विचार/विश्‍लेषण

दोस्रो चरणलाई पाठ

- सम्पादकीय

जेष्ठ ४, २०७४-पहिलो चरणअन्तर्गतको स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । केही ठाउँमा मतगणना सकिइसकेको छ । विवाद वा अन्य कारणले स्थगित भएका ठाउँमा बुधबार पनि मतदान गराइएको छ । मतगणनाको प्रारम्भिक अवस्थालाई हेर्दा बदर मतको संख्या उल्लेख्य छ, मतगणना पनि सुस्त छ । राजधानी उपत्यकामै हालसम्मको मतगणनामा १० प्रतिशतभन्दा बढी मत बदर भएको देखिएको छ । स्थानीय सरकारका लागि जनप्रतिनिधि छान्न उत्साहका साथ मतदान केन्द्र पुगेका यति धेरै मतदाताको मत खेर जानु गम्भीर विषय हो । यस्तै, मतपरिणामको व्यग्र प्रतीक्षामा आम नागरिक रहेका बेला सुस्त पारामा मत गनेर निर्वाचन आयोगले कमजोरी देखाएको छ । त्यही कारण करिब ७३ प्रतिशत मतदाताको सहभागितामा पहिलो चरणको निर्वाचन सम्पन्न गराएर प्रशंसा बटुलेको आयोग आलोचित बनिरहेको छ । 

ठूलो मतपत्र र एउटै मतपत्रमा सात ठाउँ छाप हाल्नुपर्ने व्यवस्थाका कारण स्थानीय निर्वाचनमा धेरै मत बदर हुने आकलन पहिल्यै गरिएको थियो । बढी मत बदर हुने जोखिम रहेपछि मतदाता शिक्षामा जति प्राथमिकता दिइनुपथ्र्यो, त्यति देखिएन । निर्वाचन घोषणापछिको समय छोटो थियो तर पर्याप्त जनशक्ति घरघर खटाएर छाप हान्न सिकाउन नसकिने अवस्था भने थिएन । तर थुप्रै मतदाताकहाँ निर्वाचन आयोगले खटाएका मतदाता शिक्षा कार्यकर्ता पुग्दै पुगेनन् । मतदातालाई सिकाउने दायित्व राजनीतिक दल र उम्मेदवारको पनि हो । बदर मतले उनीहरूको कमजोरीसमेत देखाएको छ । त्यसो त राजनीतिक दलहरूले लहरै छाप हान्न सिकाएकाले ‘क्रस’ गर्न खोज्दा पनि मत बदर भएको देखिएको छ । चुनावी तालमेलपछि त्यहीअनुसार नसिकाउनाले दुवैतिर छाप हान्दा खेर गएका मत पनि थुप्रै पाइएका छन् ।

दोस्रो चरणको स्थानीय निर्वाचन आउन तीन साताभन्दा बढी समय छ । यो समयमा अहिले देखिएको बदर मतको ‘ट्रेन्ड’ बाट पाठ सिकेर निर्वाचन आयोगका साथै राजनीतिक दलहरूले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ । दलहरूले एकै लाइनमा छाप हान्नमात्रै सिकाउन सक्छन् । तर निर्वाचन आयोगका मतदाता शिक्षा कार्यकर्ताले बदर नहुने गरी क्रस गर्ने विधि पनि सिकाउनुपर्छ । अधिकांश मतदाता शिक्षा कार्यकर्ता घर–घर पुगेकै हुँदैनन्, जबकि मतपत्रको जटिलताका कारण प्रत्येक मतदातालाई सिकाउनुपर्ने अवस्था छ । कहिल्यै मत नहालेका मतदाता नै करिब १९ लाख छन् । सात ठाउँ छाप हान्ने व्यवस्था पनि यसअघि २०५४ सालको स्थानीय निर्वाचनमा मात्र थियो । छुट्टाछुट्टै मतपत्रमा एक–एक छाप हान्नुपर्ने पहिलो संविधानसभा निर्वाचनमा करिब ५ र दोस्रोमा करिब ४ प्रतिशत मत बदर भएको थियो । दोस्रो चरणको स्थानीय निर्वाचनमा मतदाता शिक्षा फितलो भयो भने औसत बदर मत अधिक हुन्छ । बदर मत निर्वाचन सफलताको सूचकसमेत रहेकाले आयोग र राजनीतिक दलहरू यस विषयमा गम्भीर हुनुपर्छ । 

दोस्रो चरणको निर्वाचनका लागि करिब १४ हजार मतदाता शिक्षा कार्यकर्ता खटाइएका छन् । निर्वाचन आयोगले आवश्यकताअनुसार थप जनशक्ति व्यवस्था गर्न पनि सक्नुपर्छ । ठाउँ–ठाउँमा नमुना मतदान गराउनुपर्छ । यसबाट मतदाता शिक्षा प्रभावकारी बन्छ । अर्कोचोटिको स्थानीय निर्वाचनमा बढी मत बदर नहोस् भनेर पनि निर्वाचन आयोगले बेलैमा तयारी गर्नुपर्छ । प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षका लागि एउटा र वडाध्यक्ष/सदस्यका लागि अर्को मतपत्र व्यवस्था गरे मतदातालाई सजिलो हुन सक्छ । विद्युतीय मेसिनबाट मतदान गराए बदर मतको जोखिम हट्छ, मत परिणाम थाहा पाउन पनि लामो समय कुर्नु पर्दैन । कम्तीमा सहरी क्षेत्रबाट विद्युतीय मेसिनको प्रयोग थाल्नुपर्छ । 

अहिले जारी मतगणनाले परिणामप्रति चासो राख्ने नागरिकलाई अलमल्याइरहेको छ । करिब दुई लाख मत रहेको काठमाडौं महानगरपालिकामा पहिलो २४ घण्टामा करिब एक हजार मत मात्र गनिएको थियो । निर्वाचन आयोगले एउटा मत गन्न लाग्ने समय आकलन गरी मतगणना छिटो सक्ने गरी बेलैमा प्रबन्ध मिलाउनुपथ्र्यो । अब पनि गणकहरू थपेर अहिलेको गणनालाई तीव्रता दिनुपर्छ, नत्र दोस्रो चरणको स्थानीय निर्वाचनको तयारीसमेत प्रभावित हुन सक्छ । 

दोस्रो चरणमा गणना अहिलेको जस्तो ढिलो नहोस् भनेर पनि आयोगले बेलैमा प्रबन्ध मिलाउनुपर्छ ।

प्रकाशित: जेष्ठ ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार