विश्व

जकार्ताका गभर्नरलाई २ वर्षको जेल

- एजेन्सी, जकार्ता

वैशाख २७, २०७४- इस्लामको निन्दा गरेको आरोपमा जकार्ताका गभर्नर बासुकी जहाजा पुर्नामालाई मंगलबार दुई वर्षको जेल सजाय तोकिएको छ । उनी क्रिश्चियन धर्मावलम्बी हुन् । 

दक्षिण जकार्ताको अदालतबाहिर मानिसको व्यापक प्रदर्शनका बीच न्यायाधीश द्विआर्सो बुदी सन्तिआर्तोले उक्त सजाय सुनाएका हुन् । उनले गभर्नरको चुनावी अभियानका क्रममा गत सेप्टेम्बरमा कुरानलाई उद्धृत गर्दै ‘केही मानिसले आफूलाई भोट नदिने’ बताएका थिए । उक्त अभिव्यक्तिले इस्लामको निन्दा भएको भन्दै मुद्दा परेको थियो । 

निवेदकले १ वर्ष सजाय माग गर्दै मुद्दा दायर गरेकोमा अदालतले २ वर्षको जेल सजाय तोकेको हो । फैसलालगत्तै उनलाई पूर्वी जकार्तास्थित सिपिनाङ जेलमा लगिएको छ ।

मानवअधिकारकर्मीहरूले अदालतको फैसलाको आलोचना गरेका छन् । उनीहरूले अदालतले आफ्नो स्वतन्त्रता गुमाएको टिप्पणी गर्दै मंगलबारको दिन इन्डोनेसियाकै इतिहासमा खराब दिन भनेका छन् । ‘आहोक’ उपनामले परिचित जाहाजा गत महिना भएको गभर्नर निर्वाचनमा कट्टर इस्लामिक समूहहरूद्वारा समर्थित उम्मेदवार एनिस बास्वेदानद्वारा पराजित भएका थिए । एनिसले आगामी अक्टोबरमा पद सम्हाल्नेछन् । 

जाहाजा राष्ट्रपति जोको विडाडोका सहयोगी हुन् । यो फैसला सरकारका लागि गम्भीर झट्काको रूपमा मानिएको छ । उनी स्वच्छ र योग्य शासनका लागि प्रशंसित राजनीतिज्ञ मानिन्थे । 

जहाजाका वकिलले फैसलाविरुद्ध पुनरावलोकन गरिने बताएका छन् । कडा सुरक्षाबीच फैसला हुँदै गर्दा अदालतबाहिर सयौंका संख्यामा उपस्थित मुस्लिम कट्टरवादी समूहले जहाजालाई अधिकतम सजाय दिनुपर्ने माग गरेका थिए । 

गभर्नर जाहाजाका समर्थक र विरोधीबीच हिंसा भड्कन नदिन अदालतबाहिर हजारौं प्रहरी परिचालन गरिएको थियो । यस्तै मुद्दामा एक दशकयता १ सयभन्दा बढी मानिसलाई जेल सजाय तोकिएको छ ।

प्रकाशित: वैशाख २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार