विचार/विश्‍लेषण

निर्वाचित महिलाको जिम्मेवारी

- दुर्गा घिमिरे, काठमाडौं

जेष्ठ २५, २०७४-स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । भरतपुरमा मतपत्र च्यात्ने जस्तो गैरजिम्मेवारपूर्ण कार्य भएको छ, जो प्रजातन्त्रको मूल्य र मान्यता विपरीत हो । तर निर्वाचन हुनसक्दैन कि भन्ने आशंका हट्यो । र सर्वसाधारणले निर्वाचनप्रति देखाएको उत्साह सराहनीय देखिन्छ ।

पहिलो चरणको निर्वाचनमा परिणामलाई हेर्दा महिला मेयर पदमा हुनुपर्ने जति सहभागिता भएन । मेयरमा जम्मा ४ जना महिला निर्वाचित भए र उपमेयर मा ८५ जना, गाउँपालिकाको अध्यक्षमा आठजना, उपाध्यक्षमा १५३ जना अनि वडा अध्यक्षमा २६, महिला सदस्यमा २४५६, दलित महिलामा २३० निर्वाचित भए । अन्य सदस्यको तथ्यांक हेर्दा उत्साहजनक भए तापनि मेयरमा भने महिलाको सहभागिता एकदमै न्युन छ । मेयर पदमा न्युन सहभागिताको कारण राजनीतिक दलहरूको महिलाप्रतिको सोच हो । 

दुई–चारजना महिला मेयरको प्रत्यासी पनि भए र निर्वाचनमा विजयी पनि भए, तर उपमेयरमा भने उनीहरूको सहभागिता उल्लेखनीय रह्यो । काठमाडौं महानगरपालिकाको उपमेयरको कांग्रेस उम्मेदवार हरिप्रिया खड्गीले सबैभन्दा बढी मत प्राप्त गरी विजय प्राप्त गरिन् । उनले ५८ हजार ९ सय ५२ मत प्राप्त गरिन् । महिलाहरू अहिले जिम्मेवारी बहन गर्न सक्षम छन् । दलहरूले उनीहरूलाई महत्त्वपूर्ण पदमा जिम्मेवारी दिन सक्नुपर्छ । अहिले नेपालमा महिलाको हर क्षेत्रमा राजनीतिक सहभागितामा वृद्धि भएको छ । यो अत्यन्तै महत्त्वपूर्ण छ । 

निर्वाचित महिलाले अब निर्वाह गर्नुपर्ने दायित्व पनि त्यतिकै महत्त्वपूर्ण छ । आआफ्नो निर्वाचन क्षेत्रमा गएर आफ्नो काम–कर्तव्यलाई निष्ठासाथ सम्पन्न गराउन जरुरी छ । चुनावका बेला जनताका अगाडि गरेका प्रतिबद्धता पुरा गर्न विभिन्न तहमा निर्वाचित महिला उम्मेदवारले सक्रिय रूपमा अगाडि आउनुपर्छ ।

काठमाडौंको धुलो र धुवाँको व्यवस्थापन सबैभन्दा पहिले गर्नु आवश्यक छ । अहिले धुवाँ र धुलोको कारण काठमाडौं प्रदूषित भएको छ । श्वास–प्रश्वासको रोग बढ्दै गएको छ । जनस्वास्थलाई प्राथमिकता दिनु सबैभन्दा ठूलो आवश्यकता हो । गाउँ र नगर विकासका लागि विनियोजन गरेको बजेटको प्रभावकारी रूपमा कार्यान्वयनको आवश्यकता छ । पहिलो चरणको चुनावमा विनियोजित १७ प्रतिशत रकम पहिलेको तुलनामा १० गुणा बढी भएकाले स्थानीय तहको विकासमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यसैले विजयी स्थानीय सरकारका प्रतिनिधिहरूले आफ्ना कामकारबाहीलाई तत्कालै सुरु गर्नु आवश्यक छ । आफ्नो गाउँको प्राथमिकतालाई निर्धारण गरेर सोही अनुरुप कार्यको थालनी गर्नुपर्छ । गाउँमा सबैभन्दा ठूलो कुरा पूर्वाधारको विकास हो । त्यसका लागि तत्कालै कार्ययोजना बनाएर काम थालनी आवश्यक छ । 

निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले दोस्रो चरणको चुनाव असार १४ गतेका लागि सारेको छ । अब यो तोकेको समयमा कुनै कारणले पनि परिवर्तन गर्नु हुँदैन । सबै राजनीतिक दलले एकमत भएर निर्वाचन सम्पन्न गराउनुपर्छ । चुनावमा दलहरू बीचको तालमेलले समस्या पनि उत्पन्न हुनसक्छ । पहिलो चरणको चुनावमा यही कारणले कतिले मतदान पनि गरेनन् । सैद्धान्तिक निष्ठा भएका कार्यकर्ताले धेरै असन्तुष्टि व्यक्त गरे । यस्ता कुरालाई राजनीतिक दलहरूले गम्भीर रूपमा ध्यान दिन जरुरी छ ।

दोस्रो चरणमा ४६१ पदमा प्रतिस्पर्धा हुँदैछ । चुनाव हुने भएको छ । यसमा दलहरूले महिलालाई मेयर पदको जिम्मेवारी दिन पछाडि पर्नु हुँदैन । अहिलेको परिवेशमा महिला पनि सक्षम छन् र जिम्मेवारी दिएको खण्डमा आफ्नो भूमिकालाई निर्वाह गर्न पछाडि पर्ने छैनन् । अहिले २६५ नगरपालिकामा दोस्रो चरणको निर्वाचन हुँदैछ । तिनमा मेयर पदमा महिलाको उल्लेखनीय सहभागिताको आशा गरौं। 

निर्वाचित महिलालाई प्रशिक्षणको पनि आवश्यकता छ । यसैले राजनीतिक दलहरूले आफ्ना निर्वाचित महिलाहरूलाई प्रशिक्षण दिएर उनीहरूको कार्यक्षमतामा वृद्धि गर्नुपर्छ । यसैगरी महिला सम्बन्धी संघ/संस्थाहरूले पनि निर्वाचित महिलाहरूलाई तालिम प्रदान गर्नुपर्छ । 

तालिममा स्थानीय समस्याको पहिचान कसरी गर्ने, संविधान र कानुनमा भएका महिला सम्बन्धी व्यवस्था गाउँमा हुने महिला सम्बन्धी हिंसा नियन्त्रणका लागि चाल्नुपर्ने कदम के हुन सक्छन्, सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता, द्वन्द्व व्यवस्थापन आदिबारे उनीहरूलाई सशक्त तुल्याउनुपर्छ । यस बाहेक बालबालिकाको समस्या र प्राथमिकता, स्थानीय स्रोतसाधन परिचालन, आर्थिक विकासका कार्यक्रम आदि विषयलाई समेटेर पनि तालिम दिनुपर्ने हुन्छ । विजयी महिलाहरूले आफ्नो छविलाई स्वच्छ राख्दै विभिन्न तहमा बढ्दै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ ध्यान पुर्‍याउन जरुरी छ ।

प्रकाशित: जेष्ठ २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार