ब्लग

अमेरिका अनुभव : काम ढाँटेर नाम राख्नेहरु

- नवीन रायमाझी, अमेरिका

वैशाख २०, २०७४-सुरुमै सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु कि मेरो आसय कसैको पेशा वा कुनै व्यक्तिको मानमर्दन गर्ने होइन । देश छाडेर हजारौ माइल टाढा अर्काको देशमा आफ्नो सुखद भबिश्यको लागि संघर्ष गरिरहेका हामीहरुले आफुलाई परिचय गराउँदा जे काम गरिरहेका छौं त्यो नै भनेर परिचय गर्नुपर्छ भन्ने वा आफु जे पेशामा छौं अर्थात् आफ्नो रोजी रोटीलाई इज्जत गर्नुपर्छ भन्ने मात्र हो । 

हामी मुखले अमेरिकामा कामको महत्व हुन्छ, ठुलो सानो हुँदैन भन्छौं । तर, अरुलाई आफ्नो परिचय दिंदा अर्कै पेशा भन्छौं । यस्तो दोहरो मापदण्ड नराखौ भन्ने हो । यद्यपी म काम ठुलो र सानो हुन्छ भन्ने कुरामा विश्वास गर्छु । सबैले आफ्नो योग्यता र क्षमताले दिएको काम गर्ने हो, त्यो चाहे अमेरिका होस् वा नेपाल । संसारको जुनसुकै स्थानमा यदी काम ठुलो सानो नहुँदो हो त अमेरिकामा राष्ट्रपति र सामान्य मजदुर सँगै हिड्न पर्ने थियो । त्यो मैले देखेको छैन । सँगै हिडेर पनि मैले नदेखेको वा थाहा नपाएको हुनसक्छ त्यस्तो हो भने सम्बन्धित सबै सँग क्षमा याचना गर्दछु । 

नेपालमा पत्रकारिता गरेका र पत्रकारिता गर्ने इच्छा हुँदाहुँदै पनि त्यो पेशा गर्ने मौका नपाएकाहरुले आफुलाई परिचय दिने भनेको पत्रकारको हो । बर्षामा च्याउ उम्रेसरीका अनलाइन पोर्टलहरुमा र नेपालबाट अनियमित रुपमा प्रकाशित हुने मासिक पत्रिकामा अमेरिका प्रतिनिधि फलानो भनेर लेखेको र कुनै सानोतिनो साप्ताहिक पत्रिकाको परिचयपत्र बोकेको भरमा पत्रकार हुने धेरै छन् । कोहि व्यक्तिले पत्रिका प्रकाशन पनि गर्छन् । तर, त्यो पत्रिका कसैले पैसा तिरेर खरिद गर्ने होइन । नेपाली समुदायको बढी उपस्थिति हुने ठाउँमा त्यसै असरल्ल राखिने त्यस्ता पत्रिकाहरु पढ्न भन्दा पनि घरमा मासु खाएर निस्केको हड्डी पोको पारेर फाल्न काम लाग्ने हो । नेपालमै अधिकाँस संचार माध्यमहरुमा पत्रकारले महिनौदेखि तलब नपाएको कुरा सुनिन्छ । अमेरिकामा पत्रिकाले तलबी पत्रकार राखेको होला भन्ने कुरामा मलाई विश्वास छैन । पूर्णकालिन काम ट्याक्सी चलाउने । तर, आफुलाई पत्रकारको परिचय दिनु कति उचित हुन्छ त्यो सम्बन्धित ब्यक्तिले नै इमान्दरितापूर्वक सोच्दा राम्रो हुन्छ । 

परिचय लुकाउने अर्को ठुलो समुह नेपाली कलाकारहरुको छ । प्राय नेपालको दीलिप कुमार, डेनी जस्ता उपमा दिएर भारतीय कलाकारहरुसँग तुलना गर्न रुचाउने र  नेपालमा कलाकारिता गरेर खान पुग्दैन भन्ने कलाकारहरुलाई अमेरिकामा भने गाएर, बजाएर र अभिनय गरेरै जीवन चलेको छ भन्ने कुरामा म विश्वास गर्ने कुनै तुक देख्दिन । मेरा मित्र किरण प्रताप कुनै समयमा नेपाली सिनेमामा अभिनय गर्थे । उनी राजेश हमाल जस्तो महानायक त थिएनन । तर, उनको बजार ठिकठाकै थियो । शिक्षाले सिभिल इन्जिनियर उनी हाल अमेरिका मै छन् र कलाकारिता सँग उनको कुनै सम्बन्ध छैन । उनी त्यो दाबी पनि गर्दैनन् । धेरै बर्षको अमेरिकाको बसाइ पछि अभिनेता सरोज खनाल पछिल्लो बर्ष नेपाल फर्केका थिए । त्यसबेला आफुलाई नम्बरीको दैनिक दावी गर्ने तर महिनौसम्म पत्रकारलाई तलब नदिने पत्रिकाले सरोज खनालले नेपाली दर्शकलाई धोका हुन्छ भनेर कुनै पनि हलिउड सिनेमामा अभिनय गरेनन् भन्ने समाचार प्रकाशित गरेको थियो । त्यस्तो हावादारी समाचार छाप्ने पत्रिका र पत्रकारको के कुरा गर्नु त्यो समाचार पढेको भए स्वयं खनाल पनि लाजले पानी पानी हुन्थे होलान् । अभिनेता खनाल अमेरिकामा पूर्णकालीन कलाकारिता गर्दैनथे । सायद, उनले मैले कलाकारिता गरेरै अमेरिकामा बाँचेको छु भनेर दाबी गरे कि गरेनन् त्यो कुराको मलाई जानकारी छैन । तर, त्यस्तो बकम्फुसे दाबी उनले गरेनन् होला भन्ने मलाई लाग्छ । नेपालीले कलाकारिता गरेर अमेरिकामा आजको दिनसम्म जीवन यापन गर्ने बातावरण बनेको छैन, कसैले सोखको निमित्त गर्छु भन्छ भने त्यो अर्कै कुरा हो ।

सबैभन्दा हास्यास्पद अवस्था राजनैतिक कार्यकर्ता हरुको छ । अनेकौ किसिमका जातीय र क्षेत्रीय संघ संगठन स्थापना गरेर त्यसको अध्यक्ष र महासचिव भएकाहरुको त्यो पद फगत एउटा आत्मरति मात्र हो । उनीहरुको त्यो पदको कुनै अर्थ र उपयोगिता छैन । प्राय सबै जसो राजनैतिक पार्टीहरुको विभिन्न नाममा बिदेश बिभाग गठन गरेर के फाइदा हुन्छ त्यो त उनीहरुलाई मात्र थाहा होला । मैले बुझ्न नसकेको कम्युनिस्टको "क" सम्म सुन्न मन नपराउने र अमेरिकाको भिसाको फाराम भर्दा आजसम्म कुनै कम्युनिस्ट पार्टीको सदस्य नभएको र त्यस्तो पार्टीलाई चन्दा नदिएको भनेर स्वीकार गरेर अमेरिका आएकाहरुले कम्युनिस्ट पार्टीको बिदेश बिभाग स्थापना गर्नु यहाँको कानुनको बर्खिलाप पनि हो । नेपालमा छँदा चोर र भ्रष्ट भनिएका नेता यहाँ आउँदा  तछाड मछाड गरेर फोटो खिच्ने र त्यो फोटो सामाजिक सन्जालमा अपलोड गरेर आफुलाई ति व्यक्तिहरुको अत्यन्तै निकट छु भन्ने देखाउन किन होडबाजी गर्छन् त्यो पनि बुझिनसक्नु छ । राजनीति नै गर्ने हो भने बरु अमेरिकाको राजनीति गर्दा भबिश्यमा कुनै फाइदा त होला । तर, अमेरिकामा बसेर नेपालको राजनीति गर्दा के अर्थ हुन्छ? विभिन्न संघ र संगठनको नाममा अनेक कुरामा सहयोग गर्नु पर्यो भनेर नेपाली समुदायसंग चन्दा माग्नु बाहेक यस्तो राजनीतिको कुनै तुक छैन र यो सतप्रतिशत निरर्थक छ । 

आफु जुन देशमा बसेको छ, त्यो देशको नियम कानुनको परिधि भित्र बस्नु पर्छ भन्ने मेरो निजी मान्यता छ । यो कुरामा कसैको दुई मत हुन् सक्दैन भन्ने विश्वास लिएको छु । आफुले पहिले गरेको काम र उपलब्धिको बारेमा प्रसंगबस कुरा गर्नु नराम्रो होइन । तर, मुखले भन्दा काम सबै बराबर हो कुनै सानो ठुलो हुदैन भनेर भन्ने तर आफ्नो परिचय दिंदा गर्दै नगरेको कामको परिचय दिनु दोहोरो मापदण्ड होइन र? तर एउटा व्यक्तिले एकै समयमा दुई वा दुई भन्दा बढी पेशा अपनाउनु लगभग असम्भव छ । तर, अपवादको रुपमा कसैले त्यस्तो गर्न सक्छ भने म त्यो व्यक्तिलाई सलाम गर्छु । यो आलेख पढे पछि धेरैको मर्ममा प्रहार हुने हुँदा बिरोध हुने कुराको मलाई पुर्वाभास छ र त्यसको लागि म मानसिक रुपमा तयार छु । सत्य कुरा पचाउन नसक्ने विकृत मानसिकताका व्यक्तिहरुको बिरोधको पनि के अर्थ रह्यो र?

प्रकाशित: वैशाख २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार