स्वास्थ्य

के हो ब्रोङकियल अस्थमा ?

  • निको नभए पनि नियन्त्रण गर्न सकिन्छ
- अतुल मिश्र

रोग प्रभावित बालबालिका, युवा, वयस्क, बूढापाका सबै शारीरिक रूपमा सक्रिय रहनुपर्छ । आफूलाई अनुकूल हुने खेलकुद, व्यायाम आदिमा लाग्नुपर्छ ।डा. रमेश चोखानीवरिष्ठ छाती रोग विशेषज्ञ

वैशाख १६, २०७४-खोकी लागिरहनु, सास फेर्नमा कठिनाइ हुनु वा घ्वाँरघ्वाँर आवाज आउनुजस्ता नियमित रूपमा देखिने लक्षण भएका ब्रोङकियल अस्थमा (दम) का बिरामीहरू हाम्रो मुलुकमा प्रशस्त छन् ।

आफ्नो अढाइ दशकको चिकित्सा उपचार यात्रामा हाम्रो मुलुकमा ब्रोङकियल अस्थमाका रोगीमा वृद्घि भइरहेको पाएको वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानी बताउँछन् ।

यो रोगको चपेटामा पर्नेहरूमा बालबालिका र वयस्कदेखि बुढापाकासम्म छन् । अर्थात्, सबै उमेर समूहका ।

हाम्रो मुलुकमा करिब ५ प्रतिशत जनसंख्यामा यो समस्या रहेको आकलन गरिन्छ । विकसित मुलुकहरूमा भने १० देखि १५ प्रतिशतसम्म यस्ता रोगी छन् । ब्रोङकियल अस्थमाको प्रसार र वृद्घिबारे हालसम्म हाम्रो मुलुकमा खासै कुनै महत्त्वपूर्ण अध्ययन भएको त छैन, तर सहरीकरण, औद्योगिकीकरण लगायतका भौतिक विकाससँगै विश्वव्यापी रूपमा समेत यो रोग बढ्दो देखिएको छ । 

ब्रोङकियल अस्थमाका बिरामीमा सास नलीभित्र रहेको सबैभन्दा बाहिरी तह (लाइनिङ) निकै संवेदनशील हुन्छ । यसैले अन्य व्यक्तिलाई सासको माध्यमले शरीरभित्र जाने विभिन्न प्रदूषित कणले खासै असर नगरे पनि यस्ता बिरामीका लागि भने त्यही वस्तु रोग उत्पन्न गर्ने कारक बन्ने गरेको डा. चोखानी बताउँछन् । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलनअनुसार विश्वमा हाल करिब २३ करोड ५० लाख व्यक्ति अस्थमाबाट प्रभावित छन् । यो बालबालिकाका लागि समेत सामान्य रोग भएको छ ।

अस्थमा हुने आधारभूत कारण हालसम्म पूर्ण रूपमा ज्ञात हुन सकेको छैन । अस्थमा विकसित हुने सबैभन्दा प्रवल जोखिमका कारकहरू हुन् : आनुवंशिक प्रवृत्ति, वातावरणीय जोखिम, एलर्जी वा सास नलीलाई उत्तेजित पार्ने ससाना कणहरू । 

डब्लूएचओका अनुसार अस्थमा उत्पन्न गर्ने यस्ता कारक घरभित्र समेत हुन्छन् । ओछयानमा हुने अति सानो एक प्रकारको कीरा, कार्पेट, फर्निचर, घरपालुवाको जीउबाट निस्किने छाला र रौँजस्ता कारकहरू घरभित्रै हुन्छन् । घरभित्र हुने धुलोले पनि नोक्सान गरिरहेको हुन्छ । 

एलर्जी उत्पन्न गर्ने घरबाहिरका पदार्थ हुन् : पराग कण, ढुसी, सुर्तीको धुलो, कार्यस्थलमा हुने रासायनिक उत्तेजक पदार्थ, चिसो हावा, एस्प्रिन र अन्य ननस्टेरोइड एन्टी इन्फ्लामेन्ट्री औषधि, उच्च रक्तचाप, मुटु र माइग्रेनमा उपयोग गरिने विटा ब्लकर औषधि । त्यस्तै, रिस, डर वा शारीरिक व्यायामजस्ता अत्यधिक भावनात्मक अवस्थाले पनि अस्थमाका लागि ‘ट्रिगर’ को काम गर्न सक्छन् ।

 

लक्षण 

खोकी, श्वासप्रश्वासमा कठिनाइ लगायतका समस्या ब्रोङकियल अस्थमामा विभिन्न चरणमा देखिने गर्छन् । यो समस्याले कहिले दु:ख दिन्छ भने कहिले सामान्य लाग्ने गर्छ । कुनै कुनै व्यक्ति त यो रोगले छोइसक्दा पनि एक–दुई वर्षसम्म पनि सामान्य नै देखिन्छन् । तर अस्थमा उत्पन्न गर्न सघाउने तत्त्वको सम्पर्कमा पुग्नेबित्तिकै समस्या सुरु भइहाल्छ । 

कसैकसैलाई भने अस्थमामा कफ पनि निस्किने गरेको औंल्याउँदै डा. चोखानी भन्छन्, ‘दमसँगै यसमा एलर्जिक राइनाइटिस (एलर्जीजन्य रुघाखोकी) समेत हुन सक्छ ।’

यो समस्या प्राय: एकाबिहानै वा समसाँझमा बढी हुने गर्छ । धेरै व्यक्तिलाई अस्थमा मौसमी समस्याको रूपमा समेत हुने गर्छ । मौसम परिवर्तन हुन लाग्दा यसको मारमा पर्नेहरू बढी हुन्छन् । कसैलाई जाडो, कसैलाई गर्मी त कसैलाई वर्षामा यस्तो समस्या देखिने गर्छ ।

उपचार 

ब्रोङकियल अस्थमामा सास नलीमा भएको मांसपेशी खुम्चिन्छ । यसैले गर्दा सास फेर्न असजिलो हुन्छ, स्वाँस्वाँ हुन्छ, सास फेर्दा घ्वाँरघ्वाँर पनि हुने गर्छ । अलिकति पनि शारीरिक परिश्रम गर्नासाथ स्वाँस्वाँ हुन थाल्छ । 

विगत ५० वर्षमा यो रोगमा जुन औषधि दिइन्थ्यो, त्यो सास नली खोल्नलाई दिइने ‘ब्रोन्की डाइलेटर’ थियो । सन् ७० को दशकको सुरुवातसम्म दमको यही मुख्य उपचार रहेको औंल्याउँदै डा. चोखानी भन्छन्, ‘तर विगत अढाइ–तीन दशकदेखि दम उपचारको अवधारणामा व्यापक परिवर्तन भएको छ । अब इनहेल्ड (सासद्वारा तान्ने) थेरापीको अवधारणाले उपचारमा क्रान्ति नै ल्याएको छ ।’

यो थेरापीअन्तर्गत ‘इनहेल्ड कोर्टिकोस्टेरोइड’ (सुँघेर लिन सकिने कोर्टिकोस्टेरोइड औषधि) बिरामीलाई दिइन्छ । इनहेल थेरापीमा निकै कम मात्रामा औषधि फोक्सोमा भएका सास नलीमा जान्छ र यसले तुरुन्त प्रभाव देखाउन थाल्छ । सन्तुलित मात्रामा उपयोग गर्दा यो औषधि सामान्यत: फोक्सोबाहेक शरीरका अन्य भागमा जान पाउँदैन । यो थेरापीमा धेरै कम साइड इफेक्ट रहेको चोखानी बताउँछन् । 

इनहेल थेरापीले स्थानीय रूपमै फोक्सोमा प्रभाव देखाउँदा यसको साइड इफेक्ट अत्यन्त न्यून छ । खाने औषधि र सुईचाहिँ रगतका माध्यमले शरीरभरि जान्छ र यसको साइड इफेक्ट बढी हुन्छ । गर्भावस्था, दूध खुवाउने आमा, ६ महिनाका बालबालिकादेखि ९० वर्षसम्मका बूढापाकासम्म सबैको लागि नियन्त्रित रूपमा दिइने ‘इनहेल्ड’ औषधि सुरक्षित रहने डा. चोखानी औँल्याउँछन् । 

ब्रोङकियल अस्थमा निको हुने रोग होइन । यसलाई नियन्त्रणमा मात्र राख्न सकिन्छ । चिकित्सकले दिएको औषधि सेवन गरेर रोगको लक्षण ठीक भए पनि औषधि खान छाड्न हुन्न । 

‘हरेक बिरामीको समस्याको स्तर समान हुँदैन,’ डा. चोखानी भन्छन्, ‘यो हामी (चिकित्सक) ले निर्णय गर्छौं, कुन बिरामीलाई कुन स्तरको उपचार दिने भनेर ।’

ब्रोङकियल अस्थमाको उपचार कसैलाई एक/दुई वर्ष र कसैलाई योभन्दा बढी अनि कसै कसैलाई त जीवनभर गर्नुपर्ने हुन्छ । रोगको प्रभाव देखिन छोडे पनि औषधि बन्द गर्ने, छोडने वा मात्रा घटाउनेबारे बिरामीले आफूखुसी निर्णय गर्नु हुँदैन । 

एकदेखि तीन वर्षसम्म औषधिमा राख्दासमेत पुरानो समस्या नफर्के विस्तारै मात्रा घटाउँदै चिकित्सकले औषधि रोकेर निगरानीमा राख्ने गर्छन् । यस्ता समस्या भएकाहरूले निमोकोक्कल खोप वा इन्फ्लुएन्जाको खोप लिनु फाइदाजनक हुन सक्ने औँल्याउँदै डा. चोखानी भन्छन्, ‘यो रोगमा जुनसुकै संक्रमणले ट्रिगरको काम गर्छ । यस्ता खोपले उक्त संक्रमणबाट जोगाउँछन् र बाहिरी संक्रमण हुन पाउँदैन ।’

यो रोगलाई औषधि मात्र नभई रोग उत्पन्न गर्ने कारकहरू, बचाउका अन्य उपायका माध्यमले जति राम्ररी नियन्त्रित गरियो, त्यति नै लामो समयसम्म बिनाकुनै शारीरिक अप्ठयारोसहित बाँच्न सकिन्छ । 

सामान्यत: अस्थमाले मृत्यु नहुने भए पनि उपयुक्त औषधि–उपचार नगर्दा बिरामीको मृत्युसमेत हुन सक्ने डब्लूएचओले जनाएको छ । 

 

अस्थमाका रोगीका लागि व्यायाम राम्रो 

जुनसुकै उमेर समूहका ब्रोङकियल अस्थमाका रोगीहरूका लागि खेलकुद वा कुनै पनि किसिमको शारीरिक सक्रियतामा लाग्नु हुन्न भन्ने मान्यता छ, जुन अवैज्ञानिक हो । चिकित्सककहाँ पुग्ने धेरैजसो प्रभावित बालबालिकाका आफन्तले दम फुल्छ, रोग बढ्ला, झन् बढी च्याप्ला भनेर खेल्न नदिएको बताउने गर्छन् । प्रभावित वयस्क वा बूढापाकाले समेत शारीरिक सक्रियता, व्यायामले समस्या बढाउला भन्ने अवैज्ञानिक मान्यतालाई सही ठानिरहेका हुन्छन् । 

‘रोग प्रभावित बालबालिका, युवा, वयस्क, बूढापाका सबै शारीरिक रूपमा सक्रिय रहनुपर्छ,’ डा. चोखानीको सुझाव छ, ‘आफूलाई अनुकूल हुने खेलकुद, व्यायाम आदिमा लाग्नुपर्छ । हामीले ओलम्पिकमा इनहेलर उपयोग गरेर खेल्ने धेरै खेलाडी देख्ने गरेका छौं ।’

दमका बिरामीले पौडीसमेत खेल्न सक्छन् । तर, पौडी पोखरीमा पानी धेरै चिसो हुनुहुन्न । नियन्त्रित तापक्रममा खेल्नुपरे पौडीपछि तुरुन्त जीउ पुछेर लुगा फेर्नुपर्छ । 

अस्थमाबारे सही जानकारी आवश्यक 

अस्थमा भएकाहरूलाई ‘इनहेल्ड कोर्टिकोस्टेरोइड’ र अन्य प्रस्तावित औषधिहरूको दैनिक उपयोगबारे राम्ररी सिकाइए यसको अटयाकबाट जोगिन सकिन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, यो रोगको अटयाकबाट बच्न लामो समयसम्म नियन्त्रित रूपमा सही औषधि सेवन गर्नुपर्छ, अस्थमा उत्पन्न गर्ने ‘ट्रिगर’ बाट जोगिनुपर्छ । 

 

प्रकाशित: वैशाख १६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार