रोचक

आगो तापेरै तलब पाउने कम्पनी... ! [फोटोफिचर]

- हरिहरसिंह राठौर, सोमताङ (धादिङ)

वैशाख ८, २०७४- समुन्द्र सतहबाट करिब ३३ सय मिटरको उचाई । रसुवा र धादिङको सिमानाको खोंचमा परेको कारण बाह्रै महिना जाडो । चार महिना हिमपात हुने सोमताङ । सूर्यको किरण पनि बिहान ११ देखि अपरान्ह २ बजेसम्म मात्रै त्यस क्षेत्रमा पर्छ । जतिबेला पनि सिरेटो चल्ने खोलामा ११ वर्षअघि बन्द भएको मेटल कम्पनीको २५ वर्षअघि निर्माण गरिएको थोत्रो घरभित्र भान्सामा आगो तापेर बसेका कम्पनीका कर्मचारी । उक्त घर भूकम्पले चर्काएको छ । कम्पनी पुन: सञ्चालनमा आउला भनेर उनीहरु आगो तापेर कम्पनी कुर्न थालेको ११ वर्ष बित्यो । कम्पनीले उनीहरुलाई बिदाई पनि गरेको छैन । चालकदेखि सुरुङ खन्ने पदमा २५ वर्षअघि भर्ना गरिएका कर्मचारीहरुलाई कम्पनीले मासिक १७ हजारदेखि ३० हजारसम्म तलब भत्ता दिएकै छ ।

बाह्रै महिना जाडोमा बस्ने कर्मचारीहरु भूकम्पले जीर्ण बनाएको घरमा एकातिर सामूहिक भान्सा र एकातिर सुत्ने कोठा बनाएका छन् । कार्यालय बाहिर रहेको पहेंलो साईनवोर्डमा नेपाल मेटल कम्पनी, गणेश हिमालजस्ता सीसा परियोजना, आधार शिविर, सोमताङ लेखिएको छ । उचाई ३२७० मिटर । यसै वेस क्याम्पबाट जिंक र सीसा खानी पत्ता लागेको स्थान तीन घण्टाको उकालो चढेर चार हजार मिटर उचाईमा पुग्नु पर्छ । ‘११ वर्ष आगो तापेर बस्यौं, कम्पनी फेरि सञ्चालनमा आउला भन्ने आश मरेको छैन’विगत २५ वर्षदेखि सुरुङ खन्ने उपकरण ड्रिलर चलाउने नुवाकोटका शुभराम तामाङले बताए । 'पाँच सय कर्मचारी तथा मजदुरहरुले लगातार करिब २५ वर्ष काम गरेको खानी लगानी अभावमा बन्द गर्नु पर्ने कारण जनाउँदै २०६२ सालमा करिब ३ सय कर्मचारीलाई तलब, उपदान र सुविधा दिएर अवकाश दिइयो, हामीलाई चौकीदारका रुपमा कार्यालयमै राखियो’२०२५ सालदेखि चालक पदमा कार्यरत रही कार्यालय कुरेका कमानसिंह गुरुङले बताए । 

रसुवाको त्रिशूली किनार ग्राङ्ग हुँदै गणेश हिमालबाट बगेको पानी परीक्षण गर्दै वि.सं २०२५ सालतिर मैलुङ्गखोला पसेका भारतीय विरला कम्पनीका चक्रवर्ती थरका ईन्जिनियरले यो स्थानमा जिंङ्क (जस्तापाता बनाउने र औषधिमा मिश्रण गरिने कच्चापदार्थ) र सीसा खानी भएको पत्ता लगाएका थिए । पत्ता लागेलगत्तै नेपाली सेनाले नुवाकोटको त्रिशूली–रसुवा–स्याफ्रुबेंसी–गत्लाङ्ग पार्वतीकुण्ड–खुर्पुभन्ज्याङ्ग हुँदै सोमदाङ्गसम्मको १ सय ५ किलोमिटर सडक खन्ने जिम्मा लिएर २०४४ सालमा खुर्पुभन्ज्याङ हुँदै २०४६ सालमा सोमदाङ्गसम्म गाडी पुगेका थिए । उक्त सडक निर्माण गर्ने नेपाली सेनाको गण अझै पनि पार्वतीकुण्डमा तैनाथ छ । ‘उक्त सडक खन्न रसुवा, धादिङ तिप्लिङ्ग र सेर्तुङ्गका नागरिकहरुले दैनिक ३ रुपैँया ज्यालामा काम गरेका थिए’उक्त सडक खन्न १२ वर्षसम्म मजदुरहरु खोज्ने जिम्मा लिएका तिप्लिङ्ग लवदुङ्गका ६५ वर्षीय जोमसाई घले बताउँछन् । 

आयोजना स्थलमा काम नभएपछि १० जना कर्मचारीमध्ये लेखापाल लगायतका उपल्लो तहका कर्मचारी काठमाडौंमै बस्छन् भने अरु सातजना पालैपालो जाडोमा कार्यालय कुर्छन् । खानी अध्ययन गर्न हिमालको काखमा ल्याएका सयौं मेट्रिक फलामे उपकरणहरु अलपत्र परेका छन् । 

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार