स्वास्थ्य

ईरिटेबल वावेल सिन्ड्रोम : लक्षण तथा उपचार

- डा. ललितकुमार मिश्र, काठमाडौं

वैशाख २०, २०७४- पेटसम्बन्धी रोग धेरै नेपालीहरूमा देखिने प्रमुख समस्या हो । अधिकांश पेटको रोगलाई औषधोपचार बाट निको पार्न सकिन्छ । तर कतिपय पेटका समस्या यस्ता पनि छन् जसलाई पूर्णरूपले निको पार्न सकिँदैन । यसरी पूर्णरुपले निकोपार्न नसकिने पेटसम्बन्धी समस्या हो- ईरिटेबल बाबेल सिन्ड्रोम (आईबीएस) । 

विश्वमा नै पेटसम्बन्धी रोग भएका मानिसहरू मध्ये २० देखि २५ प्रतिशतमा यो समस्या हुन्छ । नेपालमा पनि पेटसम्बन्धी समस्याबाट पीडित भएकाहरूमा आईबीएस एक मुख्य स्वास्थ्य समस्या नै हो । 

केहो आईबीएस?
आईबीएस एक प्रकारको यो यस्तो पेटसम्बन्धी रोग हो जसले हाम्रो ठूलो आन्द्रा (कोलोन)लाई प्रभावित गर्दछ । जसको कारण आन्द्राको गतिमा असन्तुलन हुन जान्छ । फलस्वरुप ठूलो आन्द्राको रिदम (गति) मा सुस्तपना वा तीव्र गति आउँछ । जसको कारण प्रायः पेट दुख्ने, पेटमा वायु भरीने, पातलोदिसा वा कब्जियत हुने, पेट बटारिनु आदि समस्या देखिन्छ । यस्ता असहज संकेत तथा लक्षणको बाबजुद पनि पेटमा भने कुनै खराबी देखिँदैन र कुनै प्रकारको स्थायी क्षति भने हुँदैन । 

यस प्रकारको पेटको समस्यामा खाना राम्रोसँग नपच्नु, दिसा खलास नहुनु, पखाला लाग्नु, ग्यासले गर्दा पेट फुल्नु, पेटमा ऐठन (बाउँडिएर) भएर दुख्नु, खान मन नलाग्नु, असजिलो हुनु आदि जस्तो पेटसम्बन्धी समस्यालाई ईरिटेबल बाबेल सिंड्रोम (आईबीएस) भनिन्छ । 

चिकित्सा विज्ञानले यसलाई रोग भनेको छैन । यो केवल आन्द्राको कार्य क्षमतामा आएको असन्तुलन मात्र हो भनेको छ । यस अवस्थामा पाचन प्रणाली ठीकसँग काम गर्दैन । यसको कारणले अल्सर/क्यान्सर हुँदैन र यसबाट व्यक्तिको मृत्यु पनि हुँदैन । तर ठूलोआन्द्रा पाचन प्रणालीको एउटा प्रमुखभाग भएकोले पाचनप्रक्रियामा स्वभाविकरुपमा असरचाहिँ पर्छ । यसप्रकार आन्द्राको कार्यमा प्रतिकुल असर परी व्यक्तिको स्वास्थ्यमा असुविधा हुने भएकाले कार्यक्षमतामा ह्रास भई स्फूर्तिमा कमी आउन सक्छ । व्यक्तिसुस्त हुनजान्छ । आफ्नो दैनिक कार्य पनि राम्रोसँग गर्न मन लगाउँदैन । उसको ध्यान हरहमेशा पेट मै केन्द्रित रहन्छ ।
 
कारण
आईबीएस किन हुन्छ भन्ने कुरामा हालसम्म चिकित्सकहरूले ठोकुवा गरेर भन्न सक्ने अवस्था छैन । आईबीएस भएका मानिसहरूको पेट तथा आन्द्राका नसा तथा मांसपेशीहरू बढी संवेदनशील हुन्छन् । खाना खाएको बेला मांसपेशीहरू बढी नै संकुचित हुनसक्छन् । यो संकुचनले खाएको केही समयपछि दिसा लाग्ने हुन्छ । पेट दुख्न सक्छ । वास्तवमा भन्ने हो भने आईबीएसको ठीक कारण के हो थाहा छैन । 

शारीरिक कारण, मानसिक तनाव, पुरानो संक्रमण (पेटको रोग) खानपान  तथा जीवनशैलीका कारण पनि हुने अनुमान गरिएको छ । मानसिक कारणलाई लिने हो भने तनाव, दुःख, शोक, चिन्ता, नर्भसनेस, भावनात्मक चोटलाई पनि लिन सकिन्छ । यसैगरी खाद्य पदार्थमा डेरी उत्पादनका खानेकुरा को बढी सेवन गर्नु, अन्डाको पहेलोभाग मात्र खानु, बढी चल्लो, तारेको, भुटेको रातोमासु, रक्सी, कफि, चकलेट, कोक, इनर्जी ड्रिंक आदि । केही एन्टीबायोटिक औषधिहरूको लामो समयसम्म को प्रयोगले पनि यस किसिमको समस्या ल्याउन सक्छ । यसबाहेक पाचनतन्त्रमा आन्द्रा सुन्निने या संक्रमण हुनु पनि एक कारण हुनसक्छ । 

आईबीएस को समस्या महिला तथा पुरुष दुवैमा हुन्छ । यो समस्या प्राय ३० वर्षको उमेरको आसपास देखापर्ने गर्दछ । कसै-कसैलाई वृद्धावस्थामा पनि देखापर्दछ । 
 
लक्षण
यस समस्याबाट ग्रस्त व्यक्तिहरूमा देखिने लक्षणहरू व्यक्ति पिच्छे फरक हुनसक्छ । कारण के हो भने प्रत्येक व्याक्तिको व्यक्तित्व फरकहुन्छ । उसको रोगको कारण फरक हुन्छ । समस्या एउटै भएता पनि रोगीको शारीरिक अवस्था एवं मानसिक लक्षणहरुमा समेत फरक हुनसक्छ ।  

  • पेटमा ग्यास भरिनु (पेटफुल्नु)।  
  • पखाला लाग्नु/कब्जियत हुनु। 
  • आलोपालो गरी दुवै हुनु अर्थात कहिले कब्जियत त कहिले पखाला चल्नु ।  
  • दिशामा आउँ देखिनु। 
  • पेटमा ऐंठन (बाउँडिएर) भएर दुख्नु। 
  • वाकवाक लाग्नु वा वान्ता हुनु। 
  • दिसा राम्ररी खलास नभएको अनुभूति हुनु।  
  • शरीरको वजनमा कमी आउनु।  
  • खानामा रुचि नहुनु । खाना खाँदा पनि पेटमा ग्यास भरिन्छ भनी डराई डराईकन खाना खानु । 
  • शारीरिक रुपले सुस्त, अल्छी हुनु। 
  • आफ्नो दैनिक कार्यसमेत गर्नमा रुचि नलिनु। 
  • घरबाट कतै बाहिर डरले ननिस्किनु ।  
  • मलद्वार आफ्नो कन्ट्रोलमा नहुनु । वायु निस्किँदा पनि थाहै न पाइकन मल निस्किनु आदि। 

आईबीएसको समस्याबाट ग्रसित व्यक्तिको परीक्षण गर्दा सामान्य लक्षणबाहेक अरु कुनै स्वास्थ्य समस्या देखिँदैन । सामान्य लक्षणको आधारमा पनि यो रोगको निदान गर्न सकिन्छ । कहिलेकाहीं मेडिकल परीक्षण पनि गर्नुपर्ने हुन्छ । जस्तै- इन्डोस्कोपी, कोलनस्कोपी आदि । सामान्यतया परीक्षणको रिपोर्ट हेर्दा नर्मल नै देखिन्छ । कुनै प्रकारको ठुलो आन्द्रामा वा पेटमा परिवर्तन भने देखिँदैन । 

बच्ने उपाय
रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने प्रयास गर्नु बुद्धिमानी हो । यसबाट बच्नको लागि स्वस्थ जीवनशैली अपनाउने प्रयास गर्नुपर्छ । आवश्यक मात्रामा नियमितरुपले व्यायाम, योगाभ्यास गर्ने, पर्याप्त मात्रामा निन्द्रा लिने, नियमित रुपमा मनोरञ्जनकोलागि समयअनुसार गीत संगीत सुन्ने, पढ्ने,  लेख्ने,  हिंड्ने, खेल्ने, किनमेल गर्ने,  साथीभाइसँग घुमफिर गर्ने,  सकारात्मक सोचराख्ने । मनोबल उच्च राख्ने आदि। जस्ता क्रियाकलाप गर्ने, सन्तुलित भोजनगर्ने, चिन्ता, तनावबाट बच्ने प्रयास गर्ने। 

खानपान
कतिपय यस्ता खाद्यपदार्थहरू छन्, जुन खानाले यस किसिमको स्वास्थ्य समस्या बल्झाउनमा सहयोग पुर्‍याउँछ । साधारणतया अल्कोहल, दूध तथा दूधबाट बनेका खाद्य पदार्थहरू, क्याफिन युक्त पेयपदार्थ, कृत्रिम गुलियो जस्ता खाद्य पदार्थले उचित रुपमा दिसा खलास गर्ने कार्यमा व्यवधान पैदा गर्दछ । एकैपटक धेरै परिणाममा खाना खानुभन्दा पटक-पटक गरीखाना खाँदा उपयुक्त हुन्छ । दैनिक प्रसस्त पानी, झोलीय पदार्थ पिउनुपर्छ । चिया, कफी भएका खाद्यपदार्थ र अल्कोहल तथा कार्बोनेटयुक्त ग्यास पैदा गर्ने पेयपदार्थको उपयोग कम गर्नुपर्दछ । 

यसरी नै ग्यास पैदा गर्ने केही खाद्य पदार्थहरू ब्रोकाउली, बन्दा, काउली, प्याज आदि दैनिक भोजनमा समावेश न गर्दा नै वेश हुन्छ । चुइङ्गम चपाइरहँदा पेटमा बढी हावा जम्मा भई पेटफुल्ने र दुख्ने सम्भावना रहन्छ । चिवीङ्गम चपाउनु हुँदैन । पेट गडबड गर्न सक्ने किसिमका खाद्यपदार्थहरू जस्तै रातो मासु, दूध, फ्राई गरेको खाद्यवस्तु, अन्डाको पहेंलो भाग सकेसम्म भोजन मा समावेश न गर्नु नै राम्रो हुन्छ। दही खान वेश हुन्छ । महि पनि खान सकिन्छ । 

व्याक्तिको  शारीरीक अवस्था अनुसार बढी फाइबर, कमचिल्लो अथवा कम फाइबर, कम चिल्लो भएको भोजन को व्यवस्था मिलाउनुपर्ने हुन्छ । 

औषधोपचार
आईबीएस कुनैरोग होइन । लक्षणहरूको समूह हो । यसको सम्बन्ध शारीरिकभन्दा मनसँग पनि भएको हुनाले यसलाई मनोदेहिक रोग पनि भनिएको छ । यो रोग न भएकोले यसलाई निको पार्ने भन्ने हुँदैन । देखापर्ने समस्यालाई नियन्त्रणगर्ने र लक्षणहरूलाई व्यवस्थापन गर्ने मात्र हो । उपचार गरी समस्या गराउने लक्षणहरूबाट मुक्त हुन सकिन्छ । यसको उपचार भनेको खानपान तथा जीवनशैलीमा परिवर्तन गर्नु नै हो । तनावबाट मुक्त हुनुपर्छ । आवश्यक औषधिहरू चिकित्सकको सल्लाहमा लिन सकिन्छ । यस रोगको कारण थाहा नभएकोले सबैलाई एकै किसिमको उपचार हुँदैन । व्याक्तिअनुसार समस्या पनि फरक हुन सक्ने भएकाले लक्षणहरूको आधारमा नै यसको उपचार गरिन्छ । 

यसको उपचारमा प्रयोग हुने केही होमियोप्याथिक औषधिहरू निम्नलिखित छन् ।

  • एलोज- पेटदुख्नु,  ग्यास हुनु,  वायु निस्किँदा दिसा पनि निस्किनु । मलद्वार नियन्त्रणमा नहुने  
  • एन्टिम कुड- जिब्रोमा सेतो मैलोले ढाक्नु,  वाक- वाक लाग्नु,  खाना राम्रै खानु,  दिसा कहिले गोटा पर्ने त कहिले पखाला लाग्नु ।  * आर्सेनिकएल्ब- असहनीय पेट दुख्नु,  बेचैनी, घवहराट, अत्यधिक प्यास, तर पानी थोरै खानु । औषधि गर्नु बेकार छ मेरो यो रोग निको हुँदैन भनेर निराश हुनु जस्ता मानसिक लक्षंण देखिएमा यसको प्रयोग गर्नुपर्छ। 
  • आर्जेन्टम नाईट्रीकम- पेट गुडगुड गर्नु, वायु निस्किनुका साथै पातलो दिसा हुनु । पेट फुल्नु, पानी पिउने बित्तिकै शौचालय कुदी हाल्नु ।

Mishradr.lk@gmail.com  

प्रकाशित: वैशाख २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार