अर्थ / वाणिज्य

ट्यांकरमा सुरक्षित सिल जेठभित्रै

- राजु चौधरी, काठमाडौं
- नामसारी, पास गर्नु सिल अनिवार्य : निगम- निगमको इच्छाशक्ति नहुँदा ढिलाइ भयो : व्यवसायी

जेष्ठ ५, २०७४- आयल निगमले इन्धन बोक्न ट्यांकरमा जेठ महिनाबाट लकिङ प्रणाली (सुरक्षित सिल) जडान गर्ने भएको छ । ट्यांकरबाट हुने इन्धन अपचलन रोक्न सिलको तयारी गरेको हो । निगमका बिक्री वितरण विभाग निर्देशक तथा प्रवक्ता सीताराम पोखरेलका अनुसार लकिङ प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नु निगमका निर्देशक वीरेन्द्र गोइतको संयोजकत्वमा कार्यान्वयन टोली गठन गरिएको छ । कमिटीमा पेट्रोलियम व्यवसायी पनि सदस्य छन् । टोली संयोजक गोइतले पनि मे १५ देखि २५ सम्ममा जडान हुने बताए । ‘भारतीय आयल निगम (आईओसी) लाई मे १५ देखि २५ सम्मको समय दिएका छांै,’ उनले भने, ‘आईओसीले ताल्चाका लागि अर्डर गरिसकेकाले इन्धन भर्नु गएको ट्यांकरमा लक गरेर इन्धन पठाउनेछ ।’

निगमका अनुसार ट्यांकरमा सिल दुई चरणमा जडान गरिन्छ । पहिलो चरणमा आईओसीको डिपोबाट निगमको डिपोसम्म र दोस्रो चरणमा निगमको डिपोबाट बिक्रेतासम्म सिल गरेर लगाइनेछ । प्रवक्ता पोखरेलका अनुसार बरौनी रिफाइनेरीमा एक सय, रक्सोलमा एक सय र सिलगुढीमा २० वटा ट्यांकरमा सिल जडान हुनेछ । ‘पहिलो चरणमा नयाँ बनेका ट्यांकर (२ सय २० ट्यांकर) मा सिल जडान गर्छौं,’ उनले भने, ‘त्यसपश्चात् पुराना ट्यांकरमा क्रमश सिल जडान हुन्छ ।’ 

आईओसीबाट इन्धन ट्यांकरमा भरेपछि तेल भर्ने र झिक्ने भल्वमा लक (सिल) गरिनेछ । त्यसपश्चात् थानकोट डिपोमा सिल खुला गरिनेछ । ट्यांकरमा सिलका लागि आईओसीले २३ सय ताल्चा उपलब्ध गराउने प्रतिबद्धाता जनाएको पोखरेलले बताए । निगमका अनुसार ताल्चा नयाँ प्रविधिबाट बनेको छ । यसको नक्कल बनाउन कठिन हुनेछ । ट्यांकर सिल गरेपछि साँचोको जिम्मा आईओसी र निगमको क्षेत्रीय कार्यालय प्रमुखले लिनेछन् । ताल्चाको साँचो गलत ठाउँमा प्रयोग भए कारबाहीको भागिदार पनि प्रमुख नै हुनेछ । २३ सय ताल्चा खोल्नका लागि एउटा छुट्टै मास्टर चाबी पनि बनाइएको जनाएको छ । यसअघि निगमले मंसिरमा पनि दुई महिनाभित्र ट्यांकरमा लकिङ प्रणाली जडान गर्नु निर्देशन दिएको थियो । 

इन्धन ढुवानी पारदर्शी र व्यवस्थित बनाउन निगमले पत्रपत्रिकामा सूचना प्रकाशित गरी व्यवसायीलाई निर्देशन दिएको थियो । तर, कार्यान्वयन भएन । निगमले वैशाखबाट पुन: लागू गर्ने जनाएको थियो । तर, हालसम्म लागू हुन सकेको छैन । लकिङ प्रणाली जडान गर्नु व्यवसायीहरूको सहयोग भए पनि कार्यान्वयन हुन सकेको छैन । लिकेज तथा चोरी नियन्त्रण, क्यालिब्रेसन फल्टलगायत नियन्त्रण गर्नु लकिङ प्रणाली आवश्यक भएको व्यवसायीले बताउँदै आएका छन् । पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले निगमको व्यवस्थापनकै कारण ढिलाइ भएको बताए । ‘यसअघि वैशाख १ गतेदेखि भनेको थियो । तर, निगममै तयारी पुगेन । हालसम्म ताल्चाको व्यवस्थापन भएको छैन,’ उनले भने, ‘जेठबाट पनि निगमकै कारण सम्भव देखिँदैन ।’ 

लकिङ प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नु गठित कमिटीको उद्देश्य सल्लाह सुझाव दिने, छिटोभन्दा छिटो कार्यान्वयन गर्नेतर्फ प्रेरित गर्ने भए पनि प्रभावकारी नभएको अध्यक्ष प्रधानको आरोप छ । ‘मुख्यत: निगमको इच्छाशक्ति, योजनाबिना सुरु गर्नु खोज्दा कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘पहिलो चरणमा २०/२५ ट्यांकरमा मात्रै भए पनि पनि कार्यान्वयन हुनुपर्छ । त्यसपश्चात् विश्लेषण गरेर थप सुधारका प्रक्रिया अपनाउनुपर्छ ।’ 

निगम प्रवक्ता पोखरेलले भने यसअघि लकिङ सिस्टमको गाडी नहुँदा कार्यान्वयन हुन नसकेको दाबी गरे । ‘पुराना ट्यांकरमा जडान गर्ने ठाउँ थिएन । अब बनेको गाडीमा लगाउन मिल्नेछ,’ उनले भने, ‘पुराना ट्यांकरमा पनि लकिङको लागि ठाउँ बनाउन भनेका छौं । सिल नभई पुरानो गाडीमा नामसारी, पास गर्देनौं ।’ करिब तीन वर्षअघि तत्कालीन अर्थमन्त्री रामशरण महतले पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा सुरक्षित सिल प्रणाली जडान गरी चुहावट नियन्त्रण गर्ने जनाएका थिए । 

सिल प्रणाली जडानले चुहावटमा नियन्त्रण भई घाटामा केही नियन्त्रण हुने सरकारको दाबी थियो । हाल सिल जडान नहुँदा ट्यांकरको तेल अपचलन भएको सरकारी तथ्यांकहरूले नै देखाउँछन् । आईओसी डिपोबाट निगम डिपो र निगम डिपोबाट पम्पसम्म पुग्दा एक चेम्बरबाटै ९८ लिटरसम्म कम हुने गरेको छ । लकिङ प्रणालीले सबै पक्षलाई फाइदा हुन्छ । हाल इन्धन चोरी भएका कारणले ट्यांकर व्यवसायी बद्नाम भएका छन् । लकिङ प्रणाली लागू भए चुहावटको विवाद अन्त्य हुने दाबी छ । व्यवसायीका अनुसार सिल प्रणालीले ९० प्रतिशत चोरी नियन्त्रण हुन्छ । 

मुलुकभरि करिब १५ सय ५२ ट्यांकर छन् । केही नयाँ पनि बन्ने क्रममा रहेको निगमले जनाएको छ । नेपालमा करिब २० किलोलिटरसम्म इन्धन बोक्ने ट्यांकर छन् । ती ट्यांकरमा ४ देखि ५ चेम्बर हुन्छन् । एउटा चेम्बरमा ३ हजारदेखि ५ हजार लिटरसम्म इन्धन बोक्न सकिन्छ । 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार