फिचर

लाहुरे बन्ने बक्र बाटो

  • शिक्षा आर्जनको नाममा झन्डै १८ वर्ष विद्यालय तथा विश्वविद्यालय खर्चिएर विदेशमा शून्य तहबाट ‘ब्लू कलर जब’ सुरु गर्नुपर्छ भने भन्नैपर्ने हुन्छ— कि हाम्रो शिक्षामा समस्या छ कि मनोविज्ञानमा । कहीँ त अवश्य खोट छ ।
- सम्झना वाग्ले भट्टराई

हामी हाम्रा जनशक्तिलाई मुलुकभित्रै रोजगारी दिन सक्दैनौं भने वैदेशिक रोजगारीका लागि लक्षित देशहरूमा काम गर्न सहज हुने शिक्षा किन नदिने ?

वैशाख १६, २०७४-निशा स्कुलदेखि नै खुब मिल्ने एक साथी थिई । कक्षाका प्रतिभाशाली भनेर चिनिन्थ्यौं हामी दुवै जना । नियमित परीक्षामा मात्र होइन अतिरिक्त क्रियाकलापहरू, जस्तै : हाजिरीजवाफ, निबन्ध लेखन, कविता गोष्ठीजस्ता प्रतिस्पर्धामा पनि हामी सधैंजसो पहिलो वा दोस्रो हुने गथ्र्यौं । एक ढंगले भन्दा ‘सम्झना एन्ड निशा कम्पनी’ को ‘मनोपोली’ जस्तै थियो स्कुले पुरस्कारमा । मेरो स्कुले जीवनमा घरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मैले जितेका पुरस्कारको हिस्सा पनि उल्लेख्य थियो । 

जीवनमा कहिल्यै अर्थशास्त्र विषय औपचारिक नपढेकी म यसै लेखको पहिलो अनुच्छेदमा ‘मनोपोली’ ‘जीडीपी’ जस्ता अर्थशास्त्रका प्राविधिक शब्द प्रयोग गरिरहेकी छु । यी र यस्ता अन्य शब्दसँग मलाई परिचित गराउने उही थिई साथी निशा । निशा त्यतिखेर शंकरदेव क्याम्पसमा बीबीएस पढ्दै थिई । म भने महेन्द्ररत्न क्याम्पस ताहाचलमा जनसंख्या मूल विषय लिएर बीएड पढ्दै थिएँ । देशमा २०६२/६३ को आन्दोलन भर्खर सकिएको थियो । नयाँ नेपाल, आर्थिक क्रान्तिजस्ता शब्दहरू बजारमा नवप्रवेशी भए पनि यिनको प्रयोग ह्वात्तै बढेको थियो । यस्तै माहोलमा निशा र म राजनीतिक विषयमा गफिने गथ्र्यौं । समाचारमा सुनिने र पत्रपत्रिकामा पढिने समाचार र भाषणहरूमा आधारित भएर हाम्रा घण्टौं देश विकासमा गफिन्थ्यौं । 

निशा भन्थी, ‘हाम्रो देशमा के छैन ? प्राकृतिक स्रोतको अथाह भण्डार छ, सामाजिक, सांस्कृतिक विविधता छ । तर न स्रोतको सही व्यवस्थापन हुन सकेको छ, न आवश्यक मार्केटिङ नै । सही व्यवस्थापन र मार्केटिङ हुन सक्ने हो भने देश सिंगापुर बन्न समय लाग्दैन ।’ ऊ थप्थी, ‘आफ्नै नाभिमा भएको कस्तूरीबारे थाहा नपाउने कस्तूरी मृगजस्तै अब हामी भौंतारिने होइन । अव यो स्थितिको अन्त्य हुनुपर्छ । जलविद्युत् र पर्यटनमा केन्द्रित भएर बढीमा ५ वर्षमा प्रतिव्यक्ति आय अहिलेको भन्दा दोब्बर बनाउनुपर्छ ।’ ऊ ठ्याक्कै नेता नै लाग्थी त्यति बेला । उसको प्रस्तुति पनि त्यस्तै हुन्थ्यो । कुनै विद्यार्थी संगठनको सदस्य पनि थिई । 

ऊ व्यवस्थापन विषयकी विद्यार्थी, अर्थशास्त्र पनि पढेकी थिई । तथ्यांकहरूसहित तर्क गर्थी । विविध देशका उदाहरण दिन्थी । जनसंख्या शिक्षा पढेकी मलाई यस्ता कुरा केही थाहा थिएन । यिनै कुराकानीको सिलसिलामा त हो उसले मलाई कुल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, गिनी कोफिसियन्ट, मनोपोली, हेजिमोनीजस्ता प्राविधिक शब्दहरूसँग परिचित गराएकी । यसै क्रममा हाम्रो योजना बनेको थियो ऊ बीबीएसपछि अर्थशास्त्रमा र म समाजशास्त्रमा मास्टर्स गर्ने । अनि सोसियो–इकोनोमिक अनुसन्धानमा संलग्न भई नाम–दामसहित नयाँ नेपाल निर्माणमा योगदान पुर्‍याउने । 

झन्डै दस वर्ष बित्यो । डीभी परेको केटासँग बिहे गरेर ऊ अमेरिका हानिई । देश यस्तै छ । ऊ आफन्तको बिहेको मौका पारेर नेपाल आएकी छ । २–३ पटक भेट अनि कुराकानी भयो । लामै कुराकानी । कसरी उसले अंग्रेजी ‘फ्लुएन्ट’ बनाइछ । ‘सब वे’ मा काम गर्दाका अनुभवहरू, बिस्तारै ब्युटिसियन सिक्दै, आफैंले ब्युटिपार्लर सुरु गरेका अनुभवहरू सुनाई । ‘तँ पनि यूएस ट्राई गर, उता गएपछि हामी ‘हेल्प’ गरिहाल्छौं । बिस्तारै सबै ठीक हुन्छ’ पनि भनी । ट्रम्प र उसले लिएका आप्रवासी सम्बन्धी नीतिले गाह्रो पार्छ कि भन्नेसम्मका कुरा भए । 

म उसले सिकाएका जीडीपी, गिनी कोफिसियन्टजस्ता प्राविधिक शब्दहरू बिस्तारै बुझ्दै छु । मैले अहिले अलि–अलि बुझ्न थालेका शब्दहरूबारे, तिनका अर्थ र संकेतबारे ऊ त्यतिखेरै सुपरिचित थिई । यस्तै विषयमा मैले सोध्न चाहें । उसले मलाई अनौठो ढंगले हेरी । अनुहारको भाव केही बदलियो । र भनी– मलाई यी सबबारे केही चासो छैन, बिर्सी पनि सकें । ‘बुझाइमा आएको स्थायी परिवर्तनलाई नै शिक्षा’ भनिन्छ भनेर पढेकी मलाई उसको यो प्रतिक्रियाले शिक्षाको परिभाषामा ‘कन्फ्युज्ड’ बनायो ।

उसका व्यवहारहरूमा केही बद्लाव भने आएको रहेछ । जता पनि थुक्दै हिँड्ने र खाइसकेको चुइँगम जथाभावी फाल्ने ऊ अहिले सानो कागज फाल्न पनि डस्टबिन खोज्ने, नपाए पोको पारेर झोलामा राख्ने भइछे । तर स्नातक तहमा पढ्दै गर्दा कुल राष्ट्रिय आम्दानी, देशको पुँजीगत खर्च तथा चालु खर्च, व्यापार घाटा आदिबारे तथ्यांकसहित व्याख्यान गर्ने तथा समस्या पहिचान गरी समाधानको सूत्र प्रस्तुत गर्ने ऊ अहिले सौन्दर्य प्रशाधनका उत्पादनहरूबारे मात्र चासो राख्ने भइछ । यो चासो र ज्ञानलाई कम आँकेको होइन तर स्नातक पढ्दासम्म, त्यो ज्ञान प्राप्तिका लागि उसले, उसको परिवारले र राष्ट्रले गरेको लगानीको प्रतिफल अहिले त शून्यबाट बिस्तारै नकारात्मकतर्फ पो गइसकेछ भन्ने मात्र मेरो सवाल हो । 

अहिले हाम्रो देशबाट रोजगारीका लागि मलेसिया तथा खाडी मुलुकमा मात्र होइन अध्ययनका लागि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा जापानलगायतका देशहरूमा जाने क्रम बढ्दो छ । सन् २०१५/१६ मा मात्र झन्डै ३० हजार विद्यार्थीले विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । अघिल्ला वर्षहरूमा पनि झन्डै यति नै संख्यामा विद्यार्थीहरू अध्ययनका लागि बिदेसिने गरेका छन् र यो संख्या बढ्दो क्रममा छ । अध्ययनका लागि बिदेसिनु नराम्रो अवश्य होइन । तर अध्ययनको नाममा बिदेसिएका कति प्रतिशत युवाहरू साँच्चै अध्ययनमै छन् त ? यो कुनै अनुसन्धान प्रतिवेदनमा आधारित होइन तर अध्ययनकै नाममा बिदेसिएका आफ्नै नातागोता र साथीहरूसँगको कुराकानी र अब्जर्भेसन अध्ययनको आधारमा भन्न सक्छु ९० प्रतिशतभन्दा बढी अध्ययनको नाममा बिदेसिने मध्यम र निम्नमध्यम आर्थिक पृष्ठभूमिका युवाहरू तत्काल रोजगारीलाई नै पहिलो प्राथमिकतामा राखेका छन् । 

मेरो साथीको आफ्नै भाइ जापानमा छ । व्यवस्थापनमा मास्टर्स गरेको । पोर्क प्याकिङको काम गर्छ रे । ग्रामीण विकासमा मास्टर्स गरेको अर्को साथी, अस्ट्रेलियामा कुक छ । अंग्रेजी साहित्यमा मास्टर्स सकेर अमेरिका पुगेको अर्को दाइ ग्यास स्टेसनमा काम गर्छ रे । तथ्यांकशास्त्रमा मास्टर्स सकेर, नेपालकै स्थापित संस्थामा काम सुरु गरेको दाइ अमेरिका पुगेर ट्याक्सी चलाउँछ । बीएस्सी सीएसआईटी सकेर नर्वे गएको अर्को साथी रेस्टुरेन्टमा भाँडा माझ्छु भन्छ । यी पेसाहरूमा राम्रो कमाइ हुन्छ रे । यी मेरा आफ्नै चिनजानमा रहेका मेरा आफ्नै आफन्तका, साथीका केही कुरा । 

देशमा रोजगारीको अवसर छैन, रोजगारीका लागि बिदेसिनु के नराम्रो त ? नराम्रो अवश्य होइन । माथि उदाहरणस्वरूप प्रस्तुत गरेका कामहरू पनि साना भन्न खोजिएको होइन । सबै काम सम्मानयोग्य छन् र अति आवश्यक पनि । तर मेरो मतलब न्यूनतम प्लस टुदेखि स्नातक, स्नातकोत्तर तहसम्मको पढाइ सकेर त्यो पढाइसँग कुनै पनि तादात्म्य नमिल्ने कामका लागि बिदेसिनुले, ती लाखौं युवाले स्वदेशमा गरेको समय, मिहिनेत र आर्थिक लगानीको प्रतिफल के त ? 

त्यसो त, देशको कुल जीडीपीमै झन्डै ३२ प्रतिशत हिस्सा त विप्रेषण आयले ओगटेको छ भने अध्ययन वा जेको नाममा भने पनि बिदेसिनु सामाजिक गर्वको विषय बनेको छ । खुला बजार अर्थतन्त्रले, संसारको व्यापकतालाई विश्वग्रामको अवधारणामा खुम्च्याइदिएको छ । शिक्षा तथा रोजगारीका लागि विश्वको जुनै कुनामा पुग्नु पनि अब सामान्य बनिसकेको छ । विश्वका विभिन्न देशबाट अवसरको खोजीमा विकसित देशहरूमा जानु सामान्य बनिसकेको छ । फिलिपिन्स, बंगलादेश, तान्जिनियाजस्ता देशहरूले वैदेशिक रोजगारीलाई लक्षित गरेर जनशक्ति निर्माण पनि गरिरहेका छन् । तर हाम्रो देशको विडम्बना के भने समाजशास्त्रमा स्नातकोत्तर गरेको युवा जापानमा पोर्क प्याकिङमा लाग्न अभिशप्त छ । यो अवस्थामा आफ्नो गाँस काटेर छोराछोरी पढाउने अभिभावक के सोच्छन् कुन्नि ?

लेख्दै गर्दा भैरव अर्याल सम्झिरहेको छु । ‘...रक्सौलमा रिक्सा चलाऊ वा दरभंगामा दरवानी गर, मलायामा बुट ठोक कि, मणिकर्णिकामा मुर्दा बोक... घर गएपछि तिमी लाहुरे भइहाल्छौ ।’ झन्डै ४० वर्षअगाडि भैरव अर्यालको ‘लाहुरे’ निबन्ध छापिएको समयजस्तो अहिले लाहुरे शब्द सबैतिर लागू नहोला वा रोजगारीका गन्तव्यहरू विस्तार भए हुनन् तर अपवाद छोडेर नेपालीको लाहुरे शैली फेरिएको छैन । हाम्रो समाजिक पारिवारिक मनोविज्ञान त लाहुरेप्रति झन् व्यापक भएको छ । जे गरोस् जसो गरोस् विदेश भनेको विदेशै हो भन्ने मनोविज्ञान जबर्दस्त स्थापित छ । होइन भने हाम्रो शिक्षा तथ्यांकशास्त्रमा स्नातकोत्तर सकेर अमेरिकामा ट्याक्सी चलाउनका लागि हो ? हामी के पढ्छौं, के पढाउँछौं ? हाम्रा विश्वविद्यालयहरूमा दिइने शिक्षा के हो र किन दिइन्छ ? आठ कक्षा मात्र पास गरेको युवा जो मकाउमा सेक्युरिटी गार्डको काम गर्छ वा एसएलसी पास नभएकै अर्को युवा जग्गा दलालीको काम गर्छ र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको युवा जापानमा पोर्क प्याकिङ गर्छ भने हाम्रा विद्यालय वा विश्वविद्यालयले दिएको शिक्षाको उपादेयता के ? 

हो, अधिकांशका लागि नेपालमा बाह्र पन्ध्र वर्ष पढाइमा गरेको लगानी त्यस्तै विकसित देशहरूमा छिर्नका लागि अपनाइने ‘चोरबाटो’ का लागि मात्र हो । भाषा वा उच्चशिक्षाका लागि भनेर प्रवेश गर्‍यो अरू नै काम गरेर बस्यो, यथार्थ यही हो । देशले शिक्षा नीति र कार्यक्रम ल्याउँदा, उत्पादित जनशक्तिलाई कहाँ र कसरी उपयोग गर्ने भन्ने सोच्दैन ? राज्यले प्रत्यक्ष अप्रत्यक्ष लगानी गरेर विज्ञान विषयमा दक्ष बनाएको युवा युरोपको कुनै सडकमा ट्याक्सी चलाउँछ वा अस्ट्रेलियाको कुनै रेस्टुरेन्टमा कुक छ भने देशले वा उसको परिवारले गरेको लगानीको प्रतिफल के भयो ? लाखौं अभिभावकले शिक्षाको नाममा गरेको लगानी, देशले शिक्षामा छुट्याएको खर्बौंको बजेट यसरी बालुवामा पानी खन्याएजस्तो हुन्छ भने त्यो लगानीको के अर्थ ? 

मलाई राम्रोसँग थाहा छ, मेरो आफ्नै छिमेकी काकाले छोरालाई साइन्स पढाउन कति वर्षसम्म पेटभर भात खानु भएन । काकीले कतिसम्म दु:ख गर्नुभयो भन्ने कुराको म आफैं साक्षी छु । हामी छोराछोरीलाई ३–४ वर्षको उमेरबाट नै पढाउन सुरु गर्छौं । सम्भव भएसम्म छोराछोरीको पढाइका लागि लगानी गर्छौं । हाम्रै आमाबुवाले हाम्रो पढाइको लागि भनेर कति दु:ख गर्नुभएको छ । कति आफ्ना रहर र आँत मार्नुभएको छ । देशले आवधिक योजना बनाउँदा वा वार्षिक बजेट बनाउँदा शिक्षालाई प्राथमिकता दिन थालेको धेरै भइसक्यो । त्यति धेरै लगानी गरेर पढाइएका हामीहरू, त्यति धेरै दु:ख गरेर जानिएका कुराहरू चटक्क छाडेर कार्यक्षेत्र बिल्कुल नयाँ अँगाल्छौं भने त्यो अध्ययनको के अर्थ ? त्यसको कमाइले जीवन त सहज होला, तर अभिभावकले गधाझैं जोतिएर हामीमाथि गरेको लगानीलाई बीचबाटोमै मिल्काइदिएजस्तै भएन र ? 

त्यसो त विदेशमा गएर पढ्ने तथा काम सिकेर आउनुका धेरै फाइदा छन् । कतिले गुणस्तरीय शिक्षा आर्जनपश्चात् राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा ठूलो योगदान पुर्‍याएका पनि छन् । त्यस्तै कतिपयले विदेशबाट सीप सिकेर स्वदेशमा अनुकरणीय काम पनि गरेका छन् । झन्डै २५ वर्षसम्म एकपटक पनि चियासम्म नपकाएको मेरो दाइ अस्ट्रेलियामा कुनै रेस्टुरेन्टमा ‘मास्टर सेफ’ छ । कमाइ राम्रो छ । कहिलेकाहीं आउँदा आफैं पकाएर मीठो खुवाउँछ पनि । भाउजू पनि खुसी छन् । तर चियासम्म पकाउन नलगाई छोरोलाई डाक्टर वा इन्जिनियर बनाउँछु भनेर झन्डै १५ वर्षसम्म लगातार लगानी गर्ने आमाबुवा र फिजिक्स र केमेस्ट्रीका पट्यारलाग्दा फर्मुलाहरू कण्ठ गर्न लगानी गरेको समय सम्झँदा कस्तो महसुस होला है आमाबुवा र स्वयं दाइलाई ? उच्चशिक्षा नीतिले देशको विशेषता र विकासका सम्भाव्यतालाई प्राथमिकता दिएर सक्षम जनशक्ति निर्माणमा जोड दिने भनेको छ तर विश्वविद्यालय शिक्षा सकेको कुनै युवा ‘ब्लू कलर जब’ गर्न अभिशप्त छ भने हाम्रो विश्वविद्यालयले कस्तो शिक्षा दिन्छ वा यी विषयगत शिक्षाका उपादेयता के हो भन्ने प्रश्न स्वभावैले उठ्छ । के पढाइको अन्तिम विन्दु भनेको जे गर जसो गर पैसा नै कमाऊ हो ?

र अन्त्यमा, कोदोको आफ्नै महत्त्व छ, उपयोगिता छ, धानको आफ्नै छ । तर कोदो रोपेर धान फल्नु वा धान रोपेर कोदो फल्नु स्वाभाविक हुँदै होइन । त्यस्तै अस्वाभाविक देखिन्छ हाम्रो शिक्षा । हामी हाम्रा जनशक्तिलाई देशमा रोजगारी दिन सक्दैनौं भने हाम्रा लक्षित देशहरूमा काम गर्न सहज हुने शिक्षा किन नदिने ? त्यसैअनुसारको पाठ्यक्रम किन तयार नगर्ने ? शिक्षा आर्जनको नाममा झन्डै १८ वर्ष विद्यालय तथा विश्वविद्यालय खर्चिएर विदेशमा शून्य तहबाट ‘ब्लू कलर जब’ सुरु गर्नुपर्छ भने भन्नेपर्ने हुन्छ कि हाम्रो शिक्षामा समस्या छ कि हाम्रो मनोविज्ञानमा । कहीँ त अवश्य खोट छ । विभिन्न दातृ निकायको सहयोगमा सञ्चालित विद्यालय शिक्षा सुधार कार्यक्रम तथा उच्च शिक्षा सुधार कार्यक्रमले यसमा सुधार ल्याउला त ? कि हाम्रो सामाजिक मनोविज्ञानमा नै परिवर्तन आउनुपर्ला !

प्रकाशित: वैशाख १६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार