जीवनशैली

असीवर्षे ‘उदय’

- गणेश राई

वैशाख १७, २०७४- भारतको बनारसमा ८० वर्ष जेठो पत्रिका ‘उदय’ अचेल नियमित प्रकाशन भइरहेको छ । नेपाली साहित्यिक पत्रिका हो यो । नेपाली साहित्यले विश्वभरि फन्को मारिसकेको छ भने यो स्तम्भ जहाँको तहीं छ । मात्रै मियो फेरिएको छ— पहिलेका सम्पादक काशीबहादुर श्रेष्ठ (सन् १९११–१९८९) र अहिलेका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ । व्यक्तिगत साइनोले यी सम्पादक बाबु अनि छोरा हुन् । समर्पण र योगदानका हिसाबले दुवै साहित्यकार अर्थात् नेपाली वाङ्मयसेवी । नेपाली साहित्यको उन्नयन केन्द्र मानिने बनारसबाट १९९३ मा प्रकाशन सुरु ‘उदय’ २०७३ सम्ममा १६३ अंक प्रकाशित छ । 

सन् १९३९ मा जनकपुरमा जन्मिएका साहित्यकार दुर्गाप्रसाद सानै उमेरमा आफ्ना बाबु काशीबहादुर र आमा सुवर्णकुमारी श्रेष्ठका साथ बनारसको चौखम्भा पुगेर स्थायी बसोबास गरे । काशीबहादुरले ३१ वर्षसम्म ‘उदय’ साहित्यिक पत्रिका प्रकाशन गरे । उनको निधनपछि छोरा दुर्गाप्रसादले ३० वर्षदेखि प्रकाशन निरन्तरता दिएका छन् । दुर्गाप्रसादको नेपाली भाषामा ‘सम्झनाको बादल’ र ‘सोनिया’ कथासंग्रह, ‘चण्डीघोष स्ट्रिट’, ‘बागमती साक्षी छ’, ‘उसको अन्तहीन कथाहरू’ र ‘कोसेली’ उपन्यास तथा ‘देश–देशान्तर’ यात्रा संस्मरण कृति प्रकाशित छन् । हिन्दी भाषामा उनका ‘सत्तारे मौसी’ कथासंग्रह, मराठी भाषामा ‘आठव मेघ’ कथासंग्रह प्रकाशित छन् । उनै दुर्गाप्रसादको योगदानको कदर गर्दै नेपाल साहित्यिक पत्रकार संघले वाराणसीमै पुगेर गत फागुन पहिलो साता सम्मान प्रदान गरेको छ । उनै दुर्गाप्रसादले कोसेलीसित आफ्नो अनुभव यसरी बाँडे : 

‘उदय मभन्दा जेठो’    
बनारसमा नेपाली भाषा साहित्यको माहोल पहिलेजस्तो छैन । धेरै अघिसम्म थुपै्र नेपाली विद्यार्थी बनारस पढ्न आउँथे । बालकृष्ण पोखरेल, तारानाथ शर्मा, कोषराज रेग्मी, चूडामणि रेग्मी, चूडामणि बन्धुलगायतले यहीँ पढेका हुन् । त्यो बेला काशी नेपाली साहित्यको प्रादुर्भाव केन्द्र हो । मोतीराम भट्ट यही टोल (चौखम्भा) मा बस्थे । यो चौखम्भा टोल बडा चर्चित छ । आधुनिक हिन्दीका जन्मदाता भारतेन्दु हरिश्चन्द्रको घर यहीं छ । यो टोलको प्रभाव हो कि सहरको प्रभाव– पूरै बनारस साहित्य, धर्म, संस्कृतिको केन्द्र हो । परापूर्व कालदेखि नेपालीहरू यहाँ धर्म गर्न आउँछन् । पृथ्वीनारायण शाहले यहाँ आएर हतियार किनेर लगे भन्ने इतिहास छ । रणबहादुर शाहले यहाँ निर्वासित भएर ललिताघाटमा मन्दिर बनाएर बसे । अहिले पनि छ, त्यो पशुपतिनाथ मन्दिर । पशुपतिनाथकै रेप्लिका हो । 

त्यो बेला नेपाली छात्र संघहरू एक दुईवटा थिए । अहिले संस्कृत छात्र संघ मात्रै छ । पहिला विद्यार्थीहरू बालकृष्ण पोखरेल, तारानाथ शर्माहरूबाटबाट प्रेरणा पाउँथे र उनीहरूमा भएको प्रतिभा निस्कन्थ्यो । अहिले त यहाँ प्रेरणा पाएर पनि प्रतिभा निस्किने ठाउँ छैन । पत्रपत्रिका निस्किँदैन । आजकल पत्रिका छपाउन एकातर्फ अर्थ अभाव छ, अर्कोतर्फ रचना पनि पाइँदैन । म मात्रै ‘उदय’ पत्रिका निकाल्छु । यो पत्रिका नेपाल र भारतको सिक्किम, दार्जिलिङ, आसाम, देहरादूनमा बसोबास क्षेत्रमा नेपालीको प्रतिभा उजागर गर्ने स्रोत भएको छ । 

‘उदय’ मभन्दा जेठो हो । म जन्मेको १९९५ सालमा हो । ‘उदय’ बुवाले निकाल्न थाल्नुभएको १९९३ हो । बुवाले ३० वर्षसम्म निकाल्नुभयो, निरन्तर । त्यसपछि छपाउन सक्नुभएन, पछि बिरामी पर्नुभयो । उहाँको देहावसान पनि भयो । ‘उदय’ बन्द भयो । बीस वर्ष जति बन्द भयो । नेपाल र भारतका साहित्यकारहरूले फेरि प्रकाशन हुनुपर्छ भने । कमलमणि दीक्षितले प्रोत्साहन दिएर फेरि मैले तीस वर्षअगाडि प्रकाशनलाई निरन्तरता दिएँ । बुवाले ८३ अंक निकाल्नुभयो । ८४ बाट मैले सुरु गरें । अहिले १ सय ६३ अंक पुगिसकेको छ । झन्डै झन्डै बुवाको बराबर आउन लागेको छु । अनेक समस्याहरू छन् । तर सहयोगीहरूले ठाउँ–ठाउँबाट मद्दत गरिरहेका छन् । मैले १५०औं अंकमा लेख रचना पनि पाइँदैन र अर्थ अभाव पनि छ भनेर लेख प्रकाशन गरें । कमलमणिजीले उदय बन्द नगर्नोस् भनेर पैसा पठाइदिनुभयो । 
बनारसमा अचेल नियमित छापिने पत्रिका ‘उदय’ मात्रै हो । अरु नेपाली पत्रपत्रिका छापिँदैन ।

नेपालीहरूको संस्कृत छात्र संघ छ, त्यसले वार्षिक पत्रिका निकाल्छ । पहिले यहाँ ‘युगवाणी’ थियो । विश्व नेपाली संघ भन्ने संस्था थियो । अहिले यहाँ नेपालीहरू कम हुँदै गएका छन् । पहिले नेपालमा सुविधा नभएकाले यहाँ आउँथे । अब सबै सुविधा त्यही उपलब्ध छ । छापाखाना, मुद्रण, वितरण, व्यापार सबै सुविधा भयो । त्यसैले यहाँ चाख लिंदैनन् । 

नेपालमा छापिएका कुनै पनि पत्रपत्रिका, पुस्तक बनारस आउँदैन । मलाई ‘उदय’ पत्रिका काठमाडौंबाटै छाप्नोस् भनिएको थियो । के समस्या छ भने नेपालबाट भारतमा पत्रपत्रिका पठाउन बडा गाह्रो छ । डाकबाट पठाउन साह्रै महँगो छ । व्यापारिक हिसाबले आउँदैन । भारतबाट चाहिं जति पनि जान सक्छ । नेपालबाट भारत ल्याउन परमिट (अनुमति) लिनुपर्छ । परमिट हत्तपत्त पाउँदैन । 

सन् २०१० मा देवकोटा शताब्दी मनाउँदाखेरी दार्जिलिङ, असमबाट गएका साहित्यकारहरूलाई नेपालमा किताब उपहार दिइयो । दुई–तीन बाकस भरियो । बोकेर लान गाह्रो भयो । अनि उनीहरूले बोर्डरमा पुगेपछि त्यहीं छोड्नुपर्‍यो । लग्न दिएन । नेपालबाट पुस्तक, पत्रपत्रिका ल्याउन गाह्रो छ । यता (भारत) बाट लैजान सजिलो छ । यो समस्या धेरै पहिलेदेखिको हो । 

मेरो यहाँ अर्को गतिविधि पनि छ । नेपाल–भारत साहित्य सेमिनारहरू गराउने गरेको छु । बीपी कोइराला फाउन्डेसन नेपाल र दिल्लीमा छ । उनीहरूले मलाई जिम्मा दिन्छन् । मैले २००३ मा बनारसमा नेपाल–भारत लेखक सम्मेलन गराएको थिएँ । ८० जना साहित्यकारहरू आउनुभएको थियो । त्यसपछि २००९ मा देहरादूनमा नेपाल–भारत कवि सम्मेलन गराएँ । 

१९९९ मा सिलिगुडीमा फाउन्डेसनले नेपाल–भारत लेखक सम्मेलन गरेको थियो । दुवै देशका दुई सय लेखक सहभागी थिए । त्यही बेला नेपालबाट पुस्तक र पत्रपत्रिका ल्याउन हुने समस्याबारे कुरो उठेको थियो । दुवै देशका राजदूतले ‘आफ्नो सरकारसमक्ष उठाउँछौं’ भनेर प्रतिबद्धता जनाएका थिए । दुई–दुई वर्षमा सम्मेलन हुन्छ । एकपटक नेपालमा, एकपटक भारतमा । जतिपटक सम्मेलन हुन्छ, उतिपटक समस्याको उठान हुन्छ । तर अहिलेसम्म सम्बोधन भएको छैन ।

साहित्यिक पत्रिकाको क्षेत्र एकदम विशाल भएको छ । साहित्यिक सामग्रीमै चित्त बुझाउनुपर्ने अवस्था रहेन । राजनीतिदेखि अनेकन पत्रपत्रिका छन् । तर साहित्यिक पत्रकारिता मुख्यत: मानिसको दिमागी खुराक प्रदान गर्छ । त्यो अरूले गर्न सक्दैन । यो काम मेरो मात्रै होइन, अग्रजहरू र समकालीनहरूको प्रेरणाबाट निरन्त रहन्छ । चालीस वर्षअगाडि मेरो बुवा काशीबहादुर श्रेष्ठलाई काठमाडौंमा साहित्यिक पत्रकार संघले सम्मान गरेको थियो । आज म बनारसमै साहित्यिक पत्रकार संघबाट सम्मानित हुने अवसर पाएको छु । आगतमा बनारसबाट नेपाली भाषा, साहित्य, संस्कृति प्रवद्र्धन गर्ने पुस्ताको अभाव खट्किँदै गएको छ । तर पनि नेपाली भाषा अब झाँगिइसकेको ठानेको छु ।

प्रकाशित: वैशाख १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार