समाचार

हिमालय ट्राभल मार्ट काठमाडौंमा हुने पक्का

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख २९, २०७४-आगामी जुन १ देखि ४ गते काठमाडौंमा हुने बहुप्रतिक्षित पर्यटन क्षेत्र सम्बन्धित हिमालयन ट्राभल मार्टमा ६० विदेशी क्रेता र ५० बढी क्षेत्रीय विक्रेताको सहभागिता रहने भएको छ । 

आयोजकमध्येको पाटा नेपाल च्याप्टरले मार्टमा विश्व पर्यटन बजारका सशक्त टुर अपरेटरहरुलाई क्रेताको रुपमा आमन्त्रण गरीएको जनाएको छ । त्यस्तै मार्टमा हिमालय क्षेत्रका टुर अपरेटर, ट्राभल एजेन्सी, होटल, एयरलायन्स लगायत अन्य पर्यटकीय सेवा प्रदायक बिक्रेता कम्पनीहरु पनि सहभागी हुने भएका छन् ।

च्याप्टरका अध्यक्ष सुमन पाण्डेले विहीबार पत्रकार सम्मेलनमार्फत नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गको रुपमा स्थापित गर्नु हिमालय ट्राभल मार्टको मुख्य उदेश्य रहेको बताए । मार्टमा पाटासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम सहभागी छन् । 

अध्यक्ष पाण्डेले सम्पूर्ण हिमालय क्षेत्रको पर्यटकीय सम्भावनालाई पर्यटन बजारका रुपमा स्थापित गर्ने उदेश्यका साथ हुन लागेको मार्ट पहिलोपटक नेपालीको आफ्नै स्वामित्वमा हुन लागेको बताए । यसअघि ६ पटक यस्तै भेला आयोजना भएतापनि यसपटक हुन लागेको जस्तो थिएनन् । सोल्टी होटलमा हुने मार्टलाई रौनक प्रदान गर्न ट्राभल ब्राण्डिङ्ग, बजार अन्वेषण, अनुसन्धान गन्तव्य जस्ता बिषयहरु समाबेश गरी नेपाल लगायत बिश्व भरका बिज्ञहरुको संलग्नतामा हिमालय ट्राभल कन्फरेन्सको पनि आयोजना हुने छ । 

त्यस्तै पर्यटन बजारको विकासकालागी पहिलो पटक काठमाडौंमा अन्तर्राष्ट्रिय ब्लगर तथा मिडिया कन्फेरन्स पनि हुने आयोजकले भनेको छ । त्यसमा विश्वभरका  १ सय बढी मिडिया तथा ब्लगरहरु सहभागी हुने भएका छन् । यस्को उदेश्य आगामी दिनमा ब्लगिङ्ग मार्फत नेपाली पर्यटन प्रबर्द्धनको नया आयाम सुरु हुने आयोजकले भनेको छ । यो कार्यक्रमकालागी काठमाडौं, पोखरा, चितवनका होटलहरुले करिब १२ सय कोठाहरु उपलब्ध गराउने भनेका छन् । 

आयोजकले सन २०११ को नेपाल पर्यटन बर्ष पछि नेपाली पर्यटन उद्योगमा खासै उल्लेखनीय कार्यक्रम हुन नसकेको अवस्था मार्ट आयोजना गर्न लागेको जनाएको छ । भुकम्पपछि बामे सर्दै गरेको नेपाली पर्यटन क्षेत्रलाई यस अभियानले मद्धत पुर्‍याउने नेपाली पर्यटनसँग सरोकार राख्ने संस्थाहरुले जनाएका छन् ।

प्रकाशित: वैशाख २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार