विचार/विश्‍लेषण

हामी को हौं ?

  • कुरो यहाँको गर्ने । दाम विदेशको खाने । के यस्तो चरित्र भएका हामीलाई हेगेलकै शब्दावलीमा नागरिक समाज भन्न मिल्छ त ?
- डा. विद्यानाथ कोइराला

जेष्ठ ५, २०७४-वेद पूर्वीय धरोहर हो । त्यसले भन्यो– जनबोली राजबोली भन्दा ठूलो हो । ‘राजा प्रकृति रञ्जनात्’ । कौटिल्यले त्यही दोहोर्‍याए । रजौटा, राजा, महाराजा र वादशाहले जनबोलीको पालना गर्नुपर्छ । यसरी हेर्दा पूर्वीय चिन्तनमा जनबोली सर्वोपरी हो । रामले सीता त्याग्दा त्यही मान्यता लागु गरे । प्रकारान्तरमा पश्चिमाले पनि त्यही गरे । उनको लोकतन्त्र त्यही हो । नागरिक समाजको उठान त्यही हो । तर बुझाइको आधार भने फरक रह्यो । पश्चिमाले बुझे, बुझाए कि राजनीति दण्डले चल्छ । परिवार र नागरिक समाज सहमतिमा चल्छ । पूर्वीय चिन्तनले चाहिँ राजनीतिमा चार आधार दियो । सामको आधार । दामको आधार । दण्डको आधार । भेदको आधार । यसरी हेर्दा पूर्वीय चिन्तक फराकिला देखिए । पश्चिमा एकल । प्रकारान्तरले उनले पनि चारै आधार प्रयोग गरे । अमूर्तमा । पूर्व मूर्तमा भेटियो । अहिलेको पूर्व भने छ्यासमिसे छ । प्रश्न यहीं हो– नेपाली नागरिक समाज कसको बोली बोल्छौं ? कसको पृष्ठपोषण गर्छौंं ? पूर्वीय चिन्तनको ? पश्चिमी चिन्तनको ? समष्टिको ? नयाँपनको ? सायद ‘नागरिक समाज’ अगुवाले उत्तर देलान् । 

बदलिँदो पश्चिमी बुझाइमा 

ग्राम्स्कीले बुझे, नागरिक समाज पुँजीवादी राज्यकै हिमायती हो । बुर्जुवाकै पृष्ठपोषक हो । सुधारकै कुरा गर्ने जमात हो । निष्क्रिय क्रान्तिकारी हो । त्यसैले उनले बेग्लै खाले नागरिक समाजको कल्पना गरे । सर्वहारा संस्कृतिका वाहक नागरिक समाज । त्यसैका लागि परिचालित नागरिक समाज । पुँजीवादी राज्यसत्ता र तिनले सिर्जेको ‘हेजेमोनी’को बर्खिलापमा लाग्ने नागरिक समाज अर्थात् ‘काउन्टर हेजेमोनी’ । त्यही समाजले मात्र निरंकुश राज्यलाई कमजोर बनाउँछ । अल्पुजरले अझ चर्को स्वरमा भने, ‘राज्य गरिबमारा हो ।’ कानुन, राजनीति, संस्कार, धार्मिक मूल्य र मान्यता, सञ्चार त्यसैका हतियार अर्थात् ‘आइडियोलजिकल स्टेट एपारेट्स’ हुन् । तिनले त्यसको दलाली गर्छन् । शैक्षिक संस्थाहरू पनि त्यसैको प्रत्युत्पादन गर्छन् । यहींनेर नेपाली नागरिक समाजको बुझाइ खोज्नुपर्छ । हामी के हौं ? ग्राम्स्कीले जस्तै राज्यलाई बुर्जुवाकै पृष्ठपोषक मानेका छौं कि ? राज्यलाई कमजोर बनाउँदै लाने सर्वहाराको नागरिक समाज बनाएका छौं कि ? अल्थुजरले भनेजस्तो पुँजीवादी राज्यको दलाली गर्ने राजनीति, सञ्चार, संस्कृति, कानुन आदिको बर्खिलापमा सैद्धान्तिक हतियार बनेका छौं कि ? ग्राम्स्की र अल्थुजरकै सोच बोकेर पनि राजनीतिक दलकै नागरिक समाज बनेका छौं कि ? दलै पिच्छेका नागरिक समाजले दिने सन्देश के हो ? हामी नै जनपक्षीय भन्दै आफ्नै दलको वकालत पो गर्दैछौं कि ? हाम्रा राजनीतिक दलहरूले मुख्य शत्रु फेर्दा हामी पनि फेरियौं कि ? त्यसो भए नागरिक समाज स्वतन्त्र हौं भन्ने हैसियत पो गुमायौं कि ? 

लेनिनले श्रमिकको राज्यका आँखाबाट नागरिक समाजलाई हेरे । उनको हेराइले साम्यवादी चिन्तकहरूको नागरिक समाज बन्यो । श्रमिकका संगठनहरू नागरिक समाज हुन् । श्रमिकका पक्षधर राजनीतिक दलहरू नागरिक समाज हुन् । ट्रेड युनियन नागरिक समाज हुन् । लेनिनको बुझाइमा ती सामाजिक रूपान्तरक हुन् । यसरी हेर्दा साम्यवादीका प्रत्येक संगठन नागरिक समाज हुन् । नेपालका झन्डै ६० प्रतिशत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा (अगैसस) तिनकै बर्चस्व छ । त्यसो हुँदा अगैसस नागरिक समाज हुन् । तिनैले पालेका गैससहरू पनि नागरिक समाज हुन् । यसको अर्थ हो– नेपालमा ग्राम्स्की र अल्थुजरले भनेका बुर्जुवाका पक्षधर गैसस र अगैसस छन् । सर्वहाराका गैसस र अगैसस छन् । अनि राज्य संयन्त्रका ताबेदार गैसस छन् । अगैसस छन् । तर अन्तर्राष्ट्रिय गैससका संगठन (एआईएन)/गैससका संगठन (एनजीओ फेडेरेसन) तथा तिनका बलबुँतामा बनेका सञ्जाल (एआईएन) लाई नेपाली नागरिक समाजले वर्गीकरण गरेको देखिन्न । यसको अर्थ हो– गैसस, अगैसस र सञ्जालमा पुँजीपति वर्ग छौं । सर्वहारा पनि छौं । सर्वहाराको वकालत गर्नेहरू छौं । माओका शव्दमा भनिने मध्यमवर्गी ढुलमुले पनि छौं । प्रश्न यहीं हो– के हामी लेनिनले भनेको जस्तै नागरिक समाज हौं त ? सायद हामीसँग उत्तर छैन । किनकि लेनिनका नागरिक समाज साम्यवादको वकालत गर्ने राजनीतिक दलका एजेन्ट हुन् । हाम्रा नागरिक समाज के हुन्, उत्तर अधुरै छ । 

नागरिक समाजलाई माक्र्सले ‘प्राकृतिक व्यक्ति’ अर्थात् ‘न्याचुरल इन्डिभिजुअल’को रूपमा हेरे । त्यसैले भनिदिए, ‘नागरिक समाज कसैको हुन्न । मानव स्वभावको हुन्छ । अन्तरसंवादले गर्दा उसले सहकर्मी भेट्छ । सहधर्मी भेट्छ । समान रहरको व्यक्ति भेट्छ । अनि सञ्चालित हुन्छ । विग्रहित हुन्छ । उसलाई कुनै दर्शन वा आदर्शमा बाँध्नु झुठ कार्य हुन्छ ।’ हेगेलले पनि नागरिक समाजलाई स्वेच्छाकै समूह ठाने । स्वेच्छामै सञ्चालित हुने, स्वेच्छामै वैधता प्राप्त गर्ने अर्थात् हेगेलको सोचमा नागरिक समाज मर्जीको समाज हो । मनलागे बन्ने, मन नलागे भत्किने । उनको शव्दमा आफ्नै इच्छा र आफ्नै गतिले नागरिक समाजलाई सञ्चालित गर्छ । सामाजिक धु्रवीकरणले तिनलाई जन्माउँछ । गरिब र धनीको खाडलले तिनलाई क्रियाशील बनाउँछ । यसरी हेर्दा नागरिक समाज गरिबमुखी हुन्छ । हुनुपर्छ । नेपालका नागरिक समाजहरू गरिबमुखी हौं त ? तथ्यांकले भन्छ– गरिब समूहको ५ प्रतिशतभन्दा कमले उच्चशिक्षामा प्रवेश पाउँछन् । त्यही समूहको माध्यमिक तहसम्म पुग्ने १५ प्रतिशतमात्रै छन् । निजी स्कुल र कलेजमा जाने गरिबहरू नगन्य छन् । तर निशुल्क शिक्षाको वकालत गर्ने हामी नै हुन्छौं । उच्च शिक्षामा शुल्क घटाउन हामी नै लाग्छौं । निजी स्कुलमा शुल्क घटाउन हामी नै क्रियाशील हुन्छौं । त्यसो भए हेगेलले भनेझैं हामी ध्रुवीकरणमै जन्मेका हौं त ? गरिबमुखी बनेकैं हौं त ? एडम स्मिथको ‘अदृश्य हात’ अर्थात् ‘इन्भिजिबल ह्यान्ड’जस्ता पो हौं कि त ? पिट्टी बुर्जुवा । कहिले कानुनको शासनका कुरा गर्ने, कहिले स्वयंसेवी संगठन हौं भन्ने, कहिले स्वतन्त्र व्यक्ति हौं भन्ने । त्यसो गर्दा आफ्नो तलब र भत्ता कति छ भन्न नसक्ने । कसको दलाली गर्दैछौं भन्न डराउने । अर्थात् कुरो यहाँको गर्ने । दाम विदेशको खाने । के यस्तो चरित्र भएका हामीलाई हेगेलकै शब्दावलीमा नागरिक समाज भन्न मिल्छ त ? 

आधुनिकोत्तर पश्चिमाको बुझाइमा 

उत्तर संरचनावादी र आधुनिकोत्तर पश्चिमाले नागरिक समाजलाई स्वस्फुर्त जमात माने । त्यसैले हवरमासले भनिदिए– नागरिक समाज निजी हुन्छ । व्यक्तिगत हुन्छ । समालोचनात्मक हुन्छ । त्यसैले उनले नागरिक समाजलाई नयाँ सरकार अर्थात् ‘न्यु पब्लिक’ पनि भनिदिए । नयाँ सरकार भएकोले नागरिक समाजले मूलत: दुइटा काम गर्छ भनिदिए– उकास्ने काम अर्थात् ‘इनेब्लिङ’ । विरोध गर्ने काम अर्थात् ‘प्रोटेस्ट’ । हवरमासको सोचमा नागरिक समाज विद्रोहीको सञ्जाल अर्थात् ‘नेटवर्क अफ आउटरेजर्स’ हो । आशा जगाउने समाजको सञ्जाल अर्थात् ‘नेटवर्क अफ होप’ हो । त्यसैले उनीहरू परिवर्तनकारी शक्ति हुन् । समयहीन समय खर्चिनेहरू । अर्थात् आफ्नो अमूल्य समय उबारेर विरोध र आशाका काम गर्नेहरू । प्रत्याभूति गर्नेहरू । विश्वसँग जोडिएकाहरू । तर नेपाली अनुभवले भन्छ– हाम्रा नागरिक समाज पश्चिमी विश्वबाट सञ्चालित छन् । पश्चिमाहरू जोडिँदा तिनीहरू सञ्चालित भए । सञ्चालित हुँदै जाँंदा तिनैसँग आश्रित बने । डीएफआईडी जस्ता संस्थाका रकममा आउने फेरबदलमा जनजाति र दलितपक्षीय कुरा घटे । युरोपियन युनियनको रकम घट्ता धर्मनिरपेक्षताका कुरा घटे । अगैससले मुद्दा बदल्दा गैससले त्यसै गरे । यसबाट थाहा हुन्छ कि हामी हवारमासको नागरिक समाज हैनौं । विरोधमा त बढ्छौं । आशा जगाउनेमा पछि हट्छौं । विश्वसँग त जोडिन्छौं, तर तिनले पैसा दिन छोडे भने तोडिन्छौं । के हामी हवरमासको बुझाइका नागरिक समाज बन्यौं त ? प्रश्न अनुत्तरित नै छ । 

विकिपिडियाले भनिदियो, गैससहरू नागरिक समाज हुन् । जनचाहनामा तिनीहरू काम गर्छन् । लोकतान्त्रिक समाज बनाउन उद्यत छन् । अरस्तुले भनेझैं विधिको शासन कायम गर्नु क्रियाशील छन् । संवादमा विश्वास गर्छन् । सिसिरोले भनेझैं शान्ति र सुव्यवस्था कायम गर्नु संकल्पित छन् । साम्यवादले ओझेलमा पारेको लोकतन्त्र र संवादलाई आधार मान्छन् । विकिपिडिया र अरस्तु आदिलाई मान्ने हो भने साम्यवादीहरू नागरिक समाजका सदस्य हुन सक्तैनन् । अटाउन्नन् । किनकि पुँजीवादी देशहरूले तिनको भरणपोषण गरेका छन् । तिनकै एजेन्डामा वकालत गर्छन् । यसरी हेर्दा नेपालको नागरिक समाज साम्यवाद कमजोर बनाउने औजार हो त ? विधिको शासन मान्नेले नियम मिच्नु हुन्छ त ? सक्छौं त ? हाम्रै रुचिमा यी काम गरिएका हुन् त ? हाम्रै खर्च र समयहीन समयमा गरिएका काम हुन् त ? प्रश्नहरूको चित्तबुझ्दो उत्तर छैन । 

देशले खोजेको नागरिक समाज

विदेशीको बलबुँतामा अडेका नागरिक समाजहरू बने । तर संस्थागत भएनन् । भइहाले पनि पैसाचाहिँ विदेशीकै रह्यो । एजेन्डा तिनैको रह्यो । अर्थात् ती एजेन्डाले नेपाली माटोमा जरा गाडेनन् । हाम्रा आवश्यकता हुन् भने तिनका जरा नेपाली माटोमा गड्नुपथ्र्यो । दोस्रो उपाय थियो– घरेलु नागरिक समाजको पैरवी गर्ने । बडघर, माइजन, थकाली, भेजा, ख्याला, गुठी आदि घरेलु नागरिक समाज हुन् । तिनले मलजलै पाएनन् । संस्थागत त छन् । वृद्धि हुन सकेनन् । वृद्धि हुँदा पनि जातजाति र धर्मकै बनेर बसे । झयांगिएनन् । तिनलाई अन्य जातजाति र धर्ममा पनि सार्नुपथ्र्यो । तेस्रो उपाय थियो– चीन र जर्मनीको जस्तो सरकारी, गैरसरकारी संस्था बन्ने, बनाउने । दुर्भाग्य सरकारले बनाएको समाज कल्याण परिषद पनि विदेशीको दबाबमा चलेको छ । चल्छ । २२० अगैसस किन चाहियो ? अगैससलाई काम लगाउनेगरी समाज कल्याण परिषदले आफ्नै एजेन्डा किन नबनाएको ? अगैससले २–४ गाउँपालिका लिँदै यति जिल्ला पुगेंँ भन्ने व्यवस्था किन गर्नु दिएको ? हाम्रो एजेन्डा, तिम्रो लगानी र हाम्रो मान्छेले काम गर्ने किन नभनेको ? अनपेक्षित विदेशीलाई किन स्वीकारेको ? यस्ता प्रश्नको उत्तर हामीसँग छैन । त्यसैले घरेलु नागरिक समाजको विकास पो गर्ने कि ? हाम्रै समयहीन समय उपयोग गर्ने कि ? विदेशी पुँजी चाहिए डालोमा रकम हाल भन्ने कि ? अन्यथा हाम्रा नागरिक समाज दाताकै अनुहारका हुन्छौं कि ? बेलैमा सोचौं । 

 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार