ब्लग

मेयर, उपमेयरको उम्मेदवार बन्ने वली र थापाको तयारी

- विमल खतिवडा, चितवन

वैशाख ८, २०७४- जब नायिका रेखा थापा र गायिका कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरे । तब चर्चा चुलियो । सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा निकै टिकाटिप्पणी भए । त्यसलाई दुवैले सकारात्मक रुपमा लिए । अहिले दुवै पार्टीका केन्द्रीय सदस्य छन् । जहाँ पार्टीको कार्यक्रम आयोजना हुन्छ, त्यहाँ दुबैलाई देख्न पाइन्छ । उनीहरु नाच्न, गाउन कार्यक्रममा उपस्थित हुँदैनन् । राजनीतिक भाषण गर्दै जनतामा चुनावी माहोलमा होमिन उर्जा थप्ने काम गर्छन् ।

प्राय: छोटो पहिरनमा ठाँटिने रेखा अहिले साडी चोलीमा ठाँटिएर हिँड्ने गरेकी छन् । त्यस्तै वली पनि सारीमा सजिएर भाषण गर्न व्यस्त बन्ने गरेकी छन् । बुधबार यो जोडी पार्टीको सभामा भाग लिन चितवन आएका थिए । ‘चितवन भन्ने बित्तिकै मलाई हिम्मतवालाहरु भएको ठाउँ लाग्छ,’उनले भनिन्,‘औलो रोगसँग लडेर आफू बाँच्दै अरुलाई बचाउने सहासी ठाउँ हो चितवन’उनले जिल्लाको वर्णन गरिन् ।
 
‘स्थानीय तहको निर्वाचन नभएको २० वर्ष भइसके छ,’उनले भनिन्,‘म पनि पहिलो पटक चुनावमा भाग लिँदै छु, २० वर्ष पहिले म एकदमै सानी थिएँ, यो चुनावबारे थाहा थिएन ।’ उनले अधिकांश समय चुनावी भाषण गर्नमा खचिइन् । अघिपछि फिल्मको प्रमोसनमा हिँड्ने उनले दर्शकलाई फिल्म हेर्न आग्रह गरिनन् । दर्शकसँग उल्टै पार्टीका लागि भोट मागिन् । ‘एक पटक हाम्रो पार्टीलाई मौका दिनुस्,’उनले भनिन्,‘राप्रपाले तपाईंहरुलाई धोका दिने छैन ।’
 
उनले इकान्तिपुरसँग १५ वर्ष फिल्मी क्षेत्रमा बिताएकाले अब पार्टीमा लागेर देश र जनताको सेवा गर्ने पक्षमा रहेको सुनाइन् । ‘फिल्मी क्षेत्रमा लामो समय बिताएँ,’ उनले भनिन्,‘अब देश र जनताको सेवा गर्न मन छ ।’अहिले स्थानीय तह निर्वाचनमा उनको नाम काठमाडौं महानगरपालिकाको उपमेयरको रुपमा चर्चामा छ । ‘जिल्लाले उपमेयरको उम्मेद्वारको रुपमा सिफरिस गरेको सुनेको छु’उनले भनिन्,‘पार्टीले जे भन्छ त्यही गर्छु, टिकट पाए उपमेयरमा नलड्ने कुरै हुँदैन ।’ उनले साहस प्रकट गर्दै भनिन्,‘सक्दिनँ र गर्दिनँ भन्ने कुरा मेरो जीवनमा छैन, अवसर पाए चुनाव लड्न तयार छु ।’उपमेयरको उम्मेदवारको सम्बन्धमा काठमाडौं पुगेपछि खुलासा गर्ने बताइन् । 

गायिका वली भाषणको क्रममा भावुक बनिन् । ‘मैले रेडियो नेपालमा माडी बाँदरमुडे घटनाको समाचार पढ्दा डाको छोडेर रोएको छु,’ उनले भावुक हुँदै भनिन्,‘त्यही बेला दाङमा रहेको मेरो घरमा बम विस्फोट गराइयो, घर जलाइयो, अहिले दाङ जाँदा बस्ने घर छैन ।’उनले भोट हाल्ने बेलामा एकपटक बाँदरमुडे घटनालाई सम्झेर मात्र हाल्न आग्रह गरिन् । उनले इकान्तिपुरसँग मेयरको बारेमा बाहिर आएको कुरा साँचो रहेको सुनाइन् ।
 
उनलाई पार्टीले दाङको तुल्सीपुर उपमहानगरपालिकाबाट मेयरका लागि सिफारिस गरेको छ । ‘जिल्लाले मेयरको लागि सिफारिस गरिसकेको छ, तर मैले निर्णय गरेको छैन,’ उनले भनिन्,‘पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न तयार छु, यसमा अग्रजहरुको साथ सहयोग सधैं आवश्यक छ, उहाँहरुकै साथ र सहयोगमा अघि बढ्ने छु ।’उनी पार्टीले आयोजना गरेको सभामा दाङ, बर्दिया, टिकापुर, महेन्द्रनगर हुँदै चितवन आएकी हुन् । बिहीबार हेटौंडा र शुक्रबार झापामा पुगेपछि सभा टुंगिने छ । 

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार