देश

‘मलाई मार्न आँटे, उद्धार गर्दिनुस्’

  • ओमनबाट विलाप
- अनिश तिवारी, सिन्धुपाल्चोक

वैशाख ८, २०७४- जुगल गाउँपालिकाको हिमाली गाउँ गोल्चे–५ की एक चेलीले ओमनको ‘यातनाघर’ बाट उद्धारका लागि गुहार लगाएकी छन् । ओमनको ९६८९२४६४६११ नम्बरको फोनबाट २४ वर्षीया साङ्मो लामाले परिवारलाई आफ्नो ज्यान खतरामा परेको भन्दै तत्काल उद्धार गर्न विलाप गरेकी हुन् । साङ्मोलाई संयुक्त राज्य इमिरेट्सको दुबईबाट ‘दलाल’ ले दुबई लाने भन्दै ओमन पुर्‍याएका थिए । 

गत कात्तिक १५ मा वैदेशिक रोजगारीको सिलसिलामा साङ्मो दुबईमा घरायसी कामका लागि गएकी थिइन् । मेलम्ची नगरपालिका घर बताउने एक दलालले उनलाई दुबईको सट्टामा सीधै ओमन पुर्‍याएर छाडिदिएका थिए । दुबई नै सोचेर ओमनमा एक महिनासम्म खटिरहेकी उनले घरायसी कामको सट्टा दुव्र्यवहार खेप्नुपरेपछि आफू फसेको थाहा पाइन् । आफूले गरेको काम चित्त नबुझेपछि उनले त्यहाँबाट नेपाल फिर्न चाहेकी थिइन् । 

एक महिनादेखि घरमा सफाइको काम गरिरहेकी उनलाई नेपाल फिर्ता जान्छु भन्दा जान दिइएन । तीन महिनासम्म थुनेर यातना दिइएको दाजु सुब्बा लामाले बताए । अहिले उनी ओमनको एक घरमा बन्दीजस्तै अवस्थामा यातना भोगिरहेकी छन् । मालिकले भनेको नमान्दा उनले दिनहुँ धेरै पटक पिटाइ खानुपरेको छ । उनको जिउमा कोर्रासमेत हान्ने गरेको दाजु सुब्बाले जनाए । 

२४ वर्षीया साङ्मो विकट गाउँकी साधारण लेखपढ युवती हुन् । तीन वर्ष मलेसिया बसेर आएकी लामा धन कमाउने लोभमा दलालको फन्दामा परेकी हुन् । ‘कात्तिकमा बिदेसिएकी बहिनीको फोन आउला भनेर कुरेर बस्दाबस्दै ६ महिना बित्यो,’ दाजुले भने । बहिनी कहाँ र कस्तो अवस्थामा छिन् भन्ने पत्ता नलागेको उनले  सुनाए । परिवारले सामी परियोजनाद्वारा सञ्चालित सूचना तथा परामर्श केन्द्रलाई तत्काल उद्धारको पहल गरिदिन आग्रह गरेको कार्यक्रमकी संयोजक रिना श्रेष्ठले बताइन् । 

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार