जीवनशैली

एकताकाका ‘मार्शल’

  • ‘प्रधानमन्त्री बन्नुपर्ने मान्छे हो, उहाँ । तर समयको बाढीले उहाँलाई यसरी धकेल्दै लग्यो, जीवनको अन्तिम इच्छा पनि पुरा हुनसकेन ।’
- कुलचन्द्र न्यौपाने

वैशाख ३०, २०७४- नेपाली शव्दकोशमा ‘मार्शल’को अर्थ लडाइँमा उपयोगी फौजी कमाण्डर भन्ने छ । शव्दको यो भावार्थ नबुझ्दै कांग्रेस नेता जुलुमकाजी शाक्यले आफ्नो नामअघि ‘मार्शल’ थपिसकेका थिए । टोल–छिमेकमा खेल्दा बाबुआमाले थाहा पाउलान् भनेर उनले नाममा ‘मार्शल’ थपेका हुन् । कालान्तरमा त्यही नाम उनको परिचय बन्यो । 

राजा महेन्द्र शाहले २०१७ पुस १ गते बीपी कोइरालाको जननिर्वाचित सरकार अपदस्थ गरेलगत्तै विरोधमा सडकमा माइकिङ गर्दै मसाल बाल्ने पहिलो नेता थिए, मार्शल । पुस २ गते उनी समातिएर जेलमा पुगे । मार्शलकै प्रेरणाबाट राजनीतिक सहयात्रामा जोडिएका तीर्थराम ढंगोल भन्छन्, ‘२०१७ सालपछि राजा महेन्द्र पनि मार्शल भन्ने बित्तिकै कस्तो नाम हो भनेर तर्सिन्थे रे ।’ पञ्चायत विरुद्ध कांग्रेसको आह्वानमा भएका आन्दोलन र संघर्षमा मार्शल नामजस्तै चम्किरहे ।

नेविसंघका संस्थापक अध्यक्ष विपीन कोइरालालाई २२ सालमा आफूस‘ंग जेलमा रहेका मार्शल कस्तो व्यक्ति होला भनेर हेर्न आउने भिडको सम्झना अझै ताजै छ । ‘मार्शल कस्तो व्यक्ति होला भन्ने आम कार्यकर्ताका लागि त उत्सकुता थियो नै’, सिन्धुलीमा चुनावी प्रचारमा खटिरहेका कोइरालाले फोनमा भने, ‘सुरक्षाकर्मी समेत मार्शललाई हेर्न आउँथे ।’

चुनावी प्रतिस्पर्धाका कारण विपीन र मार्शलबीच सम्बन्ध पनि केही समय घोचपेचकै रह्यो । सर्वसम्मतले विपीनलाई नेविसंघको संस्थापक अध्यक्ष र मार्शललाई महामन्त्री बनाउने बीपी कोइराला सहितका नेताको प्रस्ताव थियो । तर मार्शलकै कारण सर्वसम्मत बन्न सकेन । उनले विपीनसँग अध्यक्षमै प्रतिस्पर्धा गर्ने तयारी अघि बढाए । नेविसंघको पहिलो नेतृत्वका लागि २०२७ वैशाख ९ गते चुनाव भयो, यद्यपि महाधिवेशन भने वैशाख ६ गते नै सुरु भएको थियो । अधिवेशनमा भाग लिने आउने प्रतिनिधि ६५ कलेजका २ सय थिए । मार्शल विपीनसँग त्यतिबेला करिब १५ भोटले पराजित भए । अहिले जस्तै ऊबेलै दुवै पक्षबाट प्यानल उम्मेदवार खडा थियो । चुनावमा विपीनको प्यानलले नै जित्यो । तीन उपाध्यक्षमध्ये मार्शलको प्यानलबाट महन्थ ठाकुर पनि प्रतिस्पर्धी थिए, जो अहिले राष्ट्रिय जनता पार्टीका नेता छन् । ठाकुरलाई राम उपाध्यायले पराजित गरेका थिए । राम उपाध्याय पछि ओखलढुंगाको टिमुरबोटे काण्डमा सहिद बन्न पुगे । 

भूमिगत आन्दोलनताका काठमाडौंमा मार्शलको नाम कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहपछि आउँथ्यो । गणेशमान पछिको नेताको रूपमै आफूले मार्शललाई चिनेको बताउँदै काठमाडौं कांग्रेसका जिल्ला सभापति भीमसेनदास प्रधानले २०३६ सालमा भएको पहिलो भेट यसरी सम्झिए, ‘उहाँ विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुहुन्थ्यो । हामी पनि भूमिगत रूपमा आन्दालित थियौं । त्यही मेसोमा उहाँलाई भेट्ने कुरा भयो । नाम सुन्दै अजंगको शरीर, डरलाग्दो हाउभाउ । आगो ओकल्ने नेताको छवि बनेको थियो । मनमा कस्तो होला भन्ने लागिरहेको थियो ।’ प्रधानले उनलाई भेटेपछि भने दंग परेको सुनाए । ‘होचो कदको, भलाद्मी, सोवर भएको नेताका रूपमा पायौं,’ उनले बुधबार भने । 

२०१७ सालदेखि ०४६ सम्मको कालखण्डमा मार्शलको न्युरोड ओमबहालस्थित निवास आन्दोलनको हेडक्वाटर जस्तै हुने गथ्र्याे । २०४६ सालको जनआन्दोलनमा काठमाडौंबाट उनैले कमाण्डर सम्हालेका थिए । काठमाडौं कांग्रेसको पहिलो बैठक पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको उपस्थितिमा उनकै निवासमा भएको थियो । जब पञ्चायत ढलेर प्रजातन्त्रको पुनरोदय भयो, त्यसपछि मार्शलले आफ्नो नामको पहिचान गुमाउँदै गए । पार्टीको आन्तरिक गुटबन्दी र दाउपेचको चेपबाट उम्केर उनले राजनीतिको अग्लो शिखर चुम्न सकेनन् । पार्टीभित्र संस्थागत रूपमा हुर्केको गुटबन्दी र परिवारवादले यी संघर्षका धरोहर विस्तारै पाखा लाग्दै गए । वैशाख २३ गते उनको निधन झन्डै गुमनामको अवस्था बन्न पुग्यो । 

२०४६ सालको परिवर्तनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा मार्शलले भौतिक योजना तथा यातायात र आपूर्ति तथा वाणिज्य मन्त्रालय सम्हालेका थिए । त्यसयता उनको राजनीति यात्रा सुखद भएन । पार्टीमा केन्द्रीय सदस्य र संंसदीय निर्वाचनका प्रतिस्पर्धामा उनले निरन्तर हार्दै आए । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकै जस्तै उनको जीवन पनि हारैहारले भरिएको छ । भट्टराईले आफू कक्षाको मनिटरमा समेत हारेको बताउँथे । मार्शलले पनि तीनपटक संसदीय चुनाव हारे । नेविसंघको चुनाव हारे । केन्द्रीय सदस्य त उनी निरन्तर हार्दै आए । बहुदल आएपछि सर्वोच्च नेता गणेशमान र उनको सम्बन्ध त्यति न्यानो बन्न नसक्नुको परिणाम नै उनी कांग्रेसको केन्द्रीय राजनीतिबाट पाखा पर्दै गए । २०४८ सालको निर्वाचनमा उनलाई पार्टीबाट टिकट त दिइयो, तर काठमाडौंमा नभएर ललितपुरमा । ललितपुर क्षेत्र नम्बर २ बाट उठेका उनले चुनाव हारे । २०५१ र ०५६ उनले काठमाडौं क्षेत्र नं. ८ बाटै टिकट त पाए, तर जित हासिल गर्न सकेनन् । 

संसदीय चुनावमा जित्न नसकेपछि उनले पार्टीको केन्द्रीय सदस्य बन्ने सपना राखेका थिए । आफ्नो दौंतरीहरूसँग उनी यही सपना सुनाउँथे । केन्द्रीय सदस्य बन्न पार्टीको हरेक महाधिवेशनमा प्रतिस्पर्धा पनि गरे । नेता विशेष र गुटको आधारमा प्रभावित बन्ने महाधिवेशनमा उनी कसैको बन्न सकेनन् । कुनै गुटमा पनि अटाएनन् । जसका कारण उनी चुनाव हार्दै आए । नत उनलाई अघिल्लो पुस्ताले ल्यायो, न अहिले नेतृत्व तहमा रहेको पुस्ताले उनलाई न्याय दियो । ‘२०४६ सालपछि राजनीति गरेकाहरू केन्द्रीय कार्यसमिति र संसदमा गए । उहाँले कांग्रेस बनाएकाहरू अहिले केन्द्रीय राजनीतिमा छन् । तर मार्शल दाइ नत चुनाव जितेर केन्द्रीय सदस्य बन्न सक्नुभयो, न कसैले मनोनीत गरेर नै ल्याए,’ काठमाडौं कांग्रेस सभापति भीमसेनदास प्रधान भन्छन्, ‘प्रजातान्त्रिक आन्दोलनका यी योद्धामाथि नेताहरूले न्याय गरेको अनभूति हुनसकेन ।’

किन उनी राजनीतिमा सफल हुन सकेनन् ? नेविसंघका संस्थापक अध्यक्ष कोइराला भन्छन्, ‘यो पनि समयको खेल रहेछ । मैले कांग्रेस बनाएकाहरू प्रधानमन्त्री र सभामुख बनिसके, मेरो अवस्था पनि यस्तै छ ।’ विपीनले थपे, ‘मार्शलजी काठमाडांैमा गणेशमानजीको प्रतापमा पर्नुभयो । त्यहीँ कारण उहाँले आफूलाई टेकअप गर्न सक्नुभएन ।’ 

कांग्रेस नेतृ जीवन डंगोलले मार्शललाई किनारामा पार्न २०४६ सालदेखि नै उपत्यकामा झालझेलको राजनीति सुरु भएको बताउँछिन् । मार्शल २०४३ सालदेखि ०४५ सालसम्म काठमाडांै जिल्ला कार्यसमितिका कार्यबाहक सभापति भए । त्यसपछिको केही समय जिल्ला सभापति भए पनि उनको नेतृत्वको कार्यसमिति विघटन भयो र पछि गणेशमान पुत्र प्रकाशमान सिंह जिल्ला सभापति बन्न पुगे । 
मार्शल तेजबहादुरका एक्ला छोरा हुन् । बाबु हिमालय शमशेरकोमा काम गर्थे । परिवार सामान्य थियो । पछिल्लो अवस्थामा उनी बिरामी पर्दासमेत काठमाडौं कांग्रेस सभापति भीमसेनदासको अग्रसरतामा सहयोग जोरजाम गरिएको थियो । जेठी श्रीमतीबाट बच्चाबच्ची नभएपछि उनले दोस्रो विवाह गरे । दोस्रो विवाह गरेपछि नै उनले आफ्नो पुख्र्यौली थलो ओमबहाल छाडेका हुन् । कान्छी श्रीमतीबाट एक छोरी छिन् । तिनै छोरी शिवानीले वैशाख २३ गते उनको शवमा दागबत्ती दिएकी थिइन् । 

मार्शल सन्त स्वभावमा थिए । स्वच्छ छवि र आत्मस्वाभिमान उनका पछिल्ला परिचय हुन् । ‘निष्ठा र आत्मस्वाभिमान भएका नेताले यहाँ ठाउँ पाउने अवस्था रहेनछ,’ अन्तिम इच्छा पुरा गर्न नसक्दाको पीडा आफूहरूलाई भइरहेको बताउँदै प्रधान थप्छन्, ‘समानुपातिकमा राखेर भए पनि सांसद र एकपटक केन्द्रीय सदस्य बनाइदिनुपथ्र्याे । तर नेताहरूले गल्ती गरे ।’ 

भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्दा उनको स्वकीय सचिव बसेकी जीवन डंगोल अवसर पाएर पनि स्वच्छ छवि बाँच्न सक्ने क्षमता भएको नेताको रूपमा मार्शललाई लिन्छिन् । ‘संघर्षका यस्ता योद्धाहरूलाई सम्मान नगरिँदाको परिणामले राजनीतिप्रतिको सम्मान जाग्न नसकेको हो,’ उनले भनिन्, ‘प्रधानमन्त्री बन्नुपर्ने मान्छे हो, उहाँ । तर समयको बाढीले उहाँलाई यसरी धकेल्दै लग्यो, जीवनको अन्तिम इच्छा पनि पुरा हुनसकेन ।’ 

भट्टराई नेतृत्वको सरकारमा मार्शल धर्मनिरपेक्षताको विषय उठाएर चर्चामा आएका थिए । त्यसपछि पार्टीभित्रैबाट पनि उनीमाथि प्रहार भयो । २०४७ सालको संविधानमै धर्मनिरपेक्षता राख्न उनले यो विषयलाई उठाएका थिए । मार्शलले राखेको धर्मनिरपेक्षताको मागलाई त्यतिबेलाकै राष्ट्रिसभाको सांसद विदुर पौडेलले व्यंग्य गर्दै भनेका थिए, ‘मार्शल भनेको क्रिस्चियन, जुलुम भनेको इस्लामिक र शाक्य भनेको बुद्धिष्ट हो । अनि कसरी मार्शलजुलुम शाक्यले हिन्दु राष्ट्र हुनुपर्छ भन्छ त ?’ उनले त्यतिबेला उठाएको यो माग भने २०६२/०६३ को आन्दोलनले सार्थक बनाएको छ र अहिले मुलुक धर्मनिरपेक्षता बनेको छ । 

प्रकाशित: वैशाख ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार