समाचार

रानीपोखरी पुनर्निर्माणमा कहिले ?

  • - १०/१५ दिनमै ठेक्काको टुंगो लाग्छ : पुरातत्त्व विभाग - निर्माण सुरु भएको डेढ वर्षमा सकिने
- दामोदर न्यौपाने, काठमाडौं

वैशाख ८, २०७४- भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनिर्निर्माण अझै सुरु भएको छैन । गत तिहारमा सम्पन्न गर्ने लक्ष्यसहित अघिल्लो वर्ष राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मापदण्ड विपरीत कन्क्रिट प्रयोग गरेर बनाएपछि पुरातत्त्व विभागले मापदण्डअनुसार बनाउन निर्देशन दिएको थियो । महानगरले आफूसँग तदनुकुल जनशक्ति र सामग्री नभएकाले बनाउन नसक्ने बताएपछि काम रोकिएको छ । विभागले ठेक्कामार्फत रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर आफैं पुननिर्माण गर्ने भएको छ ।

भुइँचालो दिवसको अवसर पारेर गत वर्षको माघ २ गते यसको शिलान्यास भएको थियो । मन्दिरको ढलानसमेत गरेपछि पुरातत्त्वले भत्काउन आदेश दिएको महानगरले गुनासो गरेको छ । यसको निर्माणको ठेक्का वल्र्डवाइड कँडेल केनकेजी जेभीले पाएको थियो । रानीपोखरी पुनिर्माण दुई तहमा हुने भएको छ । मन्दिरको काम पुरातत्वले गर्ने भएको छ भने मन्दिर बाहिरको क्षेत्रको पुननिर्माण काठमाडौं महानगरपालिकाले नै गर्ने भएको छ । ‘हामीले बनाइसक्थ्यौं, महानगरका एक उच्च अधिकारी भन्छन्, ‘पहिला जस्तो थियो, त्यस्तै बनाएको हो । बनाउन्जेल पुरातत्व चूप लाग्यो । पछि सञ्चारमाध्यमा आएपछि मात्रै भत्काउन आदेश दियो । बनाउन सुरु नगर्दै सुझाव दिएको भए बनाइसकेर बीचमा ब्रेक गर्नु पर्दैनथ्यो ।’

२०३२ सालमा जीर्णाेद्धार हुँदा नै कंक्रिट प्रयोग गरिएको भन्दै इन्जिनियरले भने, ‘त्यतिबेला पुरातत्त्व विभागले किन कंक्रिट प्रयोग गर्‍यो ? त्यतिबेला किन मापदण्ड विपरीत बनाउन दियो ?’ पुरातत्व विभागले भने महानगरले इष्टमेट नपठाइ काम सुरु गरेकाले कसरी काम भइरहेको छ भनेर थाहा नभएको दाबी गर्दै आएको छ । बिगतको गल्तीबाट पाठ सिकेर अब राम्रो काम गर्न स्थानीयवासीले माग गर्दै आएका छन् । ‘हामी बलियो बनाउने नाममा सम्पदा मासिन दिँदैनौं,’ सम्पदा जोगाउन अभियान चलाइरहेका आलोकसिद्धि तुलाधर भन्छन्, ‘पहिला जस्तो थियो, त्यस्तै बन्नु पर्छ । मापदण्डविपरीत गए हामी फेरि आन्दोलनमा उत्रिन्छौं ।’ पुरातत्त्वले मन्दिरको काम सुरु नगरेकाले महानगरले पनि बाहिरको काम सुरु गरेको छैन । 

रानीपोखरीलाई महानगरले म्युजिकल वाटर फाउन्डेसन पार्कका रूपमा विकसित गर्ने योजनासहित काम अघि बढाएको थियो । रानीपोखरीको छेउमा बस्नका लागि पार्कसमेत निर्माण गर्ने महानगरको लक्ष्य छ । यहाँ आउने पर्यटकका लागि टिकट काटेर घुम्ने व्यवस्थासमेत गरिने महानगरले जनाएको छ । यसबाट दैनिक १ लाख रुपैयाँ आम्दानी गर्ने महानगरको योजना छ । 

पुरातत्त्वले भित्री संरचना बनाउन नयाँ लागत स्टमेट तयार गरेको छ । जसअनुसार भित्री संरचना बनाउन भ्याटबाहेक १ करोड २६ लाख रुपैयाँ लाग्ने अनुमान रहेको विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत्त घिमिरेले बताए । बाहिरी भित्री गरेर यसअघि झन्डै १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । ‘अब १५ दिन भित्रमा सबै ठेक्का प्रक्रिया टुंगिन्छ,’ घिमिरे भन्छन्, ‘निर्माण सुरु भएको डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।’ महानगरले मापदण्ड मिचेको थाहा पाएपछि सम्पदा जोगान लागिरहेका युवा समूहले खबारदारी गरे । आन्दोलनमा उत्रिएपछि सञ्चारमाध्यमको पनि ध्यान गयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो दियो । त्यसपछि विभागले काम रोखेर पुरातात्त्विक मान्यता नमचिने गरी पुनर्निर्माण गर्न महानगरलाई निर्देशन दिएको थियो । 

गुम्बज शैलीको यो मन्दिर बनाउन इँटाको गारो र त्यसलाई जोड्न चुना, सुर्की, मासको दाल लगायत प्रयोग भएको छ । अहिले जस्तो रड, सिमेन्टको आविष्कार नभएकाले सबै प्राचीन मन्दिर, घर, दरबार बनाउन यही सामान प्रयोग हुन्थे । ‘पुनर्निर्माणका नाममा यी पुरातात्त्विक वस्तुलाई हटाउन पाइँदैन,’ शाक्य भन्छन् । रानीपोखरीलाई नेवारी भाषामा न्हुहु पुखु भनिन्थ्यो । न्हुहु पुखु भनेको नयाँ पोखरी हो । प्रताप मल्लले आफ्ना दुई रानी रूपमति र राजमतिको सम्झनामा पोखरी तथा मन्दिर निर्माण गरेकाले यो शोकको प्रतीक पनि हो । न्युरोडका शैलेश शाक्य भन्छन्, ‘शोकको प्रतीकमा महानगरले डुंगा चलाएर पैसा कमाउने उद्देश्य राखेको छ ।’ संस्कृतिविद् यज्ञमानपति वज्राचार्यका अनुसार रानीपोखरी तान्त्रिक विधिअनुसार बनाइएको हो । यहाँ पानी भर्न पनि तान्त्रिक विधि अपनाइनु पर्ने उनी बताउँछन् ।

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार