फिचर

प्रौढ शिक्षाले फड्को

- प्रताप विष्ट, हेटौंडा

वैशाख १२, २०७४-अक्षरको शक्ति कति रहेछ भन्ने उनले धेरैपछि मात्र अनुभूति गरिन् । कखरा नजान्दा गाउँ र टोलमा उनको गन्ती थिएन । अहिले स्थानीय सहकारीदेखि विद्यालयको नेतृत्व उनलाई सुम्पने गरिएको छ । गाउँदेखि जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले उनलाई बोलाएर सम्मान गर्छन् । 

शिक्षासम्बन्धी कार्यक्रममा उनलाई अतिथि बनाउने गरिएको छ । यस्तै उनलाई गाउँलेले मकवानपुरको थाहा १२ स्थित दुर्गादेवी निमाविको व्यवस्थापन कमिटी अध्यक्षमा सर्वसम्मत छनोट गरे । थाहा–१३ तसरकी चमेली वाइवाले विद्यालय व्यवस्थापनको नेतृत्व गर्न नमान्दा पनि जिम्मेवारी दिए । गाउँलेले उनलाई जिम्मा लगाए । सम्मान र आदरको त कुरै छाडौं । गाउँदेखि सहरसम्म अहिले वाइवा आँटिली र संघर्षशील महिलाका रूपमा चिनिएकी छन् ।

थाहा नगरपालिकाको दुर्गम र पिछडिएको बस्तीकी ४६ वर्षीया चमेली आफू पनि चित्लाङ गाविसस्थित नाटेश्वरमा कक्षा ९ मा पढिरहेकी छन् । नियमित स्कुल जान भ्याउँदिनन् । कामबाट फुर्सद पाउनासाथ उनी स्कुल जाने गर्छिन् । 

स्कुल पढदापढदै उनलाई गाउँलेहरूले गाउँको विद्यालय सञ्चालनको जिम्मा लगाएका हुन् । ‘संघर्षशील र गाउँको विकासका लागि सधैं खटिने भएकाले उनलाई विद्यालयको व्यवस्थापनको नेतृत्व दिएका हौं,’ स्थानीय जितबहादुर लामाले भने, ‘गाउँमा उनीभन्दा धेरै पढेका लोग्ने मानिस अरू पनि थिए तर निष्क्रिय भएकाले चमेलीलाई बनायौं ।’

वडा नागरिक मञ्चकी अध्यक्ष रहेकी उनी २२ वर्षअघिसम्म निरक्षर थिइन् । प्रौढ शिक्षाबाट उनले पढ्न थालेकी हुन् । विद्यालयको अध्यक्ष भएपछि उनले आफ्ना जीवनका संघर्षसँगै अक्षरको तागत र शक्तिबारे बोलेकी थिइन् ।

उनले भनिन्, ‘अक्षरको तागतले नै म यहाँ आइपुगेको हुँ, भाइबहिनीहरू, तपाईंहरू पनि पढ्नुहोस्, मैलेजस्तो पढ्नका लागि जिन्दगी दु:खमा नपार्नुहोस् ।’ माइती घरमा बसेर उनले २०५१ सालमा प्रौढ शिक्षा थालेकी थिइन् । १३ वर्षमा स्थानीय युवकसँग विवाह गरेकी चमेलीको ८ महिनापछि बिछोड भयो । उनका पतिले दोस्रो विवाह गरे । त्यसपछि उनी माइतीमै बसिन् । दोस्रो विवाह गर्ने उनले कल्पनासमेत गरिनन् । ‘विवाहभन्दा समाज सेवा प्यारो लागेकाले यतैतिर व्यस्त छु,’ उनले हाँस्दै भनिन् ।

गाउँमा प्रौढ शिक्षाको पढाइ सुरु भएपछि २०५१ माघ ९ गते साँझ उनी पनि पढ्न गइन् । पहिलो दिन उनले आफ्नो नाम लेख्न सिकिन् । उनलाई आफ्नो नाम लेख्न तीन दिन लागेको थियो । गाउँलेले चमिली भनेर बोलाउँथे तर उनको नाम चमेली रहेछ भन्ने कुरा प्रौढ शिक्षा पढेको ३ दिनपछि उनले थाहा पाइन् । ‘अक्षरको सानो घुमाइले मेरो नाम र परिचय नै फेरियो त्यसलै अक्षरमा शक्ति हुँदो रहेछ भन्ने थाहा पाएँ,’ उनले भनिन् । 

प्रौढ शिक्षा पढ्न थालेपछि जिन्दगीमा सजिलो र सहज हुँदै गएको उनको अनुभव छ । अक्षर नचिन्दा माइती र छिमेकीले हेला गर्थे । अहिले त्यही अक्षरका कारण माइती, छिमेकी र सिंगै गाउँलेले र जिल्लाका सरहरूले पनि माया गर्न थालेका छन् । ‘अक्षर चिनेकै कारण विभिन्न संस्थाबाट सम्मानसँगै स्कुलको अध्यक्ष पनि हुन पाएँ,’ उनले भनिन् ।

अक्षरले उनको आँखा खुलेपछि चमेलीकै अगुवाइमा तसर खोलामा पुल हालेर बालबालिकाहरू स्कुल जान थाले । 

अहिले त्यो पुलको नामै चमेली पुल रहेको छ । अक्षरले चमेलीको जीवनमा मात्र परिवर्तन आएको होइन, उनकै अगुवाइमा गाउँमा परिवर्तन आएको छ । उनलाई हेरेर धेरै महिला साक्षर बनेका छन् । उनकै प्रेरणा र सक्रियताका कारण गाउँका सबै बालबालिकाहरू स्कुल जाने गरेका छन् । अक्षरका कारणले जीवन परिवर्तन आएको चमेलीलाई सन् २०१३ मा ग्लोबल अवार्ड प्रदान गरिएको थियो । उनकै नेतृत्वमा तसरमा अहिले सहकारी संस्था सञ्चालन गरिएको छ । गाउँमा पुस्तकालय पनि खोलिएको छ । 

प्रकाशित: वैशाख १२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार