विचार/विश्‍लेषण

पूर्वीय र पश्चिमी पर्यावरणीय चिन्तन

- प्रा कृष्ण गौतम
पश्चिमीहरू जेलाई पनि फुटाएर अलग्याएर हेर्ने वैज्ञानिक विश्लेषणवादको निर्देशनमा वातावरणको रचना र संरक्षणका निम्ति सतही समाधान खोज्दै आएका छन् ।

जेष्ठ ४, २०७४-केही वर्ष यतादेखि नेपालमा वातावरण संरक्षणको र सुधारको विषय चर्चामा आउने गरेको भए पनि त्यसका निम्ति अपेक्षित प्रबन्धको योजना हुनसकेको छैन । वाग्मती सभ्यताको समृद्ध इतिहास भएको नेपालकै राजधानीमा धुलो, धुवाँ, दुर्गन्ध र दुध्र्वनिले नागरिक त्रस्त छन् । वातावरण प्रदूषणका राष्ट्रिय/ अन्तर्राष्ट्रिय पाटाहरू छन्, जसको विस्तृत बयान दिने स्थिति यहाँ छैन । जङ्गलको विनाशले ग्यास, तेल एवं कोइलाको प्रयोगले वातावरणमा थुप्रने कार्बन डाइअक्साइड, अम्लवर्षा, फोहोर र सडेगलेका वस्तुहरूको जल र जमिनमा प्रक्षेपण, ओजोन तहको क्षय तथा हरितगृह प्रभावजस्ता कुरा विश्वव्यापी भएर बहसमा आएका छन् । वातावरणका सामाजिक, राजनीतिक, आर्थिक, वैज्ञानिक आदि अनेक पक्ष छन् । तर यहाँ भने दार्शनिक, सांस्कृतिक पक्षतिर चासो बढाइएको छ ।

वातावरणवादलाई नेपालीमा अङ्ग्रेजी ‘एन्भायरोन्मेन्टलिजम’का रूपान्तरको रूपमा लिन सकिन्छ । अर्थ स्थिर नभइसकेकाले नेपालीमा त्यसको पर्याय पर्यावरणवाद पनि हुनसक्छ । अङ्ग्रेजीमा ‘इकोलजी’ भन्ने पदको निकै प्रयोग हुने गर्छ, जसले अध्ययनमा पृथक् स्थान बनाएको छ र जसलाई वातावरणशास्त्र, पर्यावरणशास्त्र, प्रकृतिशास्त्र आदि पदहरूमा हामी अनुदित गर्न सक्छौं । दुबै विषयमा केही साम्य छ र केही वैसम्य पनि छ । फराकिलो अर्थमा भने वातावरणीय चिन्तनमा दुबै समेटिन्छन् । सन् १९६० र १९७० का वर्षहरूदेखि उत्तर आधुनिकताको झन्डै–झन्डै विकल्पजस्तो भएर वातावरणीय चिन्तन अग्रभूमिमा आयो, जसको नेपाली सोच र साहित्यमा प्रभाव परेको छ । डार्बिनका अनुसार वातावरणसित उचित तालमेल भएमा नै प्राणीले जीवितता पाउँछ । वातावरणवादीहरूको मानवकेन्द्रित चिन्तनमा मान्छेको स्वार्थलाई उठाउन वैज्ञानिक उपायहरू अवलम्ब गर्दैगर्दा मनुष्य र मनुष्येतरका बीच ठूलो फाटो बन्न आयो, जसलाई जोड्ने प्रयत्न एकथरी वातावरणीय चिन्तकहरूले, पर्यावरणीय दार्शनिकहरूले अर्थात् इकोदार्शनिकहरूले गरे ।

पश्चिममा पृथ्वीमाथि/प्रकृतिमाथि विजय गर्ने र मान्छेको आधिपत्य स्थापित गर्ने चिन्तन ज्ञानोदय यऽऽगदेखि अर्थात् अठारौं शतकदेखि बिउँझेको हो । विज्ञान र टेक्नोलजीको विकास भएर कलकारखाना खुल्दै गएपछि प्रकृतिको मार थापिरहेको कृषि युगको मान्छे औद्योगिक युगमा पस्यो । उद्योग व्यवसायले सुविधाका वस्तुहरू उपलब्ध त गरायो, तर प्रदूषण पनि बढायो । प्रकृतिबाट कच्चा वस्तु लिएर सभ्यताको कृत्रिम झिलिमिलीमा मान्छे फँस्यो । विकासका कार्यहरूले पृथ्वीलाई काटे, ताछे, विरूप बनाए । ग्रिक दार्शनिक प्रोटागोरसको अभिव्यक्तिले ज्ञानोदय युगमा समर्थन पायो । तिनले भनेका थिए कि मान्छे नै सबै कुराको नापो हो । राम्रो/नराम्रो, ठिक/बेठिक, असल/खराबको निर्णायक मान्छे भएपछि उसकै केन्द्रीयतामा मानववादको दर्शन खडा भयो । विज्ञानले बुद्धिलाई अन्धविश्वासहरूबाट मुक्त गरी खिरिल्याइदिएपछि ज्ञानोदयको सर्वेसर्वा भएर बौद्धिक मान्छे उभियो । पृथ्वीलाई नङ्ग्याउँदै बलात्कारमा प्रवृत्त भएको बौद्धिक मान्छेले प्रकृतिलाई आफ्नो स्वार्थसिद्धिको वस्तु मान्यो । प्रकृति इतर भयो, पूरक मात्र भयो । यही तथ्यको खुलासा दिँदै पर्यावरणीय दार्शनिकहरूले यो उद्घोष गरे कि केन्द्र मान्छे होइन, केन्द्र त धर्ती हो, पृथ्वी हो । धर्ती केन्द्रिकताको अवधारणाले मानव केन्द्रिकताको विस्थापन गर्‍यो, जसतिर कैयौं विश्लेषक आकृष्ट भएका छन् ।

यस सृष्टिमा मान्छेलाई केन्द्रमा राख्न सकिँदैन । केन्द्र धर्ती हो, जसमा मनुष्य र मनुष्येतरको अर्थात् प्रकृतिको एउटै समग्रता छ । मान्छेलाई मात्र हेरेर, उसको स्वार्थलाई मात्र हेरेर प्रविधिको प्रहारले गरिएका कार्यद्वारा आज धर्ती कुरूप भएको छ, जसको परिणाम अनेक तहमा हामी भोगिरहेका छौं । प्रकृति, पशुपन्क्षी, वनस्पति, नदीनालाको सिङ्गो समष्टिबाट मान्छेलाई अलग्याउन मिल्दैन । मान्छेलाई बाँच्ने अधिकार छ भने पशुपन्क्षीलाई मान्छेको स्वार्थका निम्ति त्यो अधिकारबाट बञ्चित गर्न मिल्दैन । आफ्नै नियममा चलेर जङ्गलले हुर्कन, बढ्न, फुल्न र फल्न पाउनुपर्छ, नदीनालाले बग्न पाउनुपर्छ । आकाश सफा रहोस्, सूर्य चम्कोस्, चन्द्रमा मुस्कुराओस् । 

यता टमस माल्थसले जनसङ्ख्याबारे एक निबन्ध प्रकाशित गरेर (१७९८) के बताएका थिए भने जनसङ्ख्या वृद्धिको अनुपातमा खाद्यवस्तु अपुग हुने भएकाले प्राकृतिक नियमअनुसार रोग, महामारी र अनिकाल बढेर जनसङ्ख्या घट्छ र खाद्यवस्तु पुग्ने भएपछि सन्तुलन कायम हुन्छ । विज्ञान र प्रविधिका पक्षपाती एकथरी वातावरणीय चिन्तकहरू के भन्छन् भने पर्यावरणीय दार्शनिकहरूलाई पछ्याउने हो भने मानव समाज प्रकृतिका यस्तै क्रूर नियमतर्फ धकेलिन्छ । उता दार्शनिकहरू के जवाफ दिन्छन् भने सभ्यताका नियमहरू नै कम क्रूर नभएकाले त हामी निरन्तर गिर्दै गइरहेका छौं ।

वैज्ञानिक पद्धतिद्वारा प्रकृतिमाथि नियन्त्रण कायम गरेर इतिहासको प्रगतिशील आकाङ्क्षालाई पुरा गर्ने चिन्तनको ओइरो लागेपछि माल्थस ओझेलमा त परे, तर प्रगतिका सही लक्षण नदेखिँदा सतही पर्यावरण बनाउने प्रक्रियाबाट असन्तुष्ट दार्शनिकहरूले सूक्ष्म पर्यावरणको अवधारणा ल्याए । जसमा केही नारीवादीको विचारलाई पनि उनीहरूले सम्मिलित गरे । नारीवादीका अनुसार पितृसत्ताले महिलाको मात्र होइन, प्रकृतिको पनि दमन गर्दै आएको छ, मानववाद पौरुष दर्शन हो । विकसित देशमा वातावरणका सतही समाधानमात्र खोजियो, जहाँ जलवायु परिवर्तनतर्फ सचेत हुने, प्रदूषण हटाउने, स्वास्थ्य र समृद्धि खोज्ने प्रयत्नमात्र गरिन्छ । सूक्ष्म पर्यावरणको सिद्धान्तले धर्ती केन्द्रिकताको वरण गर्छ र प्रकृतिप्रति सहिष्णु हुने, त्यसको स्वगत मूल्यमा विश्वस्त हुने सन्देश दिन्छ । सूक्ष्म पर्यावरणविद नर्वेली दार्शनिक अर्ने नाइसले पूर्वलाई समेत गाँसेकाले तिनको चिन्तनमा हाम्रो चासो बढ्छ । तिनले गान्धी, गीता र वेदान्तको समेत आधार लिएर मानव र मानवेतरमा आध्यात्मिक एकत्व अन्तरनिहित भएको खुलाए । पूर्वमा वातावरण मैत्रीको लामो परम्परा छ, जसमा पृथ्वी माताको रूपमा, आकाश पिताको रूपमा सम्मानित हुन्छन्, ग्रह, तारा, पर्वत, नदी, नाग, वृक्षहरूप्रति हामी आदर व्यक्त गर्छौं । पूर्व समग्र धर्तीलाई एउटै परिवार मान्छ । उसलाई मान्छे शासक र धर्ती शासित हुने विचार मान्य छैन ।

सारांश यो हो कि पश्चिमीहरू जेलाई पनि फुटाएर अलग्याएर हेर्ने वैज्ञानिक विश्लेषणवादको निर्देशनमा वातावरणको रचना र संरक्षणका निम्ति सतही समाधान खोज्दै आएका छन् । यता पूर्वीयहरू भने पृथ्वी र वातावरणको समग्रतालाई ओगट्छन् र समाधानको आध्यात्मिक सूक्ष्मतामा पुग्छन् । अर्ने नाइसका अनुसार आध्यात्मिक एकत्ववादमा अथवा समष्टिवादमा मिस्टिसिजमको– रहस्यवादको छाया देखेर तर्सनु अनावश्यक छ । किनभने यस विषयमा आध्यात्मभाव अनुभवगम्य सत्यबाट टाढा छैन ।

प्रकाशित: जेष्ठ ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार