अन्य

पाठक पत्र: महानगरमा कांग्रेस किन पछाडि ?

जेष्ठ ४, २०७४-जुन दिन शेरबहादुर देउवा र प्रचण्डले एउटै प्लेन चढी चितवन गएर एउटै मञ्चबाट भाषण गर्दै भोट मागे, त्यही दिन केपी ओलीले पनि चितवनमै गएर भाषण गरे, भोट मागे । तर देउवा–प्रचण्डको तालमेल र केमेस्ट्रीलाई चितवनका जनताले मन पराएनन् भन्ने कुरा निर्वाचनको प्रारम्भिक नतिजाले देखाएको छ । कांग्रेस–माओवादीको गठबन्धन पोखरा महानगरपालिकामा पनि थियो । तर त्यहाँ पनि यी दुई दलको उम्मेदवारलाई एमालेको एक्लो उम्मेदवारले पछि पारेको छ । यता काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा कांग्रेसभन्दा एमाले अगाडि छ भने ललितपुर महानगरपालिकामा टक्कर छ । महानगरका मतदाताले कांग्रेस–माओवादी गठबन्धनलाई किन दुत्कारे ? यो गहन समीक्षाको विषय हो । आम जनता हिंसावादीसँग अहिंसावादीको तालमेल प्राकृतिक नभएको हुँदा नै महानगरमा कांग्रेसप्रति जनताको विश्वास टुटेको बताउँदै छन् । उता १२ राजदूत नियुक्ति, आईजीपी प्रकरणमा कांग्रेसले खेलेको भूमिका र प्रधानन्यायाधीशको महाअभियोग प्रस्तावमा कांग्रेसले देखाएको अदूरदर्शिताले गर्दा पनि यसपालि महानगरका जनता कांग्रेससँग रुष्ट हुन पुगेको बताइन्छ । देउवाको अदूरदर्शी र हठी स्वभाव तथा अन्य कांग्रेसी नेताको देउवालाई तिमीले गल्ती गरिरहेका छौ भन्न नसक्ने कायरताले गर्दा नै यसपालि महानगरहरूबाट कांग्रेस पराजित हुने अवस्थामा पुगेको हो । दोस्रो संविधानसभाबाट २०७ सभासद बनाएर नेपालको पहिलो पार्टी हुन पुगेको कांग्रेस अहिले दोस्रोमा झर्नुको पछाडि कांग्रेसले लिएको नीति, अडान र देउवाको हठ र सत्तालिप्सा प्रवृत्ति हो । यसको जिम्मा देउवाले लिनुपर्छ । उता प्रचण्डले करिब १० महिना सरकारको नेतृत्व गरे पनि प्राय: अधिकांश महानगर र नगरपालिकामा माओवादी पारजित हुनुले सरकारले गरेका कामप्रति सहरका सचेत जनता सन्तुष्ट रहेनछन् भन्ने सन्देश दिएको छ । राजधानीको महानगर र १० वटै नगरपालिकाबाट माओवादी लज्जाजनक ढंगले पछि पर्नुको पछाडि प्रचण्ड सरकारको कार्यशैली जनप्रिय रहेनछन् भन्ने बुझ्नुपर्ने भएको छ । एमालेले राप्रपासँग गरेको तालमेललाई पनि आम जनताले राम्रो रूपमा लिएका छैनन् । यो सैद्धान्तिक विचलन हो । तर पनि धेरै ठाउँमा कांग्रेस–माओवादी मिल्दा पनि एमालेले अग्रता लिनुले सहरी जनता एमालेले लिएको राष्ट्रवादी अडानप्रति सहमत रहेको देखाएको छ । राष्ट्रहित विपरीत संविधान संशोधन गर्दैनौं भन्ने एमालेको अडानलाई सहरी मतपरिणामले समर्थन गरेको देखिन्छ ।

– गोपाल देवकोटा

गोकर्णेश्वर–८, जोरपाटी, काठमाडौं

 राजनीतिक दलले हार्दै छन् 

स्थानीय निर्वाचनमा राजनीतिक दलहरूभन्दा पनि ज्यादा इमानदार छवि र सामाजिक चरित्रले सफलता हासिल गरिरहेको तथ्यलाई मतगणनाको परिणामले स्पष्ट पारिदिएको छ । राजधानीको एउटा नगरपालिकामा भएको मतगणनामा मेयरमा कांग्रेस, वडा अध्यक्षमा राप्रपा र वडा सदस्यहरूमा एमालेका उम्मेदवारहरूको विजयी भएको अवस्थाले यसलाई पुष्टि गरेको छ । यो एउटा प्रतिनिधि परिणाममात्र हो । सैद्धान्तिकभन्दा व्यावहारिक मतको वर्चस्व ज्यादा रहेको छ, यत्रतत्र । ठूलो पार्टी हुनुको अर्थमा कांग्रेस र एमाले पार्टीको प्रभाव विशेष प्रकारको होला, यद्यपि अव्यावहारिक, असामाजिक र जनमानसमा भिज्न नसकेका उम्मेदवारहरू जनताको छनोटमा परेका छैनन् । मतगणनामा देखिएको क्रस भोटिङको अर्थ राम्राभन्दा हाम्राले पाएको प्रधान्यता हो । 

अब नाराले होइन, व्यवहारले चुनाव जित्ने युगको प्रारम्भ हुँदैछ । कथित राष्ट्रवाद अनि लोकतन्त्रको दुहाइ होइन, इमान, लगन अनि व्यावहारिक नेतृत्व जनताको छनोट बनेका छन् । पार्टीमा बाजेले गरेको लगानीको ब्याज नातिले खाने युगको अन्त्यलाई यस पटकको स्थानीय निर्वाचनले आत्मसात गरेको छ । लोकतन्त्रमा राजनीतिक पार्टीको हैसियत र अस्तित्वलाई नकार्न सकिन्न । यद्यपि धमिल राजनीतिक छवि भएकाहरूको भविष्य अब छैन भन्ने सत्यलाई जनस्तरबाट अनुमोदित भइरहँदा राजनीतिको माथिल्लो तहको छनोटलाई यत्रतत्र जनताले बहिष्कार गरिदिएका छन् । 

जनस्तरमा नभिजेका र जनताको सुखदु:खमा साथ नदिएकाहरूलाई जनताले स्वीकार गर्न बाध्य छैनन् भन्ने सत्यलाई यो निर्वाचनले स्थापित गरिदिने संकत देखा पर्दैछ । पार्टीभित्रै पनि जनताबाट रुचाइएका र सामाजिक चरित्र भएका मान्छेको अनुमोदनलाई पार्टीभित्रको उनीहरूको लगावभन्दा पनि सामाजिक स्तरमा उनीहरूको उठबस अनि कर्मशीलताको पाटोबाट मूल्यांकन गर्नु उपयुक्त हुन्छ । 

– उत्तम पुडासैनी 

जोरपाटी, काठमाडौं

 मतदाता शिक्षालाई प्रभावकारी बनाऊ

स्थानीय तहको प्रथम चरणको निर्वाचन समग्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भयो । सबै मतदाताले आफूले चाहेको व्यक्तिलाई मतदान गर्न पाउने अधिकारको प्रयोग गर्न पाए, यो खुसीको कुरा हो । यसको नतिजा पनि आउने क्रममा छ । नतिजामा जेजस्तो परिणाम आए पनि जनमत हो, सबैले स्वीकार गर्नैपर्छ । निर्वाचन त सफल भयो, तर कसो–कसो केही कमजोरीबाट भने निर्वाचन दोषमुक्त हुनसकेको छैन । यसको सबैभन्दा कमजोर पक्ष भनेको उल्लेख्य मात्रामा मतपत्र बदर हुनु हो । उम्मेदवार, चुनाव चिह्न धेरै हुनु र ठाउँ–ठाउँको दलीय गठबन्धनले गर्दा मतदाताहरू अलमलमा पर्नु स्वाभाविकै हो । कतिपय मतदाताबाट मतपत्रको कागज र मसी नै कम गुणस्तरीय भएकाले मसी लतपतिने गरेको गुनासो पनि सुन्नमा आएको छ । कुनै–कुनै ठाउँमा त उम्मेदवारले प्राप्त गरेको मतभन्दा पाँचौँ गुना मतपत्र बदर भएको समाचार सुन्नमा आयो, यो सामान्य कुरा होइन । 

मतपत्र यस्तो बदर हुँदा मतदाताले चाहेको उम्मेदवारको विजय/पराजयमा अनपेक्षित नतिजा आउने सम्भावनालाई नकार्न सकिँदैन । यसो हुनुमा निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी गराउन नसकेको प्रस्ट हुन आउँछ । राजनीतिक दलहरूले पनि चुनाव चिन्ह देखाएर भोट माग्नेमात्र काम गरे, तर भोट कसरी दिने भनी सिकाउन न आफूले भ्याए, न त प्रचार–प्रसारमा लागेका कार्यकर्तालाई निर्देशन दिए । यसको नतिजास्वरूप कतिपय दिनरात यो दल र ऊ दललाई जिताउनुपर्छ भनी चुनावी प्रचारमा लागेकाहरूले दिएको भोट पनि बदर नै भयो कि भनी शंका गर्दा अस्वाभाविक मान्नुपर्ने अवस्था छैन । अत: निर्वाचनमा देखिएका बदर मतपत्रलाई गम्भीर रूपमा लिई दोस्रो चरणको निर्वाचनमा यस्तो नहोस् भन्नका लागि निर्वाचन आयोगले मतदाता शिक्षा तथा सचेतनाको लागि विशेष पहल गर्नु जरुरी छ ।

– कृष्णप्रसाद शर्मा

चाबहिल, काठमाडौं

०००

दोस्रो चरणमा हुने स्थानीय तहको मतदानलाई लक्षित गरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन आधुनिक युगको मागअनुरूप निर्वाचन आयोगले सामाजिक सञ्जाल तथा सञ्चार माध्यम त्यसमा पनि विशेषगरी टेलिभिजनलाई प्रयोग गर्नसकेमा छिटो तथा भरपर्दो हुने थियो । टेलिभिजन तथा विभिन्न सञ्चार माध्यमबाट मतदाता शिक्षा प्रदान गर्दा युवा तथा वृद्धवृद्धाहरूलाई एकै प्रकृतिको विज्ञापनमार्फत भन्दा पनि उमेर समूहअनुसार बुझिने शैलीमा मतदाता शिक्षा दिने व्यवस्था भएमा अझ प्रभावकारी हुने थियो कि ?

– सन्देश भट्टराई

इनरूवा, सुनसरी

 सन्तुलित सम्पादकीय

एलईडी प्रकारणले नेपाली मिडियामा एक खालको तरङ्ग उत्पन्न गरेको सर्वविदितै छ । विशेषगरी कुलमानको लोडसेडिङमुक्त बनाउने एक किसिमको अभियानको लोकप्रियतासँग अन्योन्याश्रित तरिकाले गाँसिएर यो प्रकरणको उठान भयो । मिडियाबाजी उनीमाथि खनिएको प्रतीत एकातिर भयो भने ‘नियमसम्मत ल्याए भैगो नि’ भन्ने आवाज पनि उत्तिकै सुनियो । कान्तिपुरको पछिल्लो सम्पादकीय भने सन्तुलित र सारगर्भित तरिकाले आएको छ, जुन सराहनीय कुरा हो । कान्तिपुर दैनिक निश्चय पनि लोकप्रिय पत्रिका हो । यसले आफ्नो साख जोगाउन क्षणिक लाभ वा राजनीतिक र व्यक्तिगत प्रतिशोध बोकेका समाचारलाई सनसनीपूर्ण बनाउनु हुँदैन । पछिल्लो सम्पादकीयमा उसको यो गुणलाई मुखरित गरेको पाइन्छ । जनजीविकासँग गाँसिएका कुरालाई, जनतालाई राहत दिने कुरालाई विगतमा जस्तै गह्रौं ढङ्गले उठाउनुपर्छ । राज्यको दायित्वबोध गराउने सवालमा कान्तिपुरको खबरदारीलाई एकदम सकारात्मक तरिकाले लिन सकिन्छ । तर मिडिया र विशेषगरी सामाजिक सञ्जालमा कान्तिपुरले प्रस्तुत गरेकै तथ्यमाथि पनि गम्भीर प्रश्न उठेका छन् । अर्कोतर्फ सस्तो मूल्यमै पाइने हो कि होइन भन्ने विषयमा खोज पत्रकारिता, अनुसन्धानात्मक लेखभन्दा पनि वेबसाइटलाई मात्रै स्रोत मान्दा अर्काथरीले पनि उत्तिकै वजनदार तर्क पेस गरिरहेको स्थितिलाई नकार्न सकिन्न । यसैले केही दृष्टिदोषको चस्मालाई फुकालेर कान्तिपुर यो सम्पादकीयमा जसरी प्रस्तुत भएको छ, त्यो प्रशंसनीय छ । 

– डा. विशालबाबु बस्नेत 

धरान

 पदको दुरुपयोग नगर्न आग्रह

जेठ २ गते प्रकाशित नेपालस्थिति अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जको लेख अत्यन्त राम्रो लाग्यो । प्रस्तुत विचारलाई राजनेताहरूले व्यवहारमा उतार्नसके आम जनताको भलो हुन्छ । नेपाली राजनीति र यहाँको कर्मचारीतन्त्रको मनोदशा उतार्न सफल उहाँको लेखले राजनीति गर्ने, भ्रष्टाचार र समाजसेवाको नाममा लुटतन्त्र, ठोकतन्त्र मच्चाएर समग्रमा नेपाललाई कमजोर र बदनाम बनाउने खेल खेल्छन्, यो स्वयंमा दुर्भाग्यपूर्ण छ । नेपाललाई साँच्चिकै माया गर्नेले सत्मार्ग समाउनैपर्छ । आम नागरिकले विश्वास र भरोसासाथ चुनेर पठाएको नेतृत्वलाई देश बनाउने अधिकार दिएको हुन्छ । तर नेताले पदको दुरुपयोग गर्दै आर्थिक लोभमा फँस्नु जनताको घोर अपमान हो । अनादर गर्नु हो । हरसम्भव नेताबाट यस्ता विसंगति नहोस् भन्ने आशय लेखकले राख्नुभएको छ, जुन नेतृत्व वर्गका लागि अत्यन्त अनुकरणीय छ ।

– शेषराज भट्टराई 

फूलबारी–११, पोखरा, कास्की 

 निष्ठावान् कांग्रेस चाहिएको छ

कांग्रेस भनेको शेरबहादुरले बनाउन खोजेजस्तो उपद्रवी हैन । कांग्रेस भनेको विचार हो, आदर्श हो र लोकतन्त्रका हरेक मूल्य र मन्यताको संरक्षक पनि हो । बीपी, गणेशमान र किसुनजीको आदर्शको वरिपरि लोकतन्त्रका लागि अनवरत रूपमा होमिएको कांग्रेसलाई कहिले कुन बहादुर त कहिले कुन प्रसादले स्खलित र दिग्भ्रमित नगरेका हैनन् । तर योपल्ट पनि कांग्रेसले शेरबहादुरको उर्दी मान्दै चितवनमा माओवादीलाई जिताउन लागिपरेको थियो भने कांग्रेस सधैंका लागि सकिने थियो । देशभरका ती तमाम निष्ठावान र सिद्धान्तप्रेमी कांग्रेसी शुभचिन्तक र लोकतन्त्रवादीहरू जसको निष्ठाले कांग्रेसलाई गाउँ–गाउँ र बस्ती–बस्तीमा लोकतान्त्रिक मान्यताले जोगाइराख्नेछ । तसर्थ ठाउँ–ठाउँबाट आइराखेको मतपरिणामप्रति लोकतन्त्रमा विश्वास गर्ने र कांग्रेसलाई भित्रैदेखि माया गर्ने सबैले खुसी हुनुपर्ने र विजयभाव राख्नुपर्ने बेला हो यो । हाम्रो लोकतन्त्रलाई लोकतान्त्रिक कांग्रेसमात्र चाहिन्छ, प्रचण्डपुत्रीका लागि सती जाने कांग्रेस चाहिएको छैन । चाहिँदैन । 

– सजल भट्टराई 

मेनिटोबा, क्यानाडा 

 कुरो लोकतन्त्रको, काम ठोकतन्त्रको

स्थानीय निर्वाचन २०७४ को पहिलो चरणको निर्वाचन मतपरिणाम आउने क्रमसँगै जनताले नयाँ दलहरूलाई नपत्याएको देखियो । स्थानीय विकास निर्माण लगायत अन्य कतिपय स्थानीय मुद्दामा प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा स्थापित दलहरूको बर्चस्वले जनता दलगत राजनीतिमा अभ्यस्त भएको पुष्टि हुन्छ । जतिसुकै जनविरोधी गलत काम गरे तापनि आखिर कांग्रेस, एमाले र माओवादी केन्द्रलाई नै जनताले रोज्नुलाई समग्रमा अशिक्षा र सही चेतनाको अभाव भन्न सकिन्छ । अपवादको रूपमा काठमाडौं महानगरपालिकामा नयाँ उदाएका साझा पार्टी र विवेकशील नेपाली पार्टीले मात्रै मुख्य दलहरूलाई चुनौती दिएको देखिन्छ । 

– एसपी बडु 

कृष्णपुर–७, कञ्चनपुर

 स्थानीय निर्वाचनको परिणाम

प्रजातान्त्रिक मुलुकमा जनताको मत नै सर्वस्वीकार्य हुनुपर्छ । जसले जे भने पनि अन्तिममा निर्णय गर्ने भनेको जनता ले नै हो । जसले जनभावना जित्नसकेको छ, ऊ नै जनप्रतिनिधि बन्न योग्य हुन्छ । स्थानीय निकायको निर्वाचनले यही देखाइरहेको छ । जसले जनताको मन जितेको छ, ऊ नै जनप्रतिनिधि बनेको छ । जसले चुनाव जितेको छ, उसले योभन्दा बढी राम्रो गर्न सक्नुपर्‍यो । जसले हारेको छ, ऊ पनि राम्रो सोच बोकेर अघि बढ्नुपर्‍यो । चुनाव भनेको एकपटक मात्र होइन, फेरि पनि आउँछ, बेलैमा सोचौं । नसक्ने काम गर्छु भनेर झुटा आश्वासन दिनुको साटो गर्न सक्ने काम गरेर देखाऊ । अझ राम्रो गर्नतिर लाग । धमाधम मतपरिणाम आउँदैछ । अहिलेको मतपरिणाम हेर्दा लाग्छ, दलहरूलाई जनताले मिलेर अघि बढ, देश विकासका लागि भन्ने सन्देश दिएछन् । टिकट दिँदा राम्रोलाई दिऊँ, जसले जनताको पक्षमा काम गर्छ भनी सोचेको पाइएन । जनताले रुचाएको व्यक्तिलाई टिकट दिइएन, नेताले रुचाएकालाई दिइयो । त्यसको परिणाम अहिले स्थानीय स्तरमा देखिएको छ । 

– पुरुषोत्तम घिमिरे

जोरपाटी, काठमाडौं 

 मत गन्तीमा आयोगलाई सुझाव

जेठ २ गते प्रकाशित ‘मतगणना अति ढिलो’ समाचारले यो लेखनीलाई अघि बढायो । जसरी भए पनि नेपालको संविधान कार्यान्वयन गर्ने सिलसिलामा ३१ वैशाख, २०७४ मा नयाँ पुन:संरचना अनुसार नै प्रदेश नं. ३, ४ र ६ मा प्रथम चरणको निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोगलाई साधुवाद ! स्थानीय तहको महत्त्वपूर्ण निर्वाचनमा वृद्ध, अपाङ्गता भएका व्यक्तिमात्र होइन, किरियापुत्री समेतले आफ्नो मताधिकारको उपयोग गरेका छन् । फाटफुट घटनाबाहेक ऐतिहासिक रूपमा निर्वाचन सम्पन्न भई मतपेटिका निर्दिष्ट स्थानमा आइसकेका छन् । तर यसरी चुनाव अनुकरणीय रूपमा सम्पन्न भइसकेपछि अहिले फटाफट मत गन्ती गरेर मतदाताबीच परिणाम सार्वजनिक गरिसक्नुपर्ने दायित्व आयोगको हो । तर मतगन्ती गर्न सुरु गरे पनि एकदमै ढिलो गर्ने गरेको पाइएको छ । यस्तो ढिलासुस्ती हुनजाँदा मतदातामा राम्रो सन्देश सञ्चार भएको छैन, यो तथ्य निर्वाचन आयोगले बुझेकै हुनुपर्छ । मतपत्र नै ठूलो, गन्ती गर्ने जनशक्ति कम, स्थानको अभाव हुनसक्छन् । यदि जनशक्तिको अभावका कारण ढिलो भएको हो भने सेवानिवृत्त, अनुभवी कर्मचारीलाई करारमा लिई मतगन्ती गराउन सकिन्न र ?

– गंगाराज अर्याल

ग्वार्को, भेल्पा, ललितपुर 

 ओबरमा सहभागिताले निम्त्याउने संकट

जेठ २ गते प्रकाशित बुद्घिनारायण श्रेष्ठको ‘ओबरमा हस्ताक्षरको अर्थ’ पढियो । ओबरमा हस्ताक्षरको बेग्लै अर्थ छ । सम्भवत: लेखकले ओबरको लागि नेपालको पूर्वाधार विकासमा लाग्ने खर्चको हेक्का राखेका छैनन् । नेपाल त्यसको लागि पूर्वाधार विकासमा लाग्यो भने लगातार ५ वर्षसम्म प्रतिवर्ष १८ अर्ब डलरको हिसाबले खर्च गर्नुपर्छ । निश्चित छ कि नेपाललाई चीनसँग ऋण लिनुपर्छ । नेपाल त्यसै ऋणको थुप्रोमा पुरिनेछ । अनि हाम्रो हविगत बाघको पुच्छरमा बाँधिएको स्यालसरह हुनेछ । एकचोटी बाघ र स्याल नयाँ साथी बने । सँगै जाने र सँगै आउने वाचा गरे । त्यसको लागि तिनीहरू एकअर्काको पुच्छरमा पुच्छर बाँधेर अघि पनि बढे । एक दिनको घटना हो । सिकारीको बन्दुक पड्केको आवाजले त्रसित भएर बाघ भाग्न थाल्यो । त्यसको पुच्छरमा बाँधिएको स्यालको भने घिसिँ्रदा हड्डी चकनाचुर भयो । नेपालको हालत ओबरपछि त्यही हुनेवाला छ ।

– डा. शिवशंकर यादव

वीरगन्ज, पर्सा

प्रकाशित: जेष्ठ ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार