देश

आगो तापेर कार्यालय रुङ्छन् कर्मचारी

- हरिहरसिंह राठौर, सोमदाङ (धादिङ)

वैशाख ८, २०७४-समुन्द्र सतहबाट ३ हजार ३ सय मिटर उचाइ । रसुवा र धादिङ सिमानाको खोंच । बाह्रै महिना ठिहिर्‍याउने जाडोमा ४ महिना त हिमपात नै हुन्छ । यस्तोमा सोमदाङमा कसरी बस्नु ? सूर्यका किरण पनि धर्तीमा ढिलो गरी पर्छन्, अपराह्न ११ बजे । अपराह्न २ बजेपछि ओझेल पर्छन् ।

जतिबेलै सिरेटो चल्ने खोलामा ११ वर्षअघि बन्द मेटल कम्पनीका कर्मचारी आगो तापेर बस्छन् । २५ वर्ष अघि कम्पनी खुलेको थियो । भूकम्पले चर्किएका थोत्रा घरभित्र भान्सा कोठामा कर्मचारी आगो तापेर बस्न बाध्य छन् । कम्पनी पुन: सञ्चालनमा आउला भनेर कुर्नुबाहेक उनीहरूको अर्को काम छैन् ।

कम्पनीले उनीहरूलाई बिदाइ पनि गरेको छैन । चालकदेखि सुरुङ खन्नेसम्म छन्, सोमदाङको यो कम्पनीमा । २५ वर्षअघि भर्ना गरिएका कर्मचारी अहिले पनि मासिक १७ हजारदेखि ३० हजारसम्म तलब–भत्ता थाप्छन् ।

एकातिर सामूहिक भान्सा छ । अर्कातिर सुत्ने कोठा बनाएका छन् । यो आधार शिविरबाट जिंक र सीसा खानी पत्ता लागेको ठाउँमा पुग्न ३ घण्टा उक्लिनुपर्छ । ४ हजार मिटर उचाइ टेक्नुपर्छ ।

रसुवाको त्रिशूली किनारको ग्राङबाट गणेश हिमालको पानी परीक्षण गर्दै २०२५ तिर मैलुङखोला पसेका भारतीय बिरला कम्पनीका चक्रवर्ती थरका इन्जिनियरले यो स्थानमा जिंक (जस्तापाता बनाउने र औषधिमा मिश्रण गरिने कच्चापदार्थ) र सिसा खानी भएको पत्ता लगाएका थिए । लगत्तै नेपाली सेनाले सडक खन्न सुरु गर्‍यो । नुवाकोटको त्रिशूली–रसुवादेखि सोमदाङसम्मको १ सय ५ किलोमिटर सडक खन्ने जिम्मा लिएको सेनाले २०४६ मा सोमदाङसम्म गाडी नै पुर्‍यायो ।

सेनाको गण अझै पनि पार्वतीकुण्डमा तैनाथ छ । ‘उक्त सडक खन्न रसुवा, धादिङ तिप्लिङ र सेर्तुङवासीले दैनिक ३ रुपैयाँ ज्यालामा काम गरेका थिए,’ उक्त सडक खन्न १२ वर्षसम्म मजदुर खोज्ने जिम्मा लिएका तिप्लिङ लवदुङका ६५ वर्षीय जोमसाइ घलेले भने ।

सडक निर्माण भएपछि खानीमा परीक्षण गर्ने विभिन्न उपकरण तथा फलामे सामग्री ढुवानी गरियो । नेपाल सरकार र भारतीय धनाढ्य बिरला समूहले अध्ययन अनुसन्धान गर्ने क्रममा खानीबाट निस्किएका धेरै पदार्थ भारत पुर्‍याइएको आशंका स्थानीय गर्छन् । ती वस्तु बहुमूल्य रत्न रुवी हुन सक्ने र फेला पर्न छाडेपछि खानी बन्द गरिएको धेरैको अनुमान छ । बिरला कम्पनीले हात झिके लगत्तै नेपालकै खेतान समूह, राजदरबार र अन्य सेयर सदस्यहरूको प्रयासमा पुन: सञ्चालनमा ल्याइएको थियो । खानी पत्ता लागेको स्थानको अर्कापट्टि क्यानेडेली अनुसन्धानकर्ताले तिप्लिङ–९ लिन्जोमा समेत सुरुङ खनेर अध्ययन गरेका थिए । अध्ययन गर्न १ हजार ४ सय मिटर सीधा सुरुङ र १ हजार १ सय मिटर शाखा सुरुङसमेत गणेश हिमालको फेदीसम्मै निर्माण भएको थियो । 

‘११ वर्षसम्म आगो तापेर बसेका हामी १० जना कर्मचारी कम्पनी फेरि सञ्चालनमा आउला भन्ने आशामा छौं,’ २५ वर्षदेखि सुरुङ खन्ने उपकरण ड्रिलर चलाउने नुवाकोटका शुभराम तामाङले भने । ५ सय कर्मचारी तथा मजदुरहरूले लगातार २५ वर्ष काम गरेको उक्त खानी लगानी अभावमा बन्द गर्नुपरेको जनाउँदै २०६२ मा करिब ३ सय कर्मचारीलाई तलब, उपदान र सुविधा दिएर अवकाश दिइयो । ‘हामीलाई चौकीदारका रूपमा कार्यालयमै राखियो,’ चालक पदमा कार्यरत कमानसिंह गुरुङले भने ।

लेखापाल विश्वहरि घिमिरेसहित सहलेखापाल पदसम्मका १० जना कर्मचारीको नियती रातदिन आगो ताप्नु र मासिक रूपमा सहलेखापाल दाबा छेर्तेङ तामाङले लिएर आउने तलब बुझनु मात्रै छ । ‘अब चाइनाको कम्पनीले लगानी गरेर खानी फेरि सञ्चालनमा ल्याउँछ भन्ने सुनेका छौं, भरपर्दो प्रमाण पाएका छैंनौं,’ उनीहरूले भने ।

आयोजनास्थलमा खासै काम नभएपछि लेखापाललगायतका उपल्लो तहका कर्मचारी काठमाडौंमै बस्छन् । अरू ७ जना पालैपालो जाडोमा कार्यालय कुर्छन् । खानी अध्ययन गर्न हिमालको काखमा ल्याएका सयौं मेट्रिक टन फलामे उपकरणहरू अलपत्र छन् । 

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार