फिचर

‘मिसन’ मन्दिर

- दिनेशजंग शाह

वैशाख ११, २०७४- कथनै छ— ‘भासियो कि नासियो’। संसारको एउटा कुनोबाट अर्काे दुनियाँमा भासिएपछि स्वभावत: जीवनले नयाँ काँचुली हाल्छ नै। तर यसको यो अर्थ होइन कि, सबै नासियो। जाग्दै गएको पछिल्लो मन्दिर मोहले नेपाली अमेरिकी जीवनको यसै पक्षलाई उजागर गर्छ। बरु ‘घरको देउता हेला’ भन्ने उखानको मर्म अहिले बुझ्दै छन् उनीहरू। क्यालिफोर्नियादेखि टेक्सास हुँदै मेरिल्यान्डसम्मको नेपाली बस्तीको एउटा साझा अवधारणाले संकेत गर्दै छ, नौलो देशमा धर्म/संस्कृति नै उसको परिचय हो। अर्काे पुस्ताका लागि मार्गदर्शन हो। 

जहाँ–जहाँ नेपालीहरूको बाहुल्य बढ्दै छ, त्यहीं–त्यहीं नेपाली मन्दिर बन्दै छन्। 

हालै मात्र टेक्सासको डालासस्थित फोर्टवर्थमा नेपाली समुदायले आठ करोड नेपाली रकम खर्चेर हिन्दु एवं बौद्व ‘मन्दिर’ खडा गर्‍यो। केही साताअघि मात्र शिवरात्रिको मौकामा मन्दिर उद्घाटन मात्र गरिएन्, भव्य रूपमा शिवरात्रि मनाइयो। पाँच हजारको हाराहारीमा नेपाली दर्शनार्थीहरू ओइरिए। झन्डै दस वर्षको अनवरत प्रयास र लगानीको प्रतिफल थियो— मन्दिर। त्योभन्दा चुरो कुरो, धार्मिक आस्था र अपनत्वको भावनाले अमेरिकी भूमिमा मन्दिरलाई मूर्तरूप दियो। 

किन मन्दिर चाहियो? टेक्सासको मन्दिर निर्माणका एक अभियन्ता मुरली अधिकारीको तर्क छ— ‘अमेरिकामा नेपाली समाजको निर्माणार्थ, मन्दिरको आवश्यकताको बोध भएको हो। र, मन्दिर, हाम्रो समाजको धरोहर हो जसले समाजलाई भविष्यमा मूर्तरूप पार्दै गतिशील बनाउनेछ।’
उसो त टेक्सासको डालासमै भारतीयबाट सञ्चालित झन्डै दुई दर्जन मन्दिर छन्। ‘वर्षांैसम्म उनीहरूकै मन्दिर, हाम्रा लागि धार्मिक आस्था पोख्ने थलो बन्यो,’ टेक्सास समाजका अध्यक्ष कृष्ण लामिछाने केही बेर घोत्लिँदै भने, ‘तर पनि त्यहाँ कताकाता अपनत्व महसुस नहुने। झिनामसिना कुरामा पनि हेला गरेको जस्तो भान पर्ने।’ अर्काे पक्ष के भने, भारतीय शैलीको मन्दिरको बनावट गिर्जाघरको शैली हुने भएकोले अलि खल्लो महसुस हुने। अनि नेपाली पुजारीको अभाव त छँदै थियो। ‘हामीलाई गजुर नै भएको मन्दिर चाहियो नि।’ अपनत्वको परिभाषा दिँदै टेक्सास समाजका लामिछानेले तर्क गरे। 

१६ हजार स्क्वायर फिटमा फैलिएको मन्दिरमा पशुपतिनाथको झैं गजुर हालिएको छ भने अर्काेतर्फ बौद्व स्तूपा छ। शिवलिंग बीचमा, अनि वरिपरि १९ देवीदेवता। पाँच जना पुजारीले सातै दिन मन्दिर पूजाअर्चना गर्छन् भने उनीहरूलाई पूर्ण एवं आंशिक पारिश्रमिकको व्यवस्था छ। परिसरमै एउटा पसल सञ्चालन छ, जसबाट तीन हजार डलर मासिक आम्दानी गर्छ मन्दिरले। नेपाली भाषा, संस्कृति अतिरिक्त नेपाली नृत्य, सभा हलको व्यवस्था छ भने विवाह, व्रतबन्धका लागि निकै उपयोगी बन्दै छ, मन्दिर। र, भविष्यमा मृत्युपछिको कर्मकाण्डका लागि पनि मन्दिर परिसर उपयोगी हुने विश्वास छ। 

‘तपाईं विश्वास गर्नुहुन्छ, डालासमा नेपाली मन्दिर सञ्चालन भएपछि पछिल्लो केही वर्षमा दुई सयभन्दा बढी विवाह यसै मन्दिरमा भएका छन्,’ गर्विँदै डा.मुरली अधिकारीले भने। 

टेक्सासझंै नेपालीहरूको जगजगी रहेको दक्षिण क्यालिफोर्नियामा यसअघि नै नेपाली मन्दिर बनिसकेको छ। साढे चार वर्षअघि लस एन्जलसस्थित पशुपतिनाथ फाउन्डेसनले मन्दिर निर्माणका लागि एउटा चर्च नै किनेको थियो। त्यति बेला नै नौ करोड खर्चिएको थियो, त्यो चर्च खरिदमा। नवार्कको केनी स्ट्रिटमा तीस हजार स्क्वायर फिटमा फैलिएको उक्त क्षेत्र अहिले पशुपतिनाथ मन्दिर एवं बौद्व स्तूपामा परिणत भएको छ। बाहिर स्वरूपले नेपाली मन्दिरको झल्को नदिए पनि यसको खासियत भित्री सजावटमा छ। एकातिर पशुपतिनाथको मन्दिर छ भने अर्काेतर्फ बौद्व स्तूपा। विवाह व्रतबन्ध, समारोहका लागि भवन छन् भने अहिले थप आन्तरिक निर्माण भइरहेका छन्। अभियानको सुरुआत सन् २०१० मा थालिएको थियो। ‘अहिलेसम्म मन्दिरमा हामीले करिब १४ करोडभन्दा बढी लगानी गरिसकेका छौं। अझैं यसलाई परिष्कृत पार्ने हाम्रो योजना छ,’ फाउन्डेसनका ऋषि ढकालले सुनाए। 

चाहे क्यालिफोर्निया होस् वा टेक्सास अथाव मेरिल्यान्ड, एउटा समानता छ, नेपाली अभियानमा। त्यो के भने, हिन्दु मन्दिर र बौद्व स्तूपा, एकै छतमुनि। कारण खोतल्दा, सान डियगो क्षेत्रका लागि नेपाल सरकारको अवैतनिक दूतसमेत रहेका ढकालको भनाइ थियो, ‘पहिलो कुरा, धार्मिक रूपमा हाम्रो सहिष्णुताको परिचय। दोस्रो, बौद्व धर्मसँग जोडिएको नेपालको पौराणिक सम्बन्ध।’

अमेरिकमा मन्दिर बनाउनु चानचुने कुरो पक्कै होइन। टेक्सासलाई झन्डै दस वर्ष लाग्यो। मन्दिरको जग्गा किन्न चार वर्ष लाग्यो। साढे दुई करोड खर्चिएपछि भूत बंगलाजस्तो कारखानाको जमिन किनिएको थियो। रकम संकलनको कथाका पानाहरू थुप्रै छन्। संस्थापक सदस्य, बोर्ड अफ ट्रस्टी, विशेष सदस्यलगायतका विभिन्न तहतप्काबाट जनही एक हजारदेखि दस हजार डलरसम्म संकलन गरियो। सयौं नेपाली परिवारको सद्भाव यसमा रहयो। चन्दा संकलनदेखि भागवत् सप्ताह पुराणको आयोजनासमेत भयो। टेक्सासले गत वर्षको पुराणबाट ७५ लाख संकलन गर्‍यो। क्यालिफोर्नियाको पनि यस्तै गाथा छ। 

यता बाल्टिमोरको ‘मिसन मन्दिर’ झनै उत्साहप्रद छ। युवा स्वयंसेवीहरूको विशेष सक्रियतामा चार महिनामा चार करोड संकलन मात्र भएन, झन्डै सात करोडको भवनसहितको जग्गा खरिद गरिएको छ। एक अभियानकर्ता कृष घिमिरेले भने, ‘बैंकको लिलाममा चढेको कारणले नै दस करोड बढी मोलको जग्गाजमिन सात करोडमै किन्न सफल भयौं। ‘अबको लक्ष्य थप चार करोड हो, जसले मन्दिरलाई यस वर्षको अन्त्यसम्म मूर्तरूप दिने बताउँछन्, घिमिरे। अहिलेसम्म मन्दिर निर्माणमा आठ सयभन्दा बढी नेपाली दाताहरू आवद्ध छन् र भविष्यमा यसले ठूलो आकार लिनेमा अभियानकर्ताहरू ढुक्क छन्। दाताहरू ठान्छन्, धर्मले नेपाली संस्कृति, रहनसहनलाई भावी सन्ततीसँग जोड्नेछ। अमेरिकामा मन्दिरप्रतिको लगाव र लगानीमा सबैको यही सोचले काम गरेको देखिन्छ। अर्काे कुरो, अमेरिकामा विद्यमान धार्मिक स्वतन्त्रताले नेपाली समुदायलाई अभिप्रेरित गर्दै छ। 

न्युयोर्कमा पनि यसअघि मन्दिर निमार्णको प्रयास भएको थियो। नेतृत्वकर्ता रिजउड सोसाइटीमै आन्तरिक भद्रगोल भएपछि, यो विषय सुस्ताएको छ। अलि पर बोस्टनमा अभियान सञ्चालन छ, जुन रकम संकलनको चरणमै छ। फ्लोरिडाको ओरल्यान्डोको पनि अभियान चल्दै छ भने उत्तरी क्यालिफोर्निया, भर्जिनियालगायतका राज्यहरूमा पनि मन्दिरमोह बढ्दै गएको छ। 

प्रकाशित: वैशाख ११, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार