समाचार

मोर्चाका कार्यकर्ताले विथोले निर्वाचन शिक्षा तालिम, १३ जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

- श्यामसुन्दर शशि, जनकपुर

वैशाख ८, २०७४-निर्वाचन कार्यालय धनुषाले शुक्रबार जनकपुर १४ मुजेलियाको सभाकक्षमा आयोजन गरेको निर्वाचनसम्बन्धी तालिम संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले विथोलेका छन् । यस क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएका थिए ।

मुजेलियास्थित सडक डिभिजन कार्यालयको सभाकक्षमा आयोजित मतदाता शिक्षा तालिम चलिरँहदा बिहान साढे १० बजे मोर्चाका नेता कार्यकर्ताहरु त्यहाँ पुगी तालिम विथोल्ने प्रयास गरेका थिए । यस क्रममा सुरक्षामा खटेका सुरक्षाकर्मी तथा मोर्चाका नेता कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो । प्रहरीले नवगठित राष्ट्रिय जनता पार्टी सम्बद्ध सञ्जय सिंह, परमेश्वर साह, सतिशलाल दास, प्रमोदकुमार यादवलगायत १३ जनालाई नियन्त्रणमा लिएको थियो ।

११ बजे पक्राउ परेका मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अढाई घण्टापछि रिहा गरेका थिए । मोर्चा नेताहरु जिल्ला प्रहरी कार्यालय ल्याएलगत्तै प्रदर्शनकारीहरुको भीड जिल्ला प्रहरी कार्यालय अगाडि लाग्न थालेको थियो । उनीहरुले आफ्ना नेताको रिहाइको माग गर्दै चर्का नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरुलाई तितरबितर पारेपछि, कडा सुरक्षाबीच अपरान्ह पुन: तालिम सुरु गरिएको थियो तर, मोर्चाका नेता कार्यकर्ताहरुले जनकपुर–ढल्केवर सडक अवरुद्ध गरी प्रदर्शन गर्न थाले पछि तालिम रोकिएको थियो ।

विघटित सद्भावना पार्टी जिल्ला अध्यक्ष सञ्जय सिंहले स्थानीय तह निर्वाचनलाई लक्षित गरी गरिने जुनसुकै कार्यक्रमलाई विथोल्ने चेतावनी दिएका छन् ।

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार