फिचर

विद्यालय हाँक्दै गुरूआमा

- गणेश राई, काठमाडौं

वैशाख २९, २०७४-वैशाख लागेसँगै विद्यार्थी भर्ना अभियान र पठनपाठन सुरु भएको छ । काठमाडौं जिल्लामा २ सय ८५ सामुदायिक विद्यालय छन् । तीमध्ये केहीमा महिला प्रधानाध्यापक छन्, जसले संघर्षबाट नेतृत्व लिएका हुन् । उनीहरूले सरकारी शिक्षकले जागिरे मानसिकता त्याग्नुपर्छ भन्ने अठोट लिएका छन्, विद्यार्थी संख्यासँगै शैक्षिक गुणस्तर बढाएका छन् । बोर्डिङ स्कुलको तुलनामा सामुदायिक कमजोर छैन भन्ने बुझाउन सफल भएका छन् । फलस्वरूप बोर्डिङ छाडेर सामुदायिक विद्यालय आकर्षण गराउन सकेका छन् । विद्यालयको आयस्रोतको अभावमा ‘हुनेसँग वार्षिक सहयोग’ लिने गरेका छन् । प्रस्तुत छ, नयाँ भर्नालाई लिएर महिला शिक्षक समाजद्वारा आयोजित अन्तरक्रियामा सहभागी नौ जना प्रधानाध्यापकले सुनाएका अनुभव :

जानुका नेपाल 

प्रधानाध्यापक, नीलबाराही मावि, कालिमाटी

कक्षा १२ सम्म सुचारु छ । कुल ९ सय ४५ विद्यार्थीमध्ये कक्षा १० सम्म ६ सय ३५ थिए । नयाँ सत्रको लागि भर्ना लिने क्रम जारी छ । स्थानीय विद्यार्थी एकाधमात्र छन् । विभिन्न जिल्लाका विद्यार्थी छन् । कालिमाटी तरकारी बजारमा व्यापार गर्ने अभिभावकका छोराछोरी हाम्रा विद्यार्थी हुन् । ठाउँअनुसार विद्यालय भौतिक पूर्वाधार पुगेकै छ । भूकम्पपछि पुरानो भवन रेट्रो फिटिङ गरिएको छ । बिहान प्लस टु चल्छ । दिउँसो छ सयले पढ्छन् । त्योभन्दा बढी क्षमता छैन । कक्षा १० सम्म २४ जना शिक्षक छौं । त्योभन्दा माथिसमेत गरेका ४५ जना पुग्छ । भर्नाभन्दा शैक्षिक गुणस्तरलाई प्राथमिकता दिँदै छौं । विद्यार्थी आफैं आउँछन् । कक्षालाई बालमैत्री बनाउन तालिम चलाएका छौं । पाठ्यपुस्तक अहिलेसम्म पाएका छैनौं । हामीले अंग्रेजी माध्यमबाट पढाउछौं । यो वर्ष कक्षा ८ सम्म पुग्दै छ । अंग्रेजी माध्यममा जनक शिक्षाले छापेको पुस्तक कक्षा ६ देखि लागू गर्ने भन्ने छ । तर अहिलेसम्म छापिएकै छैन भन्ने सुनिन्छ । 

डा. गीता खरेल शिवाकोटी

प्रधानाध्यापक, रत्नराज्य मावि, मध्यबानेश्वर

विद्यार्थी चाप अत्यधिक छ । बोर्डिङका विद्यार्थी ओइरिएका छन् । वैशाख २ गते प्रवेश परीक्षा लिएर दुई सयलाई नयाँ भर्ना लियौं । सभासदका छोराछोरी छन् । भर्ना फाराम लिन रोकेका छौं । स्कुलका शिक्षकका छोराछोरी त्यही विद्यालयमा पढाउने नीति छ । भूकम्पले २७ कोठा क्षतिग्रस्त भयो । सरकारका तर्फबाट एडीबीले बनाइदिन्छ भन्ने छ । हामी शिक्षक आफैंले रकम उठाउन थाल्यौं । समुदाय गुहारेर लगभग १ करोड रुपैयाँ उठाएर ६ कोठे भवन बनायौं । ठाउँको अभावमा ग्यारेज, अतिरिक्त क्रियाकला हल, कम्प्युटर ल्याबमा पनि विद्यार्थी राखेका छौं । कक्षा ९ मा साढे दुई सय, १० मा दुई सय भर्ना भइसके । ९ मा ए, बी, सी, डी, ई सेक्सन खोल्यौं । पढदै आएकाले छाड्दैनन् । भर्ना अभियान चलाउनुपरेन । विद्यार्थीले बस्ने स्टुल लिएर आउँछौं भन्छन् । समर्पित भएर लाग्ने हो भने समुदायको विश्वास जित्न सकिन्छ । ५७ जना दरबन्दी, तीनजना प्लस टु र कम्प्युटर शिक्षक आफ्नै स्रोतमा राखेका छौं । शिक्षकलाई समान ढंगले दस–चारको समयमा खटाउँछौं । पाँचसम्म अंग्रेजी माध्यम र कक्षा ६ देखिमाथि आधा नेपाली माध्यममा सुचारु छ ।  

भगवती पोखरेल

प्रधानाध्यापक, पञ्चकन्या मावि, छाउनी

म यो विद्यालयमा २०३० सालदेखि छु । उतिखेर समुदायले नै यो स्कुल बनाएको हो । अहिले समुदायले सहयोग गर्छन् तर उनीहरूको बालबालिका पढदैनन् । माध्यमिक भए पनि मावि शिक्षक दरबन्दी छैन । शैक्षिक योग्यता पुगेका तर प्रावि तह शिक्षकले पढाइरहनुभएको छ । प्राय: सबैजना बीए, बीएड, एमएड छन् । त्यसैले पनि सहयोग मिलेको छ । कक्षा १० सम्म सुचारु छ । साढे दुई सयजति विद्यार्थी छन् । सबै बाहिर जिल्लाका छन् । सैनिक, मजदुरी गर्नेका छोराछोरी छ । पढाइ स्तर र पास प्रतिशत राम्रै छ । भर्खरै अंग्रेजी माध्यमबाट सुरु गरेका छौं । विद्यार्थी संख्या कम हुँदै जानुचाहिँ दु:ख लाग्दो छ । कम्प्युटर व्यवस्था गर्दै छौं । 

मञ्जु तुलाधर

प्रधानाध्यापक, सहिद शुक्र मावि, बागबजार

१० वर्षदेखि प्रअ छु । कक्षा १० सम्म पढाउँछौं । विद्यार्थी ४ सयजति छन् । नेवार बस्ती भए पनि स्थानीय बालबालिका कम आएका छन् । भृकुटीमण्डपमा व्यापार गर्ने, मजदुरी गर्ने अभिभावकका छोराछोरी हाम्रा विद्यार्थी छन् । सामुदायिक विद्यालयका स्थायी शिक्षक बोर्डिङमा पनि पढाउँछन् । उहाँहरू भन्नुहुन्छ, विद्यार्थीको पढाइ कमजोर छ, होमवर्क गर्दैनन् । बोर्डिङमा तुरुन्तै गर्छन् । म भन्ने गर्छु, जानेकोलाई भन्दा नजानेकोलाई सिकाऔँ । विद्यार्थीको गहना भनेकै नजान्नु हो । कक्षा कोठाको कमीले गर्दा बिहानी र दिउँसो कक्षा चल्छ । जसले गर्दा केही बाधा पुगेको छ । भूकम्पले त्यति प्रभाव परेको छैन । २२ वटा सटर भाडामा दिएका छौं । आम्दानीबाट विद्यालयको नयाँ भवन बनेको छ । सिकाइ उपलब्धि प्राप्तिका निम्ति नयाँ विधिबाट अपनाएका छौं । शिक्षण तालिमलाई व्यवस्थित गरेका छौं । समाजको माझमा केही राम्रो देखिन थालेका छौं । अंग्रेजी माध्यम, डायरीको व्यवस्था गरेका छौं । विद्यार्थीलाई सुविधा दिलाउन प्रयासरत छौं । 

मैया मल्ल

प्रधानाध्यापक, बालविकास मावि, इचंगु नागार्जुन

स्कुल पहाडको कुनामा छ । ०४९ सालदेखि हेडमास्टर छु । साढे चार सय विद्यार्थी थिए । यो पटक धेरै नयाँ विद्यार्थी थपिएका छन् । बोर्डिङ छाडेर आएका छन् । स्थानीय ५ प्रतिशत छन् । शिक्षक २५ जना छौं । सहयोगदाता धेरै आए । सबै सेवा सुविधा छ । भूकम्पपछि । विद्यालय व्यवस्थापन ज्यादै राम्रो छ । महिला हेड मिसले धेरै राम्रो गर्नुहुन्छ भनेर सघाउनु हुन्छ । भौतिक व्यवस्थापन चुस्त छ । सबै महिला राम्रो पनि छैनन्, सबै पुरुष खराब पनि छैनन् । तैपनि महिला नेतृत्व खराब छैन भन्ने सावित गरेको छु भन्ने लाग्छ । 

रिता तिवारी

प्रधानाध्यापक, पद्मकन्या विद्याश्रम मावि, डिल्लीबजार

कक्षा १२ सम्म पढाउँछौं । ९ सय ५० पढ्छन् । छात्रा मात्रै पढ्नु आफैंमा रमाइलो छ । शिक्षक महिला र पुरुष दुवै छौं । स्पष्ट बोल्छन् । एक अभिभावकको दुई छोरा–छोरी छ भने एउटै स्कुलमा पढाउन खोज्छन् । त्योचाहिँ हाम्रो निम्ति चुनौती छ । यो ऐतिहासिक स्कुल जुन २००४ सालमा पद्मशमशेरले खोलेका हुन् । महिलालाई पढाउन भनेर विशेष स्कुल हो । यहाँका विद्यार्थी उच्च ओहदामा पुग्नु भएको छ । त्यो इतिहासलाई जोगाउनु हाम्रो दायित्व हो । गत वर्षदेखि कक्षा ९ मा प्राविधिक धारमा सिभिल इन्जिनियरिङ पढाइ थालेका छौं । छात्राहरू अझ आकर्षित होऊन् । दीर्घकालीन बन्न सकोस् भनेर । बोर्डिङ छाडेर आएका छन् । सरकारले व्यवस्थापन गर्न सघाएको छ । १३ रोपनी क्षेत्रफलमा छ । प्राविधिक धारमा ४३ जना छन् । कार्पेन्टरी, डकर्मी, सर्भे, फिल्ड भिजिट गर्छन् । बच्चाहरू अति क्रियाशील छन् । टीएसएलसी गरेर स्वरोजगार बन्छन् । भारतीय दूतावासको सहयोगमा एक सयजना अट्ने छात्रावास बन्दै छ । होस्टलमा शुल्क लिइन्छ । हामी हरेक शनिबार जाँच लिन्छौं । 

गीता काफ्ले

प्रधानाध्यापक, नन्दी मावि, नक्साल

दुई वर्षदेखि नेतृत्व सम्हाल्दै छु । कक्षा १० सम्म पढाउँछौं । गत वर्ष साढे चार सय विद्यार्थी थिए । यो सत्रमा बोर्डिङबाट सयजना जति भर्ना हुन आएका छन् । भर्ना साढे पाँच सय भइसकेका छन् । भर्ना हुने क्रम जारी छ । बाहिरबाट आएका विद्यार्थी बढी छन् । कक्षा १–१० सम्मै अंग्रेजी माध्यमबाट पढाइन्छ । पाठ्यपुस्तक पर्याप्त पाएका छैनौं । कुन कुन प्रकाशनको पाठ्यपुस्तक पढाउने भन्ने लिस्टको तयारी हुँदै छ । नन्दी मावि भूकम्पले भुइँमा पुगेको विद्यालय हो । भूकम्प वरदान सावित भएको छ । हामीसँग उभिने ठाउँ पनि थिएन । पालमा कक्षा चलाएका थियौं । अहोरात्र खटेर सेना, स्थानीय स्वयंसेवकको सहयोगले भग्नावशेषहरू व्यवस्थापन गर्‍यौं । दाताको सहयोगमा भौतिक पूर्वाधार राम्रै बनेको छ । ३९ जना शिक्षक छौं । कार्यविभाजन गरेका छौं । दुई सहायक प्रधानाध्यापक र अरू विभाग गठन गरेका छौं । अंग्रेजी, गणित, सामाजिक, नेपाली विभागले आ–आफ्नो विषय निगरानी राख्छन् । यस पटकबाट कम्प्युटर आईटी विभाग थपेका छौं ।

सुजाता राजलवट

प्रधानाध्यापक, धूम्रबराह मावि, धुम्बाराही

कक्षा १० सम्म पढाइ हुन्छ । गत वर्ष पाँच सय दश विद्यार्थी थिए । यो वर्ष चार सय ७५ जना भर्ना भइसकेका छन् । विद्यार्थीहरू गाउँबाट फर्किन क्रममा छन् । नयाँ चालिस जना भर्ना भएका छन् । स्थानीय न्यून छन् । कक्षा ६ देखि १० सम्म बढी छन् । यो वर्ष निर्वाचनको सामग्री छपाईले गर्दा पाठ्यपुस्तक पाएका छैनौं । बाल विकासमा खाजा दिने गरेका छौं । भूकम्पपछि युनिसेफले सहयोग गरेको छ । विद्यालयको कम्पाउन्ड वाल बन्न नसक्दा समस्या भएको छ । शिक्षक १८ जनामात्र छौं, पुगेको छ । वार्षिक कार्यतालिका बनाइसकेका छौं । यो वर्ष निजी विद्यालयसँग मिलेर शिक्षक तालिम दिलाउन पायौं । ब्रिटिस काउन्सिलको सहयोगमा नन्दी माविमा एकसाथ तालिम भयो । अंग्रेजी माध्यम आकर्षणको पक्ष बनेको छ । अभिभावकले अंग्रेजी जान्यो भने केके भन्ने लाग्दोरहेछ । त्यसैले हामीले गत वर्षदेखि थाल्यौं । तर समस्या छ । बाहिरी जिल्लाबाट आउने विद्यार्थीलाई समस्या छ । त्यसैले सिकाइमा समस्या छ । 

कुमारी कमला राई

प्रधानाध्यापक, जनकल्याण मावि, बौद्ध महांकाल

म २०५१ सालदेखि जनकल्याण माविमा कार्यरत छु । खोटाङबाट सरुवा भएर आएको हो । तुलनात्मक रूपमा गाउँभन्दा पढ्ने वातावरण सहरमै बढी हुन्छ । तर, सहरमा सामुदायिक विद्यालयका विद्यार्थी सबै कामदारका छोराछोरी हुन्छन् । पढेलेखेका अभिभावकले सामुदायिकमा पढाउन ल्याए हामी बोर्डिङभन्दा कुनै कमी हुन दिँदैनौं । गत साल साढे १२ सय विद्यार्थी थिए । यो पटक पुराना नियमित ५ सय ८० र नयाँ झन्डै २ सय भर्ना भइसकेका छन् । भर्ना क्रम जारी छ । बढ्छ, घटदैन । कक्षा ५ देखि ८ सम्म भर्ना चाप छ । भूकम्पले चिरा परेको भवन बनाउन दाता खोजी गर्‍यौं । चिनियाँ दूतावासमार्फत नेपाल–चाइना कैलाश कल्चरल प्रोमोसन डेभलपमेन्ट भन्ने संस्थाको सहयोगमा पुनर्निर्माण भइरहेको छ । विद्यालयमा २०५३ देखि पुस्तकालय छ । १०–१२ हजार पुस्तक छन् । विद्यालय व्यवस्थापन समिति, स्टाफ अनुशासन मेन्टेन भएको छ । कार्ययोजना क्यालेन्डर वितरण गरेका छौं । लेभलअनुसार छोराछोरीसहित अभिभावक भेला गराउँछौं । तपाईंलाई हाम्रो छोराछोरी जिम्मा लगाएका छौं हेडम्याम भन्नुहुन्छ ।

प्रकाशित: वैशाख २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार