अर्थ / वाणिज्य

निगमको बोइङ दोहामा ग्राउन्डेड

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ५, २०७४- नेपाल वायु सेवा निगमको गण्डकी नामक बोइङ जहाज दोहामा ग्राउन्डेड भएको छ । दोहाबाट बुधबार यात्रु बाकेर काठमाडौं आउने क्रममा एक्कासि प्राविधिक समस्या देखिएपछि उक्त विमान दोहामा ग्राउन्डेड हुन पुगेको निगम जनाएको छ । 

एक अधिकारीका अनुसार दोहाबाट उडेको ३० मिनेटपछि उक्त विमान उतै फर्किएको थियो । ‘इक्यभमेन्ट ओभरहिट भएपछि जहाज पुन: उतै फर्किएको थियो,’ स्रोतले भन्यो, ‘यस्तो समस्यामा ९० मिनेटभित्र जहाजलाई अवतरण गराइसक्नुपर्छ ।’ कुनै उपकरणमा देखापरेको तापक्रमको समस्याले आकस्मिक अवतरण गर्दा उक्त विमानमा अर्को समस्या पनि देखिएको छ । 

स्रोतका अनुसार अवतरणका बेला इन्धनको अत्यधिक भारका कारण ल्याडिङ गियर (पांग्रा) मा रहेको ट्रकटिल्ट एक्च्युयटर पनि फुटेको (ड्यामेज) छ । ‘आकाशमा एउटा समस्या देखिएर जहाज फर्किएको थियो पछि अवतरणका बेला त्यो समस्या हरायो अर्कै समस्या देखियो,’ स्रोतले भन्यो । 

यो विमान बनाउन निगमले बोइङका इन्जिनियरहरूसँग कुराकानी गरिसकेको छ । तर, ८/१० दिन लाग्न सक्ने इन्जिनियरहरूले निगम व्यवस्थापनलाई जानकारी गराएका छन् । मंगलबार काठमाडौंबाट दोहा उडेको उक्त विमानलाई क्याप्टेन सुधीरशमशेर राईले ल्याउँदै थिए । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार सातामा चार दिन दोहा उडान भर्दै आएको निगमको एउटा मात्रै बोइङ दोहामा ग्राउन्डेड हुँदा यस विमानले गर्दै आएका अन्य सेक्टर मलेसियाको क्वालालमपुर र भारतको नयाँदिल्लीका उडान पनि प्रभावित हुने भएका छन् ।

हाल निगमसँग एउटा मात्रै बोइङ उडानमा छ । योसँगैको अर्को २८ वर्ष पुरानो बोइङ (कर्णाली) काठमाडौंमा ग्राउन्डेड छ । यसलाई निगमले नियमित उडानबाट निकालेर लिलाम गर्ने निणर्य गरिसकेको छ । 

एयरबसबाट खरिद गरेका दुइटा विमानले दिल्ली, मुम्बई, बैंलोर, दुबई, बैंकक उडान भर्दै आएका छन् ।

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार