विचार/विश्‍लेषण

पहिलो चरणले देखाएको दिशा

  • अहिलेको नतिजा सुखद् छ किनभने मतहरु तीनतिर छरिएका देखिए पनि धेरैजसो दुई दलतर्फ एकोहोरिएका छन् ।
- श्रीकृष्ण अनिरुद्ध गौतम

जेष्ठ ५, २०७४-यी हरफ लेखिदै गर्दा स्थानीय तहका लागि सम्पन्न प्रथम चरणका निर्वाचनको मत परिणाम सुस्तरी–सुस्तरी आउने क्रम जारी छ । परिणामको पछिल्लो अद्यावधिकअनुसार नेपाली कांग्रेस र एमाले प्रतिस्पर्धामा भए पनि कांग्रेस एमालेलाई कहिले नजिक, कहिले टाढाबाट पछ्याइरहेको छ । माओवादी केन्द्र तेस्रो तर धेरै पछाडि परेर दुवैलाई पछ्याइरहेको छ । राप्रपाले बल्लतल्ल खाता खोलेको छ । ठूलै तामझामसहित बनाइएको पूर्वमाओवादी नेता बाबुराम भट्टराईको नयाँ शक्तिलाई मतदाताले राप्रपाजति पनि नपत्याएको देखिएको छ । अर्थात् नेपाली राजनीतिक कुस्तीको अखडामा फेरि पनि दुई पहलमान अर्थात् कांग्रेस र एमालेकै वर्चस्व देखिन आएको छ । मतगणनाले देखाएको दिशा हेर्दा वास्तवमा संसदीय शासनकाल (२०४७–०५९ साल) ताकाकै झल्को आउँछ । अनेकानेक आलोचना, यी दुई दलप्रति असन्तुष्टि र यिनलाई गरिएका असंख्य गालीका बाबजुद फेरि पनि यिनैको मताधार बलियो देखिएको छ । गाउँमा ल मानिलिऊँ, असन्तुष्टिले आकार लिएको रहेनछ तर सचेत भनिएका सहरी क्षेत्र, जहाँ दिनप्रतिदिन यिनको आलोचना नगरी खाएको पच्दैन, त्यहाँ पनि कांग्रेस र एमालेकै जनाधार बलियो रहेको मान्नैपर्ने भएको छ । 

यहाँसम्म कि काठमाडौं महानगरपालिकाको मेयरमा दुई खासा विकल्प थिए । विवेकशील नेपालीकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापा । रञ्जु सामाजिक सञ्जालमा छाएकी थिइन् र थापालाई बीबीसी नेपाली सेवाबाट अवकाश लिएर राजनीतिमा आएका रसिला, हँसिला रवीन्द्र मिश्रको बरदहस्त प्राप्त थियो । प्रचार अभियान यस्तो थियो, हेर्दा, सुन्दा अरूको जे होस् मेयरमा रञ्जु नभए थापा आए, आए भन्ने लाग्नु स्वाभाविक भएको थियो । तर, मतदाताले मतपत्र हातमा पर्नुासाथ कि रूख देखे कि सूर्य । घरबाट रञ्जुलाई भोट दिन हिंडेकाले समेत पाप लाग्ला भन्ने डरले सूर्यमा छाप हानेर फर्केको पाइयो । जसले पीपलका रूखको पवित्रता सम्झे, उनीहरूले रूखमा स्वस्तिकको चित्र छापिदिए । त्यस्तै, नेपाली सिनेमाकी हेमा मालिनी अर्थात् स्वप्न सुन्दरी करिश्मा मानन्धरको अनुहार सम्झेर तन्नेरीहरूले नभए पनि उनका समकालीन प्रौढहरूले त बाबुरामको नयाँ शक्तिलाई भोट दिनुपर्ने, तर भोट दिन आवश्यक ठानेनन्, दिएनन् । यसबाट कसैले नेपालीमा सुन्दरताको बिल्कुलै कदर रहेनछ भन्ने निष्कर्ष निकाल्न सक्छ । तर त्यस्तो होइन । नेपालीमा सुन्दरताको प्रचण्ड कदर छ, राजनीतिमा होइन सिनेमाको पर्दामा । राजनीतिमा उनीहरू रूप हेर्दैनन् । जहाँ, जेमा बानी परेको छ, त्यही गर्छन् ।

अब गम्भीरतापूर्वक विचार गरौं । मतदाता साक्षर, सचेत नभएर उनीहरूका आँखा कांग्रेस र एमालेमा गएका होइनन् । एमालेको राम्रो चुनावी प्रदर्शनमा यथार्थमा केपी शर्मा ओलीको राष्ट्रियता सम्बन्धमा उनले लिएको अडानका साथै तम्तयार सांगठनिक संरचना, एनजीओ सञ्जालको ठूलो देन छ । सञ्चार प्रविधिमैत्री टिम छ । कांग्रेसले पछिल्लो समयमा आफ्नो स्वास्थ्य बिगार्ने प्रशस्तै अपथ्य आहार लिएको भए पनि यसका शुभेच्छुक र शुभचिन्तक यसबाट विमुख हुन सकेका छैनन् । नेतृत्वमा आएको अक्षम्य विचलनका बाबजुद जे होस्, भोट त कांग्रेसलाई नै दिनुपर्छ भन्ने यसको राष्ट्रव्यापी समर्थक पंक्ति छ । कांग्रेस भनेपछि मरिहत्ते गर्ने निष्ठासम्पन्न जनाधार छ साथै नेताले जे गरे पनि उचित भन्ने भक्त प्रकृतिको भजनमण्डली त्यत्तिकै सशक्त छ । त्यस्तै, अर्को प्रमुख सहायक कारणमा, एमाले र कांग्रेसलाई आजका मितिमा धनदौलतको अभाव छैन । नेताको कोटीमा पुगेकाहरूको स्रोत साधनमाथि राम्रो पकड छ । 

लोकतन्त्रमा चुनाव भनेको मतपत्रमार्फत् गरिने युद्ध नै हो । युद्धका कला हुन्छन् । कौशल हुन्छन् । यसलाई रणनीति भनिन्छ । विगतमा त्यस्ता एक राजनीतिज्ञ थिए, गिरिजाप्रसाद कोइराला । उनैले प्रचण्डलाई अनकण्टार जंगलबाट लत्र्याउँदै मतपत्रमा ल्याएका थिए । हुन त तिकडमबाजीमा प्रचण्ड पनि कम माहिर होइनन् तर उनका तिकडमको कोइरालाको रणनीतिका सामु केही सीप चलेन । फलस्वरूप, आफ्ना सम्पूर्ण वाचाबन्धन बिर्सेर उनी संसदीय भासमा नराम्रोसँग भासिए । भासिँदाभासिँदै उनी यति भासिए कि आज उनी शेरबहादुर देउवाको पाखुरो समातेर भासबाट बाहिर निस्कन खोज्दै छन् । तात्पर्य के भने रणनीति नै सबथोक होइन, सिद्धान्त, मूल्य र मान्यताको अपार महत्त्व छ तर धेरैजसो अवस्थामा वास्तवमा रणनीतिज्ञले नै राजनीतिमा बाजी मार्छ । हुन त देउवाले पनि यसपालि, माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर रणनीतिक चाल चल्न खोजेका हुन् । तर यो रणनीतिक चाल उनका बुद्धिको उपज होइन । त्यसैकारण कांग्रेस जो स्थानीय निर्वाचनमा धेरै माथि जान सक्थ्यो, यसले, विशेष गरेर माओवादी केन्द्रसँग गरिएको तालमेलका कारण आफ्नो सामथ्र्यअनुसारको प्रदर्शन गर्नु सकेन । वस्तुगत यथार्थ के हो भने कांग्रेस निर्वाचनमा एक्लै जाने हो । तालमेल हुँदै हुँदैन राजनीतिमा भन्ने होइन, तर सामान्य तालमेल स्थानीय स्तरको तजबिजमा छोडिदिनुपर्छ, पथ्र्यो । त्यसो गरेको भए, एमालेसँग तीव्र प्रतिस्पर्धाका बाबजुद कांग्रेसलाई धेरै कम हानि हुने थियो । 

यद्यपि, यसपालि स्थानीय र पछिल्लो संविधानसभाको निर्वाचनमा एकलव्य निष्ठाका साथ कांग्रेस नेता रामचन्द्र पौडेल सक्रिय रूपमा खटेका हुन्, उनैले निर्वाचन अभियानलाई मार्गदर्शन दिएका हुन् । तर, उनका केही यस्ता सीमा छन् जसका कारण उनी यश प्राप्तिबाट वञ्चित हुने गर्छन् । किनभने उनको मस्तिष्कमा जहाँ रणनीतिक सफ्टवेयर हुनुपर्ने हो, त्यहाँ भगवान्ले समाजवादप्रतिको मोह राखिदिएका छन् । साथै उनी नेतृत्वले निष्ठासँग सम्झौता गर्दागर्दै पनि त्यसको खुलेर विरोध गर्ने आँट गर्नु सक्दैनन् । भनिरहनु नपर्ला, राजनीति जहाँ सत्ताको लालसा हुन्छ, त्यहाँ घनघोर तपस्या गरेकै भरमा सत्ता प्राप्त हुँदैन । छवि त्यो चाहे बनावटी नै किन नहोस्, हुनुपर्छ । बल, बुद्धि तथा धनको व्यय र अपव्ययको धेरै ठूलो भूमिका हुन्छ । मैले यहाँ पौडेलको प्रसंग त्यतिकै ल्याएको होइन । यसपालि, उनैले कांग्रेसका निर्वाचन अभियानको संयोजन गरेका थिए । तर, उनले निर्वाचनको मुखैमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव रोक्नुपथ्र्यो, रोक्न सकेनन् । माओवादी केन्द्रसँग देउवाको एकल निर्णयबाट गरिएको तालमेलको बाटो छेक्न सक्नुपथ्र्यो, छेक्न सकेनन् । अर्थात्, कांग्रेस संसद्मा सबैभन्दा ठूलो दल हुनाका बाबजुद पहिलो चरणको स्थानीय निर्वाचनमा एमालेलाई पछ्याउनुपर्ने अवस्थामा पुग्यो । यसको कारण यथार्थमा देउवालाई पार्टीको प्रतिष्ठा, यसका पंक्ति, शुभेच्छुक र शुभचिन्तकको निष्ठाभन्दा सिंहदरबारको सत्ता अत्यधिक प्रिय हुनु नै हो । फलस्वरूप, समग्रमा कांग्रेसले तुलनात्मक खराब प्रदर्शन गर्नु पुगेको हो । पौडेललाई यो सब थाहा नहुने कुरै होइन तर उनले नेतृत्व नीतिसम्मत हुनुपर्छ भनेर सशक्त रूपमा आफ्नो भिन्न मत राख्नै सकेनन् । 

अर्कातिर, एमालेले राप्रपासँग गरिएको तालमेलका कारण ठूलै अपजस बेहोरे पनि मतदानमा त्यसको खासै प्रतिकूल असर नपरेको देखियो । यस्तो प्रतीत हुन्छ, यहाँनेर एमाले नेतृत्वलाई के थाहा थियो भने एमालेलाई मत दिनेहरूले राप्रपालाई दिँदैनन् तर एमालेको पछिल्लो समयमा चर्चित हुन आएको राष्ट्रवादी अनुहारका कारण राप्रपा समर्थकले चाहिं एमालेलाई भोट दिन्छन् । फेरि, चुनावको मुखैमा देउवाले दाहालसँग गरेको चुनावी तालमेल एमालेका लागि वरदान साबित भयो किनभने त्यस तालमेलका कारण कांग्रेसका निष्ठावान् समर्थकले निर्वाचनको मौन बहिस्कार गरे, उनीहरू मत दिन नै गएनन् । त्यसको प्रचुर नकारात्मक प्रभाव परेको विषय सामाजिक सञ्जालहरूमा छ्याप्छ्याप्ती थियो, अहिले मतपत्रको बाकस खोल्दा त्यही प्रभाव मूर्त रूपमा परिणत भएको देखिएको हो । फेरि भनौं, एमाले आफूले गरेका गलत निर्णयको ढाकछोप गर्नु समर्थ रहेछ । कांग्रेसमा यो कला त रहेनछ नै, यसको वर्तमान नेतृत्व एकपछि अर्को गर्दै शृंखलाबद्ध आत्मघाती निर्णय गर्नु समेत पछि नपर्दो रहेछ । 

यो त केवल तीन प्रदेशमा भएका स्थानीय तहको निर्वाचनको नतिजाले लिएका दिशाको समीक्षा हो, दोस्रो चरणमा समेत नतिजाको यही दिशा दोहोरियो भने अहिले जुन दुई दलीय ध्रुवीकरणजस्तो देखिएको छ, त्यो नरहेर एकदलीय वर्चस्वको अवस्था सिर्जना हुन सक्छ । तथापि, अहिले मधेसी समुदायमाझ एमाले अलोकप्रिय छ, त्यसैकारण यसको आकार खासै विस्तारित हुँदैन भन्नेहरू पनि छन् । तर यहाँ एमालेप्रति घोर विरोधी माहोल सप्तरी–पर्सा क्षेत्रमा सीमित छ भन्ने यथार्थ किमार्थ बिर्सन मिल्दैन । फेरि, त्यहाँ कांग्रेसको राम्रो प्रदर्शन हुने कुनै ग्यारेन्टी छैन । यहाँ मेरो सरोकारको विषय, कांग्रेस पछि पर्दै छ भन्ने नभएर राष्ट्रको समग्र राजनीतिक सन्तुलन बिग्रन्छ कि भन्ने हो । यद्यपि, एउटा नागरिकको नजरले हेर्दा अहिलेको नतिजा सुखद् छ किनभने मतहरू तीनतिर छरिएका देखिए पनि धेरैजसो दुई दलतर्फ एकोहोरिएका छन् । लोकतन्त्रमा मतहरू एकातिर एकोहोरिँदा होस् अथवा धेरैतिर छरिँदा कार्यसम्पादन कठिन हुन्छ । दुई, धेरै भए तीन दलमाझ मत बाँडिए कार्यक्षमता बढ्छ र सम्पादन पनि सहज हुन्छ । 

जहाँसम्म विकल्पका रूपमा आफूलाई प्रस्तुत गरिरहेका नयाँ दलहरूको विषय छ, यिनले दलीय रूपमा आफूलाई भिन्न देखाएर मात्र नपुग्ने देखिएको छ । यिनीहरूले दोस्रो चरणको स्थानीय, त्यसपछि प्रादेशिक र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचनलाई आफ्नो प्रशिक्षणका रूपमा स्विकार्नुपर्ने देखिएको छ । ख्याल रहोस्, लोकतन्त्रको राजनीतिमा बिरलै चमत्कार हुन्छ । दृष्टिकोण भएर मात्र पुग्दैन । संगठन र रणनीतिक कौशल पनि चाहिन्छ । 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार