फोटोफिचर

नगरी काम पुग्दैन खान...

- गगन थापा

वैशाख १८, २०७४-बढ्दो सहरीकरण र भूकम्पपछिको पुनर्निर्माणका लागि इँटाको माग ह्वात्तै बढेको छ । तर मेसिनबाटै इँटा बनाउने भट्टी थोरै छन् । अधिकांश भट्टामा कामदारहरू हातले नै इँटा बनाउँछन् । 

विभिन्न जिल्लाबाट पूरै परिवार राजधानीका इँटा भट्टामा काम गर्न आउँछन् । बालबच्चादेखि वृद्धवृद्धा र गर्भवतीसम्मले क्षमताले भ्याए काम गर्छन् । इँटा बनाएर सुकाएबापत १ रुपैयाँ पाउँछन् । र, त्यही इँटा बजारमा पुगेपछि ग्राहकले २५ रुपैयाँसम्म तिर्छन् । 

राजधानीका इँटा भट्टामा वर्षको ६ महिना मात्र काम हुन्छ । काँचो इँटालाई घाममा ४ दिनसम्म सुकाएर राख्नुपर्ने भएकाले वर्षायाममा यस्ता कारखानामा काम हुँदैन । पानी पर्‍यो भने इँटा खेर जान्छ । त्यसको ज्याला कामदारले आधा मात्र पाउँछन् । 

उनीहरू दिनमा २० घण्टा लगातार काम गर्छन् । साहुको दबाबले होइन, आफ्नै बाध्यताले । जति धेरै काम गर्‍यो त्यति धेरै पैसा आउने भएकाले । फेरि ६ महिना बेरोजगार हुनु त छँदै छ । केहीले जीविका चलाउन साहुबाट लिएको पेस्की तिर्न पनि ज्यादा काम गर्ने गरेका छन् ।

यो तस्बिर कथा भक्तपुरको इँटा भट्टामा ६ महिना लगाएर खिचिएको हो । यसमा नवविवाहित जोडी विकास मानन्धर, २६ र अनु मानन्धर (१७) को दैनिकी देख्न सकिन्छ यसमा । उनीहरूको जीवन अत्यन्त सरल छ । राति १२ बजे उठेर साझाको ८ बजेसम्म काम गर्छन् । 

उनीहरूको ६ महिनाअघि विवाह भएको हो । ४ महिनायता अनु गर्भवती छिन्, तैपनि दैनिक २० घण्टा काम गर्छिन् । कारखानामा बाहेक घरायसी काम पनि गर्नुपर्छ अनुले । 

रामेछापका विकासका लागि यो कामलाई पुख्र्यौली पेसा भन्दा पनि हुन्छ । उनको बुवाआमाले यही काम गरेर उनलाई हुर्काएका थिए । अनुका लागि यो बिल्कुल नयाँ काम हो । 

वैशाख १४ गते उनीहरू काम सकेर रामेछाप फर्किएका छन् । यो सिजन उनीहरूले जम्माजम्मी १ लाख ५० हजार आम्दानी गरे । विगतको तुलनामा यो वर्ष थोरै आम्दानी भयो । बेमौसमी वर्षात धेरै भएकाले उनीहरूले बनाएको इँटा नष्ट भयो ।

१ लाख ५० हजार आम्दानी गरेका उनीहरू १ लाख साहुसँग ऋण लिएर घर गएका हुन् । यही ऋण तिर्नका लागि पनि उनीहरू आगामी मंसिरमा भट्टामा आएर काम गर्नुपर्छ ।

यसमा विकास र अनुबाहेक पश्चिम नेपालबाट काम गर्न आएकाको बालबालिकाहरूको तस्बिरसमेत समेटिइएको छ, बीचमा र अन्तिममा दायाँतिर ।

०००

यही सोमबार मे १ अर्थात् अन्तर्राष्टिय मजदुर दिवस । मजदुर हकहितका लागि र विशेषत: ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा निद्राको सिद्धान्त लागू होस् भनेर विश्वभर यो दिवस मनाइन्छ । तर, विकास र अनुजस्ता इँटा भट्टामा काम गर्ने श्रमिकका लागि यो दिवसको अर्थ के ?

प्रकाशित: वैशाख १८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार