गन्तब्य

पौरखी गाउँ तकसेरा

- सुरविन्द्रकुमार पुन

वैशाख २३, २०७४-एउटा निश्चित स्थानमा मिलेर बनेका समान किसिमका घरहरू । एउटा घरको छत माथिल्लो घरको आँगन । छेउबाट पारिका घरहरूमा सहजै पुग्न सकिने । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै विदेशी दातृ निकायले परिकल्पना गरेको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो । तर बिल्कुल ‘अर्गानिक’ ।

रुकुमका उत्तरपूर्वी भेगका बस्तीका विशेषता भन्नु नै यही हो । तकसेरा गाउँ यसको एउटा उदाहरण हो । 

‘उत्तरगंगा नदीको तीरैतीरको लामो हिँडाइ । टोलीमा सबै थकित थिए,’ हाल ८० वर्ष कटेका तत्कालीन बागलुङ जिल्ला सभापति कुलराज शर्मा आफ्नो विगत कोट्याए, ‘त्यो २०३१ भदौ महिनाको क्षण थियो । त्यस बेला यो बागलुङ जिल्लाअन्तर्गतको एक गाविस थियो । जुनेली साँझमा गाउँको फेदी पुग्यौं । शान्त लाग्ने गाउँ । मान्छेहरूको मन्द आवाज । कुकुरहरू भुक्दै गरेका । घरहरूमा टिलपिल टिलपिल दियालो बल्दै गरेको । हेर्दै झल्याँस्स सिंहदरबारजस्तो लाग्ने । फेदीबाट गाउँतर्फ नियाल्दा तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबारको साँझको दृश्यजस्तो पनि देखिने । दिनभरको थकाइ गाउँको मनमोहक दृश्यले मेटाइदियो । चौतारीमा धेरैबेर बसेर गाउँतर्फ नियाल्यौं । तकसेरा भन्नेबित्तिकै म त्यो स्मरणलाई झलझली सम्झिन्छु ।’ अञ्चलाधीश मकरबहादुर बान्तवासहितको टोलीलाई अगुवाइ गर्दै बागलुङका पश्चिमी भेगको भ्रमणमा आएका थिए उनी । यिनै शर्मा पछि राष्ट्र पञ्चायत सदस्य हुँदै राजपरिषद् स्थायी सदस्य बन्न पुगे । 

हुन पनि ४ सय घरधुरीको घना आवाद रहेको यस गाउँका घरहरू पूर्णत: ढुंगा, माटो र काठले बनेका छन् । दुई तिहाइ मगर बासिन्दा रहेको यस गाउँमा कामी, दमाई र गुरुङको समेत बसोबास छ । तल्लो सेरा, उपल्लो सेरा र बाछीगाउँ तकपछिका ठूलो क्षेत्रफल ओगटेका गाउँ हुन् । समग्रमा यी गाउँ नै तकसेरा हुन् ।

तक र सेरा दुई छिमेकी गाउँ । बाक्ला बस्ती । शान्त र सौम्य परिवेश । ढोरपाटनबाट पश्चिमतर्फ बहने उत्तरगंगा नदीले छुट्याएको । स्थान र नाम फरक भए पनि यी दुई गाउँ भिन्न छैनन् । तकसेरा नाम यसैको संयुक्त रूप हो । तकमा बस्ने तकाले र सेरामा बस्ने सेराल । 

तकाले सेरालहरू आफूलाई निकै व्यस्त राख्न मन पराउँछन् । खेतीपाती र पशुपालन उनीहरूको पेसा हो । खेतीपातीमा अर्मपर्म अपनाउनु उनीहरूको सामाजिक दायित्व हो । सामूहिकतामा विश्वास गर्दा नै आफ्नो अस्तित्व रक्षा भएको उनीहरू स्विकार्छन् । अन्नबाली उत्पादनमा उनीहरू विशेष दख्खल राख्छन् । अनाज भण्डारणको शैली उदाहरणीय छ । घरको छतमा भकारी सजाएर राख्न निकै मन पराउँछन् । भकारीमा उनीहरू बर्खे बाली मकै, कोदो, फापर, आलु, तोरी राख्छन् । कसैकसैले स्याउ र फर्सी पनि राखेका हुन्छन् । शरद यामका बेला कम्तीमा पनि प्रत्येक घरमा एक बाली एक भकारी हुनु सामान्य हो । हालसम्म पनि हुने–खाने र खानदानको मापन भकारीको संख्यामा निर्धारण हुने गरेको छ । गाउँलेहरूको धारणा छ— धेरैवटा र ठूला भकारी ठड्याउनु एक प्रकारले सम्पन्नताको प्रतीक हो भने खाद्यान्न बेसाएर खानु विपन्नताको विम्ब हो । 

तकसेरालाई चिनाउन राडीपाखी (काम्लो) को उल्लेख्य भूमिका छ । कोसेलीका लागि राडीको प्रयोग गरिएका घटना कुनै कहावत वा मिथकजस्ता लाग्छन् । २०६१ साल फागुनमा तत्कालीन राजा ज्ञानेन्द्रलाई रुकुम सदरमुकाम मुसीकोटमा आयोजित नागरिक अभिनन्दनका क्रममा यहीँकै राडीको गुन्टा उपहार दिइएको थियो । त्यसयता जिल्लामा आएका केन्द्रका ‘ठूला’ पाहुनाहरूलाई जिल्लाको तर्फबाट प्रदान गरिने कोसेलीको रूपमा तकसेराको राडीपाखी उपहार दिने परम्परा अझै मौलाउँदो छ । 

तकसेरामा परम्परागत घरेलु विधिबाट राडी बुनिन्छ । यहाँ अझै पनि परम्परागत हाते कलाबाट ऊनीका राडीपाखी, फेरुवा, घुम, हार्दुला बुन्ने गरिन्छ । ऊन उत्पादनका लागि भेडाबाख्रा पाल्नु निर्विकल्प पेसा हो । यहाँको दैनिक अर्थ व्यापारलाई चलायमान बनाउन भेडाबाख्रा, ऊन, राडीपाखीको योगदान ठूलो छ । पछिल्लो समय अल्लोको धागो संकलन र बिक्री वितरणमा समेत तकसेरा कहलिएको छ । स्थानीय बासिन्दा मिहिनेती मात्रै छैनन् व्यापारमा पनि निकै खप्पिस छन् । पुसको चिसोलाई प्रवाह नगरी बास बस्दैबस्दै राडीको भारी बोकेर रिडी आइपुग्छन् । पाल्पा, गुल्मी र अर्घाखाँचीको संगमस्थल रिडीमा ‘रुकुमको काम्लो’ भनेपछि कोसेलीका लागि भए पनि किन्नेको कमी हुन्न । 

...

गाउँलेहरू सम्बन्ध विस्तार गर्न निकै खप्पिस छन् । फरक भूगोल, सम्प्रदायका व्यक्तिसँग नजिकिन हिच्किचाउँदैनन् । अपरिचित वा कुनै बिरानोलाई गाँस–बासको आश्रय दिनु धर्म ठान्छन् । पाहुना पाल्ने संस्कृति उनीहरूको विशिष्ट छ । पाहुनालाई गरिने आदर, सत्कार र सम्मान बडो घतलाग्दो छ । गाउँका युवाहरू विशेषगरी मीत, सम्धि–सम्धिनी लाउन रुचाउँछन् । मीत र सम्धि–सम्धिनीलाई परिवारको एउटा हिस्सा मान्छन् । संस्कृतिप्रति जिम्मेवार छन् । आधुनिक चिकित्सा प्रणालीलाई चुनौती दिने गरी अझै पनि धामीझाँक्रीबाट ओखतीमुलो गर्छन् । धामीझाँक्रीले ठम्याउने जडीबुटीमा विश्वास गर्छन् । 

झाँक्री मेला यहाँको अनौठो र रहस्यमयी संस्कार हो । प्राय: घरमूली महिला हुन्छन् । घरपरिवार महिलासित छन् । त्यस्तै पुरुषको तुलनामा महिला बढी स्वावलम्बी छन् । श्रमको निकै सम्मान गर्छन् । कामलाई सानो–ठूलो भन्दैनन् । जीवन निर्वाह गर्न र व्यापार व्यवसाय बढाउन हरेक अवसरमा संलग्न हुन आतुर हुन्छन् । पढाइलेखाइको सवालमा उनीहरू आफैंमा प्रतिस्पर्धी छन् । 

संसारका कुना–कुना नपुगेका उनीहरू छैनन् । एसियाली देशहरू त भए नै, अमेरिकालगायत युरोपेली मुलुकमा उनीहरू धेरैको संख्यामा पुगेका छन् । स्क्यान्डेभियाली, ओसिनियाली, ल्याटिन अमेरिकीजस्ता मुलुकहरूमा पनि उनीहरू नछिरेको ठाउँ छैन । खाडी मुलुक आउजाउ उनीहरूका लागि सामान्य भइसकेको छ । श्रम होस् वा विद्यार्थी भिसा उनीहरू नपुगेको बिरलै मुलुक छन् । लाहुरे संस्कृतिले पनि उनीहरू खुला भएका हुन् । ब्रिटिस र इन्डियन आर्मीलगायत सिंगापुर पुलिसमा भर्ती हुन विशेष रुचाउँछन् । फ्रेन्च आर्मीमा पनि उनीहरू संलग्नता छन् । लाहुरे संख्याको आधारमा रुकुममा तकसेरा यसै पहिलो भएको होइन । पहिलो र दोस्रो विश्वयुद्धका क्रममा गोर्खा पल्टनमा भर्ती भई लडेका युद्धका कथा वास्तवमै साहसिक र कारुणिक लाग्छन् ।

१० वर्षे सशस्त्र विद्रोहका क्रममा यस गाउँले ठूलो कहर काट्यो । यी भेगहरू माओवादीका आधार इलाकाअन्तर्गत थिए । दिनमा प्रहरी र रातभर माओवादीको तारो बन्नु त्यस बेलाको दैनिकी थियो । दुवै पक्षको हप्कीखप्की उस्तै । ‘साँच्चिकै त्यस बेलाका दमन क्षमा दिन नसकिने खालका छन्,’ तक गाउँका रासधन घर्तीमगर दु:ख पोख्छन्, ‘भनिन्छ ‘धान खाने मुसो चोट खाने भ्यागुतो’ हामीमा लागू भयो ।’ त्यति बेला केहीको संख्यामा सुरक्षाका लागि भन्दै बाहिरिए । सदरमुकाम मुसीकोट, दाङ, काठमाडौं, कपिलवस्तु, रूपन्देही, नवलपरासी, काठमाडौं झर्न थाले । 

तकसेरा आफैंमा इतिहास, संस्कृति र प्रकृतिको त्रिवणी हो । संवत् २००७ साल पछि राष्ट्रसंघबाट खटिएका टोनी हागन ढोरपाटन हुँदै उत्तरगंगा नदीको किनारको यात्रा गर्दा उनले तकसेरा गाउँ नियाल्ने मौका पाए । तकसेराको सौन्दर्यबाट मोहित बनेका यी स्विस भूगर्भविद्ले खिचेको तस्बिर देखेपछि आकर्षित बनेका राजा वीरेन्द्र यस गाउँको भ्रमण गर्न इच्छ्याएको मानिन्छ । यसमाथि पनि रुकुमको बाँफीकोट र रुकुमकोटका शाह ठकुरीहरूसँगको दरबारको निकट सम्बन्धले तकसेरातर्फ राजाको ध्यान खिचिनु असामान्य होइन । त्यसताका रुकुम बाँफीकोटका ध्रुवविक्रम शाहबाट राजा वीरेन्द्रले तकसेराको बारेमा केही जानकारीसमेत पाए । यही सेरोफेरोमा तकसेराका तत्कालीन प्रधानपञ्च बलमान पुन र धु्रवविक्रमबीच निकै राम्रो सम्बन्ध रहेको बताइन्छ । यस भेगमा विकासको पूर्वाधारको जग बसाल्न राजा वीरेन्द्रलाई नै तकसेरामा प्रत्यक्ष भ्रमण गराउन बलमान र धु्रवविक्रमले उपयुक्त सूत्र अपनाए । ध्रुवविक्रम शाह र राज खानदानबीच नजिकको सम्बन्ध रहेको थियो । धु्रवविक्रममा छोरा विवेकविक्रम शाह रानी ऐश्वर्यको एडीसी हुनु त्यसको परिणाम हो । 

परिणामत: २०४० साल माघ १३ गते तत्कालीन राजा वीरेन्द्रबाट यस गाउँमा राजकीय भ्रमण भयो । वीरेन्द्रका साथमा रानी ऐश्वर्य, प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलगायत अन्य अति विशिष्ट राष्ट्रिय व्यक्तित्वहरूसमेत सोही भ्रमणमा सामेल थिए । भ्रमण क्रममा तक गाउँको परिक्रमा गर्न करिब २ किलोमिटर लामो पैदल हिँड्नुपर्ने थियो । जमिनमा फेरुवा ओछ्याइएका थिए भने त्यसमाथि राडी छपक्कै । भ्रमणताका रानी ऐश्वर्यले यस गाउँलाई निकै मन पराएकी थिइन् । केही वर्ष अन्तराल पारेर राजारानी अरू दुईपटक छड्के भ्रमणस्वरुप यही गाउँमा आएका थिए । उनीहरू तक गाउँ भ्रमण गर्दै गरेको त्यस बेलाको तस्बिर हनुमानढोका संग्रहालयको वीरेन्द्र स्मृति कक्षमा सजाएर राखिएको छ । तक र सेराका बासिन्दालाई सहज होओस् भन्ने हेतुले वीरेन्द्रले उत्तरगंगा नदीमा लामो दूरीको झोलुंगेपुल बनाउन लगाए । 

संवत् ५० को दशकसम्म यहाँ निकै विदेशी पर्यटक आउने गर्थे । यसो हुनुमा बेलायती नागरिक डेबिड वाटर्सले यहाँको मातृभाषा मगर खामबाट भाषाशास्त्रमा हासिल गरेको पीएचडी शैक्षिक उपाधिले पनि हो । त्यस्तै जर्मन मानवशास्त्री माइकल अपिजले यहाँको समाज र संस्कृतिमा गरेको व्यापक लेखन, श्रव्यदृश्यजस्ता अध्ययनले पनि विदेशी नागरिकले यहाँ घुमफिर गर्न चासो राखेका हुन् । दुर्भाग्यवश ५२ सालबाट माओवादीले जारी राखेको सशस्त्र विद्रोहको प्रभावले विदेशीले पाइला राख्न हिच्किचाए । स्थानीय जानिफकारहरूको बुझाइ छ, ‘पर्यटक संवेदनशील व्यक्ति हुन् । तिनमा नकारात्मक प्रभाव पर्दा त्यसको असर स्थानीय समुदायले दशकौंसम्म बेहोर्नुपर्ने रहेछ ।’ निर्दोष भएर पनि दोषी हुनुको बेफाइदा तकसेरावासीले बेहोर्नुपरेको तीतो यथार्थ छ । 

मुलुककै घुम्नलायक रमणीय गाउँको रूपमा स्थापित यस तकसेरा गाउँ पर्यटकीय दृष्टिले रुकुमकै बिर्सनै नसकिने आकर्षक गन्तव्यस्थल हो । तर साविकको तकसेरा गाविसबाट पुथा उत्तरगंगा गाउँपालिकामा परिणत भएपछि राज्यले झनै हेपेको उनीहरूको गुनासो छ । केन्द्र तकसेरा नभई अन्यत्र तोकिएको छ । तकसेरावासीको एउटै आवाज छ, ‘गाउँपालिका केन्द्रका लागि तकसेरा उपयुक्त थलो हो ।’ उनीहरू जिल्लादेखि केन्द्रसम्म धाइरहेका छन् । तैपनि राज्यबाट यसको कुनै सुनुवाइ भएको छैन । 

काठमाडौंमा प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्मालाई भेटेर आफ्नो माग राखेका छन् । गत माघमा यी दुई नेतालाई भेट्दाको प्रसंग रोचक छ । ‘गाउँपालिकाको केन्द्रको मागसँगै विकास निर्माणका फाइल पनि ल्याउनुभएको होला नि ?’ भनी सोध्दा उनीहरूको तर्क थियो, ‘हामी कुनै भिखारी होइनौं । विकास निर्माण भन्ने कुरा समयको वेगसँगै स्वतस्फूर्त समुदायले ग्रहण गर्ने चीज हो, त्यसको व्यवस्थापन हामी आफैं गर्न सक्छौं ।  हामीले त यहाँ सिर्फ आफ्नो अधिकार मात्र माग्न आएका हौं, मुद्दालाई तोडमरोड गर्न होइन π ’ यो सानो प्रसंगले पनि बुझ्न सकिन्छ, तकसेरा आफैंमा स्वावलम्बी ठाउँ हो, पौरखी गाउँ हो ।

प्रकाशित: वैशाख २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार