकालो हिँडेपछि रारा पुगिन्छ । खान/बस्न होटलको व्यवस्था छ । भिजिट कर्णाली ट्राभल प्रालिका अनुसार, रारामा क्याम्पिङ पनि गरिन्छ । यस्ता एजेन्सी काठमाडौं र नेपालगन्जमा भेटिन्छन् । यदि कर्णाली राजमार्गबाट यात्रा गर्दै हुनुहुन्छ भने नेपालगन्जदेखि सुर्खेत, कालीकोट, जुम्ला हुँदै मुगु पुग्न सकिन्छ । मुगुको सदरमुकाम नपुग्दै ताल्चाबाट रारा जाने कच्ची बाटो भएर उकालो लाग्न सकिन्छ । अहिलेको गर्मी छल्न र लामो बिदा मनाउन रारा परिवार र साथीभाइका लागि उत्कृष्ट रोजाइ हुन सक्छ । 

डडेल्धुरा 

सुदूरपश्चिमका धनगढी र महेन्द्रनगर अनि यी दुई ठूला सहर आसपासका स–साना सहरमा यति बेला उखरमाउलो गर्मी छ । प्राय: गर्मी छल्न यस भेगका धनाढ्यहरू कुनै बेला भारतको नैनितालसम्म पुग्थे । तर, अहिले तराईमाथिको पहाड उक्लिने प्रचलन बढ्दै गएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पछिल्ला दिन डडेल्धुरा पश्चिममा हिल स्टेसनका रूपमा उदाउँदै गरेको बताउँछन् । धनगढीबाट मोटरसाइकलमा घुम्न जानेहरूका लागि भीमदत्त राजमार्गमा पर्ने कैलालीको बुढीतोला, खानीडाडा, फलटुडे, बुडर डडेल्धुराको भातकाँडा, बागबजार रमणीय छन् । यदि खप्तड नजाने हो भने केही दिनको विकेन्डका लागि डडेल्धुरासम्मको घुमफिर आनन्दको हुन्छ । पहाड खोपेर बनाइएको राजमार्ग, आसपासमा विकास हुँदै गरेका कृषि बजार, जैविक उत्पादन, मह/तरकारी खेती खानपान यहाँका आकर्षण हुन् ।

प्रकाशित: जेष्ठ २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार