समाचार

मोर्चासँग आज ‘निर्णायक वार्ता’

  • शुक्रबार दिनभरको कसरत सहमति नजिक पुगेको सत्ता पक्षको दाबी
- कुलचन्द्र, काठमाडौं

वैशाख ८, २०७४-सत्तापक्षले मधेसी मोर्चासँग शुक्रबार दिनभर गरेको वार्ता सहमति नजिक पुगेको दाबी गरेको छ । सत्ताघटक नेताहरुका अनुसार दुई चरणका वार्तापछि उनीहरु संविधान संशोधन र स्थानीय चुनावबारे सहमति निकट पुगेका हुन् । 

शुक्रबार दिनभर शृंखलाबद्ध रुपमा भएका बार्तामा सरकारले पछिल्लोपटक संसदमा दर्ता गराएको एघार बूँदे संशोधन प्रस्ताव परिमार्जनसहित ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने प्रतिबद्धता सहित शनिबार सहमतिको प्रस्ताव तयार पार्ने प्रतिबद्धता जनाएपछि मोर्चा चुनावमा आउन सक्ने संकेत पनि दिएको छ । कुनै अवरोध खडा नभएमा शनिबार सरकार र मोर्चाबीचको समझदारीले औपचारिकता पाउने छ । 

मोर्चाले मधेसमा स्थानीय तहको इकाई थप गर्ने र छुट मतदाता नामावली थप्ने बिषयमा भने समझदारी जुट्न बाँकी रहेको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘सकभर हामीले एकै चरणमा बैशाख ३१ कै निर्वाचनमा जानेगरी अहिले स्थानीय इकाइको संख्या थप्नेतिर नलागौं भनेका छौ’, पौडेलले कान्तिपुरसँग भने, ‘मोर्चाले त्यसैमा अडान कायमै राख्यो भने दोस्रो चरणमा चुनाव गर्नेगरी सहमति हुनसक्छ ।’

राष्ट्रिय जनता पार्टी नेता राजेन्द्र महतोले वार्ता सकारात्मक भएकाले आजैको प्रस्ताव अनुसार सहमति पत्र तयार भए भोलि सहमति हुन सक्ने संकेत दिए । ‘धेरै उत्साहित आजै हुनु उचित नहोला, किनकी यस्ता सकारात्मक वार्ता धेरैपल्ट भए,’ महतोले भने, ‘आजको छलफल अनुसार भोलि प्रस्ताव आयो भने हामी चुनावमा आउन सक्छों, तर त्यस्तो आउँछ कि आउँदैन, पहिले हेरौं ।’

 

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार