अर्थ / वाणिज्य

जुटमा लगाइएको अन्त:शुल्क हट्यो

- कान्तिपुर संवाददाता , विराटनगर

वैशाख १३, २०७४-नेपाली जुट सामग्रीमा भारतले लगाउँदै आएको साढे १२ प्रतिशत अन्त:शुल्क हटाएपछि निर्यात सुचारु भएको छ । अन्त:शुल्क र एन्टी डम्पिङ शुल्क लगाएपछि नेपाली जुटका सामग्री ४ महिनादेखि भारत पठाउन रोकिएको थियो । 

जोगबनीस्थित भारतीय भन्सार अधिकारीले गत वर्षको साढे १२ प्रतिशत अन्त:शुल्क बक्यौता नतिरेको भन्दै नेपाली जुटका सामग्री निकासीमा अवरोध गरेका थिए । 

निकासीमा साढे १२ प्रतिशत अन्त:शुल्क र एन्टी डम्पिङ शुल्क लगाएपछि यहाँका जुट उद्योग संकटमा परेका थिए । ‘भारतले अन्त:शुल्क हटायो,’ नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भने, ‘एन्टी डम्पिङ शुल्क कायमै छ ।’ अन्त:शुल्क हटेपछि निकासी सुचारु भएको उनले बताए । 

भारतले नेपालमा उत्पादन भएर निकासी हुने सुतलीमा ३ देखि ४ प्रतिशत, बोरामा ४ देखि ५ प्रतिशत र हेसियन चट्टीमा ० देखि २ प्रतिशत एन्टी डम्पिङ शुल्क लगाएको छ । अन्त:शुल्क र एन्टी डम्पिङ शुल्क हटाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतसमक्ष पहल गरेका थिए ।

नेपाली जुट उद्योगले भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी हरेक वर्ष ठूलो परिमाणमा जुट सामग्री भारत निकासी गर्दै आएका छन् । सरकारी अनुदान नपाउँदा र ऊर्जाको संकटका कारण भारत र बंगलादेशमा उत्पादित जुटसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपालमा खुलेका दर्जन जुट उद्योगमध्ये आधा बन्द भइसकेका छन् ।

प्रकाशित: वैशाख १३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार