देश

पार्टीबीच तानातान

- कान्तिपुर संवाददाता , लेखनाथ

वैशाख ८, २०७४-कास्कीको माछापुच्छ्रे गाउँपालिकाका जितबहादुर पुन माओवादी केन्द्रबाट वडाअध्यक्ष लड्ने तयारीमा छन् । उनी गाउँपालिकाको १ नम्बर वडामा आफ्नो प्यानलबाट चुनावमा सहभागी गराउन दलित महिलाको खोजीमा जुटे । उनी श्याममाया विककामा पुगे । तर, श्याममायाले आफूलाई अर्कै पार्टीले सदस्यता दिएर चुनाव लडाउन लागेको भन्दै असमर्थता जनाइन् । ‘गाउँमा अलि टाठीबाठी दलित महिला उनै थिइन्,’ जीतबहादुरले भने, ‘हाम्रो पार्टीबाट खोसेर लैजाने काम भयो ।’ 

कास्कीका चारवटै गाउँपालिकाका वडामा उम्मेदवारीका लागि दलित महिला खोसाखोस भएका छन् । माओवादी केन्द्रको तुलनामा कांग्रेस र एमालेलाई दलित महिला खोज्न सकस भएको छ । राप्रपाले गाउँपालिकाका धेरै वडाबाट दलित महिला नपाएकै कारण चुनाव लड्न नपाउने स्थिति देखापरेको छ । गाउँपालिकामा ३९ र पोखरा लेखनाथ महानगरमा ३३ वडा छन् । यी सबैमा न्यूनतम ५ पार्टीले चुनाव लडा पनि ३ सय ६० दलित महिला आवश्यक पर्छ । जबकि कास्कीमा २३ दल दर्ता छन् । पूर्व संविधानसभा सदस्य दुर्गा विक पहिला राजनीतिक दलले दलित महिलालाई संगठित नगराएकोले समस्या निम्तिएको बताउँछिन् । ‘एक त नीति नै नयाँ भयो,’ उनी भन्छिन्, ‘अर्को कुरा, राजनीतिक दलले यस्तो अवस्था आउँला भनेर पहिले सोच्दै सोचेनन् ।’ माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी विकले आफ्नो पार्टीमा भने धेरै समस्या नरहेको दाबी गरिन् ।

कांग्रेस निकट नेपाल दलित संघ जिल्ला अध्यक्ष दुर्गाबहादुर सुनार पार्टी राजनीति गरेका दलित महिला भेट्न गाह्रो भएको बताउँछन् । ‘पहिलादेखि पार्टीमा क्रियाशील दलित महिला भेट्न मुस्किलै छ,’ उनी भन्छन्, ‘तर उम्मेदवारै नपाउने कुरा साँचो होइन ।’ दलले उम्मेदवार बनाउनकै लागि दलित महिलालाई धमाधम पार्टी सदस्यता दिन थालेका छन् । एमाले निकट उत्पीडित जातीय मुक्ति समाज कास्कीका पूर्वअध्यक्ष लालबहादुर परियार पनि दलित महिला खोसाखोस भएकोमा सहमत छन् । ‘कुनै पार्टीमा संगठित नभएका दलित महिलालाई उम्मेदवार बनाउनुपरेको सत्य हो,’ उनी भन्छन्, ‘चुनाव लड्नकै लागि दलित महिलालाई सदस्यता बाँडिएको छ ।’

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार