समाचार

राष्ट्रपति भण्डारी आज स्वदेश फर्कंदै

उडिसा (भारत)

वैशाख ८, २०७४-मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कने भएकी छन् । भारतीय समकक्षी राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा यही वैशाख ४ गते मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आएकी राष्ट्रपति भण्डारीले आफ्नो पाँचदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

भारतमा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा आफ्ना समकक्षी मुखर्जीसँग भेटवार्ता गरेकी थिइन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीलगायत यहाँस्थित विभिन्न पार्टीका नेताहरुले राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेकी थिइन् । भ्रमणको दोस्रो दिन राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामीसहित भारत सरकारले ‘गार्ड अफ अनर’प्रदान गरेको थियो । सोही साँझ राष्ट्रपतिको सम्मानमा भारतीय समकक्षी मुखर्जीले राष्ट्रपति भवनमा रात्रिभोजको समेत आयोजना गरेका थिए ।  

राष्ट्रपति भण्डारी भ्रमणको तेस्रो दिन इन्डियन एयरलाइन्सको विशेष विमानबाट गुजरात राज्यको राजकोट विमानस्थल पुगिन् । त्यहाँबाट भारतीय वायु सेनाको हेलिकप्टरबाट सोमनाथ र द्वारिकानाथ मन्दिर पुगेर दर्शन र पूजाआजा गरिन् । सोही साँझ राजकोटमा गुजरातका मुख्यमन्त्रीले आयोजना गरेको रात्रिभोजमा सहभागी भइन् ।  

राष्ट्रपति भण्डारी भ्रमणको चौथोदिन बिहीबार भारतको मुख्य पर्यटकीय सहर उडिसाको राजधानी भुवनेश्वरमा विभिन्न कार्यक्रममा सहभागी भइन् । उनले यहाँस्थित उडिसा राज्य सरकारद्वारा सञ्चालित मिसन शक्ति नामको एक संस्थाले गरेको महिला सशक्तीकरणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गरे । साथै उनले यहाँस्थित लिङ्गेश्वरराज मन्दिरमा पुगेर पूजाआजा गरे । 

भारत भ्रमणको अन्तिम दिन राष्ट्रपति भण्डारी शुक्रबार उडिसा राज्यको पुरीमा रहेको जगन्नाथ धाममा पुगेर दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । उक्त धामको दर्शनपश्चात् राष्ट्रपति भण्डारी यहाँस्थित बिजु पटनायक अन्तर्रास्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विशेष विमानबाट भारतको राजधानी नयाँदिल्ली पुगेर त्यहाँबाट नेपाल एयरलाइन्सको विमानबाट बेलुका स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

राष्ट्रपति भण्डारीको भ्रमणमा समेत रहेर भ्रमणलाई सफल पार्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय राष्ट्रपतिको यो भ्रमणले नेपालका लागि ठूलो अवसर भएको बताउँछन् । उनले राष्ट्रपतिको यो भ्रमणमा भारत सरकारले उच्च प्राथमिकताका साथ राजकीय सम्मान प्रदान गरेकाले पनि यो भ्रमण पूर्णरुपले सफल भएको बताए । 

राजदूत उपाध्यायले राष्ट्रपति संविधानको रक्षक भएकाले भारतीय उच्च नेतृत्व तहमा सबै भेटमा आफ्नो भूमिकालाई अत्यन्तै मर्यादित र स्पष्ट रुपले राखेका थिए । 

राष्ट्रपतिले राखेका सबै विषयमा भारतीय सबै तहबाट सहमतिका रुपमा ग्रहण गरिनु नै सुन्दर पक्ष भएको उनको बुझाइ छ । 'यसैले यो भ्रमण देश र जनताको पक्षमा सकारात्मक हो'–उनले भने । रासस 

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार