जीवनशैली

श्रद्धाञ्जली : धर्ती रक्षकको अवसान

- अखण्ड भण्डारी

जेष्ठ २०, २०७४-‘नेपाली सेनाको विमान दुर्घटना’ भन्ने समाचार शीर्षक देख्नासाथ पापी मनले प्रश्न सोधिगयो– कतै त्यसका चालक कैलाश त थिएनन् ? दुई वाक्यमुन्तिर अन्तत: त्यही नाम देखियो । म स्तब्ध भएँ । ‘धर्तीरक्षक’ उपनाम दिन रुचाउने उनै कैलाश त्यही धर्तीमा बिलिन हुन पुगेछन् । ‘जोखिम यात्रा’ का तिनै सर्जक जोखिम यात्रा छिचोल्दै गर्दा जिन्दगीलाई नै बिसाउन पुगेछन् । जेठ १६ गते सुदूर पश्चिम बाजुराको आकाशमा मडारिएको बेगवान हावाले कर्मशील स्रष्टालाई बत्याएर नभेटिने संसारमा पुर्‍याइदिएछ ।

महासेनानी कैलाश गुरुङ सैनिक विमानका क्याप्टेन मात्र थिएनन्, राम्रा गीतकार र कविसमेत थिए । राजनेता गिरिजाप्रसाद कोइरालाको निधनका बेला एउटा गीत टेलिभिजनहरूमा लगातार बजिरह्यो– 

घन्टी शंख रोइरहेछ किन आर्यघाट

बाचा तोड्यौ, मृत्यु रोज्यौ, किन हामीबाट

त्यो शब्द कैलाशको थियो । सैनिक विमान लिएर आकाशमा उड्दाउड्दै उनी शब्दका थुंगाहरू स्मरणमा बटुल्थे । जहाज बिसाएपछि त्यसको माला गुथेर गीत राख्ने सिंगौरीमा सिउरिन्थे । त्यसैले उनका सिर्जनामा प्रकृति, संस्कृति, विकृतिदेखि आफ्नो पेसा अनि सबैभन्दा ठूलो कुरा देशको माया हुन्थ्यो । कैलाशको गाउँ भोजपुर छिनामखुका संगीतकार बुलु मुकारुङ भन्छन्, ‘उनका कुनै पनि गीत ठट्यौला प्रकृतिका छैनन् । गहन र प्रेरणादायी छन् ।’

कवितामा समेत कलम चलाए पनि उनको मूल विधा गीत नै रह्यो । उनले लेखेका गीतका पाँचवटा एल्बम ‘अर्पण’, ‘कलश’, ‘जोखिम यात्रा’, ‘विभूति बन्दना’ र ‘नेपाली बीर सैनिक’ बजारमा छन् । सैनिक सेवाका वरिष्ठ पदमा रहेका गीतकारहरूको संयुक्त एल्बम ‘क्याम्प फायर’ मा उनी पनि समाविष्ट छन् । उनका गीतमा सुक्मित गुरुङ, राजेशपायल राई, जगदीश समाल, रोशन गुरुङ, जमुना शर्मा, रीमा गुरुङ, सुमीत खड्का, खेम गुरुङ, राहुल प्रधानलगायतले स्वर दिएका छन् । गीति संग्रहतर्फ ‘रक्षकको गीत’ र त्यसको अंग्रेजी संस्करण ‘अड्स फ्रम दि हिमालयन’ एवं ‘काबेरी’ कविता संग्रह प्रकाशित छन् । 

बालसखा संगीतकार बसन्त मुकारुङ उनलाई पढाइमा तेज, मिलनसार, सरल, सक्रिय र नयाँ काममा रुचि राख्ने व्यक्तिका रूपमा चित्रण गर्छन् । बसन्तले कैलाशका शब्द रहेको नेपाली सेनाको कालीभञ्जन गणको गीतमा संगीत गरेका थिए । कैलाश नेपाली सेनाका त्यस्ता अधिकारी थिए, जसले आफू पुगेका गणदेखि सिंगै सैनिक संगठनका ‘पहिचान गीत’ लेखेका छन् । चाडपर्वका गीत उनको अर्को विशेषता हो । ‘उनका गीतमा शब्दशिल्प तारिफ योग्य हुन्थे’, बसन्तले सम्झे, ‘लेख्न मात्र लेख्ने होइन, त्यसमा केही गुण हुनुपर्छ भन्ने उनको मान्यता थियो ।’ 

भोजपुरे कवि विप्लव ढकालको मूल्यांकनमा कैलाश सिर्जनशील, ऊर्जाशील र कर्मशील थिए । ‘उनका लेखनमा जीवन र जगतका विविध पाटालाई सरलतापूर्वक केलाइएको हुन्छ’, उनले भने । यसमा बुलु मुकारुङले थपे, ‘कैलाशका लेखाइमा क्षेत्रीयता, प्राकृतिक सम्बद्धता एवं मौलिक परिदृश्यको कलात्मकता हुन्छ । देश, माटो, भूमि र राष्ट्रियताको भावना ओतप्रोत हुन्छ । कल्पनाशीलता कमै मात्र पाइन्छ । उनको जस्तो आनीबानी थियो, उस्तै चरित्रका गीत लेख्थे ।’ उनी गाउने र संगीत सिर्जना गर्ने कामसमेत गर्थे । 

सैनिक पाइलटका रूपमा उनले धेरै जोखिमपूर्ण उद्धार गरेको सहकर्मीहरू बताउँछन् । सशस्त्र द्वन्द्व र महाभूकम्पमा उनको उड्डयन भूमिकाको सैनिक सेवाभित्र प्रशंसा हुन्छ । अर्कातिर सिर्जना कर्मबाट जुटेको रकम सामाजिक सहयोगमा उपयोग गर्थे । उनले पुस्तकबाट आएको नाफाको ५० प्रतिशत भोजपुरबाट साहित्य र शिक्षामा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कार दिन कोष बनाएका छन् । विपन्न वा असहायले मात्र पाउने उक्त पुरस्कारका लागि ४ लाख रुपैयाँको अक्षय कोष छुट्याएको उनले केहीअघि जानकारी गराएका थिए । 

भोजपुरको छिनामखुमा २०२७ पुस १४ गते नरबहादुर र गणेशकुमारी गुरुङका साँइला छोराका रूपमा जन्मिएका कैलाशले जनप्रशासन र इतिहासमा स्नातकोत्तर गरेका थिए । जेठा दाइ गुम्बा विकास समितिका सदस्य सचिव नरेन्द्र गुरुङका अनुसार उनले सैनिक सेवामा प्रवेश गरेपछि अमेरिकाबाट पाइलटको तालिम लिएका हुन् । उनैले भोजपुरको आफ्नो गाउँमा हेलिकप्टरमा गाडी पुर्‍याएका थिए । उनकी श्रीमती सावित्रीरत्न राना गुरुङ नेपाली सेनामै प्रमुख सेनानी छन् । दुई छोरी विभूति (१२ वर्ष) र काबेरी (९ वर्ष) का छन् । 

‘उनका सिर्जनामा देश, जनता, समाज र संस्कृतिका अतिरिक्त जीवन र जगत सघन रूपमा प्रकट भएका पाइन्छन्’, भोजपुरकै कवि शशि लुमुम्बू कैलाशबारे भन्छन्, ‘सैन्य सेवा र पाइलटको मनोदशा एवम् अनुभव र अनुभूतिलाई पनि उनले साहै्र कलात्मक रूपमा आफ्ना सिर्जनामा कुँदेका छन् । नेपाली मौलिक चाडपर्व, संस्कार र संस्कृतिलाई औधी प्रेमभाव प्रकट गरेका छन् । उनी समयको वेगलाई समात्न सक्ने सर्जक हुन् ।’ 

संगीत क्षेत्रमै कार्यरत फुर्बा शेर्पा उनलाई सधैं सिर्जनाको कुरा गर्ने व्यक्तिका रूपमा चिन्छन् । कुनै–कुनै गीतमा नजानिँदो व्यंग्य मिसाउनसमेत खप्पिस थिए उनी । उनको पहिलो एल्बममा सुमीत खड्काले गाएको गीत यस्तो छ– 

सलल बग्यो सलल

धर्तीलाई चिर्दै त्यो टिस्टा खोला 

सिमाना पारी बस्यो नि माया

कहिले भेट होला ?

भौगोलिक संकुचनभित्र माया अटाउन नसक्ने विषय भित्र भनाइ बेग्लै थियो । त्यसको अन्तरामा उनले लेखेका छन्, ‘आफन्त–पराई यो देश र त्यो देश कसले बनायो...मायाले सीमा नभन्दो रै’छ पागलै बनायो ।’ बुलुको ठहरमा, ‘व्यस्त र जिम्मेवार हुनुपर्ने सैनिक सेवामा भएकाले उनको सिर्जनशील प्रतिभा अलि ओझेलमा परेकै हो । साहित्य र गीति क्षेत्रमा मात्रै आफूलाई केन्द्रित गर्न पाएको भए उनको राम्रै वर्चश्व कायम हुने थियो ।’ 

जो मर्न कहिल्यै डराउँदैन

जो इमान कहिल्यै गुमाउँदैन

बाँचिरहन्छ ऊ देशका लागि

मनमा राष्ट्रिय झन्डा बोकी 

सैनिक दिवसका सन्दर्भमा उनले लेखेको यो गीत सेनाभित्र लोकप्रिय छ । र, यसले उनको त्यही विशेषतालाई सधैं सम्झाइहनेछ– किनकि, न उनी मर्न डराए, न कहिल्यै इमान गुमाए । त्यही भएर उनी बाँचिरहनेछन् । राष्ट्रिय झन्डालाई उँचो बनाइरहनेछन् । हार्दिक श्रद्धाञ्जली ।

creative@kmg.com.np

प्रकाशित: जेष्ठ २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार