स्वास्थ्य

डिप्रेसनबाट जोगिन सतर्कता

- डा. धनरत्न शाक्य

वैशाख २३, २०७४- परिस्थितिवश उदास, दु:खी वा दिक्दार अनुभव हुनु सामान्य हो । तर यसरी उदास अनुभव हुनु उदासीन मनोरोग वा डिप्रेसनको लक्षण पनि हुनसक्छ । मानिसले उदास अनुभवलाई रोगको अंश हो कि जीवन र जगतको प्रतिकूल परिस्थितिप्रतिको स्वाभाविक प्रतिक्रियामात्र हो भनेरे छुटयाउन नसक्दा रोग पहिचान र उपचारमा कठिनाइ उत्पन्न हुने गर्छ । डिप्रेसनका धेरै रोगीमा समस्याको न महसुस र पहिचान हुन्छ, नत पर्याप्त र उपयुक्त उपचार नै । त्यसैले समाजमा यसका बिरामीको संख्या अत्यधिक हुनसक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा मानव जातिलाई सताउने दस प्रमुख स्वास्थ्य समस्यामा डिप्रेसन हाल दोस्रो स्थानमा छ र चाँडै पहिलो हुनेछ । डिप्रेसनका बहुसंख्यक रोगीहरू उपयुक्त उपचार नपाएर विभिन्न जटिलता भोगिरहन्छन् । त्यसैले यस रोगबारे आधारभूत सत्यतथ्य बुझिराख्न जरुरी छ । कमजोर मन भएका अरूलाई लाग्छ, मेरो मन बलियो छ, मलाई लाग्दैन भन्ने धेरै मानिसलाई पनि यस रोगले सताउन सक्छ । 

जब कुनै व्यक्तिको उदास, दु:खी वा दिक्दारको अनुभव आफ्नो नियन्त्रणभन्दा पर पुग्छ, अर्थात् यस्तो अनुभव कम्तीमा पनि दुई साता सबैजसो दिन प्राय: सधैंजसो हुन थाल्छ, जति कोसिस गर्दा पनि ठाउँ–बेठाउँ यस्तो अनुभवले छाड्दैन, यस्तो अनुभवको कारण बेचैनी हुन्छ, दैनिक कामकारबाहीमा दख्खल पर्छ र साथमा अरू लक्षण पनि देखापरेका छन् भने यस्तो अवस्थालाई सामान्य उदासपन ठान्नु गलत हुनेछ । 

डिप्रेसनका लक्षण 
डिप्रेसन भएको व्यक्तिमा मानसिक, शारीरिक र सामाजिक असरस्वरूप न्युनता आउने निम्न लक्षण देखिन्छन्–
-    प्राय:जसो समय उदास, दु:खी र दिक्दार रहनु 
-    दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरूसँगको अन्तर– सम्बन्धमा रुचि कम भएर अरूबाट एक्लिनु वा एकान्तमा रहनु
-    केही गर्ने जाँगर र आत्मविश्वास हराउनु
-    सोच्न, सम्झन नसक्ने भएर जानु 
-    आफू बेकामे, बेसहारा र भविष्य अन्धकार भएको लाग्न थाल्नु
-    सानातिना कुरामा अत्यधिक चिन्ता लाग्नु र छट्पटी हुनु 
-    बाँच्ने चाहना कम भई आत्महत्याका विचार आउनु 
-    भोक कम वा ज्यादा हुनु, अनि त्यसै अनुसार तौलमा कमी वा वृद्धि हुनु 
-    निद्रा अक्सर कम हुनु (कसै–कसैलाई भने बढी हुनसक्छ) र बिहान बोधो महसुस हुनु
-    यौन चाहना र तुष्टिमा कमी हुनु 
-    कव्जियत र महिनावारीमा पनि गडबड हुनु 
यस्तै कतिपय बिरामीमा टाउको, जीउ वा शरीरका अरू भाग दुखिरहने तर शारीरिक परीक्षणमा चित्तबुझ्दो प्रमाण नदेखिने अवस्था हुन्छ । कडा खालका डिप्रेसनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने जस्ता भ्रमात्मक लक्षणहरू पनि उत्पन्न हुन्छन् । 

डिप्रेसनको कारण 
मनोसामाजिक रूपले त्यक्त, विषम परिस्थिति र तनावग्रस्त व्यक्तिमा प्राय: लाक्षणिक रूपमा र पछि रोगकै हिसाबले डिप्रेसनको समस्या बढी देखिने गर्छ । तनावरहित अवस्थाका व्यक्तिहरूलाई पनि डिप्रेसनले सताउन सक्छ । खासमा यसमा विविध कारणले सेरोटोनिन, नरअड्रिनालिन जस्ता स्नायु रसायनहरूको कमी, तिनले काम गर्ने विशेष अवयव (रिसेप्टर) र तिनको उत्पादन हुने प्रक्रियामा समस्या हुने देखिएको छ । वंशानुगत र जैविक जोखिमलाई मनोसामाजिक तत्त्वहरू र परिस्थितिले डिप्रेसनतिर व्यक्तिलाई धकेल्नमा बढावा दिने गर्छन् । यसरी कुनै व्यक्ति डिप्रेसनको सिकार हुनुमा मनोसामाजिक र जैविक तत्त्वहरूको जटिल अन्तरक्रिया हुने गर्छ । 

दस पुरुषमा एक र चार महिलामध्ये एकको जीवनमा खाँती डिप्रेसन भन्ने रोगले समात्दो रहेछ । यसबाट पीडित धेरैमा रोग पहिचान, निदान र उपचार हुने गर्दैन । उपचार सुरु नै भए पनि उपयुक्त र पर्याप्त मात्रा र अवधिको हुने गर्दैन । उपयुक्त उपचार नहुनाले डिप्रेसन पीडित अधिक मानिस अस्वस्थ, विकलांग, बेचैनमात्र हैन, अरू शारीरिक रोगप्रतिको हेरचाहमा उदासीन रहने र आत्महत्या समेत गर्ने अवस्थामा पुग्छन् । 

उपचार विधि
डिप्रेसनको उपचार बहुआयामिक हुने गर्छ । यसमा तनावको समाधान, यसको बहन गर्ने क्षमता, सीप र कला अभिवृद्धि गर्ने मनोवैज्ञानिक विधि उपयोगी हुन्छ । अरू व्यक्तिसँगको गलत र अनुपयुक्त अन्तरक्रिया, आपसी कलहले पनि डिप्रेसनको पृष्ठभूमि तयार पार्न सक्छ । डिप्रेसन भएपछि पनि कतिपय बिरामीको अरूसँग सम्बन्धमा चिसोपन आउन सक्छ । यस्ता व्यक्तिको अरूसँग सम्बन्ध सुमधुर बनाउने र सरसल्लाह अनि सहयोगको माहोल बनाउने सामाजिक पहुँच उपचारको अभिन्न पाटो हुने गर्छ । यस्ता व्यक्तिहरूको सोच, विचार र व्यवहारमा हावी हुने विकृतिलाई सुधार्ने मनोवैज्ञानिक तरिका पनि आवश्यक पर्न सक्छ । लक्षण कम गर्नेमात्र हैन, रोग निको पार्ने र पछि हुनबाट रोकथाम गर्ने भरपर्दा र सुरक्षित धेरै औषधीको विकास भैसकेको छ । कडा डिप्रेसनमा चिकित्सकको सल्लाहमा बिजुलीको सेक दिने उपचार पनि उपयोगी र सुरक्षित तरिका हो । उपचारबाट लक्षण हटेपछि पुन:स्थापनाका कार्यक्रम उपयोगी हुन्छ । 

डिप्रेसनको समस्या भएको छ भने बिना हिच्किचाहट अविलम्ब सम्बन्धित चिकित्सक वा विज्ञको सेवामा जानुपर्छ । यसको पहिचान बिरामीलाई लेवल लगाउन वा अन्य हिसाबले नभई उपचारका लागि हुने गर्छ । डिप्रेसन पहिचान भएकोमा चिन्ता मानेर बस्नुभन्दा आवश्यक र उचित उपाय गर्नतिर लाग्नु, सबल, सक्षम र सहयोगी साथीभाइ, आफन्तको सहयोग सल्लाह लिनु, सकेको काम, हल्का व्यायाम वा यस्तै कुरामा मन बहलाउने कोसिस गर्नु उपयोगी हुन्छ । औषधी उपचार आवश्यक भए विज्ञको सल्लाहमा आवश्यक मात्रा र अवधिका लागि सेवन गर्नु आवश्यक र लाभदायी हुन्छ । बिरामीलाई उपचारका लागि सम्बन्धित स्थानमा लान, उपचार सुरु गर्न, फ्लोअपमा रहन, ठिक भएपछि पनि पुन:स्थापना गर्न लगायत पछि दोहोरिन नदिने कुरामा परिवारजन र साथीभाइको ठूलो भूमिका रहने गर्छ । परिवार, आफन्तजनले यस्ता बिरामीको औषधीको राखनधरन, रेखदेख गर्न र सेवनका लागि हौसला दिन आवश्यक हुन्छ । कतिपय यस्ता बिरामीमा आफैंलाई हानि गर्ने सम्भावना रहेकाले सावधानी अपनाउन जरुरी हुन्छ । 

जोखिम रहेका व्यक्तिहरूले त्यसैअनुसार आफ्नो जीवनशैली, व्यवहार, आहार–विहार र विचारमा सन्तुलन अपनाउन सिक्नुपर्छ । स्वस्थ शरीर र सन्तुलित जीविका, तनाव बहनका सीप, क्षमता बढाउने तरिका, साथ–सहयोग र सुमधुर सम्बन्धको माहोल, अनुपयुक्त र अस्वस्थ प्रतिस्पर्धारहित शान्त, सुखी, सन्तुष्ट, सन्तुलित, समझदार, अनुशासित परिवार र समाजको अवधारणा, पोषण आहार–विहार, विचारको सन्तुलन, व्यायाम, योग, सांस्कृतिक र परम्परा अनुकूलको व्यवहार उपयोगी हुने गर्छ । रोग लागेर निको भैसकेकाहरूले पुन: नदोहोरियोस् भन्नाखातिर सतर्कता अपनाउन आवश्यक हुन्छ । विविध तहमा डिप्रेसनको रोकथाम सम्भव छ र यसका लागि सचेत हुन आवश्यक छ ।

डा. शाक्य वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ हुन् । 

प्रकाशित: वैशाख २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार