फिचर

बुद्धको काठमाडौं यात्रा !

  • के भगवान् बुद्ध काठमाडौं उपत्यका अर्थात् त्यस बेलाको नेपाल आएका थिए ? अनि, बुद्ध धर्म यस भेगमा कसरी फैलियो ?
  • सन्दर्भ : बुद्ध जयन्ती
- हिमेश
स्वयम्भू पुराणमा भनिएको छ– बुद्ध आफ्ना एक हजार तीन सय ३० शिष्यसहित स्वयम्भू डाँडोको पश्चिमस्थित पुच्छाग्र चैत्य रहेको स्थानमा बसेका थिए ।

वैशाख २३, २०७४- बौद्धमार्गी देशहरूमा बुद्धको आगमनबारे आ–आफ्नै कथा प्रचलित छन् । यसलाई लोकोक्ति भने पनि हुन्छ । यी सबै ऐतिहासिक विवरण जत्तिकै व्यापक र लोकप्रिय छन् । खासमा ती देशहरूले आफ्नो मुलुकमा बौद्ध धर्मको प्रवेश सुरुदेखि नै भएको थियो भनेर देखाउन यस्ता कथा र लोकोक्ति प्रस्तुत गर्ने गर्छन् । नेपाल स्वयं पनि यसमा अपवाद भने छैन । जस्तो स्वयम्भू पुराणमा बुद्ध किरात राजा जितेदस्तीको पालामा काठमाडौं उपत्यकाका आएको उल्लेख छ ।

स्वयम्भू पुराणमा भनिएको छ— बुद्ध आफ्ना एक हजार तीन सय ३० शिष्यसहित स्वयम्भू डाँडोको पश्चिमस्थित पुच्छाग्र चैत्य रहेको स्थानमा बसे । र, त्यहीं एक यक्षिणीलाई प्रवजित गरे । यस्तै बुद्धले धर्म देशना पनि गरे । यसरी बुद्ध काठमाडौं आएको विश्वास तयार हुन्छ । श्रीलंकामा बुद्ध तीनपल्ट पुगेको विश्वास गरिन्छ । महावंशका अनुसार बुद्ध बुद्धत्व प्राप्तिको नौ महिनापछि, पाँचौं तथा आठौं वर्षमा श्रीलंका पुगेका थिए र त्यस क्रममा उनले धर्म देशना पनि गरे ।
यसको अर्थ बुद्ध स्वयं धर्म प्रचारका लागि श्रीलंका पुगेका थिए । यस्तै बर्मामा पनि बुद्धत्व प्राप्तिको तीन महिना र पाँच महिनापछि बुद्ध त्यहाँ पुगेका थिए, धर्म देशनाका लागि । बुद्धको शरणमा जाने पहिलो उपासक तपस्सु र भल्लुक नै बर्माका थिए भनिन्छ । उनीहरू व्यापारी थिए । बुद्धको केश धातुलाई राखेर उनीहरूले स्तूप बनाएका थिए । यो नै अहिलेको प्रसिद्ध स्वेडगोन स्तूप हो भनिन्छ, जुन यांगुनमा छ । अरू दुई अवसरमा पनि बुद्ध बर्मा पुगेको मानिन्छ ।

बुद्ध जन्मथलो लुम्बिनी अहिलेको आधुनिक नेपालकै भूभागमा परेको हुँदा उनको जीवनकालमै यहाँ बौद्ध धर्मको प्रवेश भइसकेको तथ्यलाई मान्नैपर्छ । त्रिपिटक यसको सबैभन्दा ठूलो प्रमाणका रूपमा छ । बुद्ध आफ्नो परिवारलाई भेट्न लुम्बिनी आएको प्रसंग पाली साहित्यमा उल्लेख छ । त्यो अर्थमा कम्तीमा अहिलेको आधुनिक नेपालको भूभागमा बुद्ध आएको र उनले यहाँ धर्म देशना गरेको तथ्य मान्न पौराणिक कथा अथवा लोकोक्तिको सहयोग लिनु पर्दैन ।

त्यसैले बुद्धको जीवनकालमै बौद्ध धर्म नेपालमा प्रवेश गरिसकेको मान्न सकिन्छ । बोधी ज्ञानको प्राप्तिपछि उनी धेरैपल्ट आफ्नो देश कपिलवस्तुमा फर्केका थिए । बुद्ध कतिपल्ट कपिलवस्तु आएका थिए, त्यसबारे ठ्याक्कै भन्न भने सकिन्न । किनभने यसबारे श्रीलंका, बर्मा र तिब्बतका बौद्ध ग्रन्थले फरक–फरक तथ्य उल्लेख गरेका छन् । 

आफ्ना पिता सुद्धोदनको निमन्त्रणमा बुद्ध पहिलोपल्ट कपिलवस्तु पुगेर धर्म देशना गरेका थिए ।
त्यसैले यही दिनबाट आधुनिक नेपालमा परेको भूभागमा बौद्ध धर्म प्रवेश भएको मान्नुपर्छ । बुद्धत्व प्राप्तिको पहिलो वर्षमा सुद्धोदनका मन्त्री कालुदायीको प्रयासले बुद्ध सबैभन्दा पहिले कपिलवस्तु पुगेका थिए । कालुदायी सानोमा बुद्धका साथी थिए । बुद्ध फागुन पूर्णिमाको दिन राजगृहबाट निस्के र वैशाख पूर्णिमाकै दिन कपिलवस्तु पुगे । वैशाख पूर्णिमाकै दिन उनी जन्मे, बोधीज्ञान हासिल गरे र निर्वाण पनि प्राप्त गरे । यो दिनसँग अरू धेरै महत्त्वपूर्ण प्रसंग पनि जोडिन्छन् ।

त्यसैले बौद्ध धर्ममा यस दिनको ठूलो महत्त्व छ । बुद्ध भएयता उनी यही दिन पहिलोपल्ट कपिलवस्तु आएको हुनाले पनि नेपालको इतिहासकै लागि यो थप महत्त्वको छ । कपिलवस्तु आगमनको पहिलो अवसरमा बुद्ध एक साता लुम्बिनीमा बसे । यस क्रममा उनले धेरै अवसरमा धर्म देशना गरे । त्यसको चार वर्षपछि सुद्धोदन सिकिस्त बिरामी परे । त्यति बेला वैशालीमा पाँचौं वर्षवास बिताइरहेका बुद्ध दोस्रोपल्ट कपिलवस्तु आए र आफ्ना पितालाई भेटे । त्यस अवसरमा पनि बुद्धले धर्म देशना गरे । बुद्ध आएको एक सातामै सुद्धोदनको निधन भयो । शोकमग्न परिवारलाई सान्त्वना दिन बुद्ध केही दिन कपिलवस्तुमै बसे । 

त्यसपछि एकपल्ट कपिलवस्तुका शाक्य र कोलियबीच रोहिणी नदीको पानीबाट सिँचाइ गर्नेबारे विवाद भएपछि युद्धको स्थिति बनेको थियो । यस्तोमा बुद्ध स्वयं त्यहाँ पुगे र स्थिति सामान्य पारे । यस्तै अर्कोपल्ट विडुडभले शाक्यसँग बदला लिन आफ्नो सेनासहित कपिलवस्तु पुगेको समाचार आएपछि बुद्ध त्यहाँ पुगे ।

यसरी बुद्ध विभिन्न अवसरमा पटक–पटक कपिलवस्तु पुगेका थिए । काठमाडौं उपत्यकाका भने बौद्ध धर्मले कहिले प्रवेश पायो त ? त्यति बेला काठमाडौं उपत्यका नै नेपाल थियो । वंशावलीलाई आधार मान्ने हो भने बुद्धको समयमै बौद्ध धर्म नेपाल प्रवेश गरिसकेको थियो । बुद्धको समयमा काठमाडौं उपत्यकातिर किरात शासन चलिरहेको थियो । ईसापूर्व छैटौं–पाँचौं शताब्दीतिर दक्षिणतिरका व्यापारी काठमार्डौं पुगिसकेका थिए ।

सातौं शताब्दीअगाडि लेखिएको मूलसर्वास्तिवाद विनयसूत्रमा नेपालमा हुने व्यापारबारे उल्लेख छ । त्यसमा व्यापारीसँगै बौद्ध भिक्षुहरू नेपाल जाने गरेको बताइएको छ । त्यसअनुसार, बुद्ध श्रावस्तीमा रहेको बेला केही भिक्षु नेपाल जान लागेका व्यापारीको समूहमा समावेश भए । उपत्यका छिरेयता भिक्षुहरूलाई यहाँको जाडोले निकै सताएको थियो । त्यसैले उनीहरूले छिट्टै काठमाडौं छाड्न हतारिए । त्यति बेला नै उनीहरूले काठमाडौंमा पनि शिर मुडेर पहेँलो चिवर लगाएका भिक्षुहरू देखेको उल्लेख गरेका थिए ।

बुद्ध जीवित छँदै बडुडभले कपिलवस्तुका शाक्यहरूको नरसंहार गरेका थिए । त्यसबाट बचेका शाक्यहरू अन्यत्र लागे । त्यसमध्ये केही शाक्य काठमाडौंतिर पनि पुगे । यसमा पनि केही शाक्य भिक्षु आनन्दका नातेदार थिए । आनन्द बुद्धका सबैभन्दा प्रसिद्ध भिक्षुमध्ये एक हुन् । उनी बुद्धका निजी सहायक पनि थिए । आनन्द पछि आफ्ना नातेदारलाई भेट्न काठमाडौं आएको त्यही मूलसर्वास्तिवाद विनयसूत्रमा उल्लेख छ । उनलाई पनि काठमाडौंको जाडोले निकै सताएको थियो ।

त्यति बेला काठमाडौंमा हिउँ पर्ने गथ्र्यो । आनन्द श्रावस्ती फर्केयता उनका हातखुट्टाका औंला हिउँले खाएको देखेर अरू भिक्षु निकै चिन्तित भए । त्यसमा जवाफमा आनन्दले भनेका थिए, ‘नेपाल हिमालसँग जोडिएको छ । यहाँको हिउँ र चिसो हावाले मेरो यस्तो स्थिति बन्यो ।’ यस्तोमा उनलाई प्रश्न गरियो, ‘नेपालका भिक्षुको स्थिति कस्तो छ त ?’ आनन्दको जवाफ थियो, ‘उनीहरू जुत्ता लगाउने गर्छन् ।’ फेरि प्रतिप्रश्न गरियो, ‘तपाईंले किन जुत्ता नलगाएको त ?’ उत्तर थियो, ‘बुद्धले अहिलेसम्म जुत्ता लगाउने अनुमति दिनुभएको छैन ।’ त्यसपछि भिक्षुहरू बुद्धकोमा गए र सबै घटना सुनाए । बुद्धले भने, ‘अबदेखि जाडो र हिमाली ठाउँमा बस्नेले जुत्ता लगाए हुन्छ ।’ 

खासमा बुद्धकै जीवनकालमै शाक्यहरू काठमाडौं उपत्यकामा बसाइ सरिसकेका थिए । दक्षिणका बौद्ध धर्म अनुयायी शरणार्थीका रूपमा काठमाडौं भित्रिसकेका थिए । यसरी वर्तमान काठमाडौं उपत्यकामा बुद्धकै समयकालमा बौद्ध धर्म यहाँ प्रवेश गर्न सकेको मान्न सकिन्छ ।

बुद्धले बौद्ध धर्मको स्थापना त गरे, यसलाई प्रचारप्रसार गर्ने सबैभन्दा ठूलो र महत्त्वपूर्ण काम भने सम्राट अशोकले गरे । नेपालमा पनि बौद्ध धर्मको प्रचारमा उनको ठूलो भूमिका छ । बुद्धको निर्माणपछि उनको जीवनसँग सम्बन्धित प्रमुख स्थान लोकप्रिय तीर्थस्थल बने । त्यसमा उनको जन्मभूमि लुम्बिनी प्रमुख थियो नै । अशोकले पनि लुम्बिनीको यात्रा गरे । आफ्नो राज्याभिषेकको २० औं वर्षमा अशोक तीर्थ यात्राका लागि लुम्बिनी आएका थिए ।

बुद्धको जन्म लुम्बिनीमा भएको हो भन्ने सबैभन्दा ठूलो अकाट्य प्रमाणका रूपमा अशोकस्तम्भ छ । ईसापूर्व २४९ मा भारतीय इतिहासकै महान् राजा मानिएका अशोक लुम्बिनी पुगेका थिए । मगध सम्राट अशोक विन्दुसारका पुत्र हुन् । यस्तै मौर्य साम्राज्य स्थापना गरेका चन्द्रगुप्त मौर्यका नाति । पाली साहित्यमा धेरै स्थानमा अशोकको लुम्बिनी भ्रमणबारे चर्चा पाइन्छ । कलिङ युद्धको विभीषिकाबाट तर्सित अशोक अन्तत: बौद्ध धर्मप्रति आकर्षित भएका थिए ।

अशोकस्तम्भमा लेखिएको छ, ‘देवताका प्रिय प्रियदर्शी राजा अशोक आफ्नो राज्याभिषेकको बीस वर्षपछि शाक्यमुनि शुद्ध जन्मको ठाउँमा आफैं आएर पूजा गरेरै त्यसैको उपलक्ष्यमा शिलास्तम्भ खडा गर्न लगाई लुम्बिनी गाउँलाई कर मुक्त गरिदिए ।’ अशोककै शानसकालमा तेस्रो बौद्ध संगायना भएको थियो । अर्थात् बौद्ध सम्मेलन । त्यो नौ महिनासम्म चलेको थियो । त्यो संगायनाको समाप्तिमा अशोकले आफ्ना दूतहरूको बौद्ध धर्मको प्रचारका लागि विभिन्न देश पठाए । बौद्ध धर्मको खास प्रचारप्रसार यही समयबाट भएको हो ।

अशोकका दूत पुगेको प्रमुख देशमा श्रीलंका र बर्मा छन् । श्रीलंकामा त उनले आफ्ना छोरा महेन्द्र र छोरी संघमित्रालाई नै पठाएका थिए । अशोकले उत्तरतर्फ हिमालय प्रदेशमा पठाएको समूहका प्रमुख थिए, मज्झिम स्थविर । दीपवंशका अनुसार उनको टोलीमा अन्य सदस्यमा काश्यप गोत्र, मूलदेव, सहदेव र दुन्दुभिसार थिए । यसमध्ये काश्यप काठमाडौं उपत्यका पुगेको मानिन्छ । बाबुराम आचार्यले ईसापूर्व २३६–२३४ तिर काश्यप काठमाडौं आइपुगेको र त्यसयता यहाँका आदिवासीले बौद्ध धर्म ग्रहण गरेको बताएका छन् ।

यहाँका आदिवासी बुद्ध समयमै यो धर्मसँग परिचित भइसकेका थिए । त्यसैले उनीहरूले अशोकको प्रतिनिधि रहेका काश्यपप्रति स्वाभाविक रुचि लिए । यसबीच राजा अशोक आफैं काठमाडौं आए कि आएनन् त ? अशोक पनि काठमाडौं उपत्यका आएको लोकक्ति छ । अशोकले नै पाटन सहर स्थापना गरेकोसम्म भनिन्छ । अझ कतिसम्म पनि भनिएको छ भने काठमाडौंको असनको नामसमेत अशोकको अपभ्रंशबाट भएको हो । यी तथ्य वास्तवमै रोमाञ्चित तुल्याउने खालका छन् ।

ड्यानिएल राइटले प्राप्त गरेको वंशावलीमा किराती राजा स्थुन्कोको पालामा अशोक काठमाडौं आएका हुन् । त्यसअनुसार अशोक आफ्ना गुरु उपगुप्त र छोरी चारुमतीसँगै काठमाडौं आएका थिए र यहाँ अशोकपतन नामले सहर पनि बसाए । यस सहरको चार कुना र बीच भागमा स्तूप पनि बनाए । यस्तै एउटा विहार पनि स्थापना गरे । पछि उनले आफ्नी छोरी चारुमतीको विवाह यहाँका एक राजकुमार देवपालसँग पनि गराए । पछि चारुमतीले एउटा विहार पनि बनाइन् र यसको नाम चारुमती विहार थियो । पछि यो चाबहिल नामले प्रसिद्ध भयो । 

अशोकको काठमाडौं यात्रालाई ऐतिहासिक रूपमा पुष्टि भने गर्न सकिन्न । राइटले प्राप्त गरेको वंशावलीमा धेरै त्रुटि रहेको मानिन्छ । इतिहासकार भुवनलाल प्रधानले लेखेजस्तै, अशोकले आफ्ना छोराछोरीलाई धर्म प्रचारका लागि श्रीलंका पठाएको हुनाले त्यससँग मिल्दोजुल्दो चारुमतीको प्रसंग निर्माण गरिएको हुन सक्छ, जसरी स्वयम्भू पुराणमा बुद्धको काठमाडौं उपत्यका भ्रमणको कल्पना गरिएको छ ।

त्यसो भए, पाटनका ती प्रसिद्ध स्तूपलाई किन अशोक चैत्य भनिए त ? यसको उत्तरमा धेरै तर्क प्रस्तुत गरिएका छन् । पहिलो तर्क, अशोकले मज्झिमको टोलीसँग पठाएको बुद्धको अस्तिधातु गर्वमा राखेर चैत्य बनाइएकाले यस्तो भनिएको हो । दोस्रो तर्क, चैत्यको निर्माण केही हदसम्म अशोकीय शैलीमा निर्माण भएको हुनाले यस्तो भनिएको हो । तेस्रो, बाबुराम आचार्यका अनुसार लुम्बिनी पुगेको अशोकीय टोलीको सम्मानमा यी चैत्यको नाम त्यस्तो राखिएको हो ।

यी सबै प्रसंगहरूबीच मूल प्रश्न फेरि बाँकी रहन्छ— के स्वयम्भू पुराणमा उल्लेख भएअनुसार बुद्ध स्वयम् काठमाडौं आएका थिए ? इतिहासले यसलाई के भन्छ ? 

स्वयम्भू पुराणमा उल्लेख तथ्यलाई इतिहासका रूपमा लिन सकिन्न । स्वयम्भू चैत्यको माहात्म्य लेखिएको यस पुराणमा ऐतिहासिक गौत्तम बुद्ध मात्र नभएर यसअघि अतीतका अरू छ बुद्ध काठमाडौं उपत्यकामा आएको पनि भनिएको छ । स्वयम्भू पुराणमा ऐतिहासिकताभन्दा बुद्धको अलौकिकतालाई बढी महत्त्व दिइएको छ । बुद्धलाई प्राणीको मुक्तिका लागि सधैं तल्लीन महाकरुणामयको रूपमा प्रस्तुत गरिएको छ । यो भक्ति र श्रद्धाको विश्वास हो । 

प्रकाशित: वैशाख २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार