विश्व

फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा बेलायती चासो

- कान्तिपुर संवाददाता , लन्डन

वैशाख २४, २०७४-फ्रान्सको नयाँ राष्ट्रपति चुन्न आज दोश्रो चरणको निर्वाचन सुरु भएको छ । चुनावी दौडमा एमानुयल मार्कोन र मरिन लपेनबीच प्रतिष्पर्धा छ । 

गत २३ अप्रिलमा भएको पहिलो चरणको चुनावमा कसैले पनि वहुमत प्राप्त नगरेपछि पहिलो र दोश्रो भएका उम्मेदवारबीच पुन: आज मे ७ मा चुनाव भएको हो  । 

मत सर्वेक्षणमा अगाडि रहेका ३९ वर्षीय एमानुयल मार्कोनले जित्ने लगभग निश्चित भएपनि मरिन लेपनको पार्टी लोकप्रियता पनि बढेको छ ।

 

फ्रेन्च मतदाताहरुले वर्षौं देखि सरकार चलाउँदै आएका दुई ठूला पार्टी रिपब्लिकन र सोसलिस्ट पार्टीलाई पहिलो चरणमा अस्वीकार गरिदिएका हुन् । आफूलाई संस्थापन पक्षभन्दा बाहिरको मान्ने माक्रोनले गत वर्ष सोसलिस्ट पार्टी परित्याग गरी आफ्नै स्वतन्त्र एन मार्च मुभमेन्ट चलाएका थिए जसले चाँडै नै लोकप्रियता पाउन सफल भयो ।

मार्कोनले आफूले जिते कर्पोरेसन कर ३३ बाट २५ प्रतिशतमा झार्ने, निम्न आय भएकाको कर कम गर्ने, एकलाख बीसहजार कर्मचारी कटौती गरी दश हजार प्रहरी थप्ने, सुरक्षा बजेट २ प्रतिशतले बढाउने आदि कुरा आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।

चरम दक्षिणपन्थी पार्टी नेशनल फ्रन्टकी उम्मेदवार मरिन लपेन राष्ट्रपति बन्न असम्भव देखिएपनि दोश्रो स्थानमा आउनु उनका लागि उपलव्धि ठानिएको छ । उनले आफना पिता जां मरी लपेनले स्थापना गरेको यस पार्टीको विरासत थामेकी छिन् ।

४८ वर्षीया लपेन आप्रवासी तथा मुसलमान धर्म विरुद्ध कठोर अभिव्यक्तिले विगतमा विवादमा परेकी थिइन् । फ्रान्समा केही वर्षयतादेखिएको बढ्दो बेरोजगार, इयू आप्रवासीको उल्लेख्य आगमन, सरकारी नेतृत्वको असफलता आदि कारणबाट आएको जनआक्रोशको परिणाम उनी दोश्रो स्थानमा आउन सफल भएको विश्लेषकहरुको बुझाइ छ । 

इयू छोड्ने, अन्तर्राष्ट्रिय व्यापार सन्धी अस्वीकार गर्ने, विदेशी कामदार राख्नेलाई कर लगाउने, कट्टरपन्थी मुसलमानको मस्जिद बन्द गराउने, आप्रवासी घटाउने जस्ता कडा नीति अबलम्बन गर्ने उनको अठोट छ ।

सेन्टर राइट रिपब्लिकन पार्टीका उम्मेदवार फ्रान्सेस फिलोनमाथि आफ्नी श्रीमतीलाई गैर कानुनी पैसा तिरेको आरोप लागेपछि उम्मेदवारी फिर्ता लिन चर्को दवाव आएपनि उनले अस्वीकार गरेपछि अन्तत: तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो ।

युरोपियन युनियनका कट्टर समर्थक मार्कोनको जितले इयूलाई अरु उर्जा प्रदान गर्ने विश्लेषकहरुले बताएका छन् । तर, पछिल्लो समय फ्रान्सले भोगिरहेको आतंकवाद नियन्त्रण गर्न भने ठूलो चुनौती रहेको फ्रान्समा सानै उमेरदेखि बस्दै आएका वरिष्ठ इन्जिनियर निर्मल अर्याल बताउँछन् । 

अर्थमन्त्री हुँदा मार्कोनले गरेको कामको चर्चा गर्दै अर्यालले नयां नेतृत्व लिएर आएका माक्रोनको जितले फ्रान्सको सम्वृद्धिका लागि सबै उत्साहित भएको बताए । माक्रोनले अंगालेको सोसियल डेमोक्रेटिक लाइनले फ्रान्सको परिवेश बदल्ने बुझाइ जनमानसमा रहेको पनि अर्यालले बताए । 

मार्कोनको जितले ब्रेक्जिटलाई भने अरु प्रभावित पार्न सक्नेछ । बेलायतले चाहे जस्तो इयू बहिर्गमन सम्झौताका कारणले पनि फ्रान्सको यसपटकको चुनावलाई बेलायतमा अरु नजिकबाट नियालिएको छ ।

आफ्नो खुबी तथा कुशलता सही तवरले उपयोग गर्न सक्ने राजनीतिमा असम्भव नहुने अर्को प्रमाण फ्रान्सको राष्ट्रपतीय चुनावले देखाएको छ ।

प्रकाशित: वैशाख २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार