मनोरञ्जन

अमेरिकी फिल्ममेकर भन्छिन्—‘फिक्सनमा मज्जा’

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ५, २०७४- नेपालको पहिलो ‘इको फ्रेन्ड्ली’ स्कुल मानिएको वज्र एकेडेमी पुग्दा अमेरिकी फिल्ममेकर शालिनी कान्तया पुलकित भइन् । चापागाउँ दोबाटोमा रहेको उक्त स्कुलको हरियाली वातावरण र पर्यावरणअनुकूल पूर्वाधारले उनलाई आकर्षित गर्‍यो । यसै पनि उनी वातावरण सुहाउँदो वस्तुस्थित देख्नासाथ खुसी भइहाल्छिन् ।

‘इको स्कुलका बच्चाहरूबाट निकै प्रभावित भएँ,’ बिहीबार कान्तिपुरसँगको भेटमा उनले कुरा सुरु गरिन्, ‘इलेक्ट्रिक बस, सोलर स्टिम कुकिङ सिस्टम र जडिबुटी खेतीबारे तिनले गरेको प्रयास देखेँ । वातावरण संरक्षणमा बच्चाहरू लागेको देख्दा स्तब्ध बनेकी छु ।’ 

अमेरिकी डिपार्टमेन्ट अफ स्टेट्सको एडुकेसनल एन्ड कल्चरल अफेयर ब्युरोले आयोजना गर्दै आएको ‘अमेरिकन फिल्म सोकेस’ कार्यक्रमका लागि शालिनी नेपाली आएकी थिइन् । उनले निर्देशन गरेको डकुमेन्ट्री ‘क्याचिङ द सन’ विभिन्न हल तथा विद्यालयमा प्रदर्शन गरिएको नेपालस्थित अमेरिकी दूतावासका ध्रुव शाहले बताए । ‘फिल्म देखाएपछि अन्तरक्रिया गरिएको थियो,’ उनले भने । फिल्म निर्देशन, प्रदर्शन आदि प्रसंगमा शालिनीलाई सोधिएको थियो ।

हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो कार्यकारी निर्माता रहेको ‘क्याचिङ द सन’ मा सौर्य ऊर्जालाई कसरी अर्थोपार्जनको स्रोत बनाउन सकिन्छ भन्नेबारे देखाइएको छ । वातावरण संरक्षणको उपाय प्रस्तुत गरेको भन्दै यसलाई समीक्षकहरूले पनि राम्रो डकुमेन्ट्री भनेका छन् । सन् २०१५ को लस एन्जलस फिल्म फेस्टिभलमा प्रिमियर भएपछि यसलाई ‘न्युयोर्क टाइम्स क्रिटिक्स पिक’ को उपाधि दिइएको थियो ।
७० देशमा देखाइएको उक्त फिल्म ३५ भाषामा अनुवाद गरिएको छ । फिल्मपछिका संवाद आफ्ना लागि विशेष हुने गरेको शालिनीले बताइन् । ‘नेपालमा पनि वैकल्पिक ऊर्जाबारे यो फिल्मले स्थानीयलाई सोच्न बाध्य पार्छ भन्ने अपेक्षा लिएकी छु,’ उनले भनिन्, ‘वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा नेपालीले ध्यान दिने बेला आइसकेको छ ।’ वातावरण विनाशलाई उनले कुनै ठाउँ विशेषको नभई विश्वप्यापी समस्याको संज्ञा दिने गरेकी छन् । 

फिक्सनको मज्जा
शालिनीका अभिभावक भारतको चेन्नईबाट अमेरिकाको ब्रुकलिन सरेका थिए । उनी अमेरिकामै जन्मे–हुर्केकी हुन् । हाई स्कुल सकेर भारत घुम्न आउँदा उनलाई चेन्नईको सौन्दर्यले फिल्मतिर तान्यो । ‘फिल्ममेकर बन्छु भन्ने कहिल्यै कल्पना गरेकी थिइनँ,’ उनले भनिन्, ‘भारत आएपछि मेरो संसार नै फेरियो । मैले आफ से आफ फ्रेम बनाउन थालेँ । मुखले भन्न नसकेका कथा क्यामराको माध्यमले भन्ने इच्छा पलायो ।’
न्युयोर्क सिटी कलेजमा फिल्म मेकिङ र डाइरेक्सन पढ्न थालिन् । निर्देशनमा स्नातकोत्तर गरेपछि उनले ‘लाफिङ आउट लाउड’, ‘ब्लुम’, ‘स्ट्रङ्गर द्यान फेट’, ‘डक्टर इन ल’, ‘अ ड्रप अफ लाइफ’ र ‘क्याचिङ सन’ जस्ता फिक्सन फिल्म र डकुमेन्ट्री बनाइसकेकी छन् । जुन ६ मा भने उनको नयाँ प्रोजेक्ट ‘पावर टु पिपल’ प्रदर्शन हुँदै छ ।

‘फिक्सन फिल्म बनाउँदा बढी रमाउँछु’, उनले भनिन्, ‘त्यसमा जति पनि परिकल्पना लागू गर्नु सकिन्छ । तर, डकुमेन्ट्रीमा त्यो सुविधा हुँदैन ।’

अभिभावक भारतीय भएकाले उनलाई भारतमै आएर काम गर्ने इच्छा छ कि छैन भन्ने प्रश्न धेरै आउँछन् । उनी बलिउड फिल्म राम्रा मान्छिन् । तर, त्यहाँ पहिले नै पर्याप्त फिल्मकर्मी भएकाले आफू तिनकै शैलीको फिल्म बनाउनपट्टि नलाग्ने बताइन् । ‘मैले समाजलाई अर्कै खालको योगदान दिनुपर्छ,’ उनले आफ्नो संकल्प सुनाइन्, ‘मेरा फिल्मले मान्छेलाई प्रभावित गरुन्, सोच्न कर लगाऊन् वा कम्तीमा सानो जानकारी मात्रै भए पनि दिऊन् भन्ने चाहन्छु ।’ 

पहिलोपटक नेपाल आएकी उनी यहाँका मान्छे र समाज सुधारतर्फ तिनको पहल देखेर छक्क परेकी रहिछन् । ओस्कार इन्टरनेसनल र एभरेस्ट फिल्म एकेडेमीका विद्यार्थी एवं शिक्षकसँग संवाद गरेपछि उनले तिनलाई आफ्नो कथा भन्न सुझाव दिइन् । नेपालीसँग अथाह विषयवस्तु भएकाले त्यसलाई बाहिर ल्याउन आवश्यक रहेको बताइन् । उनले ‘हाइट सन’ बारे सुनेकी रहिछन् ।

‘नेपाली फिल्म अझै देख्न/सुन्न चाहन्छु,’ शालिनीले भनिन्, ‘सबैसँग आ–आफ्नै कथा हुन्छ । ती कथा सम्बन्धित व्यक्तिले जति राम्ररी भन्न सक्छ, अरूले त्यति मज्जाले भन्न सक्दैनन् ।’

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार