फिचर

०७२ को महाभूकम्पमा परी दुवै खुट्टा गुमाएका सन्देश भन्छन्- 'म फुटबल खेल्न सक्दिनँ र ?'

- अखण्ड भण्डारी/लीला श्रेष्ठ, भक्तपुर

वैशाख १२, २०७४-

महाभूकम्प नआएको भए उनी कतै फुटबल खेलिरहेका हुन सक्थे । भूकम्पले त्यो मौका खोस्यो । खेलैलाई ‘करिअर’ बनाउने सपनामा आघात पुगे पनि उनको अठोट तुहेको छैन, ‘भविष्यमा फुटबल खेलाडी भएरै छाड्छु ।’ 

भूकम्पले करिब ९ हजारको जीवन लग्यो । करिब ९ लाख परिवारको बास लग्यो । कक्षा ८ मा पढ्ने सन्देश बस्नेतको भने दुवै खुट्टा लग्यो । ‘मेरो भाग्य नै त्यही हो, बाँच्न पाएँ,’ उनी सन्तोष मान्छन्, ‘उपहार पाएको यो जीवनलाई अझ सफल बनाउन मेहनत गर्नेछु ।’ 

सुरुमा त उनलाई खुट्टाबिना केही गर्न सकिँदैन जस्तो लागेर निराश बनाउँथ्यो । ‘त्यस्तो होइन रहेछ,’ घरको छतमा कृत्रिम खुट्टाले फुटबल हान्दै सोमबार उनले भने, ‘अब मनोबल बढेको छ, अपांगता हुँदैमा अवसर सकिँदो रहेनछ । मेरो हिम्मत हराएको होइन, बढेको छ ।’
...
२०७२ वैशाख १२ को मध्याहन उनी काभ्रे साँगास्थित प्रहरी विद्यालयभित्र साथीहरूसँग चेस खेलिरहेका थिए । अचानक पृथ्वी हल्लियो । स्कुल भवन पिङझैं मच्चिन थाल्यो । विद्यार्थीको हुल दौडिएर बाहिर चौरतिर हानियो । उनी पनि त्यतै लागे । ढोकाबाट बाहिर मात्र के निस्किएका थिए, छत घेर्न लगाएको इँटाको गारो उनीहरूकै बीचमा गल्र्याम्मै खस्यो । एक जनाको मृत्यु भयो । दसभन्दा बढी घाइते भए । 

इँटाले पुरेर दुवै खुट्टा कच्याककुचुक पारिएका सन्देशसहित सबै घाइतेलाई बनेपाको शिर मेमोरियल अस्पतालमा भर्ना गरियो । अस्पतालले भोलिपल्ट बिहानै उनका दुवै खुट्टाको शल्यक्रिया गर्‍यो । तीन दिनपछि जब दुवै खुट्टा चल्न छाडे, त्रिवि शिक्षण अस्पतालमा रेफर गरिदियो । 

‘दायाँ खुट्टा काट्नै पर्ने डाक्टरले भने,’ उपचार व्यवस्थापनमा खटिएका उनका ठूलाबुवा भोजकुमार बस्नेतले भने, ‘त्यो काटेको केही दिनमा बायाँ पनि काट्नुपर्ने भयो । वैशाख २९ को भुइँचालो आउँदा सन्देशलाई अपरेसन थिएटरमा राखिएको थियो । भागाभाग भयो । 
त्यस दिन स्थगित गरेर दुई दिनपछि काटियो ।’ 
...
सोलुखुम्बुको सल्यान–१ मा २०५७ फागुन २१ मा जन्मिएका सन्देशलाई पहाडमै भए पनि खास दु:ख थिएन । हजुरबुवाको खेतीकिसानी राम्रै चलेको थियो । बुवा प्रहरी सेवामा भएकाले उनले सदरमुकामको निजी स्कुल हवाइट हिल्समा सुरुबाटै पढ्ने मौका पाए । त्यहाँबाट तीन कक्षा पास गरुन्जेल उनी भलिबलका राम्रै ‘जुनियर’ खेलाडी भइसकेका थिए । 

जब ४ कक्षा पढ्न उनी प्रहरी स्कुलमा भर्ना भए त्यो क्षमतालाई झन् तिखार्ने मौका पाए । ‘अरूलाई भलिबल सिकाउन पनि गुरुहरूले मलाई नै भन्नुहुन्थ्यो,’ उनले ती दिन सम्झे, ‘तर, ७ कक्षामा पुगेपछि मेरो रुचि फुटबलतिर बढी भयो । अनि, त्यतै मोडिएँ ।’ स्कुलमा विभिन्न रङ नामका टिम थिए । उनी ‘रेड कलर’ बाट खेल्थे । भूकम्पले उनलाई ओछ्यानमा पारेपछि १० महिना स्कुल जान सकेनन् । जब गए, पहिलाभन्दा पढाइको परिणाम सपारे । अनि, खेलतिर पनि विस्तारै रुचि देखाउन थाले । 

दुई महिनाअघि स्कुलले आयोजना गरेको भलिबल प्रतियोगितामा उनलाई साथीहरूले आग्रह गरे, ‘तिमी खेल्न सक्छौ, आऊ खेलौं ।’ उनलाई पनि हिम्मत आयो । उनको टिम प्रथम भयो । ‘अब फुटबलमा पनि यस्तै सफलता चुम्न चाहन्छु,’ उनले भने ।  जब हामीले फुटबलसहित फोटो खिच्ने कुरा गर्‍यौं, उनले कृत्रिम खुट्टामा ममतापूर्वक मोजा लगाए । सावधानीपूर्वक जुत्ता पहिरिए । अनि, फुटबल टिपेर हौसिँदै चढे फलामे भर्‍याङबाट छततिर । ‘उसको खुसी,’ दिदी सन्ध्याले भनिन्, ‘जेमा हुन्छ, त्यही गरोस् । खालि फुटबल हेर्छ, फुटबलकै कुरा गर्छ । कुनै सहयोग र मौका पाए अवश्य खेलाडी बन्छ भन्नेमा म विश्वस्त छु ।’ 
...
‘प्रिय सन्देश, तिमी मेरो हिरो हौ । तिम्रो मुस्कान र अझ राम्रो बन्ने संघर्षले मलाई यो पुस्तक बनाउन प्रेरणा दियो । यो तिम्रो पुस्तक हो । तिम्रो साथी– हवाना ।’ महाभूकम्पपछि संसारले बोलेको साझा टिप्पणी थियो– ‘नेपाली एक मात्र यस्तो जाति हो, जो दु:खमा पनि हाँस्न सक्छ ।’ त्यही आशयमा स्पेनी फोटो पत्रकार ओमर हवानाले नेपालको भूकम्पको तस्बिर–पुस्तक निकाले, ‘इन्डुरेन्स (सहनशीलता) ।’ त्यसमा उनले सन्देशलाई मुख्य ‘हिरो’ भनेका छन् । दिदीको अँगालोमा मुस्कुराइरहेका सन्देशको तस्बिरको बायाँ पानामा उनले मार्मिक वाक्यहरू लेखेका छन्, ‘नेपाललाई हामी केका नामले चिन्छौं ? सगरमाथा ? पक्कै, यो ध्रुव सत्य हो । तर, यो देशको सुन्दरता यसका हिमाल र भूबनोटले मात्र चम्किएको छैन, यहाँका जनताले पनि ।’ 

त्यसको उदाहरणका रूपमा उनले सन्देशको ‘मुस्कान’ लाई प्रस्तुत गरेका छन् । र, नेपालको विपत्तिप्रतिको असावधानी र जीवनमाथि हुने हेलचेक्य्राइँलाई लिएर दु:ख पनि व्यक्त गरेका छन् । भनेका छन्, ‘सन्देश जसले आफ्ना दुवै खुट्टा गुमाए जुन आफैं पढ्ने भवनको पर्खाल खसेर मात्र होइन, स्कुल र अस्पतालको लापरबाहीको समष्टिगत परिणाम हो ।’ 


...
२०६२ चैत ८ गते बिहान ८ बजेतिर झापा, बिर्तामोडस्थित प्रहरीचौकीमा ठूलो ट्रक छिर्‍यो । माओवादी लडाकु भटाभट झरे र गोली हान्दै भित्र छिरे । प्रहरीलाई कठालामा समातेर बाहिर ल्याए । लस्करै उभ्याएर कञ्चटमा गोली हाने । ९ प्रहरीको निधन भयो । तीमध्ये एक थिए प्रहरी सहायक निरीक्षक खेमकुमार बस्नेत, सन्देशका बुवा । त्यसपछि ५ वर्षका भाइ सन्देश, ७ वर्षकी बहिनी सबिना र आमाको रेखदेख सन्ध्याको काँधमा आइलाग्यो । ‘बुवाको घटनाको घाउ नबस्दै भाइमाथि यस्तो घटना भयो,’ उनले भनिन्, ‘रुँदै, सम्हालिँदै यहाँसम्म आइपुगें ।’ 

साँच्चै ज्ञानी छन् सन्देश । उनी घाइते हुँदा बोकेर शौचालयदेखि सबैतिर उनै दिदीले लैजान्थिन् । भाइको पछिल्तिर अनुहार पारेर बरर्र आँसु झार्थिन् । सोलुखुम्बुमा एक्लै बस्ने आमा पशुपति यदाकदा आउँदा उनी भक्कानिएर रुन्थिन् । ‘आमाका अगाडि रुनुहुन्छ दिदी भन्दै ऊ मलाई चिमोट्थ्यो,’ सन्ध्या सम्झिन्छिन् । 
...
दुवै खुट्टा नहुँदैमा फुटबल खेलाडी बन्न असम्भव छ ? गलत † संसारले तीव्र प्रगति गरेको छ । अपांगता भएकाहरूकै लागि पारा–ओलम्पिक खेल आयोजना गरिन्छ । त्यसमा फुटबल पनि राखिन्छ । प्रसिद्ध क्लबहरूले तिनका दक्षता निखार्न प्रशिक्षणको व्यवस्था मिलाउँछन् । 

तिनैमध्ये चेल्सी जसले त्यस किसिमको अपांगता भएकालाई समेत गतिला खेलाडी बनाउने गरेको छ । चेल्सी फाउन्डेसनको वेबसाइटमा छ, ‘हाम्रो अपांगता समावेशी कार्यक्रमअन्तर्गत सबै किसिमका अपांगता भएकाहरूलाई नियमित एवं संस्थागत फुटबल प्रतियोगितामा सामेल हुन सुरक्षित एवं मनोरञ्जनात्मक वातावरणमा प्रशिक्षण दिइनेछ ।’ संयोगवश सन्देश चेल्सीकै फ्यान हुन् । चेल्सीकै जर्सीमा सजिएका उनले बल परसम्म पुग्ने गरी हान्दै छुट्नुअघि सोधे, ‘के म अब फुटबल खेल्नै सक्दिनँ त ?’

सबैभन्दा ठूलो कुरा त सन्देश भूकम्पका ती घाइते हुन्, जो वजनदार धातुको खुट्टा घिसार्दै मैदानमा उत्रिन्छन् । अरू थाकेर लत्रक्क देखिँदा उनी ठिङ्ग उभिएर मुस्कुराउँछन् । उनी किन सक्दैनन् फुटबल खेल्न ? 

प्रकाशित: वैशाख १२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार