देश

गुठीपीडितलाई बासको चिन्ता

- कान्तिपुर संवाददाता , नुवाकोट

वैशाख ८, २०७४- गुठीको जमिनमा बस्दै आएका ठूलोहाकुका भूकम्पपीडितलाई बासको चिन्ता हुन थालेको छ । आफ्ना नाममा जग्गाधनी पुर्जा नभएपछि पहिलो किस्ताबापतको ५० हजार रुपैयाँसमेत पाउन सकेका छैनन् । 

साबिक रसुवा हाकु–२ देखि ७ वडाका बासिन्दा स्वयम्भूघ्याङ गुठीको जग्गामा बस्दै आएका थिए । भूकम्पले जमिन चिरा परेर जताततै पहिरो गएपछि उनीहरू बास खोज्दै रसुवा र नुवाकोटका विभिन्न स्थानमा बस्दै आएका छन् । उनीहरूमध्ये १६ परिवार साबिक विदुर नगरपालिका–१ मा बस्दै आएका छन् । ‘गाउँ छाड्ने रहर थिएन,’ ४९ वर्षीय भूकम्पपीडित जिने तामाङले भने, ‘१६ जनाको परिवार पाल्न धौ–धौ भएको छ ।’ पुनर्निर्माण प्राधिकरणको नीतिअनुसार आवास रकम पाउन पीडितका नाममा धनीपुर्जा हुनुपर्छ । तामाङ भन्छन्, ‘गुठी जमिन जोतेर जीविका चलाएका थियौं, पुर्जा छैन ।’ 

यस्तै, ३० वर्षीय मेन्दोची तामाङको पीडा पनि उस्तै छ । ‘सरकारले दिएको पैसा पाएको छैन,’ उनी भन्छन्, ‘न घर छ, न त बस्न पाएका छौं, ज्याला मजदुरीबाटै छाक टारेका छौं ।’ केही विस्थापित भने कालिकास्थान, लहरेपौवाको बोगटीटार र नौबिसेमा व्यक्तिको जमिनमा भाडा तिरेर अस्थायी टहरामा बस्दै आएका छन् । 

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार