फिचर

सम्बन्ध : देहरादूनमा ‘मिनी नेपाल’

  • ‘नालापानीमा हाम्रा पुर्खाले वीरतापूर्वक लडेको इतिहास अहिले पनि साक्षी छ । त्यही इतिहासले देहरादूनका गोर्खालीलाई एकताबद्ध बनाएको छ ।’
- राजेन्द्र नाथ / भवानी भट्ट

वैशाख १६, २०७४- ८३  वर्षीय प्रेम पुल्लाथापाको टोली नौमती बाजा बजाउँदै थियो । ७ वर्षीया अनुष्का थापा र ९ की अनिशा रानासहितका बालिका मज्जाले कम्मर मर्काइरहेका देखिए । उमेरले नेटो काटे पनि नौमती बजाइरहेका थापामा ती बालिकाको भन्दा कम्ता जोस थिएन । गत फागुन अन्तिम साता देहरादूनमा यस्तै दृश्य देखिए ।

भारतको उत्तराखण्डको राजधानी हो, देहरादून । त्यहाँको परेड ग्राउन्डमा नेपाली भाषीहरूको त्यो दिनको सांस्कृतिक मोह देखेर भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि चकित थिए ।
सांस्कृतिक कार्यक्रम भन्नेबित्तिकै थापा काँधमा मादल बोकिहाल्छन् । ६ दशकदेखि देहरादूनमै बसाइ छ, उनको । उनीबिना यो क्षेत्रमा हुने सांस्कृतिक कार्यक्रम खल्लो लाग्छन् । उनी नौमती र मादल मात्र बजाउँदैनन्, सोरठी पनि मजाले गाउँछन् । ‘आफ्नो कला संस्कृति त जोगाउनुपर्‍यो नि ?’ भारतीय गोर्खा सेनाबाट निवृत्त भएका थापाले सुनाए ।
उनको पुख्र्यौली थलो, स्याङ्जाको कोल्मा हो । फौजी जागिर । सेवानिवृत्त भएपछि देहरादून नै रोजे । ‘नेपाली मूलका अरू फौजी दाजुभाइ यतै छन्, उनीहरू बसेकै कलोनीमा घर बनाएँ,’ थापा भन्छन्, ‘विभिन्न चाडपर्व र सांस्कृतिक कार्यक्रममा नेपाली संस्कृति झल्किने बाजा बजाउँछु ।’ खासगरी दसैंैं, तिहार, तीज, माघे संक्रान्ति र नयाँ वर्षमा यहाँ बसोबास गर्ने विभिन्न समुदायका गोर्खाली एकै ठाउँमा भेला हुन्छन् । रमाइलो गर्छन् र सुख–दु:ख एकआपसमा बाँड्छन् ।

चाडपर्वका बेला घाटु, सोरठी, मारुनी, कौडा, सालैजो र झ्याउरे भाका छुट्ने कुरै हुँदैन । त्यो बेला देहरादून भारत उत्तराखण्डको राजधानीभन्दा ‘मिनी नेपाल’ जस्तो लाग्छ । परम्परागत पोसाकमा सजिएका महिलाको माहोलको बेग्लै हुन्छ । सबैले आ–आफ्ना चाडपर्वका बेला एक अर्काे समुदायलाई निम्त्याएर परम्परासँगै नेपालको न्यास्रो भुलाउँछन् ।

‘पुर्खाको संस्कृति जोगाउनु हाम्रो पनि कर्तव्य हो, फरक भूगोलमा बसे पनि संस्कृति छाड्न मिल्दैन, हामीले छाड्दै गएपछि सन्ततीले कहाँबाट देख्लान् र सिकलान्,’ थापा खुल्छन् । केही वर्षयता देहरादूनमा यस्तो माहोल जुर्न थालेको हो । बीचको समयमा कसैको कसैलाई वास्ता थिएन । अहिले नेपाली मूलका यी भारतीय नागरिकले आफ्ना जातिविशेष समितिहरू गठन गरेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
०००
फागुन अन्तिम साता देहरादूनमा इन्डो–नेपाल व्यापार मेला तथा पर्यटन महोत्सवको समापन हुँदै थियो । त्यही कार्यक्रममा थापाको टोली बाजा बजाइरहेको थियो । ‘उमेरको ताल नमिले पनि सांस्कृतिक कार्यक्रममा ताल मिलाउनुपर्छ,’ उनी भन्दै थिए । युवा पुस्ता पाकाको सिको गर्न थालेका छन् ।

गोर्खाली महिला औपचारिक कार्यक्रममा चुरा पोतेसँगै गुन्यु–चोली लगाएर सहभागी हुन्छन् । कलिला बालबालिका त्यो पहिरन लगाउन हौसिन्छन् । पुरुष त दौरा–सुरुवाल र नेपाली टोपीमा नठाँटिने कुरै भएन । यसले संस्कृतिसँगै पहिचानको समेत रक्षा गरेको उनीहरूको बुझाइ छ ।

पुरानो पुस्ताले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्दै आएका छन्, यसले पराई भूमिमा बस्दा पनि नेपाली संस्कृति संरक्षणमा मद्दत पुगिरहेको छ । सबैको समान सहभागिताले नयाँ पुस्ता पनि खुल्न थालेको छ । 
‘यहाँ हुने जुनसुकै औपचारिक कार्यक्रममा पनि हामी परम्परागत पहिरनमै सहभागी हुन्छौं,’ दुई पुस्तादेखि देहरादूनमा बसोबास गरिरहेकी देवी राना भन्छिन्, ‘केही वर्षअघिसम्म यस्तो थिएन । भारतीय मगर समाज गठन गरेर कार्यक्रम गर्न थालेपछि यस्तो परिवर्तन आयो ।’ स्याङ्जा पुख्र्याैली घर भएकी उनलाई अहिले यहाँ हुने कार्यक्रममा सहभागिता जनाउँदा स्याङ्जाकै घरमै पुगेजस्तो हुन्छ रे ।

नालापानी किल्लाले बाँधेको समाज
देहरादूनमा करिब ७ लाख नेपालीको बसोबास रहेको अनुमान छ । तीमध्ये अधिकांश भारतीय सेनामा कार्यरतका परिवार हुन् । उनीहरू सबैलाई ऐतिहासिक नालापानी किल्लाले एकताको सूत्रमा बाँधेको छ । सबै गोर्खाली किल्ला संरक्षणमा जुटेका छन् । वर्षको एकपटक नालापानी मेला लाग्छ । सालको एकनासे वन छिचोल्दै डाँडाको टाकुरामा रहेको त्यो ऐतिहासिक किल्लामा पुग्दा पाका पुस्ता तन्नेरीलाई नेपाली बहादुरीका अनेक किस्सा सुनाइरहेका हुन्छन् ।

गत वर्ष अक्टोबरमा भब्यताका साथ मनाइयो, दोस्रो गोर्खा शताब्दी । देहरादून बजारभन्दा १२ किलोमिटरमाथिको टाकुरामा रहेको किल्लामा सांस्कृतिक कार्यक्रम गरियो । ‘हाम्रा पुर्खाहरू अंग्रेजको पालादेखि नै यहाँ बस्दै आएका हुन्,’ उत्तराखण्ड भूतपूर्व सैनिक निगम लिमिटेडमा लेखापाल पदमा कार्यरत रवि राना भन्छन्, ‘नालापानीमा हाम्रा पुर्खाले वीरतापूर्वक लडेको इतिहास अहिले पनि साक्षी छ । त्यही इतिहासले यहाँका गोर्खालीलाई एकताबद्ध बनाएको छ ।’

सन् १८१४ मा ३ हजार ५ सयभन्दा बढी अंग्रेज सेनासँग बलभद्र कुँवर नेतृत्वको नेपाली फौजले वीरतापूर्वक लडेको थियो । ५–६ सय नेपाली महिला र बालबालिका मात्र थिए, बलभद्र नेतृत्वको फौजसँग । तैपनि नेपाली फौजले उच्च कौशल र बहादुरीका साथ लडेको किल्लास्थित शिलालेखमा उल्लेख छ । अंग्रेज सेनाको नेतृत्व मेजर जनरल रबर्ट रोल जिलेस्पीले गरेका थिए । हातहतियारले सुसज्जित अंग्रेज सेनालाई घरेलु हतियार खुकुरीले नै प्रतिकार गरेको थियो नेपाली फौजले । ३–४ पटक विफल नै पारिदिएको थियो । अन्त्यमा केही सीप नलागेपछि अंग्रेज सेनाले सहस्रधाराबाट नालापानी किल्लामा पुग्ने खानेपानीको स्रोत नै बन्द गरेको सियो ।

‘खलंगा विकास समिति गठन गरेरै नालापानी किल्लाको संरक्षणमा जुटेका छौं,’ रवि राना भन्छन्, ‘३ वर्षयता संरक्षणले गति लिँदै गएको छ । इतिहासलाई बचाइराख्ने दायित्व हामी सबैको हो ।’ देहरादून सहरदेखि किल्लासम्मको वनक्षेत्रसमेतको १२ किलोमिटर बाटो कालोपत्रे गरिएको छ । समितिले खलंगासँगै सहस्रधाराको संरक्षणमा पनि जोड्दिएको छ । अहिले समितिले हरेक वर्ष खलंगामा सांस्कृतिक कार्यक्रम गरेर बलभद्रको फौजलाई सम्झिने गरिन्छ ।
०००
कञ्चनपुरस्थित उद्योग वाणिज्य संघ र देहरादूनको व्यापार मण्डलले पहिलोपटक आयोजना गरेको थियो, इन्डो–नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव । महोत्सवमा नेपाली कला–संस्कृति झल्कने स्टल आकर्षणका केन्द्र थिए । देहरादूनमा बसोबास गर्ने नेपालीभाषीहरूले तिनलाई औधि मन पराए । नेपाली सांस्कृतिक कार्यक्रम अर्को आकर्षण थियो । मेला सुरु भएको दिनदेखि नै नेपालीभाषीको थेगिनसक्नु भीड थियो । ‘यस्ता मेला–महोत्सव निरन्तर भइरहनुपर्छ,’ उनै ८३ वर्षीय प्रेम पुल्ला थापा भन्दै थिए, ‘आफ्नै गाउँघरमा पुगेको अनुभूति भयो ।’ ‘उस्तै संस्कृति–सभ्यता र भौगोलिक बनावट भएको उत्तराखण्डले औद्योगिक क्षेत्रमा मारेको फड्कोबाट धेरै कुरा सिक्न सक्छौं,’ उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावल भन्छन्, ‘अनुभव आदानप्रदान र यताका व्यापारीलाई नेपालका लगानीका क्षेत्र चिनाउने काम भएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’

प्रकाशित: वैशाख १६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार