समाचार

अरुण नदी आसपासका सर्वसाधारणलाई सावधानी अपनाउन प्रशासनको आग्रह

  • सेना तथा विपद्सम्बन्धी टोली घटनास्थलतर्फ जाँदै
- रमेशचन्द्र अधिकारी, धनकुटा

वैशाख ८, २०७४-क्षेत्रीय प्रशासन कार्यालयले संखुवासभाको हटियास्थित स्याक्सिला गोलामा अरुण नदी थुनिएपछि प्रभावित स्थानका सर्वसाधारणलाई सुरक्षित रहन सावधानी गराएको छ । उक्त घटनाबाट विशेषगरी संखुवासभा, भोजपुर, धनकुटा, उदयपुर, सप्तरी जिल्लाका नदी किनार आसपासका स्थान प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई सुरक्षित रहन सजक गराइएको क्षेत्रीय प्रशासन कार्यालयका उपप्रशासक सेवन्तराज दाहालले जानकारी दिए । सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमार्फत सर्वसाधारणलाई सजक रहन सूचना गरिएको दाहालले बताए ।

यसैगरी घटनास्थलको अवलोकनको लागि राजधानीबाट नेपाली सेना तथा सुरक्षा निकायको विपतसम्बन्धी विज्ञ टोली हेलिकप्टरबाट जाने भएको छ । उक्त टोलीले संखुवासभा सदरमुकाम खॉदबारी गएर थप उद्वारकर्ता लिएर घटनास्थल पुग्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

घटनास्थल संखुवासभा सदरमुकामबाट दुई दिन पैदल दूरीमा रहेकोले भौगोलिक अवस्थाको अवलोकनपछि विस्तृत जानकारी सार्वजनिक गरिने उपप्रशासक दाहालले बताए ।  

संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध बनेको जिल्ला प्रहरी कार्यालयका संखुवासभा डिएसपी गौतमकुमार केसीले बताए। 

बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको केसीले बताए ।

    

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार